बुद्ध मूर्ति बनाउन देशभरका कलाकार देवदहमा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/buddha_murti.jpg

भैरहवा - बुद्ध मूर्ति बनाउन देशभरका प्रख्यात मूर्तिकार बुद्धको मावली गाउँ देवदह आउने भएका छन्।

बुधबारदेखि देवदहको गौतमबुद्ध राष्ट्रिय उद्यानमा आयोजना हुने काष्ठकलाको राष्ट्रिय कार्यशालामा सहभागी हुन १७ जना ललितकलाका विद्वान् र मूर्तिकार देवदह आउन लागेका हुन्। कार्यशालाको सम्बन्धमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक कमिटी संयोजक टेकबहादुर रानाले भने, ‘देशभरका गनेचुनेका मूर्तिकार आउँदैहुनुहुन्छ। जेठ ८ गतेदेखि १६ गतेसम्म यसै पार्कमा काष्ठकलाको कार्यशाला सञ्चालन हुनेछ। उहाँहरुले बनाएको मूर्ति यहीको पार्कमा राखिनेछ।’

ललितकलाका विज्ञहरुलाई राखेर बुद्धकालीन सभ्यताको ऐेतिहासिकता चर्चा गर्ने सोही आधारमा कलाकारले मौलिक बुद्धकालीन सभ्यताको मूर्ति र चित्र बनाउने गरी कार्यशाला आयोजना गरेको ड्रिम देवदह युनिटी फर चेन्जका अध्यक्ष सिद्धिचरण भट्टराईले बताए। कार्यशालामा संस्कृतिविद् प्राध्यापक डा. गितु गिरी, बौद्ध विषयका ज्ञाता सांसद डा. कृष्ण न्यौपाने, लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख फणीन्द्र न्यौपाने लगायतले बुद्ध जीवनबारे मूर्तिकारसँग अन्तरक्रिया गर्नेछन्।  साही अन्तरक्रियाका आधारमा मूर्तिकारले बुद्ध जीवनसँग सम्बन्धित मूर्ति निर्माण गर्नेछन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं र बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदह आयोजक रहेको कार्यशालाको मुख्य संरक्षक देवदह नगरपालिका पर्यटन प्रवर्द्धन समिति र मुख्य प्रवर्द्धक ड्रिम देवदह युनिटी फर चेन्ज छन्। यसैगरी नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देही, आरम्भ समसामयिक नेपाली मूर्तिकार समूह, गाउँ वन समन्वय सञ्जाल, अनुराग साहित्य समाज, उज्यालो लालटिन प्रतिष्ठान, खेमा तमू छोज धीं सहआयोजक रहेको उक्त कार्यक्रमलाई स्थानीय विभिन्न क्लब र समूहले सहयोग गरिरहेको आयोजक कमिटीका सचिवलाय सदस्य दीपेश बस्यालले बताए।  

सरकारले पर्यटनको १०० गन्तव्यमा समेत समेटेको देवदहमा पर्यटकलाई घुम्ने ठाउँ पर्याप्त नुहँदा देवदह आउनेहरु केही बेरमै फर्किन थालेपछि देवदहका अगुवाहरुले पर्यटक भुलाउने गरी ऐतिहासिक पार्कहरु बनाउने अवधारणा ल्याएका कार्यशालाका प्रचारप्रसार समितिका संयोजक गोविन्द घर्तीले बताए।

कार्यशालामा प्राज्ञ लालकाजी लामा (काठमाडौं), प्राज्ञ गोविन्दप्रसाद चौधरी (रुपन्देही),  प्राज्ञ यमबहादुर थापा (रुपन्देही), उपप्राध्यापक भुवन थापा (काठमाडौं), मूर्तिकार राजन काफ्ले (रौतहट), मूर्तिकार लक्ष्मण भुजेल (हेटौंडा), मूर्तिकार राजु पिठाकोटे (इलाम), मूर्तिकार प्रथमराज बज्राचार्य (काठमाडौं), मूर्तिकार बुद्ध चौधरी (रुपन्देही), मूर्तिकार भीमबहादुर श्रेष्ठ (चितवन), मूर्तिकार हरिराम अधिकारी (गुल्मी), मूर्तिकार दिनेश्वर महतो (चितवन), मूर्तिकार केडी याख्या (भद्रपुर झापा), मूर्तिकार अनमारी तामाङ (काठमाडौं), मूर्तिकार विशाल सारु मगर (इलाम), मूर्तिकार कुमार थापा (गुल्मी) र मूर्तिकार हरिबहादुर थापा (रुपन्देही) सहभागी रहने मूल आयोजक कमिटीका सचिवालय सदस्य समरबहादुर खड्काले बताए।




प्रतिक्रिया