'हिमाली हीरा' टिप्‍न पाटनमा हजारौंको भीड

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/Yarsa_patan.jpg

सुर्खेत- 'हिमाली हीरा' अर्थात् बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन गर्न कर्णालीका सयौं नागरिक पाटनमा पुगेका छन् । यार्सा संकलन अनुमति पाएसँगै यहाँका सर्वसाधारण मुगु र डोल्पाका पाटनमा पुगेका हुन् । यार्सा संकलन गर्न डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले सर्वसाधारणलाई एक महिनाका लागि अनुमति दिएको छ ।

निकुञ्जले डोल्पाको रिग्मो, साल्दाङ, धो, त्रिपुराकोट, सुलिगाड, सुम्दुवा, छेप्का, पलमलगायत १४ वटा पाटन क्षेत्र र मुगेको डोल्फु र किम्री पोस्टबाट यार्सा संकलन अनुमति दिएको छ । निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवका संकलकलाई छुट्टाछुट्टै प्रवेश शुल्क लिएको छ ।

यादवका अनुसार मध्यवर्ती क्षेत्रका सर्वसाधारणलाई ५ सय, जिल्लाभित्रका सर्वसाधारणका लागि २ हजार र जिल्लाबाहिरका सर्वसाधारणका लागि ३ हजार प्रवेश शुल्क लिएको हो । हरेक वर्ष यार्सा संकलन गर्न जुम्ला, मुगु, हुम्ला, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, पूर्वलगायत छिमेकी जिल्लाका सर्वसाधारण यार्सा टिप्न पाटन पुग्छन् ।

कति हुन्छ कमाइ ? 

यार्साको कमाइ निकै लोभलाग्दो छ । वर्षौंदेखि यार्सा संकलन गर्दै आएका र अनुभवी परिवारले कम्तीमा एक लाखदेखि एक करोडसम्म कमाउँछन् । तर सबैको हकमा भने यो कुरा लागू हुँदैन । कतिपयले कमाउनु त परै जाओस् ऋणको भारी बोकेर पनि फर्कन गरेका छन् ।

कोही बिरामी भएर बीचमै फर्कनुपर्ने बाध्यता हुन्छ भने कसैको त लेक लागेर ज्यान जान्छ । पाटनमा पानी परेमा भने ज्यान जोगाउन निकै हम्मेहम्मे पर्छ । एकातिर सास फुलिने समस्या तर अर्कोतिर चोरडाँकाको उत्तिकै क्रास हुन्छ । जसले गर्दा ज्यानको बाजी थापेर यार्सागुम्बा संकलन निकै चुनौतीपूर्ण छ ।

तर समग्रमा यार्साको राम्रो कमाइ गर्छन् । जसले गर्दा यार्सा संकलनका लागि पाटनमा जानेहरु निकै तँछाडमछाड हुन्छ । उसो त डोल्पाका अधिकांश नागरिकले यार्साबाट वर्ष दिन पुग्ने खर्च जुटाउने गरेका छन् ।



यार्साको मूल्य कति ?

अहिलेसम्म यार्साको यकिन मूल्य तोकिएको छैन । भर्खर टिपेको र ढुस्सी नपरेको एउटा यार्साको सामान्यतया मूल्य तीन सय पर्छ । यसलाई किलोको हिसाब गर्दा कम्तीमा २० लाखदेखि ३० लाख रुपैयाँसम्म पाउँछन् । तर यो मूल्य पनि निकै कम हो । चीनमा यसको एक किलो यार्साको मूल्य एक करोडको हाराहारीमा जान्छ ।

अझ यार्सा लैजाने एजेन्ड (दलाली) हरुले आफूखुसी यार्साको मूल्य तोक्नसमेत पछि पर्दैनन् । वर्षैपिच्छे नेपाल सरकारले यार्साको मूल्य तोके पनि त्यो मूल्य यहाँका संकलकले पाउँदैनन् । जसले यार्साको मूल्य यतिनै हो भन्ने अवस्था छैन ।

कहाँ जान्छ यार्सा ?

नेपाली यार्साको प्रमुख बजार चीन हो । चीनमा छोङछाओ, तोङछोङ, स्याछाओलगायतका सहरमा यसको माग निकै ठूलो छ । त्यहाँका स्थानीयले सिंगै यार्सा वा त्यसबाट बनेका विभिन्न 'डायटरी सप्लिमेन्ट' का क्याप्सुल एकअर्कालाई उपहार दिन्छन् । चीनले यार्साबाट चुरोटदेखि ह्विस्की र विभिन्न औषधि बनाएर बिक्रीवितरण गर्दछ । अवैध रुपमा भारत लगायतका विभिन्न देशमा समेत यार्सा पुग्ने गरेको छ ।



यार्सा संकलन गर्न विद्यालय बन्द

अधिकांश विद्यार्थी र शिक्षक यार्सा संकलनमा गएपछि डोल्पाका अधिकांश विद्यालय बन्द भएका छन् । कमाइ राम्रो हुने भए पनि अभिभावकसँगै विद्यार्थी पाटनतिर पुगेका हुन् ।

विद्यार्थी नभएपछि त्रिपुरासुन्दरी नगरपालिकामा १ को त्रिपुरा मावि काटियाचौर, वडा नं २ मा त्रिपुराकोट मावि, जनप्रभा मावि लिकु, मुकुटेश्वर मावि फुल्चिङ, कस्तुरी आभारभूत विद्यालय भुतिंग्रा, आदर्श मावि जुफाल, सरस्वती मावि दुनै, लक्ष्मी मावि थर गाउँ, अन्नपूर्ण मावि शर्मी, त्रिपुरा मावि काइगाउँ, भगवती मावि थरगाउँ, तापरिजा मावि फोक्सुण्डोका विद्यालय बन्द छन् ।

तर त्रिपुरा मावि त्रिपुराकोटका शिक्षक नवराज थापा भने विद्यार्थी नभएकै कारण विद्यालय बन्द गरिएको बताउँछन् । जनप्रभा मावि लिकुका प्रधानाध्यापक यामप्रसाद शर्माले ९५ प्रतिशत विद्यार्थी नआए पनि विद्यालय बन्द गरिएको दाबी गर्छन् ।

'विद्यालय बन्द भनौं कि के भनौं विद्यार्थी छैनन् पढाइ हुँदैन', शर्मा भन्छन्, 'विद्यार्थी यार्सा टिप्न गए, जिल्लाबाहिरका शिक्षक घरतिर जानुभो ।' विद्यार्थी नभएकै कारण बाध्यताले विद्यालय बन्द गर्नुपरेको उनको तर्क छ । डोल्पाका एक सय १४ विद्यालयमध्ये अधिकाँश विद्यालय एक महिनाका लागि बन्द छन् ।




प्रतिक्रिया