विद्यालय भर्ना अभियान : घरघरमा निमन्त्रणा कार्ड

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/biddyarthi_bharna_abhiyan.jpg

धनगढी - आदर्श गाउँपालिका ५ लामिखाल डोटीका हर्क कोलीको हातमा छिमेकी बालकले एउटा कार्ड थमाए। उनले झट्ट कसैको विहेको निमन्त्रण कार्ड आएको अनुमान गरे। आफ्ना ६ वर्षीय छोरा धनेलाई विद्यालय भर्ना गर्न आएका उनले भने,‘हाम्रा पालामा कसैको बिहे हुने भयो भने निमन्त्रणाका रुपमा सुपारी, ल्वाङ, गुण, मिस्री आउँथ्यो। अहिले कार्ड आउँछ। मैले झट्ट त्यहि विहेको कार्ड हो सम्झिए।’

लेखपढ गर्न नसक्ने उनले गाउँको शिक्षकलाई त्यो कार्ड पढ्न लगाए। कार्डमा लेखिएको थियो,“शैक्षिक सत्र २०७६ को लागि विद्यार्थी भर्ना कार्यक्रम बैशाख २ गते देखि सुरु भै १५ गतेसम्म सञ्चालन हुने छ। के तपाइका बालबालिकाहरु ३ वर्ष पुगिसकेका छन् ? यदि छन् भने नजिकैको पुर्वप्राथमिक कक्षामा आफ्ना बालबालिकाहरुलाई भर्ना गर्न आउन हुन तपाइलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय मै आफ्ना बालबालिकाहरुलाई भर्ना गरि उनिहरुको शिक्षा पाउने अधिकार सुनिश्चित गरौं।”

त्सपछि उनले शिक्षकलाई भने छन्,‘सर ! पोहर भर्ना गरुला भनेको पैसा पनि भएन, न किताव किन्न सकिने, न लुगा हाल्न सकिने, न त कापि डटपेन किन्न सकिने अर्को वर्ष गरौंला भनेको यो वर्ष पनि पैसा भएन। जा पो जावस् अब अर्को वर्षबाट पठाउँला।’ कोलीका छिमेकी शिक्षकले कोलीलाई उदृत गर्दै भने।

गाउँका कार्ड पढेर सुनाइदिने ति शिक्षकले सामुदायिक विकास केन्द्रले विद्यार्थी भर्ना गर्दा संकटासन्न बालबालिकाहरुलाई पुस्तक, पोशाक, कपि, कलमको व्यवस्था गरेको सुनाए पछि उनले आफ्ना छोरालाई भर्ना गर्ने निधो गरेर विद्यालय पुगेछन्।

विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना गराउँन घरघरमा निमन्त्रणा कार्ड पठाइएको छ। निमन्त्रणा कार्ड प्राप्त भएपछि अविभावकहरुले आफ्ना छोराछोरी विद्यालय पठाउँन थालेका छन्। “हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका स्कुल पुर्‍याउँ” भन्ने नाराका साथ सञ्चालन गरिएको भर्ना अभियानमा अविभावकलाई निमन्त्रणा कार्ड पठाउने देखि प्लेकार्ड ब्यानर सहित र्‍याली निकाल्ने कार्य गरिएको थियो। 

सम्वन्धित वडाका वडाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेर आदर्श गाउँपालिका, सायल गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाको वडा नं. २ र पूर्विचौकी गाउँपालिकाका ९१ बिद्यालयमा भर्ना अभियान सञ्चालन गरिएको संयोजक रामचन्द्र जोशीले बताए। सम्बन्धित वडाका वडाध्यक्ष, विद्यालय, शिक्षा इकाई र अविभावक संगको सकार्यमा भर्ना अभियान सञ्चालन गरिए पछि अभियान प्रभावकारी भएको आदर्श गाउँपालिकाका शिक्षा ईकाइ प्रमुख पदमराज भट्टले बताए।

बालबालिकालाई ५ बर्ष पछि मात्रै विद्यालय पठाउँने सोच बनाएकी लामिखालकी भागादेवी रोकायाकाले निमन्त्रणा कार्ड पाए पछि आफ्नो छोरा सुनील रोकायालाई तीन वर्षको उमेरमा नै भर्ना गरेको बताइन्। मष्टामाण्डौं माविमा छोरालाई भर्ना गराउँन आएकी भागा देवीले भनिन्,‘छोरा सानै छ ५ बर्ष पुगे पछि विद्यालय पठाउँला भन्ने सोच बनाएकी थिए तर कार्डमा तीन वर्ष माथिका बालबालिकालाई भर्ना गर्नुस् भन्ने लेखेको भेटाए पछि विद्यालय संगको सहकार्यमा छोरालाई वालविकासमा भर्ना गरिदिए। अहिले शनिवारको दिन गाउँमा सञ्चालन भएको पढाइ शिविरमा पनि पठाउने गरेकी छु।’

भर्ना अभियानका क्रममा तीन वटा स्थानीय तहका ७ हजार ३ सय अविभावकलाई भर्ना निमन्त्रणा कार्ड पठाएको थियो। गोविन्द कठायतका अनुसार भर्ना अभियानकै क्रममा संकटासन्न गरिबीको रेखा मुनी रहेका ४ सय ६० विद्यार्थिहरुलाई सम्बन्धित वडा कार्यालय र विद्यालयको सिफारिसमा निःशुल्क शैक्षिक सामग्री र पोषाक वितरण गरिएको छ। प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, पढाइ शिविर, शैक्षिक सामग्री वितरण, पढाइ मेला, शिक्षकको क्षमता अभिवृद्धि तालिम, विद्यालय सुरक्षा योजना र विद्यालय सरसफाई लगायतका कार्यक्रमले यहाँको शैक्षिक क्षेत्रमा ठुलो योगदान पुगेको छ।




प्रतिक्रिया