शताब्दी पुरुषको युगयात्रा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/satya3.jpg

शताब्दी पुरुष सत्यमोहन जोशी सोमबार सय वर्ष पुगेका छन् । उनको यो युग यात्रा अभूतपूर्व छ । न कुनै किताब न त कुनै सिनेमामा मात्रै यसलाई समेट्न सकिन्छ । उनको हरेक बोली र व्यवहारमा आगामी सन्ततिका लागि मार्गदर्शन भेटिन्छ । उनी अहिले पनि बिना सहारा ठमठम हिँड्छन् । उनको प्रत्येक पाइलामा एउटा गजबको आत्मविश्वास छ। 

शताब्दी पुरुषसँगको भलाकुसारीका लागि बिहान हामी उनको निवास पुग्दा उनी बरन्डामा बसेर पत्रपत्रिका हेर्दै थिए । हामीले उनको दैनिकीबाट थाल्यौं कुराकानी ।

सामान्यतया सत्यमोहन बिहान ५:३० बजे उठिसक्छन् । त्यसका लागि उनलाई कुनै घन्टी बज्नु पर्दैन । उनको यो बानी भइसकेको छ । फ्रेस भइसकेपछि उनी एकछिन यताउती हिँडेर जिउ तन्काउँछन् । पहिले बाहिर मर्निङ वाकमा जान्थे । अहिले घरकै कम्पाउन्डमा चक्कर लगाउँछन् । त्यसपछि चियासँग रोटी वा पाउरोटी वा बिस्कुट लिन्छन् । अनि सुरु हुन्छ उनको भेटघाट र भलाकुसारी । यही बीचमा उनी पत्रपत्रिका पढेर अपडेट हुन्छन् ।

मुलुकमा के भइरहेको छ ? उनलाई बिहानै अपडेट हुन मन लाग्छ । उनी भन्छन्, 'पत्रपत्रिका पढिएन भने आफू अन्धो भएजस्तो लाग्छ । यसले अपडेट बनाउँछ ।' गोर्खापत्र उनी छुटाउँदैनन् । अरु पत्रपत्रिका मिलाएर पढ्छन् । 

उनी भन्छन्, 'आँखाले पनि जवानीमा जस्तो काम गर्दैन । चस्मा लगाएर पनि आँखा एकछिनमा धमिलो नै हुन्छ । सारै पढ्न इच्छा लागेको लेख तथा रचनाहरु चस्माले नभ्याउने भयो भने ‘आइ ग्लास’ लगाएरै भए पनि पढ्छु ।'
 
दस बजेभित्र उनी बिहानको खाना खाइसक्छन् । सादा खाना उनलाई मनपर्छ । दालभात तरकारी र साग उनको दैनिक खान्की हो । खसीको मासु पनि उनलाई मन पर्छ । उनी भन्छन्, 'घरमा जे पाक्छ, त्यही खाने हो । यो त्यो भन्ने छैन ।' भान्सातिर उनको खासै रुचि छैन, सघाउन पनि जाँदैनन् । पत्नी राधादेवी भन्छिन्, 'उहाँ भान्सामा आउनुहुन्छ प्रायः जे पकाएर दियो त्यही खानुहुन्छ ।'



उनको स्वास्थ्यमा खासै समस्या छैन । अहिले पनि उनी बिना लठ्ठी टकटक हिँड्छन् । अहिलेसम्म खासै औषधी सेवन गर्नुपरेको छैन । दिउँसो एकछिन ढल्किन्छन् । छोटो आरामपछि फेरि उनी सक्रिय हुन्छन् । उनी हरेक दिन केही न केही डायरीमा लेखिरहेका हुन्छन् । लेख्न उनलाई असाध्यै मनपर्छ । उनी भन्छन्, 'लेख्दा बेग्लै आनन्द आउँछ ।'

राति हल्का खाना आएपछि साढे आठ बजेतिर उनी सुत्छन् । सुत्नुअघि घरमै बनाएको एक पेग लिने गर्छन् । त्यसले अहिलेसम्म उनलाई नराम्रो गरेको छैन । अहिले त्यो क्रम घटेको छ । 

कला, साहित्य, संस्कृति, पुरातत्वको क्षेत्रमा सत्यमोहन जोशीको योगदान अविस्मरणीय छ । तीन पटक मदन पुरस्कारबाट सम्मानित जोशीलाई नेपाल सरकारले उज्वल कीर्तिमय एवम् वाङमय शताब्दी पुरुषका रुपमा सम्मानित गरेको छ ।

कहाँ गयो त्यो जवानी?

