प्रधानाध्यापक र नगरपालिकाबीचको विवादमा पिल्सिँदै विद्यार्थी

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/gherau.jpg

जनकपुरधाम – धनुषाको विदेह नगरपालिकाको तिनकौरियास्थित सामुदायिक विद्यालय मावि गिद्धा बेलापट्टीका प्राधानाध्यापक र नगरपालिकाबीचको विवादले अध्ययनरत छात्रछात्राहरुको पठनपाठन प्रभावित भएको छ।

विद्यालयका प्रअ पवन मण्डललाई सोही स्थानीय तहभित्रकै अर्को विद्यालयमा सरुवा गर्ने निर्णय भएपनि जान नमानेपछि उनी र नगरपालिकाबीच विवाद सुरु भएको हो। झण्डै एक महिनादेखि नगरपालिका र प्रअ मण्डलबीच विवाद चल्दै आइरहेको छ।

नगरपालिकाको कार्यपालिका बैठकले १९ वैशाखमा प्रअ मण्डलको सरुवा दुहबीस्थित शंकर जनता उमाविमा गर्ने निर्णय गर्‍यो। तर मण्डल भने गिद्धा बेलापट्टीस्थित विद्यालयबाट कुनै हालतमा नजाने अडानमा देखिएका छन्।

सरुवा गरिएका मण्डल जान नमानेपछि नगरपालिकाले विद्यालयको नाममा आएको रकम खातामा हालेको छैन्। विद्यार्थीहरुको छात्रवृत्तिसहित विभिन्न शिर्षकमा आएको रकम विद्यालयको खातामा नहालेपछि शुक्रबार त्यहाँ अध्ययनरत विद्यार्थीहरुले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन्। नगरपालिकाले प्रअ मण्डललाई स्थानीय तहले कानुनविपरित सरुवा गरेको कतिपय अभिभावकहरुको भनाइ छ।

प्रअ मण्डलको सरुवाको निर्णय बदर र विद्यालयको खातामा रकम राख्न माग गर्दै विद्यार्थीहरुले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन्। नगरपालिकाका मेयर बेचन दास र प्रअ मण्डलबीचको विवादमा आफुहरु पिल्सिएको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्। स्थानीय जनप्रतिनिधिहरुले भन्डै दुई घन्टापछि कार्यालयमा लगाइएको ताल्चा फुकाएका थिए।

कारबाहीमा परेका प्रअ मण्डलले आफु जोगिन विद्यार्थीहरुलाई प्रयोग गरेर नगरपालिका कार्यालयमा ताल्चा लगाउने काम गरेको मेयर दासको दाबी छ। यसअघि पनि प्रअ मण्डलले बाहिरबाट उत्छृंखल तत्वहरुलाई बोलाइ आफुविरुद्ध नाराबाजी गर्न लगाएको उनले बताए। आफुहरु कार्यालय बाहिर रहेको मौका छोप्दै प्रअ मण्डलले विद्यार्थी उचालेर तालाबन्दी गर्न लगाएको मेयर दासले दाबी गरे।

नगरपालिकामा भएको तालाबन्दीसम्बन्धी घटनाबारे जानकारी लिन खोज्दा प्रअ मण्डलले फोन उठाएनन्।




प्रतिक्रिया