नेतालाई पदक बाँड्दा राज्यको ४ करोड ६५ लाख खर्च

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/padak.jpg

काठमाडौं - संविधान निर्माणमा योगदान दिएको भन्दै पहिलो र दोस्रो संविधानसभाका सदस्यहरुलाई पदक वितरण गर्दा राज्यकोषबाट चार करोड ६५ लाख रुपैयाँ खर्च भएको छ।

संविधानसभा सदस्यरुलाई सुनचाँदी मिश्रित पदक दिइएको हो। जसका लागि राज्यको ढुकुटीबाट यतिधरै रकम खर्च गरिएको भन्दै विरोध भइरहेको छ।

बीबीसीको एक रिपोर्टअनुसार पदक निर्माण र वितरण कार्यको सहजीकरण गृह मन्त्रालयको विभूषण शाखाले गरेको थियो।

गृह मन्त्रालयको लेखा शाखाका अनुसार १,१२३ वटा पदक बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो। एउटा पदकको ४१,३०० रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमानअनुसार मन्त्रालयले सेनालाई चार करोड ६४ लाख पेस्की दिएको थियो।

एउटा पदकमा १७० ग्राम चाँदी र ५.४५ ग्राम सुन प्रयोग भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जनाएका छन्।

गृह मन्त्रालयले पदक पाउने ११०६ जनाको सूची तयार गरेको थियो। जसमा ७१३ जनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदक लिएका थिए। राष्ट्रपति भण्डारी स्वयम्ले पदक थापेकी थिइन्।

पदक लिन छुटेकाहरुले गृह मन्त्रालयबाट लिँदैछन्।

यसैबीच अर्थविद् शंकर शर्माले पदक वितरणमा फजुल खर्च भएको बताउँदै संविधानसभाका सदस्यहरुलाई प्रमाणपत्र दिए पनि पुग्ने बताए।

पूर्व मुख्य सचिव विमल कोइरालाले पनि पदक वितरणको विरोध गरेका छन्।
    




प्रतिक्रिया