निर्मला हत्याको १० महिना पुरा, सरकार नै हत्याराको संरक्षणमा लागेको आरोप

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/nirmala_kanda.jpg

धनगढी - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको १० महिना पुगेपनि राज्यले अझै हत्यारा पत्ता लगाउन सकेको छैन।
 
गत साउन १० गते हत्या गरिएकी निर्मलाको १० महिना बित्दा पनि हत्यारा पत्ता लाग्न नसकेको भन्दै नागरिक संघर्ष समिति कञ्चनपुरले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएको छ। बिहान ११ बजे देखि १ बजे सम्म निर्मलाको लागि न्याय माग्दै निर्मलाका आमाबुबा, अधिकारकर्मी, स्थानीयले जिल्ला प्रहरी कार्यालयको गेटमा धर्ना दिएका हुन्।
 
बालिका निर्मला पन्तका हत्यारालाई तत्काल सार्वजनिक गर्न उनीहरुले प्रहरी प्रशासनलाई खबरदारी गराए। बिगतमा राज्यले थुप्रै निर्दोष मानिसलाई फसाउन खोजेको भन्दै आगामी दिनमा पनि त्यस्तै भए आम कञ्चनपुरबासी र देशबासी सरकारविरुद्ध सडकमा उत्रिने चेतावनी उनीहरुले दिए। सरकारले निर्मलाको विषयमा अध्ययन अनुसन्धान गर्न गठन भएका थुप्रै समितिहरुले खाली राज्यको ढुकुटी सक्ने काम मात्र गरेको भन्दै आन्दोलनकर्मीले बिनाअर्थ ढुकुटी नसक्न पनि सचेत गराए।
 
https://www.nicasiabank.com/
निर्मलाका बुबा यज्ञराज पन्तले आफू एकमुठी स्वाँस रहुञ्जेलसम्म छोरीको न्यायका लागि लडिरहने बताए। ‘हाम्रो आन्दोलन छोरी निर्मलाको न्यायका लागि मात्र नभएर देशभरका सबै चेलीहरुको जीवनरक्षाका लागि पनि हो’ पन्तले भने,‘मेरो छोरीको जस्तो अरु कसैको छोरीले पनि अन्याय भोग्न नपरोस् भन्ने हो।’ आफ्नो जेठो पत्निले सरकारले उपलब्ध गराएको राहत रकम बुझे पनि त्यसबारे आफूलाई केही जानकारी नभएको भन्दै पन्तले छोरीको न्यायलाई पैसामा बिक्रि गर्ने चाहाना नभएको बताए।
 
अधिकारकर्मी शारदा चन्दले निर्मलाको हत्यारा १० महिनासम्म पनि सरकारले सार्वजनिक गर्न नसक्नु लाजमर्दो कुरा भएको बताइन्। ‘सरकारले निर्मलाको हत्यारा चिनेको छ तर शक्तिशाली व्यक्तिकै संलग्नता भएकाले कारवाही गर्न चाहेको छैन’ चन्दले भनिन्,‘सरकार नै हत्याराको संरक्षणमा लागेको स्पस्टै देखिएकोले यो सरकार रहुञ्जेलसम्म हत्यारा पत्ता लाग्ने आस पनि छैन।’
 
हत्याको १० महिनासम्म पनि अपराधी पत्ता लगाउन नसकेको भन्दै स्थानीयमा अक्रोष बढेको छ। निर्मलाको न्यायका लागि चलेका आन्दोलनमा राज्यको दमनबाट ज्यान गुमाउने देखि घाइते, अंगभंग, अपाङ्ग हुनेहरुको भविष्यका लागि पनि राज्यले चासो दिनुपर्नेमा स्थानीयले जोड दिए।

प्रतिक्रिया