कहाँ गयो त्यो जवानी र अनि जोश ? एक्लै बस्दा सत्यमोहनलाई कहिलेकाहीँ यही प्रश्नले सताउँछ । उनी भन्छन्, 'कहाँ भेट्नु अब त्यो जवानी र जोश ? अब पाइँदैन त्यो ।

उमेर छँदा अनेक गरियो । बदमासी पनि गरियो होला । जवानीमा छुट्टै जोश र जाँगर थियो । साइकल चढ्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । तर आज ललितपुर महाननगरपालिकाले गाडी दिँदा पनि तनाव छ । कता राख्ने, सरकारी सम्पत्ति बिग्रिएला कि भन्ने पीर ।

दिन र उमेरअनुसार आफूलाई परिवर्तन गर्नुपर्छ । शताब्दी यात्राबाट उनले सिकेको शिक्षा यो पनि हो । जीवनमा दर्शन र सिद्धान्त व्यवहारमा लागू गर्न सकियो भने राम्रो हुन्छ । यो सबै एक दिन छोडेर जानुपर्छ, लिएर जाने केही पनि हैन भन्ने बुझियो भने त्योभन्दा सन्तुष्टिको पल केही पनि हुँदैन।

दुःख मात्र एक मानव कल्पना हो । शरीरको दुःख हो आत्माको हैन । आत्मा अमर हुन्छ । तर आत्मालाई आजसम्म कसैले देखेको पनि छैन।  



सय वर्ष बाँच्‍न सजिलो छैन 

सत्यमोहनकै शब्दमा सय वर्ष बाँच्न त्यति सजिलो छैन । उनी भन्छन्,'मलाई पाँच ग्रेस दिएर सय वर्ष पुर्‍याइएको हो । ९५ उमेर पुग्दा नै सय वर्ष पुगेको भनी यसरी नै शतवार्षिकी चलिरहेको छ ।'

लामो आयु भएर काम छैन् । जीवनमा केही गर्न सकेको भए उमेरको महत्व हुन्छ । राष्ट्र, जनता र समाजका निम्ति केही राम्रो योगदान गर्नसक्नुपर्छ । खाने र बाँच्ने मात्र भयो भने जीवनको अर्थ हुँदैन । उनका अनुसार चिन्तनमनन गर्न नसक्ने अवस्था, आफन्त कोही आएमा पनि तिमी को हौ भन्ने र खाना खान पनि अरुको सहायता लिनुपर्ने अवस्थासम्म बाँच्नु भनेको दुर्भाग्य नै हो । 

जुन बेलासम्म चिन्तन गर्ने तत्त्व आफूसँग हुन्छ त्यो बेलासम्म जीवन ठिक छ । को किन कसरी भनेर साेच्न सक्ने भएसम्म जतिन्जेल बाँचे राम्रो हो । 

अहिलेसम्म म बोल्छु तर मैले आफ्नो आदि स्मरणशक्ति गुमाइसकें । कहीँ कतै केही बाँकी छ, त्यो पनि कुनै दिन सकिन्छ । 

मानिस पनि रुख र फूलको बोट जस्तै हो । सानैमा रोप्यो पछि बुढोपनले छुँदै सुक्दै जान्छ । मानिस पनि उमेर पुग्दै गएपछि सबैथोक कमजोर हुँदै सुक्दै जान्छ । 

त्यसैले जीवनमा चिन्तन र मनन गर्न सकिएसम्म जीवनको महत्व हुन्छ । चिन्ताबाट मुक्त हुनुपर्छ । नाइटिङगेलको सिद्धान्त छ ‘सिम्पल लिभिङ हाई थिङकिङ’। जुरेली आफ्नै धुनमा नाच्छ, गाउँछ, एकदमै सरल जीवन बाँचेको हुन्छ । भोलिको चिन्ता पनि गर्दैन । जे जति छ त्यसैमा सन्तुष्ट हुन्छ । मानव जीवन पनि त्यसरी नै बिताउन सकियो भने त ठिकै हो । तर सकिएन भने गाह्रो छ । 
चिन्ता र व्याकुलता हुनु भएन, यसले मनमा दुविधा र तर्कविर्तक उत्पन्न गर्छ । र अनेक किसिमको रोग निम्त्याउँछ । मन शान्त हुँदैन।

