उत्साहको पहिलो वर्ष

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/nepal_samaya_first_anniversary.gif

हामीले एक वर्षको यात्रा पार गरेका छौं । संस्थाको जीवनमा वर्ष दिन त्यति लामो समय होइन । तर परिवर्तनका लागि वर्ष दिन होइन, हरेक पल पनि महत्त्वपूर्ण हुन्छ।

बितेको एक वर्षमा हामीले अनलाइन पत्रिकाको भीडमा आफ्नो अलग परिचय पेस गर्ने कोसिस गर्‍यौं। अब खरो प्रतिस्पर्धामा उत्रनुपर्ने बेला छ। त्यो चुनौती सामना गर्न हामी तयार छौं । हाम्रो टिमसँग त्यो सामर्थ्य र साहस अनि आत्मविश्वास छ।

एक वर्षअघि यात्रा थाल्दा हामीले भनेका थियौँ- 

'अनलाइन पत्रकारितामा हाम्रो प्रवेश केवल रहर र लहड होइन, व्यावसायिक पत्रकारिताको एउटा संकल्प र सपना बोकेर हामी यो भीडमा सामेल भएका छौं । भीडमा हामी मिसिएर हराउँदैनौं, त्यो आत्मविश्वास हामीसँग छ । भीडमा रमाउने रहरभन्दा पनि जम्‍ने जाँगर हाम्रो टिमसँग छ।'

अहिले  हामी त्यही लाइनमा हिँडिरहेका छौं। अफवाह फैलाएर पाठकलाई अत्याउने र भिजिटर बढाउने बाटोमा हामी लागेका छैनौं । हामी सूचना तथा विचारको अक्सिजन हुन चाहन्छौं, एकछिनको हावाहुरी होइन। भाइरल बन्‍ने दौडमा हामी सामेल छैनौं,  भरोसायोग्य न्युज पोर्टल बन्‍ने हाम्रो प्रयास हो। सही सूचना र सन्तुलित विचारको शालीन सम्प्रेषणलाई हामीले आफ्नो बटमलाइन बनाएका छौं ।

यात्रा थाल्दा हामीले यो पनि भनेका थियौं-  

'समय सत्य हुन्छ । दुनियाँमा समयजति बलियो सत्य अरू केही छैन । हामी सचेत छौं, समय जति बलवान् छ, तपाईंको सन्तुष्टि र स्वाद त्यति नै मूल्यवान् छ। आमपाठकको स्वाद र सन्तुष्टिलाई ख्याल गर्दै हामी समयमै सही सूचना र सटीक विचार पस्किने प्रयासलाई अझ प्रभावकारी बनाउनेछौं।  खास खबर तथा गहन विचारका लागि तपाईंको समय अब हाम्रो समय हुनेछ । संसारलाई नियाल्दै हामी नेपाल समयसँगै अघि बढ्नेछौं ।  हामी पेस गर्नेछौं,  समयको सत्य । हामीलाई सधैँ चाहिएको छ, तपाईंको साथ ।'

समयको सत्य पस्किने हाम्रो यो प्रयास आगामी दिनमा तपाईँको निरन्तर साथ अनि विश्‍वासले अझ सार्थक हुनेछ। समयमै सही सूचना र समयको सन्तुलित विचारले पाठकलाई जति आनन्द र आधार प्रदान गर्छ, एउटा सानो गलत शब्द र सूचनाले पनि पाठकलाई त्यति नै हानि, पीडा दिन्छ। यसमा हामी अन्त्यन्त संवेदनशील छौं ।

पन्ध्रौं शताब्दीको मध्यतिर युरोपमा जोन गुटेनबर्गले छापाखानाको विकास गरेपछि छापा पत्रकारिताको परम्परागत अभ्यास सुरु भयो । रेडियो र टेलिभिजन हुँदै त्यो अभ्यास डिजिटल चरणमा आइपुगेको छ। प्रविधिको चमत्कारसँगै पत्रकारिताका आयाम व्यापक रुपमा परिवर्तन भएका छन्।  प्रविधिको असिमित पहुँचसँगै सूचना प्रवाहको गति मात्रै बढेको छैन, सूचनाको तृष्णा पनि तीव्र भएको छ भने स्वाद पनि बहुआयमिक भएको छ।

हामीले बुझेको सत्य के हो भने अबको पत्रकारितामा बलवान् हामी पत्रकार होइनौं, यसका पाठक र प्रविधि हुन्। पाठकको स्वाद र सन्तुष्टि, सामग्रीको विविधता र गुणस्तर अनि प्रविधिको प्रभावकारी संयोजनबाटै हाम्रो सफलता सम्भव हुन्छ भन्‍ने  विश्‍वास हामीलाई छ। पाठकको रुचि र रोजाइअनुसार हामी हिँड्न सकेनौं भने हाम्रो यात्रा अधुरो हुनेछ भन्नेमा हामी पूर्ण सचेत छौं । अनि, प्रविधिको गति र समयको मागअनुसार हामी दौडिन वा बदलिन सकेनौं भने हाम्रो यात्रा अर्थहीन हुनेछ भन्‍ने हेक्का हामीलाई छ।

अहिलेको यो डिजिटल भवसागरमा पत्रकारिता सजिलो जागिर होइन, यो निकै संवदेनशील र चुनौतीपूर्ण अभ्यास हो। डिजिटल दुनियाँको यो व्यापकता र संवेदनशीलतालाई हामीले नजिकबाट नियालेका छौं। प्रविधिको क्रान्तिसँगै पाठकसमक्ष सूचनाको प्राप्ति र अभिव्यक्तिका धेरै माध्यम र विकल्प छन् ।



