प्रदेश २ को नीति तथा कार्यक्रमः सत्ता पक्षबाटै संशोधन हाल्ने चेतावनी

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/manish_suman.png

जनकपुरधाम- प्रदेश २ सरकारले आइतबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल असन्तुष्ट देखिएका छन्। उसले नीति तथा कार्यक्रमविरुद्ध संशोधन हाल्ने चेतावनीसमेत दिएको छ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम ज्यादै महत्वाकांक्षी रहेको र कार्यान्वयन हुनेप्रति आशंका रहेको भन्दै राजपाका महासचिव एवं प्रदेशसभा सदस्य मनिष सुमनले असन्तुष्टि जनाएका छन्। 

‘राजपाबाट सरकारमे प्रतिनिधित्व गर्ने मन्त्रीहरुले मन्त्रिपरिषद् बैठकमा सुझावहरु पेश गर्नुभएको थियो,’ प्रदेशसभा सदस्य सुमनले भने,‘ती सुझावहरु कति समेटिए समेटिएन् हेर्न बाँकी छ। तर नीति तथा कार्यक्रममा संशोधन आवश्यक छ।’ नीति तथा कार्यक्रममा आफूहरुले संशोधन हाल्ने उल्लेख गर्दै उनले भने,‘यो कुनै गीताको ज्ञान होइन, अन्तिम पनि होइन, संशोधन हुन्छ।’

नीति तथा कार्यक्रममा ‘गरिनेछ, गरिँदै जानेछ’ जस्ता कमजोर शब्दाबलीहरुको प्रयोग भएकोले कार्यान्वयन हुनेमा आशंका रहेको उनले बताए। ‘नीति तथा कार्यक्रमले ठुलो तात्विक महत्व राख्नु पर्दथ्यो,’ उनले भने,‘तर खासै तात्विक महत्व हामीले पाउन सकेका छैनौं।

सरकारले आफूले गरेको कामको प्रशंसा आफैले गर्नुबाहेक नीति कार्यक्रममा अरु केहि देखिएको छैन्। सरकारले आफ्नो पिठ्यु आफैले थपथपाउने काम गरेको छ।’

नीति तथा कार्यक्रम प्रचलनजस्तै भएको भन्दै सुमनले भने,‘वाचन गर्ने तर कार्यान्वयन नहुने। पछिल्लो नीति तथा कार्यक्रमपनि शतप्रतिशत त टाढै जाओस २५/५० प्रतिशतपनि कार्यान्वयन हुन सकेको छैन्।’

प्रमुख प्रतिपक्षी दल नेकपाका प्रमुख सचेत सुन्दर विश्वकर्माले नीति तथा कार्यक्रममा केहि नयाँ कुरा आएपनि थप गर्नुपर्ने धेरै कुरा रहेको प्रतिक्रिया दिएका छन्। सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनको पाटो फितलो रहेको उनले बताए। कार्यान्वयन हुनसक्ने कार्यक्रममात्र आउँदा राम्रो हुने उनको भनाइ थियो।

प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले धेरै महत्वपूर्ण विषयहरु नीति तथा कार्यक्रममा समावेश नगरिएको बताए। कम महत्व बोकेका विषयहरुलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएपनि महत्पूर्ण कुराहरु छोडिएको उनले बताए। नीति तथा कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयको चर्चासमेत नहुनु दुखद रहेको बताउँदै उनले नीति तथा कार्यक्रमले स्थानीय तहको अधिकार प्रत्यायोजन गर्ने विषयमा पनि केहि नबोलेको उल्लेख गरे।

नीति तथा कार्यक्रम कार्यान्वयन हुने मुख्मन्त्रीको दाबी

सत्तारुढ दलकै सांसदले कार्यान्वयन हुनेमा आशंका व्यक्त गरिरहेका बेला मुख्यमन्त्री लालबाबु राउतले भने सरकारले गर्नसक्ने योजना नै समावेश गरिएको दाबी गरेका छन्।

प्रदेशसभा भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री राउतले कर्मचारी, कानून अभावजस्ता समस्याका कारण पछिल्लो नीति तथा कार्यक्रम पूर्ण रुपले कायान्वयन हुन नसकेपनि यसवर्ष त्यस्तो समस्या नरहेको उल्लेख गरे। नीति तथा कार्यक्रममा नाराभन्दा पनि सरकारले पुरा गर्न सक्ने योजनाहरु मात्र समावेश गरिएको राउतले बताएका छन्।

नीति तथा कार्यक्रमप्रति सत्तारुढ दलकै सांसदहरुको असहमति रहेको सञ्चारकर्मीहरुको जिज्ञासामा मुख्यमन्त्री राउतले कुनै असहमति नरेहो दाबी गरे। यसैगरी मुख्यमन्त्रीले प्रक्रिया मिचेर नीति तथा कार्यक्रम अगाडी बढाएको नीति आयोगका एक सदस्यले लगाएको आरोपप्रति राउतले भने,‘नीति आयोग के हो र ? मुख्यमन्त्रीको सहयोगीमात्र हो। नीति आयोग आफैमा स्वतन्त्र छ र ? नीति आयोगको अध्यक्ष मुख्यमन्त्री स्वयं हुन्छन्। उहाँहरुको काम समन्वय गर्नुमात्र हो। उहाँहरुलाई समन्वय गर्न राखिएको हो असहयोग गर्नलाई होइन्।’




प्रतिक्रिया