'सेटिङ' मै हुन्छ तस्करी...

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/taskari.jpg

जनकपुरधाम – केही दिनअघि भन्सारको टोलीले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित एक घरबाट ठूलो परिणाममा लत्ताकपडा, चप्पल जुत्ताहरुको पोका नियन्त्रणमा लियो। भन्सारको टोलीले गुप्त सूचनाको आधारमा छापामार्दै लाखौं मूल्य पर्ने ती सामानहरु नियन्त्रणमा लिएको थियो। ती समानहरु भन्सार छलेर जनकपुरसम्म भित्र्याइएको थियो।

यसैगरी केही दिनअघि धनुषाको विदेह नगरपालिका–१ महिनाथपुरमा सशस्त्र प्रहरीको पोस्टभन्दा करिब २० मीटर टाढा रहेको एक घरबाट भन्सारको टोलीले १९ लाखभन्दा बढीको सामान नियन्त्रणमा लियो।

गत चैतमा भन्सारका केही कर्मचारी हंसपुर नगरपालिका–८ मा तस्करीको सामान नियन्त्रण गर्न पुगे। सशस्त्र बेस क्याम्प सोनीगामाभन्दा मात्रै ५ सय मीटरको दुरीमा मोटरसाइलमा तस्करीका सामान लगिरहेका तस्करको समूहले उल्टै भन्सार कर्मचारीहरुलाई घेराबन्दीमा पारेर टाप कसे।

पछिल्लो पटक धनुषाको मुखियापट्टी मुसहरिनया गाउँपालिकामा रक्सी तस्करहरु ड्युटीमा रहेका एकजना सईको हतियार खोसेर सीमा कटे। पछि प्रहरीको हतियार सीमा नजिकै झाडीमा फेला परेको थियो।

यी घटनाहरु यस क्षेत्रमा हुने तस्कारीका प्रतिनिधि उदाहरणमात्र हुन्। भारतीय बजारबाट नेपालसम्म सामान भित्र्याउन सीमा कटेर आउनुको विकल्प छैन। गाडी होस या साइकल सामान भित्र्याउन तस्करहरुले सीमा प्रयोग गर्नुपर्ने हुन्छ। सीमामा २४ औं घन्टा सशस्त्र प्रहरी पनि खटिएका हुन्छन्। यद्यपी भन्सारको टोलीले घरघर पुगेर तस्करीको सामान बरामद गर्न थालेपछि प्रहरीकै सेटिङमा तस्करी हुने गरेको आशंका उब्जाउने ठाउँ दिएको छ।
 
चोरी निकासी नियन्त्रण गर्न खटिएका सुरक्षा निकायभन्दा बढी सामान भन्सारका कर्मचारीहरुले नै नियन्त्रणमा लिन सफल भएको छ। तस्करी नियन्त्रणका लागि तैनाथ प्रहरीकै अगाडिबाट सामान ओसारपासार भएपनि केहीमात्र पक्राउ पर्ने गरेका छन्।

जनकपुर बजारका विभिन्न पसलहरुमा रजनीगन्धा, तुलसी, पान पराग राज निवासजस्ता पान मसाला र गुटखाहरु छ्यापछ्याप्ती किन्न पाइन्छ। उपभोक्ताले तुलसीसहित एउटा रजनीगन्धा खरिद गर्न ४५ रुपैयाँ तिर्नुपर्छ। तर रजनीगन्धा, तुलसी, गुटखाजस्ता पान मसालामा भन्सारको राजश्व असुली शून्य छ। पान मसालामा राजश्व असुली शून्य हुनु तर बजारमा छ्यापछ्यापी पाउनाले पनि तस्करी भइरहेको पुष्टि हुन्छ।

जनकपुर भन्सार कार्यालयका प्रमुख रामेश्वरकुमार मिश्रका अनुसार रजनीगन्धा र तुलसीमा प्रतिकिलो ८८५ रुपैयाँ अन्तःशुल्क तोकिएको छ। यसैगरी ३० प्रतिशत भन्सार र ३० प्रतिशत करसहित एक किलोका लागि करिब १ हजार १७ रुपैयाँ भन्सार बुझाउनुपर्ने उनले बताए। 

नेपाली बजारमा दैनिक कराडौंको कारोबार हुने रजनीगन्धा र तुलसीजस्ता पान मसाला तस्करी भइरहेपनि प्रहरी मुकदर्शक बनेको छ। होटल र औषधि पसलहरुमा समयसमयमा अनुगनम गर्ने जिल्ला प्रशासन कार्यालयले समेत सेवनकर्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने पान मसालाहरु भन्सारै नतिरी बजारमा बिक्रि वितरण भइरहेपनि खोजबिन गर्न सकेको छैन्। भन्सार प्रमुख मिश्र रजनीगन्धा, तुलसीजस्ता पान मसालाहरु वैधानिक बाटोबाट नआएको स्वीकार गर्छन्।

नेपाल सरकारले साल्ट ट्रेडिङबाहेक अन्य कम्पनीको नुन बिक्रि गर्न रोक लगाएको छ। तर जनकपुरसहित सीमा क्षेत्रका अधिकांश पसलहरुमा भारतीय कम्पनीका नुन खुलेआम बिक्रि वितरण भएको पाइन्छ। 

प्रहरीले सक्रिय भूमिका देखाउन नसक्दा तस्करी मौलाउँदै गएको भन्सारका एक कर्मचारीले बताए। ‘हामीसँग हतियार छैन्, तस्करी रोक्ने प्रयास गरेपनि कमजोर भइन्छ,’ नेपाल समयले ती कर्मचारीले भने, ‘प्रहरीसँग हतियार छ, तर सक्रिय भएको देखिएको छैन्।’

भन्सार प्रमुख मिश्रले पछिल्लो ६ महिनाको अवधिमा मात्रै झण्डै पौने चार करोडको सामान आफूहरुले नियन्त्रणमा लिएको बताए। यसबाहेक जरिवानावापत ५ करोड रुपैयाँ असुल गरिएको उनले जानकारी दिए। तस्करी मौलाउँदै जाँदा राजश्व क्षति हुनुका साथै उपभोक्ताले समेत सुविधा पाउन नसकेको उनको भनाइ छ।

भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत वैशाख महिनामा भन्सार कर्मचारीको गस्ती टोलीले ५० लाख २७ हजार ८३० मूल्य बराबरको चोरी निकासीको समान नियन्त्रणमा लिएको छ भने सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्मले ८ हजार, नेपाल प्रहरीले  २६ लाख ११ हजार २५९ र सशस्त्र प्रहरी बलको अन्य टोलीले ८ लाख ७१ हजार ७ सय मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ।

चोरी निकासी नियन्त्रण गर्न खटिएका सुरक्षा निकायभन्दा बढी सामान भन्सारका कर्मचारीहरुले नै नियन्त्रणमा लिन सफल भएको छ। तस्करी नियन्त्रणका लागि तैनाथ प्रहरीकै अगाडिबाट सामान ओसारपासार भएपनि केहीमात्र पक्राउ पर्ने गरेका छन्।

सीमा क्षेत्रबाट तस्करी भइरहेपनि सोचेअनुसार नियन्त्रण हुन नसकेको भन्सार प्रमुख मिश्र बताउँछन्।




प्रतिक्रिया