भन्सारमा रोकिएन तस्करी : कारबाहीका नाममा नाटक, घुसको रेट वृद्धि  

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/bhairahawa_bhansar.jpg

भैरहवा – सामान्य झोला बोकेर आउँदै गरेका यात्रुदेखि साइकल, मोटरसाइकल, कार, रिक्सालाई लाइनमा लगाएर केरकार शैलीमा खानतलासी गरेको दृश्य भैरहवा भन्सारमा नयाँ होइन। कर्मचारीले जाँच गर्ने उक्त ठाउँसहित भन्सारको चौतर्फी सुरक्षाको नियमित चेकजाँच भने सिसिटिभीमार्फत कार्यालय प्रमुखले गरिरहेका हुन्छन्। नजिकै सशस्त्र प्रहरी बल राजस्व गस्तीको टिम सतर्क अवस्थामा हुन्छ। तर, कहिलेकाहीं उनीहरू दृष्टिविहीन हुन पुग्छन्। भैरहवा भन्सारमा पछिल्लोपटक सोमबार दिउँसो साढे ४ बजे यस्तै घटना भएको छ। १२ चक्के मालबाहक ट्रक सीधै पार हुँदासमेत न ड्युटीमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले देखे न त सिसिटिभी हेरेर बस्ने कार्यालय प्रमुखले। 

भन्सार पार गरेर झन्डै एक किलोमिटर भैरहवातर्फ आएको ट्रकलाई प्रहरीले नियन्त्रणमा लियो। त्यत्रो ट्रक कतिबेला कसरी गएछ भनेर भन्सार क्षेत्रमा गाईंगुर्इं चलेपछि कर्मचारीहरु थाहा नपाएझैं हो र भन्दै अत्तालिन पुगे। 

पछिल्लो पटक जिजे ०६ ए जेट ६३५९ नं को भारतीय मालबाहक ट्रक भैरहवातर्फ आउँदै गर्दा प्रहरीले पक्राउ गर्‍यो। प्रहरीले नियन्त्रणमा लिएको उक्त ट्रक बिना रोकतोक भन्सार अगाडिको मूल सडकबाट सीधै भैरहवा आएको थियो। सेनेटरी प्याड र डाइपर बोकेको उक्त ट्रक न त्यहाँ सुरक्षाकर्मीले रोके न त भन्सारका कर्मचारीले। स्रोतका अनुसार उक्त ट्रक पास गराउने जिम्मा लिएका एजेन्टले भन्सार कर्मचारी र सुरक्षाकर्मीको सेटिङमा काम गराएका थिए। तर नेपाल प्रहरीसँग कुरा नमिल्दा ट्रक नियन्त्रणमा लिइएको बताइएको छ। प्रहरीले नियन्त्रणमा लिएको ट्रकलाई थप अनुसन्धान गरी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

सोमबार दिउँसो साढे ४ बजेतिर नेपाल प्रवेश गरेको १२ चक्के उक्त मालबाहक ट्रक बिना भन्सार आउँदै गर्दा प्रहरी नियन्त्रणमा परेको हो।
 
छानबिन नाटकमात्रै, अनुसन्धानमा ढिलाइ

भैरहवा भन्सार कार्यालयमा विगतमा पनि विभिन्न आर्थिक अपराध भएका घटना बाहिरएका थिए। दुई वर्षअगाडि तत्कालीन भन्सार अधिकृत मानबहादुर विश्वकर्माको प्रत्यक्ष संलग्नतामा एम ५६९८७ र ५६९९७  नम्बरको प्रज्ञापनपत्रमार्फत ना ६ ख ५६३५ नम्बरको अर्को ट्रकमा रहेको सामग्री भन्सार कार्यालयले भन्सार गरेर पठाएको थियो। उक्त ट्रकलाई पछि नियन्त्रणमा लिएर छानबिन गर्दा लाखौंको भन्सार राजस्व ठगी गरेको प्रमाणित भयो। ट्रकमा पर्दा कपडा, उलन टप मात्र रहेको भनिए पनि चेकजाँज गर्दा हार्डवेयर, लेडिज सुटलगायतका २६ किसिमका करिब ५३ लाख ६० हजार मूल्य बराबरको साम्रगी बरामद भएको थियो। मिडियाले उक्त घटनाको पर्दाफास गरेपछि भन्सार विभाग र अख्तियारले अलगअलग छानबिन गरेको थियो। 

विभागका तत्कालीन निर्देशक दिव्या पोख्रेल संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन भई भैरहवा भन्सारमा आएर स्थानीय र अन्य सरोकारवालासँग उक्त टोलीले सोधपुछ गर्‍यो। भन्सारकै हलमा दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धतासमेत आयोगका सदस्यले गरे। तर उक्त आयोगको प्रतिवेदन अहिलेसम्म कहाँ छ कसैलाई पत्तो छैन। उक्त घटनाका मुख्य अभियुक्त अधिकृत विश्वकर्मा केही समय बिदा बसेर पुनः काममा फर्के। उक्त काण्डमा संलग्न नासु सुवास शर्मा, खरिदारद्वय अतुल शर्मा र विनय जोशीलाई पनि कारबाही भएन। अख्तियार टोलीले स्थलगत अनुसन्धान गरे पनि कारबाही गर्ने हिम्मत देखाएन। 

