४२ डिग्री गर्मी : अघिअघि बुद्ध, पछिपछि मन्त्रीको ताँती

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/maydadevi_prsuti_utsav_lumbini.jpg

भैरहवा- भर्खरै बोल्लान् जस्तो आकृतिका बुद्धको प्रतिमा चर्को घाममा टल्किरहेको थियो । भव्य तरिकाले सिँगारिएको रथारोहणले आइतबार दिउँसोको ४२ डिग्रीको तापक्रमको पर्वाह नगरी तौलिहवा बजार गुन्जायमान गराइरहेको थियो ।

रथको पछिपछि तपतपी चुहिरहेका पसिना र तातो हावाको वास्तै नगरी पर्यटनमन्त्री लीला गिरी, सरकारका प्रवक्तासमेत रहेका भौतिक योजनामन्त्री बैजनाथ चौधरीलगायत प्रदेश सरकारका मन्त्री, सांसद, स्थानीय पालिकाका प्रमुख, सरकारी निकायका प्रमुख, पर्यटन व्यवसायी, निजी क्षेत्र तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र आमनागरिक खुसी बाँड्दै पैदल यात्रा गरिरहेका थिए ।

बाजागाजा, झाँकी, ब्यानरसहित नाच्दै र गाउँदै लुम्बिनीदेखि तिलौराकोटसम्म पुगेका स्थानीय इपू ५६३ वैशाख पूर्णिमाको दिन सम्झिरहेका थिए । तिलौराकोट दरबार क्षेत्रमा मुख्मन्त्री शंकर पोखरेलसहित स्थानीय बासिन्दा बुद्धको स्वागतार्थ तैनाथ देखिन्थे । २६ सय ४३ वर्षअगाडि बुद्ध जन्मिँदा जुन रौनकता शाक्य वंशमा छाएको थियो, प्रतीकात्मक रुपमा त्यसैको झल्को दिने गरी प्रसूति उत्सव मनाइएको छ ।

संस्कृतिविद् प्राध्यापक डा. गितु गिरी प्रसूति उत्सव इपू ५६३ वैशाख पूर्णिमाको इतिहास सम्झाउने महत्त्वपूर्ण कार्यक्रम भएको तर्क गर्छन् । उनी भन्छन, ‘त्यतिबेला सुत्केरी हुँदा माइत जाने चलन थियो । मायादेवी रथमा देवदह जाँदैथिइन् । बाटोमा हालको लुम्बिनी (रुपादेवी स्थल वा प्रतिमोक्ष बन) अत्यन्तै रमणीय बगैंचा थियो ।

रथ केहीबेर त्यहीं आरम गर्न रोकियो । त्यति नै बेला मायादेवीलाई प्रसव वेदना लाग्यो । त्यसपछि बोधी रुखको हाँगो समाइन् । त्यहीं बुद्ध जन्मिए । पुरस्करणी पोखरीमा नुहाई धुवाई गरेर तिलौराकोट फर्किन् । दरबार फर्किंदा सबैभन्दा पहिले देवस्थल दर्शन गराइयो । तौलिहवामा रहेको तौलेश्वर महादेव दर्शन गराएर बुद्धलाई तिलौराकोट लगिएको थियो ।’

प्रदेश नं ५ सरकारले बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसर पारेर शनिबार लुम्बिनीबाट लुम्बिनी भ्रमण वर्ष २०७६ को घोषणा गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेको लुम्बिनी भ्रमण वर्षको कार्यक्रमअन्तर्गत आइतबार बुद्धलाई रथमा राखेर बाजागाजा, झाँकीसहित हर्षोल्लासका साथ प्रसूति उत्सव मनाइएको हो ।

लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर मनाइएको मायादेवी प्रसूति उत्सवले पर्यटन व्यवसायीमा मात्रै नभई देशविदेशमा रहेका बौद्ध धर्मालम्बी, लुम्बिनीप्रति चासो राख्ने आमनागरिकलाई पनि उत्साहित गराएको प्रदेश सरकारद्वारा गठित प्रसूति उत्सव कार्यदलका संयोजक सञ्जय बजिमयले बताए ।

बजिमयले प्रसूति उत्सवले बृहत्तर लुम्बिनीलाई प्रवद्र्धन गर्न सघाएको बताए । उनले भने, ‘विगतमा लुम्बिनीबाट रथमा बेबी बुद्धलाई तिलौराकोट ल्याउने औपचारिक कार्यक्रम हुन्थ्यो नै । तर यसपटक प्रदेश सरकारको अगुवाइमा लुम्बिनी, कपिलवस्तु, रामग्राम, देवदहलाई जोडेर प्रसूति उत्सव भव्य तरिकाले मनाइयो । यसले पर्यटन क्षेत्रमा नयाँ सञ्चार गरेको मैले विश्वास लिएको छु ।’

रथयात्रापछि तिलौराकोटमा आयोजित प्रसूति उत्सव समारोहमा बुद्धका मावली गाउँ देवदह नगरपालिकाले भोटो उपहार दिएको थियो । यसैगरी रामग्राम नगरपालिकाले सुत्केरीका लागि ल्याएको पाहुर खोवा र फलफूल हस्तान्तरण गरेको थियो ।

प्रसूति उत्सव कार्यक्रमलाई मुख्यमन्त्री शंकर पोखरेल, पर्यटनमन्त्री लीला गिरी, भौतिक योजनामन्त्री बैजनाथ चौधरी, देवदहका मेयर हीरा बहादुर केसी, कपिलवस्तुका मेयर करण सिंह, कार्यदलका सन्जय बजिमयलगातयले सम्बोधन गर्दै प्रसूति उत्सवले पर्यटन क्षेत्रमा ठूलो टेवा दिएको बताए ।



प्रतिक्रिया