नेपालमै पहिलो पटक सुजताको खीर महोत्सव

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/sujata_kheer_mahotsav.jpg

भैरहवा – बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक खाएको भोजनलाई सुजताको खीर भनिन्छ। लुम्बिनी भ्रमण वर्षको अवसर पारेर पहिलो पटक लुम्बिनीमा सुजता खीर महोत्सव कार्यक्रम गरिएको हो। निराहार तपस्या बसेका गौतमबुद्ध कमजोर जीर्ण भइसकेको अवस्थामा सुजता नामक युवतीले खीर खुवाएपछि सोही रात ज्ञान प्राप्त भएको घटनालाई उत्सवको रुपमा मनाउन थालिएको हो।

सुजता नामक युवतीले बुद्धलाई खीर खुवाएको सम्झनामा शुक्रबार लुम्बिनीमा भिक्षु भिक्षुणीहरुलाई प्रदेश ५ का उद्योग, वन , वातवरण तथा पर्यटनमन्त्री लिला गिरीले खीर वितरण गरेर उक्त महोत्सवको शुभारम्भ गरेका छन्। खीर वितरण पश्चात मन्त्री गिरीले बुद्ध संस्कृतिको जगेर्नाको लागि उक्त महोत्सव फलदायी हुने बताए। उनले भने , ‘सुजता खीर महोत्सवले एकातिर संस्कृति जर्गेना गर्दछ भने अर्कोतिर पर्यटन प्रवद्र्धनमा पनि भूमिका खेल्नेछ।’

महोत्सवमा प्रदेश सांसद फकरुद्धिन खानले बुद्ध भूमि लुम्बिनीमा पहिलोपटक आयोजना गरिएको सुजता खीर महोत्सव हरेक वर्ष गरेमा त्यो पर्यटकको लागि नयाँ कार्यक्रम पनि हुन सक्ने विश्वास व्यक्त गरे।

जिल्ला समन्वय समितिका सभापति एकराज विश्वकर्माले सुजताले जसरी बुद्धलाई खीर खुवाएर बुद्धत्व प्राप्त गर्ने कार्यमा सघाईन् त्यसैगरी हामीहरु संसारभरीका मानिसको अशान्त मनलाई शान्त गर्न सुजता खीरले सघाउँछ भनेर प्रचार गरेमात्रै पनि यसले महत्व राख्ने बताए।

कार्यक्रममा सुजता खीर महोत्सव समिति कार्यदल संयोजकसमेत रहेका उद्योग, व्यपार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष खिमबहादुर खत्रीले शुक्रबार ८ सय जना भिक्षु भिक्षुणीलाई सुजताको खीर बितरण गरेको बताए।

खीर महोत्सव कार्यक्रम जेठ ५ गते तिलौराकोटमा हुने र सो अवसरमा दुई हजार जनालाई सुजताको खीर वितरण गरिने कार्यदल सदस्य समेत रहेका उद्योग व्यपार संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताए।




प्रतिक्रिया