यस्तो छ पुरुष नर्सको कथा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/purus_nurse.jpg

 इटहरी-  आज १९९ औं अन्तर्राष्ट्रिय नर्स दिवस । नर्स भन्ने बित्तिकै सबैको मानसपटलमा सेतो वस्त्रमा सजिएका युवतीको चित्र आउँछ। नेपालका स्वास्थ्य संस्थामा महिला मात्रै नर्स देखिने भएकाले धेरैमा यस्तो महसुस हुनु स्वाभाविकै हो।

शैक्षिक सत्र २०७५/७६ देखि नेपाल नर्सिङ काउन्सिलले १५ प्रतिशत पुरुष नर्स लिने निर्णय गरेको छ। यो निर्णय हेर्नेले पनि नेपालमा यसअगाडि पुरुष नर्स नभएको अनुमान लाउन सक्छन्। तर नेपालमा पुरुष नर्सहरु उत्पादन भइसकेका छन्। बिएससी नर्सिङ पढेर नेपाली नर्सिङ क्षेत्रमा प्रवेश गरेका नर्स अझै पनि क्रियाशील छन्।

सन् १९९६ मा नेपालमा पहिलोपटक बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा बिएससी नर्सिङको पहिलो ब्याच सुरु भयो। २० जनाको कोटामा ११ जना पुरुष नै थिए। महिला ९ जना मात्रै। सन् १९९७ को ब्याचदेखि भने पुरुषलाई बिएससी नर्सिङमा निषेध गरियो। त्यो बेला निषेध गरिएको नर्सिङको स्नातक तहमा पुरुषहरुलाई अब भने लिइने भएको छ। यसै मेसोमा नेपाल समयले हाल क्रियाशील दुई पुरुष नर्सहरुको कथा समेटेको छ -

श्याम लम्साल :  प्राध्यापक

सुनसरी दुहबीका श्याम लम्सालले सन् १९९६ मा धरानमा पहिलोपटक बिएससी नर्सिङ पढे। विराटनगरको जनता नमुना माविबाट एसएलसी सकेका लम्सालले २०५१ सालमा काठमाडौंको अमृत साइन्स कलेजमा आइएससी गरे। लगत्तै लम्सालले १९९६ को पहिलो ब्याचमा धरानमा नाम निकालेर बिएससी नर्सिङ पढ्न सुरु गरे। दुहबीका लम्सालले सन् २००० मा जागिर सकेपछि तुरुन्तै बिपी प्रतिष्ठानमै स्टाफ नर्समा जागिर पाए।

पढाइ स्नातक तर जागिर भने प्रमाणपत्र तहको खाए लम्सालले। उनले बिपी प्रतिष्ठानको इमरेन्जी वार्डमा काम गरे। आफूभन्दा सानो तहका पढेका महिला नर्सहरुसँगै काम गरेका लम्साल ती दिन सम्झँदै कुनै तनाव नभएको बताउँछन्। 'आइएससी सकेर नर्स भएकाले पिसिएल नर्सलाई पढाउने र उनीहरुसँगै काम गर्ने एकैपटक गरियो', लम्साल भन्छन्, 'ब्याचलर लेभरको कोर्स गरेर होला मैले रात्रिकालीन ड्युटी भने गर्नुपरेन।'

सन् २००० को डिसेम्बरबाट बिपीमा जागिरे भएका लम्साल आफूले हरेक वर्ष बढुवा भएको बताउँछन्। भन्छन्, 'त्यो बेला धेरै थिएनन् र छिटोछिटो बढुवा भयो।' स्टाफ नर्सदेखि सिनियर नर्सिङ स्टाफ हुँदै नर्सिङ अफिसरसम्म भएका लम्साल कोलम्बो प्लानमा छात्रवृत्तिमा भारत पढ्न गए।

उनले करिब चार वर्ष जागिर खाएर बिदामा भारतमा गएर स्नातकोत्तर कोर्स पनि नर्सिङमै गरे। सन् २००५ मा उनले भारतको पिजिआई चण्डीगढ इन्डियाबाट सामुदायिक नर्सिङ विषयमा स्नातकोत्तर गरे। भारतमा पढाइ सकेर उनी बिपीमै आएर जागिर गर्न थाले।

