छाया र सरकारका अर्थमन्त्रीको एउटै मञ्‍चमा यस्तो जुहारी...

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/minendra_khatiwada.jpg

काठमाडौं – छाया र सरकारका अर्थमन्त्रीको जुहारी चलेको छ। नीति अनुसन्धान तथा विकास नामक संस्थाले शुक्रबार गरेको बजेटको अन्तरक्रिया कार्यक्रममा पहिलो पटक सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा र विपक्षी दलका छाया अर्थमन्त्री डा.मिनेन्द्र रिजाल एउटै मञ्चमा देखिए। छाया अर्थमन्त्री डा.रिजाल अन्यत्रजस्तो आक्रामक देखिएका थिएनन् तर डा. खतिवडा र डा.रिजालबीच केही कुरामा भने जुहारी चलेको थियो।

छाया अर्थमन्त्री डा.रिजालले अहिले बृद्धभत्ता र सामाजिक भत्ता नबाडेर सरकारले सो रकम विकास निर्माणमा लगाउन सकेको भए राम्रो हुने बताएका थिए। सोही कुराको जवाफ दिँदै अर्थमन्त्री डा.खतिवडाले चुनावी घोषणापत्रमा उल्लेख भएका कुराहरु तत्काल जनताले खोज्ने भएकोले बृद्धभत्ता र सामाजिक सुरक्षा भत्ता बृद्धिको लागि सरकार मजवुर भएको स्पष्ट पारे। 

त्यस्तै छाया अर्थमन्त्री डा.रिजालले विप्रेषणको कारण आयात बढेको र सोही बढेको आयातमा भन्सार लगाएर अप्रत्यक्ष रुपमा सरकारले खाडीमा काम गर्ने नेपालीको पसिनामा कर लगाएको तर्क अघि सारेका थिए। यसको जवाफमा सरकारका अर्थमन्त्री डा.खतिवडाले विप्रषेणको कारण भन्सार राजस्व तथा भ्याटमा आउने राजस्व बढेको यथार्थ भएको बताउँदै राजस्वको करिब ६० अर्ब विप्रेषणबाट उत्पन्न आयातबाट नै कर उठेको जवाफ दिए।
 
डा.खतिवडाले करको दायरा धेरै फराकिलो बनाउने आधार कम भएको जानकारी दिँदै भने ‘अब करको दर होइन, आधार बढाउने हो । तर कर प्रणालीमा अब ‘स्पेश’ निकै कम छ।’

आयकर बढाउन खोज्दा नेकपाका नेताकै विरोध

अर्थमन्त्री डा.युवराज खतिवडाले २५ लाख रुपैयाँ भन्दा बढी वार्षिक आम्दानी गर्ने व्यक्तिको आयकर बढाउने विषयमा आफ्नै पार्टीका केही नेताहरुसँग कुरा नमिलेको बताएका छन्। उनले भने, ‘हामीले कर तिर्नुपर्छ भन्ने मानसिकता अझै बनाएका छैनौं।’ उनले नेपालको राजस्वमा करिब ६० अर्ब रुपैयाँ विप्रेषणको प्रभाव परेको बताए।
 
डा.खतिवडाले संविधान नै सम्झौताको दस्तावेज भएकाले यो बन्नुपूर्वका आफ्ना एजेण्डालाई अघि सारेर बजेट खोज्नु गलत भएको तर्क दिए। 

सो कार्यक्रममा अर्थविद् डा. डिल्लीराज खनालले बजेटको आकार, बजेट स्रोत सबै समय सापेक्ष र परम्परा अनुसार नै भएको बताउँदै अहिलेबाटै बजेट कार्यान्वयन गर्न लाग्नुपर्ने धारणा राखे।




प्रतिक्रिया