वैशाख पहिलो साता अख्तियारले भैरहवा भन्सारमा आर्थिक अनियमितता भएको भन्दै सबै फाइल मगायो। फाइलका विषयमा कुनै टुंगो नलागेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका सूचना अधिकृत सुरेश भुसालले बताए। उनले भने, ‘हामीले अध्ययन गरेर माथि लेखिपठाएका छौं। माथिबाट अहिलेसम्म केही खबर आएको छैन।’ भ्रष्टाचार, ढिलासुस्ती र विभिन्न किसिमका अनियमितता तथा अख्तियार दुरुपयोग भए नभएको अनुसन्धान गर्ने र कारबाहीका लागि सिफारिस गर्ने निकायले नै कछुवा गतिमा काम गर्दा आममानिसमा अख्तियारप्रति आशंका उत्पन्न भएको छ। 

घुसको रेट बढ्यो 

https://www.nicasiabank.com/
भन्सारमा हुने काण्ड दिनदिनै बाहिरिन थालेपछि एजेन्ट र तस्कर महँगीमा परेका छन्। ५ हजारमा हुने काम अहिले १० हजार तिर्नुपर्ने अवस्था आएको एक जना भन्सार एजेन्टले नाम नबताउने सर्तमा बताए। उनले भने, ‘तपार्इंहरुले समाचार जत्ति लेख्नुहुन्छ। अख्तियार, प्रहरी, प्रशासन जत्ति छापा मार्छ, त्यति झन् धेरै रकम तिर्नुपर्छ।’

पहिलेपहिले नास्ता खुवाएर हुने काम अहिले पैसा नदिई हुन्न। एक दशकदेखि भैरहवा भन्सारमा एजेन्टको काम गर्दै आएका उनले भने, ‘महँगी बढेर हैरान छ। पार्टीले कुरा बुझ्दैनन्। यता कर्मचारीले रेट बढ्यो भन्छन्।’

भैरहवा भन्सार कार्यालयका प्रमुख कमल भट्टराईले भने भन्सारभित्र कुनै पनि किसिमको गलत क्रियाकलाप नभएको दाबी गरे।
 
तस्करको दादागिरी 

जेठ पहिलो हप्ता रुपन्देही सदरमुकाम भैरहवादेखि दक्षिणमा पर्ने शंकरपुर नाकामा गोली चल्यो। नाकामा तस्करले दिनदहाडै गोली चलाउँदा तीन जना प्रहरीसमेत घाइते भए। वर्षौंदेखि बालुवा चोरी तस्करी गर्दै आएका सीमापारिका फरिन्दाका झिनक धोबी नामुद तस्कर मानिन्छन्। हतियारदेखि, गाडीका पाटपुर्जा, बालुवा अवैध ढंगले ओसारपसार गर्ने झिनक र सादा पोसाकमा खटिएका प्रहरीबीच विवाद हुँदा गोली चलेको हो। उनलाई नियन्त्रणमा लिन गोली चलाएको रुपन्देही प्रहरीले दाबी गरेको छ। 

भन्सारको कागजात किर्ते गरेको अभियोगमा पक्राउ परेका राजेन्द्र तिमिल्सिना रुपन्देही प्रहरी हिरासतमा बसेर भर्खरै छुटेका छन्। भन्सार क्षेत्रमा अवैध कारोबार गरेको आरोपमा उनी पक्राउ परेका थिए। 

शक्ति र सत्ताको दम्भ

सामान्य कर्मचारी भन्सारमा आउनै सक्दैन। शक्ति र सत्ताको बलमा भन्सार प्रमुखदेखि लिएर कार्यालय सहयोगीसम्म हेरफेर हुन्छ। भन्सारमा कार्यरत हाकिमदेखि पियनसम्म कुन नेताको सिफारिस र जोडबलमा कुन कर्मचारी आएको भनेर भन्सारको क्यान्टिनदेखि गोदामसम्म एजेन्ट र कर्मचारीबीच हुने गलफत्ती पनि गज्जबको हुन्छ। 

यसअघिका भन्सार प्रमुख तत्कालीन माओवादी निकट कर्मचारी संगठनका नेतासमेत रहेका भूपालमान शाक्य नेकपा अध्यक्ष प्रचण्डको जोडबलमा भैरहवा भन्सार आएको चर्चा व्यापक थियो। उनी प्रमुख छँदा विवादमा तानिएका अधिकृत मानबहादुर विश्वकर्मा वर्तमान सभामुखकृष्ण बहादुर महराको खास मान्छे भएको भन्दै रबाफ देखाउँथे। त्यसैले उनी जत्ति दिन बसे सत्ता र शक्तिको फूर्ति लगाएर नै बसे। वर्तमान भन्सार प्रमुख राष्ट्रपति तथा प्रधानमन्त्रीको रोजाइमा परेका कर्मचारी भनेर भन्सार क्षेत्रमा चर्चा हुने गरेको छ। सीधै प्रधानमन्त्री सचिवालयसँग जोडिएका भन्सार प्रमुख कमल भट्टराईले कसैले गुनासो लिएर गएमा ठाडो जबाफ दिने गरेका छन्।

प्रतिक्रिया