सय वर्ष पुगेको अवसरमा मैले एउटा गीत लेखेको छु । जुन मेरो जन्मदिनको दिन प्रकाशित हुनेछ । 

खासमा मुजुरको फूल भन्ने कविता लेखेको थिएँ । तर यो गीत बन्यो । मुजुरको फूलसँग आफूलाई तुलना गरेर गीत लेखेको छु । म पनि एक मुजुरको फूल त हो नि । जसरी मुजुरको फूलको आकारको बयान हुन्छ त्यसभित्र चट्याङदेखि सबै छ, सबै कोचाकोच गरेर रोखेको छ, जस्तै प्रलय आए पनि त्यो फुट्दैन । जति तातो भए पनि त्यसलाई कुनै असर पर्दैन । ठिक्क अवस्थामा राख्ने हो भने इन्द्ररधनुष जस्तै सप्तरङ्गी मुजुर निस्किन्छ । फूल भित्र पनि मुजुर रहेछ । म पनि एक मुजुर हुँ । 

मेरो आमाबुबा सय वर्ष बाँच्नु भएन । मलाई पनि सय वर्ष लाग्छु भन्ने लागेको थिएन । ९५ वर्ष लाग्दा नै मेरो आयु गयो भनेको थिएँ । केके भयो म बाँचे । सय वर्ष बाँचेर के गर्ने जे जस्तो भए पनि एकदिन त संसार छाडेर जानैपर्छ । यमराजले टिपेर लगिहाल्छ, जान्न भन्न पनि पाइँदैन।

समाज, राज्य, परिवार साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा केही गर्न सकियो भने जीवनको मूल्य हुन्छ । खान लगाउन मात्र बाँच्ने हो भने पशुले पनि खाएकै छ । भोकै कोही बसेको छैन् । 


जीवनलाई कसरी नाप्‍ने 

जीवन अनमोल छ । यसलाई लम्बाइ र चौडाइले होइन, गहिराइ र उचाइले नाप्ने हो । मैले माटोका लागि के कति गरेँ भनेर बुझियो भने त्यो जीवन अर्थपूर्ण हुन्छ र बाँच्नुको पनि मजा हुन्छ ।

यसरी बनेँ लेखक

 मैले लोकगीतको संकलन गरेर ‘हाम्रो लोक संस्कृति’ भन्ने ग्रन्थ लेखेर मदन पुरस्कार नपाएको भए मेरो जीवन अर्कै हुन्थ्यो । सायद जागिर नै मात्र गर्ने, पेनसन पकाउने बस्ने, यसरी नै जीवन बिताउने थिए । अरुमा भर पर्न नपरी बाँच्न सकिएसम्म बाँच्न सके राम्रो हुन्छ । नत्र लामो आयु काम छैन।

दुःखका ती पलहरु 

दुःख जीवनको एउटा अंग हो । सबैले भोग्नुपर्छ । मैले पनि भोगें । जीवन घामपानी हो । कहिले हुरीबतास आउँछ । कहिले नसोचेको आँधी पनि आइदिन्छ जीवनमा । दुःख बिनाको जीवन सार्थक हुँदैन । जीवनमा धेरै उत्तारचढावहरु आए,निकै कठिन मोडहरु पनि आए । धैर्यका साथ ती मोडहरु पार गरियो । उनी भन्छन्, 'दुःख र चुनौतीसँग कहिल्यै आत्तिनु हुँदैन । त्यसले अवसर पनि लिएर आउँछ ।' 

सबैभन्दा दुःखको क्षण त खाइरहेको जागिर चट् भएको पत्र आउँदाको थियो । एक्कासि जागिरबाट बर्खास्तीको पत्र आउँदा कति पीडा भयो होला मनमा ? तर अलिकति पनि विचलित भइनँ । मलाई लाग्थ्यो, जीवन लामो छ सानोतिनो कुराबाट अत्तालिनु हुँदैन । 

