भारतीय दबदबा चिर्दै नेपाली ‘हजाम’

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/nepali_hajam.jpg

इटहरी  – पहिलेपहिले भारतमा चुनाव हुँदा इटहरीका अधिकांश सलोन बन्द हुन्थे। अधिकांश सलोन व्यवसायमा संलग्न भारतीय भएका कारणले भारतीय चुनावमा धेरै इटहरीका सलोन बन्द हुन्थे। सलोन बन्द हुँदा धेरै सेवाग्राही मर्कामा पर्थे।

यस पटकको भारतीय राज्यसभा चुनाव र लोकसभा चुनावमा भने भारतीयका केही सलोन बन्द भए। सेवाग्राहीलाई खासै समस्या भएन। यसो हुनुको कारण हो सलोन व्यवसायमा नेपाली युवा सक्रिय हुनु। युवकसँगै युवती पनि यस व्यवसायमा सक्रिय हुन थालेका छन्। 

व्यावसायिक रूपमा कपाल काट्ने मान्छेलाई व्यावसायिक भाषामा हेयर आर्टिस्ट वा    मेकअप आर्टिस्ट भनिने यस क्षेत्रका जानकार बताउँछन्। आमजनबोलीमा भने ‘हजाम’ भनिने यो व्यवसायमा संलग्नहरू अधिकांश भारतीयहरू छन्। विगत तीन वर्षदेखि भने तालिम लिएका स्वदेशी ‘हजाम’ इटहरीमा सक्रिय छन्। 

यसरी सक्रिय हुनेमा पर्छन् झापाको शिवसताक्षी नगरपालिका ६ शिवगन्जका स्थानीय प्रेम केसी। कपाल कटाइमा मास्टर्स गरेका केसी हाल इटहरीको निलडेभिट युनिसेक्स सलोन सञ्चालन गर्छन्। युनिसेक्स अर्थात् महिला र पुरुष दुवैको कपालको काम गर्ने व्यवसाय। केसी आफैं महिला र पुरुष दुवैको कपाल काट्न सक्छन्। १० वर्षअगाडि बिर्तामोडको निलडेभिटमा बेसिक तालिम लिएका केसीले यो क्षेत्रलाई औधी रुचाए। उनले बिर्तामोड, सिलगढी, काठमाडौंमा काम गरे। काम मात्रै गरेनन्, पढाइ पनि अगाडि बढाए। २००९ मा कपाल कटाइमा बेसिक गरेका उनले २०१२ मा दुबईमा मास्टर्स गरे। त्यही शैक्षिक योग्यता र आफ्नो निजी अनुभवको प्रयोग इटहरीको सेन्ट्रल प्लाजामा रहेको निलडेभिट सलोनमा प्रयोग गर्दैछन् केसी। २९ वर्षीय केसीले १२ जनालाई रोजगारी पनि दिएका छन्। 

केसीजस्तै कपाल कटाइमा इटहरीमा सक्रिय अर्को नाम हो अम्बिका तामाङ। मोरङ सुन्दरहरैंचा ९ की तामाङले २०७४ बाट कपाल बनाउने सीप सिकेकी हुन्। उनी पनि महिला पुरुष दुवैको कपालको काम गर्छिन्। इटहरीको स्वप्निल ब्युटी पार्लरमा महिलाको कपाल र मेकअप सजावटको तालिम लिएकी तामाङले रेड कार्पेट युनिसेक्स सलोनबाट केटाको कपाल र दाह्री काट्ने तालिम लिइन्।

दुवै तालिम लिएकी तामाङ अहिले इटहरीको चाइना मार्केटमा रहेको रेड कार्पेट युनिसेक्स सलोनमा काम गर्छिन्। २७ वर्षीय तामाङ यो पेसामा उमेरले साथ दिउन्जेल सक्रिय हुने बताउँछिन्।

प्रेम केसी र अम्बिका तामाङजस्तै अर्का इटहरीका नेपाली हजाम हुन प्रेम अधिकारी। २२ वर्षीय अधिकारी विगत दुई वर्षदेखि यो क्षेत्रमा सक्रिय छन्। दस कक्षामुनिको शैक्षिक अध्ययन गरेका अधिकारी कपाल कटाइमा भने पोख्त छन्। उनी केटा र केटी दुवैको कपालको काम सहजै गर्न सक्छन्। उनको यही सीपका कारण उनलाई रेड कार्पेटले राम्रो तलब र आवासको सुविधासहित इटहरीमा राखेको छ। धरान १३ का स्थानीय अधिकारीले २०७४ साल मङ्सिरपछि ६ महिने कोर्स लिएर यो क्षेत्रमा सक्रिय भएका हुन्। 



