‘गुट उपगुटको कारण कांग्रेस कमजोर’

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/congress-copy_1.jpg

भैरहवा – नेपाली कांग्रेस गुट उपगुटले गर्दा कमजोर भएको नेताहरुले बताएका छन्। नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको राष्ट्रिय जागरण अभियानलाई सम्बोधन गर्दै नेताहरुले पार्टीभित्र विभिन्न नाममा भइरहेको गुटउपगुटलाई निर्मूल नगरेसम्म कांग्रेस बलियो नहुने बताए।
 
सो अवसरमा प्रदेश नम्बर ५ सार्वजनिक लेखा समितिका सभापति डिल्ली बहादुर चौधरीले देशमा भ्रष्टाचार र बेथीति बढेको बताउँदैं त्यसको पार्टीले एकजुट भइ विरोध गर्नुपर्ने  बताए।

लेखा समिति सभापति चौधरीले वर्तमान सरकारले गरेको गलत कामको पनि जोडदार ढंगले भण्डाफोर गर्नु आवश्यक रहेको बताए। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका चौधरीले कांग्रेसको ईतिहास स्वर्णिम अक्षरले लेखिएको भएता पनि वर्तमानमा पार्टीका नेताहरुबीच मनमुटाव हुँदा बेलाबेला समस्या निम्तिने गरेको बताए। उनले भने , ‘मैले नेताहरुलाई जिल्लामा आउँदा गुट लिएर नआउनुहोला। सिंगो पार्टीको विचार लिएर आउनुस् भन्ने गरेको छुँ।’
 
जागरण अभियानमा नेपाली कांग्रेस रुपन्देहीका जिल्ला उपसभापति फणिन्द्र शर्माले देशलाई सही बाटोमा डोर्याउने नेपाली कांग्रेस भएकोले नेपाली जनताको साथ लिएर अगाडि बढ्ने बेला आएको बताए। उनले नेताहरुले आफ्नो कमजोरी सच्चाएर सिद्धान्तमा रहेर अगाडि बढेमा नेपाली कांग्रेस देशकै ठूलो र शक्तिशाली पार्टी हुने विश्वास व्यक्त गरे।
 
कार्यक्रममा पार्टीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले नेपाली कांगेस नै जनताको साथी भएको चर्चा गर्दै जनताको घरघरमा र मन भित्र रहेको कांग्रेसलाई सक्रिय बनाउन नेताहरुको सक्रियता आवश्यक भएको बताए।

बैशाख २४ बाट सुरु भएको कांग्रेसको राष्ट्रिय जागरण अभियान केन्द्र, जिल्ला हुँदै क्षेत्रीय तहमा आइपुगेको हो। अभियान क्रमशः वडा र बुथ कमिटीसम्म पुग्ने र खुल्ला सभासहित आगामी पुस १६ गते समापन हुने पार्टीका क्षेत्रीय सचिव शुसील गुरुङले बताए।




प्रतिक्रिया