राजधानीमा फर्निचर तथा फर्निसिङ एक्स्पो हुने

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/Farnichar.jpg

काठमाडौं – फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स आगामी भदौको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले पाँच दिनसम्म एक्स्पो सञ्चालन गर्ने जनाएको हो। 

संघको आयोजनामा विगत ६ वर्षदेखि फर्निचर तथा फर्निसिङएक्स्पो आयोजना हुँदै आएको छ। सातौं संस्करणको एक्स्पो आगामी भदौ २५ गते बुधबारदेखि २९ गते आइतबारसम्म हुने भएको हो।

बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ। किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले बताएको छ। यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष रुपेश प्रधानले बताए। नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आमउपभोक्तालाई आग्रह गर्दै उनले नेपाल फर्निचरमा आत्मनिर्भर हुने बाटोमा अघि बढेको बताए।

प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने मेलाका संयोजक मनिष अग्रवालले बताए। यसका अलावा फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचर जन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवापुर्‍याउने अपेक्षागरिएको अग्रवालको भनाई थियो। 

एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गर्नेछ। इभेण्ट सोलुसन प्रालिका प्रबन्धनिर्देशक विजय सागर प्रधानले फरक शैलीमा एक्स्पोको सातौं संस्करण आयोजना हुनलागेको बताए। फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको मूख्य आकर्षण बन्न सक्ने उनको भनाई छ।

पाँच दिनसम्म चल्ले एक्स्पोमा स्वदेशी तथा विदेशी गरी डेढ सय फर्निचर र फर्निसिङ जन्य सामग्रीका स्टल रहनेछन्। नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङ्का उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ।

नेपालमा वर्षेनी फर्निचर तथा फर्निसिङका उत्पादनहरुको ४० अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको आँकलन छ। जसको झण्डै ५० प्रतिशत भन्दा बढी विदेशी फर्निचर आयात भइरहेको छ।




प्रतिक्रिया