उनी सन् २०१२ देखि २०१६ सम्म कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जुम्लामा संस्थापक रजिस्टार भए। चार महिना कार्यवाहक उपकुलपति पनि भए। गत वर्षबाट बढुवा भएर उनी बिपी प्रतिष्ठानको नर्सिङ क्याम्पसका प्राध्यापक भएका छन्।
https://www.nicasiabank.com/

नेपालको पहिलो ब्याचका बिएससी नर्सिङ विद्यार्थी र स्टाफ नर्सदेखि प्राध्यापकसम्म भएका लम्साल नर्सिङ क्षेत्रमा पुरुषको प्रवेश निषेधको विपक्षमा थिए। महिलाको जागिर असुरक्षित महसुस भएकाले आफ्नो ब्याचपछि पुरुषलाई निषेध गरिएको हुन सक्ने लम्साल बताउँछन। भन्छन्, 'हाम्रो पहिलो ब्याचका २० जनामा सबै टपर पुरुष नै हुन्थे।' यो शैक्षिक क्षेत्रदेखि नर्सिङ क्षेत्रमा पुरुषको प्रवेश भएकोमा लम्साल खुसी छन। भन्छन्, 'विश्वभर नर्स पुरुष पनि छन्। नेपालमा सुरुमा पुरुषलाई  राखेर पछि राखिएन तर अहिले राखिने कुरा राम्रो हो।'

उपेन्द्र यादव : अतिरिक्त प्राध्यापक

इनरुवाका उपेन्द्र यादव पनि नेपालको पहिलो बिएससी नर्सिङ ब्याचबाट उत्पादित पुरुष नर्स हुन्। महेन्द्र मोरङ कलेज विराटनगरबाट आइएससी गरेका यादवले सन् १९९६ मा बिएससी नर्सिङ धरानमा पढेका हुन्। सन् २००० मा बिएससी नर्सिङ पास भएका यादव सोही वर्षदेखि स्टाफ नर्सका रुपमा बिपी प्रतिष्ठानमा जागिरे भए।

स्नातक भएकाले जागिरमा पनि चाँडो बढुवा भएको यादव बताउँछन्। 'स्टाफ नर्सबाट सिनियर स्टाफ नर्स, नर्सिङ अफिसर भए म', नेपाल नर्सिङ संघको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान शाखाका अध्यक्षसमेत रहेका यादव भन्छन्, 'स्नातक तहको पढाइले स्टाफ नर्समा काम गर्न सजिलो भयो र प्रमोसन पनि छिटै भयो।'

नर्सिङ अफिसरसम्म भएर भारतमा पढ्न गए यादव। उनले सन् २००५ मा भारतको नयाँदिल्लीमा रहेको राजकुमारी अमृत कौर कलेज अफ नर्सिङमा भर्ना भए। र, सन् २००७ मा पास भए। उनले बालस्वास्थ्यमा स्नातकोत्तर गरेका हुन्।

स्नातकोत्तर सकेर उनी कलेज अफ नर्सिङमा पढाउन थाले। हाल उनी अतिरिक्त प्राध्यापक भएर बालस्वाथ्य विभागमा कार्यरत छन्। बिएससी नर्सिङ पढेर स्टाफ नर्स हुँदै अतिरिक्त प्राध्यापक भएका यादव नर्सिङ क्षेत्रमा महिला र पुरुष दुवै चाहिने बताउँछन्।

विश्वभर महिला र पुरुष दुवै नर्स भएको भन्दै नेपालमा आफ्नो ब्याचपछि बन्द गर्नुको आवश्यकता नभएको यादव बताउँछन्। नेपालमा महिलाभन्दा पुरुष नर्स सिरियस भएर प्रगति गरेको यादवको भनाइ छ। 'नर्सिङमा आएका सबै महिला अहिले नर्सिङ क्षेत्रबाट पलायन भएका छन्', यादव भन्छन्, 'धेरै पुरुष भने राम्रो पोजिसनमा बसेर यो क्षेत्रमा काम गरिरहेका छन्।'

 

प्रतिक्रिया