दुःखको अर्को क्षण भनेको बुबा बित्नुभएको समय। त्यतिबेला आफू कस्तो कमजोर भएको फिल भयो ।  त्यो बेलाको आर्थिक अवस्था, केटाकेटीको पालनपोषण, हाहाकार भयो । दुःखमै बिते त्यतिबेलाका दिन । दुःखका हरेक पलबाट मैले शिक्षा लिएँ । 

खुसीका क्षण

दुःखसँगै खुसीका क्षण पनि धेरै छन् जीवनमा । पहिलोपटक मदन पुरस्कार पाउँदा म निकै खुसी भएको थिएँ । मुलुकको संस्कृति जोगाउन केही गरेजस्तो अनुभूति भयो ।

२०२७ सालमा मैले पाँच जनाको समूह बनाएँ । त्यसको नेतृत्व आफैँले गरें । नेपाली भाषाको उत्पत्ति थलोका मानिसको रहनसहन, त्यहाँका पुर्खाहरु, इतिहास र गतिविधिको अध्ययन गर्न नेपालको दुर्गमस्थल कर्णाली अञ्चल पुगें । गाउँघरकै बसाइ र अध्ययनपछि पाँचवटा किताब निकालें। 

विकट ठाउँ झन् बढी महत्वपूर्ण छ । अहिलेसम्म त्यहाँ पुगेर कसैले केही लेखेको मलाई थाहा छैन। त्यो ठाउँमा डाक्टर समेत जान मान्दैनन् । तर म पुगेर फर्कें । जीवनमा आफूले गरेको कामहरु धेरै छन् । तर यो काम सम्झिदा सन्तुष्टि र आनन्द प्राप्त हुन्छ । र सोही वर्ष हाम्रो पाँच जनाको समूहले मदन पुरस्कार पायाेे ।

एउटा गाउँको इतिहास, नेपाली भाषाको इतिहास बोकेको ठाउँमा गएर लोकसंस्कृति सर्वेक्षण गर्नु जीवनकै गर्व गर्न लायक क्षण थियो । 

गजबको  दाम्पत्य

शताब्दी पुरुष सत्यमोहन जोशी र राधादेवीको दाम्पत्य गजबको छ । बिहे गर्दा सत्यमोहन १९ वर्षका थिए र राधा १४ वर्षकी। ८१ वर्षे दाम्पत्य रोमाञ्चक मात्र होइन, अनुकरणीय पनि छ ।

सुन्दा अनौठो लाग्न सक्छ, सामान्य खटपटबाहेक  गम्भीर झगडा अहिलेसम्म भएको छैन यति लामो सहयात्रामा । दुवैजना यसलाई स्वीकार्छन् । एउटै स्वर निस्किन्छ, हामी साँच्चिकै कहिल्यै झगडा गरेनौं । राधादेवी थप्छिन्, 'उहाँले रिस कहिल्यै देखाउनु भएन । बरु चुप लागेर बस्नुहुन्थ्यो ।'

सत्यमोहन तगडा भए पनि राधा अलि थलिएकी छिन् । नसाको रोगले उनलाई सताएको छ । हिँड्नलाई कसैको साथ चाहिन्छ र आँखाले पनि त्यति राम्रोसँग काम गर्दैन । उनी दिनभर श्रीमान् सँगसँगै हुन्छिन् । श्रीमानको सक्रियता देखेर उनी दंग पर्छिन् । उनी भन्छिन्, 'पढाइ लेखाइ भनेपछि हुरुक्कै गर्नुहुन्छ अनि उमेर छउन्जेल घरमा त्यति समय दिन भ्याउनु भएन ।' 

घरलाई समय दिन नसके पनि मुलुक र समाजले उनलाई दिएको सम्मानबाट राधा पनि पुलकित छन् । उनी भन्छिन्, 'यसमा गर्व छ । त्यसैले उहाँको व्यस्ततामा मैले कहिल्यै गुनासो गरिनँ ।' 

