'शैक्षिक प्रमाणपत्र धितो कर्जा' असफल : दस महिनामा १० जनामात्र

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/loan_karja.jpg

काठमाडौं- 'शैक्षिक प्रमाणपत्रको धितोमा कर्जा' कार्यक्रम असफल भएको छ । चालू आर्थिक वर्षको बजेटमा सरकारले युवालाई रोजगारी दिलाउने उद्देश्यसाथ यो कार्यक्रम ल्याएको थियो । कार्यक्रममार्फत धेरै बेरोजगार युवा लाभान्वित हुने सोचाइ सरकारको थियो । तर कर्जा लिन युवा आकर्षित नभएपछि कार्यक्रम विफल भएको छ ।

राष्ट्र बैंकले 'सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५' बैंक तथा वित्तीय संस्थामा लागू गर्‍यो । कार्यविधिमा रहेर बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह पनि गरे । तर यसमा युवा आकर्षण रहेन। राष्ट्र बैंकको तथ्यांकअनुसार शैक्षिक प्रमाणपत्र धितोमा अहिलेसम्म १० जना सहभागी भएका छन्। उनीहरूले ९ लाख २५ हजार रुपैयाँ ऋण लिएका छन्।

कार्यक्रमका लागि वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुबाट ५५ लाख ऋण स्वीकृत भएको छ । यसमा ४५ लाख ७५ हजार रुपैयाँ बैंकमै रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

शैक्षिक प्रमाणपत्र धितोमा बैंकहरुले ७ लाखसम्म कर्जा प्रवाह गर्न सक्छन् । यसमा सरकारले ५ प्रतिशत अनुदान र ऋणमा ७५ प्रतिशत बिमा रकम व्यहोर्ने व्यवस्था छ ।

ऋण लिने प्रक्रिया झन्झटिलो, ऋण तिर्ने आयस्रोतका कमी र धितो सुरक्षणमा बैंकको विश्वास कमी रहेका कारण यसमा युवा आकर्षण नभएको हो ।

'शैक्षिक प्रमाणपत्र धितोमा ऋण प्रवाह गर्न नै मान्दैनन् बैंकहरू,' युवा उद्यमी शिवजी गायकले भने, 'मैले सोही स्किमबमोजिम ऋण लिन गएको थिएँ तर मलाई बैंकले विभिन्न बहाना बनाएर ऋण नै दिएन ।'

सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलसीराम गौतमका अनुसार शैक्षिक प्रमाणपत्र धितोमा कर्जाको माग अत्यधिक न्यून छ ।

गौतमले भने, 'बैंकहरुमा पहिलो कुरा त कर्जाको माग आउँदैन। आएका केही कर्जाको मागमा बैंकहरुले जोखिम देखेकाले लगानी गर्दैनन् । जसका कारण शैक्षिक प्रमाणपत्रको धितोमा कर्जा कम गएको हो।'

कतिपयलाई त यस्तो कर्जा पाइन्छ भन्ने पनि जानकारी पनि छैन । गौतमले भने, 'जानकारी पाएकाको हकमा पढाइ र गर्न खोजेको कामको प्रकृति नमिल्ने (जस्तै ः मानविकी विषय पढेको छ, व्यापार व्यवसाय गर्न खोज्छन्) प्रकृतिको कर्जाको माग आउँदा बैंकहरुले जोखिम देखेर कर्जा नदिएका हुन्।'

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले यो तथ्यांक निराशाजनक रहेको बताए । उनले बैंकहरुले जोखिम देखेकाले धेरै मात्रामा कर्जा प्रवाह नभएको हुन सकेको बताए ।

उनका अनुसार आगामी दिनमा सरकारले दिने सहुलियतपूर्ण कर्जाका लागि छुट्टै रणनीति बनाइनेछ ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलका अनुसार शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिँदा बैंक जोखिममा नपर्ने बताए । उनले भने, 'बैंकले ऋण दिनका लागि केकेमा समस्या भएको भन्ने कुरा बाहिर ल्याउनुपर्छ।'

युवा परिषद्ले बैंकसँग के कारणले सो प्रकृतिको कर्जा प्रवाह नभएको हो भनेर प्रश्न गर्दा बैंकहरुले कुनै जबाफ नदिएको ढुंगेलले जानकारी दिए । उनले कारण पत्ता लागेमा युवालाई सोहीअनुसारको काउन्सिलिङ गरिने बताए।

सरकारले चालू आवको बजेटमा 'शैक्षिक प्रमाणपत्रको धितोमा कर्जा' कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, विदेशबाट फर्किएका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक कर्जा, व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यक्रम ल्याएको थियो । तर यी कुनै कार्यक्रम सरकारले सोचेजस्तो सफल हुन सकेको छैन ।

कसरी लिने शैक्षिक प्रमाणपत्र धितोमा कर्जा

शैक्षिक प्रमाणपत्र लिन चाहने व्यक्तिले न्यूनतम १२ पास गरेको हुनुपर्छ। त्यस्ता व्यक्तिले व्यवसायका लागि कर्जा लिन चाहेमा शैक्षिक प्रमाणपत्रको प्रतिलिपिसहित नजिकैको बैंक तथा वित्तीय संस्थामा निवेदन दिनुपर्छ। बैंकले व्यक्तिले सञ्चालन गर्न लागेको व्यवसाय, उसको आम्दानी, व्यवसायको दिगोपन र व्यवसायले दिने प्रतिफल हेरेर मात्र लगानी गर्दछ।

नियमित किस्ता तिर्न नसक्ने अवस्था देखेमा बैंकले निवेदकले चाहेको व्यवसायमा कर्जा प्रवाह गर्दैन। नेपाल राष्ट्रबैंकले यस्तो कर्जा बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट लिन मिल्ने व्यवस्था गरेको छ।




प्रतिक्रिया