भू-स्वर्ग खप्तडमा गंगादशहराको रौनक 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/khaptad_mela.jpg

धनगढी - भू-स्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक छाएको छ। शनिबारदेखि गंगादशहरा मेला (जात्रा) सुरु भएसँगै यस क्षेत्रमा हिन्दु धर्मालम्बी तथा पर्यटकहरुको भिड लागेपछि थप रौनकता छाएको हो। 

प्रत्येक वर्ष जेठ शुक्ल दशमीको दिनमा गंगा दशहरा मेला लाग्ने गर्दछ। खप्तडमा रहेको त्रिबेणीमा स्नान गर्नाले मानिसहरुले गरेका सबै पापहरु नाश भएर जाने धार्मिक विश्वास गरिदै आएको छ। गंगादशहराको दिन गंगाबाट ल्याएको जल वर्षभरी विग्रदैन। खप्तडमा गंगा स्नान गर्नाले मनोकाङ्क्षा पुराहुने धार्मिक विश्वास रहेको स्थानीय पण्डित चित्रराज जोशीले बताए।
 
गंगादशहराको दिन पूण्य प्राप्तिका लागि पवित्र गंगाको किनारामा अवस्थित विभिन्न तिर्थस्थलमा गई गंगा स्नान गर्ने प्रचलनसमेत छ। मेलाको अवसर पारी गंगादशहरा मेलामा विभिन्न संघसंगठनहरुले कार्यक्रम आयोजना गरिरहेका छन्। डोटी उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आएको गंगा दशहरा मेलामा खुला पूरुष भलिवल, घोडा दौड र सुदूरकै संस्कृतिको रुपमा चिनिएको डेउडा प्रतियोगिता यस वर्ष पनि आयोजना गरिएको छ। 

सधैका वर्ष भन्दा यस वर्ष खप्तड जाने तिर्थालु तथा पर्यटकहरुको संख्या बढेको खप्तड छान्ना गाउँपालिका ३ मेल्तडीका स्थानीय मेख बहादुर रावलले बताए। बझाङको बाटो हुँदै जाने पर्यटकका लागि छोटो र आरामदायि यात्रा हुन्छ भन्नेबारे प्रचार प्रसार हुन सकेको छैन।
 
प्रत्येक वर्ष लाग्ने गंगादशहरा मेलामा झण्डै २० हजार तीर्थालु तथा पर्यटक खप्तड पुग्ने अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशका पहाडका चार जिल्लाहरु बाजुरा, बझाङ, अछाम र डोटीको केन्द्र बिन्दुमा पर्ने खप्तड नेपालकै सुन्दर पर्यटकीय क्षेत्रहरु मध्येको एक हो। भु-स्वर्गका रुपमा समेत वर्णन गरिएको खप्तड एक प्रकृतिको अनुपम उपहार हो। जहाँ आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र बसन्त ऋतुमा रंगीविरंगी फूलले ढकमक्क हुने भएकाले धार्मिक हिसाबले मात्रै नभइ पर्यटकीय हिसावले पनि यसको महत्व धेरै भएको स्थानीय बताउँछन्।
 
२२ पाटन र ५२ झोती रहेको खप्तडमा, खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह (खप्तड ताल), शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, माइका थान, छिन्तेढुंगा, केदारढुंगा, डाँफेकोट, सीता पाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला, पाटन जेठी बहुरानी ढुंगा, भलाउने पाटन, जस्ता धार्मिक स्थलहरु पर्यटकका लागि आर्कषणका केन्द्र बिन्दु मानिन्छन्।

पौराणिक कालमा सिंध तथा ऋषिमुनीहरुले तपस्या गरेको यस क्षेत्र पुराणमा समेत  ‘खेचरादी’ पर्वतका रुपमा वर्णन गरिएको छ। खेचरादी पर्वतको नाम बिस्तारै खप्तड रहन गएको भन्ने जानकारहरु बताउँछन्। पौराणिक कालमा कौरव र पाण्डवको युद्ध हुँदा पाण्डवहरुले चौध वर्ष वनबास बस्दा केही समय खप्तडमा बिताएको किम्वदन्ती रहेको छ।

खप्तडमा दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट थुम्का (झोती) बनेका भन्ने पनि किम्वदन्ती रहेको छ। यस वर्ष दशहरा मेलालाई व्यवस्थित बनाउन जाड रक्सी पूर्णरुपमा बन्देज गरिएको छ। नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहज होस् भनि नेपाली सेनाले स्वास्थ्य शिविर राखेको छ। 

खप्तड क्षेत्र ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो। खप्तडमा खप्तड बाबाको आगमनपछि स्थानीयले राजा बिरेन्द्रलाई आग्रह गर्दा २०४२ सालमा खप्तडलाई राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको थियो।




प्रतिक्रिया