अबको इच्छा र योजना

अब केही गर्न सक्ने क्षमता छैन । इच्छा र योजना बन्न त कसैले पत्याउनुपर्छ । अहिलेको उनको अवस्था भनेको अरुको भरमा बस्नुपर्ने भएको छ । केही गर्ने इच्छा र योजना जवानीमा हुने उनी बताउँछन् ।

जीवन, उमेर र मृत्यु सबैले बोकेर आएकै हुन्छ । चिन्ताबाट मुक्त भएर चिन्तन र मनन गर्न सक्नुपर्छ ।  

दार्शनिक कुरा गर्ने हो भने यो जीवन एक डबली हो ।  सबैजनाले आफ्नो भूमिका निर्वाह गर्नैपर्छ । यो सबै खेल र नाटक हो । आफ्नो पालो सकेपछि सबै आफ्नो बाटो लाग्छन् । चिरञ्जीवी कोही पनि हुँदैन ।

महानगरपालिकाको सम्मान 

नेपाली भाषा साहित्यमा योगदान दिएको व्यक्तिलाई मेयर चिरिबाबुले गाडी सुविधा दिएका छन् । जोशी खुसी छन् । उनी भन्छन्, 'सम्मान मृत्युपछि हैन, जीवितमै  दिनुपर्छ ।' 

उनी भन्छन्, 'यो सुविधा मेरो लागि भन्दा पनि मैले गरेको सेवा र योगदानका सम्मान हो । काम गर्नेका लागि पनि प्रेरणा मिलोस् यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।'
 
जोशीले भाषा र संस्कृतिको जगेर्नाका निम्ति काम गरे ।त्यसैले उनका नाम अगाडि वाङमय जोडियो । उनले कविता, नाटक, इतिहास, पुरातत्वका क्षेत्रमा गहन योगदान दिएका छन् । यही कारण सरकारले पनि वाङमय शताब्दी पुरुषबाट सम्मानित गर्या उनलाई । काठमाडौं विश्वविद्यालयले  महाविद्यावारिधि उपाधि प्रदान  गर्यो । 

के गर्न सके हुन्थ्यो...?

जीवनमा धेरै काम गर्न सके हुन्थ्यो जस्तो लाग्थ्यो । धेरै पैसा कमाउन, घरबार सुन्दर बनाउन, मिठो खान र राम्रो लगाउन मन लाग्थ्यो । तर आज त्यस्ताकेही छैन ।

जवानीमा पाँचौं नम्बरको गोर्खा दक्षिणा बाहु पदक पाउनका लागि धेरै मिहिनेत गरेँ । सबैभन्दा तल्लो पदक पाउन पनि कतिको चाकडी गरेको थिएँ । त्यो क्षण सम्झँदा पनि आफैंलाई दया लाग्छ ।

अहिले राष्ट्रपतिबाट महा उज्ज्वल राष्ट्रिय दीप पुरस्कारबाट सम्मानित भएँ । त्यो समय र आजको समयमा धेरै फरक छ । यतिबेला कुनै लोभ लालच नै छैन । जे हुन्छ त्यही हुन्छ । वृद्ध हुँदै आएपछि आफूलाई बुझ्दै आएँ ।

सबै लोभ लालच त्याग्नुपर्छ । जस्तै : मेरो हातमा घाउ भयो तर यसले मलाई फरक पर्दैन । मलाई दुख्दैन । मेरो हातलाई मात्र दुख्छ । मैले सहन सक्नुपर्छ । भगवान बुद्ध, कृष्ण, राम सबैले जन्म लिए र समय आएपछि गए पनि । केरो पनि एकदिन समय आउँछ र म पनि जान्छु । 

माया नभए संसार हुने थिएन 
माया माया हो । यो भावना मात्र होइन, यो व्यवहार, विश्वास, सम्मान अनि समर्पण हो । माया मनमा भएर मात्र हुँदैन्, व्यवहारमा लागु हुनुपर्छ । शायद माया भन्ने शब्द नभएको भए संसार सम्भव हुने थिएन । माया मै अडिएको छ दुनियाँ । म सय वर्ष बाँच्नुको पछाडि पनि मायाको साथ छ ।  माया रोकियो भने संसार रोकिन्छ। सबथोक माया हो । ।यसको बयान गर्नै सकिन्न । भो मायाको बयान नगरौं
 




प्रतिक्रिया