सत्ताधारी राजपाको आरोप : मन्त्रीहरु क्षेत्रमुखी 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/pradesh_2_sansad.jpg

जनकपुरधाम - प्रदेश २ मा समाजवादी पार्टी र राजपा नेपाल गठबन्धनको सरकार छ। तर, राजपाका सांसदहरुले आफ्नै सरकारले ल्याएको नीति तथा कार्यक्रमको विरोध गरेका छन्। सरकारले आगामी आर्थिक वर्षको लागि पेश गरेको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि सुरु भएको छलफलमा राजपा सांसदहरुले विरोध गरेका हुन्।

छलफलमा बोल्दै सत्तारुढ राजपाका सांसदले मन्त्रीहरुले आफ्नो लागिमात्र काम गरेको आरोप लगाए। प्रदेशमूखीभन्दा पनि मन्त्रीहरु क्षेत्रमूखी बनेको राजपा सांसदहरुको आरोप छ।

राजपा सांसद विदेश्वर यादव ‘विक्की’ ले भने,‘संसारलाई कर्मचारी अभाव देखाएर पन्छिने मन्त्रीहरुले आफ्नो क्षेत्रमा कसरी करोडौंको बजेट लगे? आफ्नो क्षेत्रमा बजेट लग्न कर्मचारी कहाँबाट आए ?’

‘जनतालाई किति दिन अझै ठग्ने ?’ उनले भने,‘राम्रो र उत्कृष्ट प्रदेश बनाउने कुरा नारामा मात्र सीमित भएको छ। यो प्रदेश सातौं नम्बरमा पनि पर्न नसक्ने अवस्थामा पुगिसकेको छ।’

मन्त्रीहरुको व्यक्तिवादी र परिवारवादी सोचका कारण प्रदेश सरकार फेल हुने संघारमा पुगेको सांसद यादवले बताए। ‘आफूले केन्द्रले अधिकार खोसेको छ भत्रे तर प्रदेशका जनतलाई कस्तो अधिकार दिएको हो यसबारे कसले बोल्ने ?,’ यादवले प्रश्न गरे।
 
असफल हुने नीति तथा कार्यक्रम आएको भन्दै सांसद यादवले सुनकोशी, कमला डाइभर्सनजसता योजनाहरु प्रदेश सरकारले कुनै हालतमा निर्माण गर्न नस्कने दाबी गरेका छन्।

राजपाका अर्का सांसद मनिष सुमनले नीति तथा कार्यक्रम मन्त्रीमुखी बनेको आरोप लगाए। ‘मुख्यमन्त्री तथा मन्त्रीहरुले आ–आफ्नो क्षेत्रमा योजना समावेश गरेका छन्,’ सुमनले भने,‘सरकार निर्वाचन क्षेत्रको मात्र बनेको छ।’

राजपाका सांसद नेत्रविक्रम साहले चालू आर्थिक वर्षको बजेट किन खर्च हुन नसकेको भन्दै सरकारको जबाफ माग गरे। फ्रिज भएको बजेटको सम्पूर्ण जिम्मेवारी मुख्यमन्त्री र मन्त्रीहरुले लिनुपर्ने उनको भनाइ थियो।

राजपाकै सांसद डा.रीना यादवले सरकारले सबैलाई समेटन नसकेको बताइन्। सत्तापक्षमै रहेर पनि संशोधन हाल्नु बाध्यता भएको उनको भनाइ थियो।

नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले आफ्नो क्षेत्रमा करोडौंको बजेट लैजान कर्मचारी कहाँबाट आइपुग्यो भन्दै सरकारलाई प्रश्न गरे। मन्त्रीहरुले बजेटको भद्रगोल गरेको बताउँदै आफ्ना छोरा र कार्यकर्तालाई बजेट बाँड्ने परिपाटी गलत रहेको चौधरीले उल्लेख गरेका छन्।

प्रमुख प्रतिपक्षी नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले प्रदेशलाई थुप्रै खर्चमा पार्ने नीति तथा कार्यक्रम आएको आरोप लगाए। नाराहरुले भरिएको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा उनले शंका व्यक्त गरेका छन्।

हिन्दीको विरोध

सरकारले हिन्दीलाई सम्पर्क भाषा बनाउने प्रस्ताव गरेपछि प्रतिपक्षी दलहरुले यसको कडा विरोध गरेका छन्। यद्यपि सत्ता पक्षका सांसदहरुले हिन्दीलाई सम्पर्क भाषा बनाउन लागिएको प्रति सरकारको बचाउ गरे।

नेकपा सांसद किशोरी साहले प्रदेशभित्र बोलिने मैथिली र भोजपुरीलाई लोप गराउन हिन्दीलाई सम्पर्क भाषा बनाउन खोजिएको भन्दै सरकारको आलोचना गरे। यसैगरी नेकपाकै सुन्दरबहादुर विश्वकर्मा, मन्जुकुमारी यादवलगायतका सांसदहरुले हिन्दीलाई सम्पर्क भाषा बनाउनु गैर संवैधानिक कदम रहेको दाबी गरे।




प्रतिक्रिया