दरबार हत्याकाण्डको अर्को खुलासा : श्रुति जीवितै थिइन् !

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/darbarko_dukhanta.jpg

काठमाडौं- दरबार हत्या काण्डका विषयमा थुप्रै किताबहरु लेखिएका छन् । केहिले नयाँ कुराको खुलासा गरे भने केहि किताब बाहिर जे आएको थियो त्यसकै आधारमा लेखिएका थिए । 

दरबार हत्याकाण्डकै सेरोफोरमा त्यसको नयाँ खुलासा सहितको फेरी अर्को किताब बजारमा आउने भएको छ । तत्कालीन राजा, रानी र युवराजको पाश्र्ववर्तीका रूपमा १७ वर्ष दरबारमा बिताएका सुन्दरप्रताप रानाले लेखेको  ‘दरबारको दुःखान्त’ पुस्तक बजारमा आउने भएको हो । 

दरबार हत्याकाण्डमा गोली चल्दै गर्दा नारायणहिटीमा प्रवेश गर्ने शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप रानाले १८ वर्षपछि लेखेको यो पुस्तकले दरबार हत्याकाण्डका थुप्रै पाटाहरु उजागर गर्ने अपेक्षा गरिएको छ । जुन कितावका केहि अंश-

त्रिभुवन सदनभित्र पस्दा मान्छे पूरै सोत्तर थिए/रगतको खोलो थियो

स्वचालित हतियार नियन्त्रण गर्न स्वचालित हतियारै चाहिन्थ्यो । तर, गजेन्द्र (दीपेन्द्रका एडिसी)ले अटोमेटिक हतियार ल्याउलान् भनेर पर्खिरहने समय थिएन, म आफ्नो ‘होल्स्टर’मा रहेको पिस्तोल निकाल्दै बिलियर्ड हलतिर दगुरिहालेँ ।दगुर्दै जाँदा झ्यालबाट मेरा आँखा हलभित्र सरर्र पुगे, मान्छे पूरै सोत्तर भएर लडेको देखेँ । बिलियर्ड टेबलनजिक वीरेन्द्र सरकारको शरीर समातेर पूर्वअधिराजकुमार धीरेन्द्रका ज्वाइँ डा. राजीव शाही बस्नुभएको थियो । त्यहाँ छिर्ने एउटै मात्र ढोका पूर्वतिर थियो, प्यासेजपट्टि अलिकति घुमेर जानुपर्थ्याे ।

म दगुर्दै भित्र पुग्दा केही क्षणअघि मात्र देखिएका डा. शाही त्यहाँ हुनुहुन्नथ्यो । त्यसवेला हलको बाहिरपट्टि गोली चल्दै थियो । हलभित्र पुग्दा भएभरका मानिस भुइँमा लडेका देखेँ । त्यो रगताम्मे माहोलमा सुरुमा त तिरिमिरी भयो । तर, तत्कालै आफूलाई सम्हालेँ । को–को लडे र कसलाई के–के भयो भनेर सोच्ने–हेर्ने समय थिएन । एक–एक सेकेन्डको महत्व थियो ।

मेरो ध्यान महाराजाधिराजतिर मात्र केन्द्रित थियो । लडेका मानिसलाई नाघ्दै म सरकार भएको ठाउँमा पुगेँ । सरकारलाई गोली लागेको प्रस्ट भइसकेको थियो । बिलियर्ड टेबलनजिक भुइँमा ढलेका राजालाई कसरी बाहिर निकाल्ने र अस्पताल लैजाने भन्ने कुरा मेरा लागि मुख्य चुनौती बन्यो ।

श्रुति जीवितै थिइन् 

सैनिक अस्पतालमा मेरोनजिक आएर शाहज्यादा पारसबाट सोधनी भयो, ‘सुन्दर, ह्वाट इज द सिचुएसन हियर राइट नाउ ? प्लिज ब्रिफ ह्वाट इज ह्यापेनिङ ?’ त्यहाँ उपलब्ध राजपरिवारका सदस्यमध्ये सबभन्दा वरिष्ठ मैले पारसलाई मात्र देखेँ । के भइरहेको छ भनेर सोधेपछि मैले आफ्नो पेसागत कर्तव्यअनुरूप जवाफ दिनुपर्थ्याे, त्यसवेलासम्मका सबै विवरण बताइदिएँ ।