मासिक कमाइ १० हजारदेखि डेढ लाखसम्म

इटहरीमा कपाल कटाइमा सक्रिय प्रेम केसी, अम्बिका तामाङ र प्रेम अधिकारी आफूहरूको सीप स्वदेश र विदेश दुवैतिर बिक्ने बताउँछन्। आफूले नेपालमा अरूकहाँ काम गरे पनि मासिक ६० हजार कमाउन सक्ने बताउँछन् प्रेम केसी। उनी भन्छन्, ‘व्यवसायीकरण काम गर्नेहरूलाई पैसा तिर्न मान्छे हिचकिचाउँदैनन्। त्यसैले काम र कमाइको समस्या सीप भएकाहरूलाई हुँदैन।’ आफूले आफंै सलोन नखोलेर विदेशमा गए पनि राम्रो कमाइ हुने केसी बताउँछन्।

अम्बिका तामाङ पनि आफ्नो सीप स्वदेश र विदेश दुवैमा बिक्ने भएकोमा खुसी छिन्। ‘बरु यहाँ विश्वविद्यालयबाट डिग्री लिएकाहरूसँग के कस्तो काम गर्ने टुंगो हुँदैन’, तामाङ भन्छिन्, ‘यो सीप भने नेपाल र विदेश जहाँ पनि बिक्छ।’ आफूले हाल मासिक थोरैमा १८ हजार कमाएको बताउने तामाङ आपंmैले खोल्दा वा विदेशमा जाँदा कमाइ झनै धेरै हुने बताउँछिन्। 

धरानका प्रेम अधिकारी कपालको कामले आफूलाई धेरै आत्मविश्वास दिएको बताउँछन्। पढाइ पूरा नगरेकाले विदेश जान घरबाट दबाब आएको तर अहिले सीपले त्यो कुरा हराएको अधिकारीले बताउँछन्। उनी भन्छन्, ‘पढाइ नहुँदा पनि सीप हुँदा गरिखान सकिन्छ भन्ने मैले अनुभव गरेको छु।’ आफूले कोठाको सुविधासहित ग्राहकबाट आएको पैसाको ५० प्रतिशतको सहमतिमा काम गरेको बताउँदै अधिकारीले आफ्नो कमाइ २० हजार हाराहारी हुने बताउँछन्। भन्छन्, ‘यत्तिको कमाइ गर्न धेरै पढेकाहरूलाई पनि समस्या नै छ।’ आफूले विदेश नगएर यही सीपलाई थप व्यवस्थित गर्न सोचेको अधिकारीले बताए। 

औसतमा नेपाली कपालको काम गर्नेहरूको तलब दस हजार देखि डेढ लाखसम्म हुने केसी बताउँछन्। केसीका अनुसार वेसिक गरेकाहरूलाई दस हजार, डिप्लोमा गरेकालाई १८ माथि र डिग्री गरेर अनुभव लिएकालाई ६० हजार हाराहारी र विज्ञ भएकालाई डेढ लाख सम्मको मासिक कमाइ हुन्छ। 



एकपटकको लगानीले जीवनभर र विश्वभर बाँच्ने सीप

नेपालीहरूको बढ्दो आम्दानी र व्यवसायिक कपाल कटाइको सोखको कारण नेपाली मार्केट अझै भर्जिन भएको प्रेम अधिकारी बताउँछन्। उनी भन्छन्, ‘भारतबाट आएका धेरै छन्। उनीहरूको स्थान नेपाली आफैंले लिन सक्ने ठूलो बजार छ।’ भारतीयहरूले पारिवारिक रूपमा मात्रै सीप सिक्ने भएकाले व्यावसायिक सीप सिकेका नेपालीलाई अवसर भएको अम्बिका तामाङ बताउँछिन्। उनी भन्छिन्, ‘पहिलेपहिलो हामी आउनुअगाडि भारतीयको सलोनमा जानेहरू अहिले हाम्रा नियमित ग्राहक हुनुहुन्छ। स्टाइल र सरसफाइमा हामी व्यावसायिक भएको उहाँहरू बताउनुहुन्छ।’

व्यावसायिक रूपमा कपालको काम गर्नलाई धेरै सजिलो भएको प्रेम केसी बताउँछन्। केसीका अनुसार ३५ हजार हाराहारीमा बेसिक कोर्स र डिप्लोमा गर्न सकिन्छ। थप केही लाख रकमले विदेशबाट डिग्री गर्न सकिने उनी बताउँछन्। विदेश जान मेनपावरलाई दिने एकदेखि डेढ लाखले त एक जना राम्रो हेयर आर्टिस्ट बन्ने र जीवनभर कमाइ गर्ने केसीको भनाइ छ।

‘मेनपावरलाई दिने पैसा त अर्को पटक अर्को देश जाँदा फेरि दिनुपर्छ। तर, यो क्षेत्रमा गरेको लगानी सधैंका लागि हुन्छ’, इटहरीमा तालिम दिँदै आएका अधिकारी भन्छन्, ‘यो सीप विश्वभर काम लाग्छ।’




प्रतिक्रिया