मूल प्रवाहका न्युज मिडियालाई यतिबेला सामाजिक सञ्जालले चुनौती थपिदिएको छ। न्युज मिडियामा भन्दा छिटो सामाजिक सञ्जालमा सूचना र सामग्री आउन थालेका छन्। इन्टरनेटको व्यापकतासँगै नागरिक पत्रकारिताले छलाङ नै मारेको छ। प्रविधिसँगै अहिलेका पाठक पनि धेरै स्मार्ट भएका छन्। समाचार तथा सूचनाका लागि एकछिन पनि कुर्ने धैर्य डिजिटल पाठकसँग छैन ।

न्युज पोर्टल सञ्चालनमा पछिल्लो एक वर्षमा गजबको उत्साह देखिएको छ। निजी रहर र लहडमा मात्र होइन, संस्थागत लगानीमा व्यावसायिक अनलाइन सञ्चालनमा आउन थालेका छन्। डिजिटल पत्रकारिताको विकासमा यो आसलाग्दो संकेत हो।

गुणस्तर र विश्वसनीयताको प्रश्‍न आफ्नो ठाउँमा छ । तर, अनलाइन पत्रिकाहरूको संख्यात्मक वृद्धि  उत्साहप्रद छ । अनलाइन कति छन्, त्यसको आधिकारिक लेखाजोखा छैन।  प्रेस काउन्सिलको सूचीकरणमा सहभागी तथा सूचना विभागमा दर्ता हुने अनलाइन पत्रिकाहरूको संख्या पन्ध्र सय नाघेको छ । यो भन्दा धेरै गुणा बढी अनलाइन खुलेका छन्, चलेका छन् । असरल्ल उम्रेका अनलाइन पत्रिकाको नियमन र अनुगमन गर्न राज्यका निकायलाई पनि सकस भएको छ।

बजारमा हामीले पनि सुनेका छौं, अनलाइनप्रति आमधारणा खासै राम्रो छैन। अनलाइनको गुणस्तर र विश्‍वसनीयताबारे अनेक प्रतिक्रिया र गुनासा छन्।  त्यसबाट हामीलाई थप सिक्ने र सच्चिने प्रेरणा पनि मिलेको छ।

नेपालको अनलाइन पत्रकारितामा बल्ल व्यावसायिक प्रतिस्पर्धाको अवस्था बन्दैछ। यसको गुणस्तर, विश्‍वसनीयता र नियमनको पक्षमा अब बहस सुरु भएको छ । संख्यात्मक रूपमा देखिएको तीव्र विकाससँगै अब गुणस्तरको गोरेटो पनि बिस्तारै कोरिन अपेक्षा गर्न सकिन्छ।

अनलाइन पत्रकारितामा विश्‍वसनीयताको बाटो विकास गर्दै गुणस्तरतर्फ लम्कन हामी निरन्तर अघि बढ्नेछौं।  अनलाइनको भीडमा हाम्रो प्रस्तुति अलि फरक बनाउने कोसिस हामीले गरेका छौं।  आम अनलाइनको औसत ट्रेन्डलाई हामीले पछ्‌याएका छैनौं र पछ्‌याउने छैनौं। कपीपेस्ट गर्ने,  हुँदै नभएको घटनाक्रमलाई पनि सनीसनीपूर्ण हेडिङ राखेर जबर्जस्ती समाचार पढाउने तथा बिकाउने बाटोमा हामी लागेका छैनौं। डिजिटल पत्रकारितालाई थप व्यावसायिक तथा शुद्धीकरण गर्ने अभियानमा हाम्रो सक्रिय साथ र ऐक्यबद्धता रहनेछ।

अनलाइन पत्रिकाप्रति अहिले बजारमा जुन खालको धारणा छ, त्यसलाई बदल्ने चुनौतीलाई हामीले अवसरका रूपमा उपयोग गर्दैछौं। अब सादा सूचना तथा सामान्य समाचारले मात्रै पनि पाठक सन्तुष्ट हुने अवस्था छैन । आम पाठकको रुचि र प्राथमिकतालाई पनि ख्याल गर्नुपर्ने चुनौती छ। सूचनाको त्यो बहुआयामिक तृष्णालाई तत्कालै मेटाउने कोसिसमा हामी चुक्‍ने छैनौं।
 
अन्त्यमा-

गणतन्त्र  दिवसको अवसरमा सबै सम्मानित पाठकसमक्ष शुभकामना दिन चाहन्छौं। मुलुकमा नयाँ राजनीतिक युग प्रारम्भ भएको एउटा ऐतिहासिक अवसर हो आज। झन्डै अढाइ सय वर्ष लामो एकात्मक राजतन्‍‍त्र अन्त्य भएर यही दिन मुलुकमा विधिवत् रूपमा संघीय लोकतान्त्रिक गणतन्‍‍त्र स्थापना भएको थियो । १२ वर्षअघि आरम्भ भएको गणतान्त्रिक यात्रालाई संस्थागत र परिस्कृत गर्ने सिलसिला अहिले पनि जारी छ । स्वतन्त्र  सूचना र स्वच्छ विचारको प्रवाह गर्ने क्रममा हाम्रो यात्रा सधै परिवर्तन, लोकतन्त्र र समृद्धिका पक्षमा सधैं समर्पित रहनेछ।

एक वर्षको यात्रामा हामीलाई सघाउने र सल्लाह दिने सबै सम्मानित पाठक, विज्ञापनदाता, सूचनादाता र समस्त शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं। तपाईंको निरन्तर सहयोग, सद्‌भाव र सल्लाह हाम्रा लागि सधै अमूल्य उर्जा हुनेछ।




प्रतिक्रिया