यता अरू घाइतेलाई तारन्तार ल्याइँदै थियो । आपत्को त्यो वेला दरबारमा एम्बुलेन्सहरूको व्यवस्था हुन सकेन, तर सुरक्षाकर्मीहरू तुरुन्त परिचालित थिए । घाइतेमध्ये कसैलाई भ्यान, कसैलाई मिनीबस, कसैलाई पिकअप, जे–जे भेटिन्छ, त्यसैमा हालेर अस्पताल ल्याउने काम गरियो ।केहीबेरमा श्रुति सरकारलाई ल्याइयो । मौसुफलाई स्टिलको ट्रलीमा राखिएको थियो । अस्पताल ल्याइपु-याउँदा मौसुफ जीवितै होइबक्सन्थ्यो । मैले छेउमा गएर हेरेँ, अतिशय पीडाले छटपटाउँदै ‘दुख्यो ! दुख्यो !!’ भन्दै तारन्तार कराइबक्स्यो । त्यो देखेर मैले डा. खगेन्द्रबहादुर श्रेष्ठलाई कोट्याएँ, ‘सी इज अलाइभ डाक्टर सा’ब, केही गर्नुप-यो ।’

उहाँले भन्नुभयो, ‘ठीकै छ, उहाँलाई केही भएको छैन, अलेलि दुख्यो होला ।’उहाँले यसो भन्नु पनि स्वाभाविकै थियो । किनभने सर्सती हेर्दा अधिराजकुमारीको जिउबाट कतै पनि रगत बगेजस्तो र घाउ लागेजस्तो देखिएको थिएन । यस्तोमा डाक्टरहरूको ध्यान राजा, रानी, युवराज र अरू घाइतेतिर जानु स्वतः बुझ्न सकिने कुरा हो ।

खासमा श्रुति सरकारलाई जाँघमा गोली लागेको रहेछ, जो बाहिरबाट हेर्दा देखिएको थिएन । आफ्ना पति गोरखशमशेर राणा गोली लागेर ढलेपछि श्रुति सरकारले छोप्न जाँदा अप्ठ्यारो ठाउँमा लागेको गोलीतिर समयमै कसैको ध्यान पुग्न सकेन । मलाई अहिले पनि सम्झिँदा साह्रै थकथक लाग्छ, डाक्टरहरूले त्यतिवेला प्राथमिकताका साथ हेर्न सकेको भए श्रुति सरकारको ज्यान जाने थिएन कि ! तर, सायद नियतिको खेल अर्कै थियो । श्रुति सरकार आफ्नो चोटभन्दा पनि बुबामुमा बितेको आघातले छटपटिएको र कराइबक्सेको होला भन्ठानेछन् डाक्टरहरूले । अन्ततः मौसुफको प्राणपखेरु उडिहाल्यो ।

नाजुक दिपेन्द्र/तयार ज्ञानेन्द्र

यता कोमामा राखिएका युवराज दीपेन्द्र सरकारको स्वास्थ्य खस्किइरहेको थियो । जुनसुकै वेला निधन हुन सक्ने अवस्था थियो । त्यस्तो अवस्थामा मौसुफपछिका राजगद्दी उत्तराधिकारी एवं तत्कालीन ‘राज्य सहायक’ अधिराजकुमार ज्ञानेन्द्रलाई पूरापूर सुरक्षाका साथ राख्नु हाम्रो कर्तव्य हुन गएको थियो ।‘राजा बिते, राजा अमर रहून्’ भन्ने फ्रान्सेली उखान नै छ ।

वीरेन्द्र सरकार र त्यसपछि दीपेन्द्र सरकारको पालैपालो निधन भए पनि गद्दी खाली राख्न मिल्ने थिएन । त्यसैले तेस्रो राजाको राज्यारोहणका वेला आइहाल्छ भन्ने कुरा सबैले बुझेका थिए । त्यसै सन्दर्भमा ज्ञानेन्द्र सरकारबाट हुकुम भयो, ‘आवश्यक प-यो भने जुनसुकै वेला मलाई फोन गर्नू, म तयारै हुन्छु ।’

कोमामा राखिएका दीपेन्द्र सरकारलाई मैले ढोकैबाट हेरेँ । घ्यारघ्यार सास चलिरहेको थियो, दाह्री बढेर कालो भएको थियो र वेलावेलामा तर्सेर झस्किए जसरी शरीर चलाएको देखिन्थ्यो ।रातदिनको तनाव र अनिद्राबाट थकित भएर म केहीबेर आराम गर्न राति नारायणहिटी दरबारकै क्वार्टरमा फर्किएको थिएँ, दीपेन्द्र सरकारको निधन भएको खबर छाउनी अस्पतालबाट आयो ।

जेठ २२ गते बिहान ३ः४५ बजे मौसुफको स्वर्गारोहण भएको डाक्टरहरूले घोषणा गरेका थिए । मैले तुरुन्त फोन गरेर ज्ञानेन्द्र सरकारलाई जानकारी दिएँ । ‘ठीक छ, म आएँ,’ मौसुफले भनिबक्स्यो । अस्पतालसम्म सवारी चलाउन म आफैँ निर्मलनिवास पुगेँ ।




प्रतिक्रिया