विकासको मोडल : जताजता ठूला रुख उतै उतै सडक

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/tree_road_doti.jpg

धनगढी- अधिकार र बजेट दुबै आफ्नो हातमा परेपछि फुर्किएका स्थानीयतहका केही जनप्रतिनिधिहरुले विकासका नाममा विनास निम्त्याउने काम गर्न थालेका छन् । यस्तै भएको छ डोटीको बडीकेदार गाउँपालिकामा । 

वडा नम्बर ३ घाङलमा सडक निर्माणका नाममा बिना ईजाजत दुई वटा सामुदायिक बनमा हजारौँको संख्यामा रुख कटान गरिएको छ । वडा कार्यालयदेखी ओखलढुङगा र सुनालेकदेखी वडा कार्यालयसम्म जोड्ने झण्डै १५ किलोमिटर सडक विस्तार गर्न अनुमतिबिनानै दुई वटा सामुदायिक वनमा डोजर चलाईएको छ ।

कुनैपनि ग्रामिण सडक विस्तारका लागि वातावरणीय प्रभाव मुल्याङकन अध्ययन (ईआईए) प्रतिवेदन तयार गरी वन कार्यालयले रुख काट्न अनुमति दिएपछि मात्रै सडक विस्तार गर्न मिल्ने प्रावधान छ ।
 
सडक विस्तारकालागि गठन गरीएको उपभोक्ता समितिले इआइए नगरी दुईवटा सामुदायिक वनमा अन्दाधुन्द डोजर प्रयोग गरी हजारौँ संख्यामा रुखहरु कटान गरीएको छ ।

सामुदायिक वनको कार्ययोजनाअन्तर्गत भन्दै सडक निर्माणका नाममा ठूल्ठूला रूख जता छन् त्यतैतिर ताक्दै सडक निर्माण गरिएको छ ।  सामुदायिक वन उपभोक्ता समिति र सडक निर्माण समितिको मिलेमतोमा विकासका नाममा अवैध रूपमा जंगलभित्र सडक निर्माण गरी रूख कटान गरिएको स्थानीयको आरोप छ ।


 
उनीहरुले राम्रा, सग्ला र सालका ठूलठूला रूख भएको स्थानमा घुमाउरो सडक बनाउँदै रूख कटान गरेका छन् । वनको कार्ययोजना र वनकार्यालयको आदेश बिनानै आफूखुसी सामुदायिक वन र सडक निर्माण समितिले रूख कटान गरेको हो ।

बडीकेदार गाउँकार्यपालिकाले उक्त सडक विस्तारका लागि पुर्ण जिम्मेवारी वडा अध्यक्षको मातहतमा निमार्ण हुने भन्दै लिखित रुपमा निर्णय गरेर सुनालेकदेखी वडा कार्यालयसम्म ४० लाख र वडा कार्यालयदेखी ओखलढुङगासम्म ४० लाख गरी ८० लाख बजेट विनियोजन गरेको छ । 

सुरुमा उक्त सडक विस्तारका लागि वडा कार्यालयदेखी ओखलढुङगासम्म गणेश साउँदको अध्यक्षतामा र सुनालेकदेखी वडा कार्यालयसम्म राम गुरुङको अध्यक्षतामा उपभोक्ता समिति गठन भएका थिए ।

पछि वडा अध्यक्ष लिलाधर सापकोटाले दुवै समितिलाई विघठन गर्दै आफू अनकुल हुनेगरी शुशिला देवी जैशीको अध्यक्षतामा दुवै सडकको एउटा मात्रै उपभोक्ता समिति गठन गरेर सडक विस्तारको जिम्मा डोजर मालिकलाई दिएको पुर्व जनप्रतिनिधी चेतराज ओझाले बताए । 

वडाअध्यक्षले आफ्नो मनोमानीढंगले डोजर ल्याएर चलाउन सुरु गरेपछि आफुहरुले ईलाका वन कार्यालयमा निवेदन दिएर केहीदिन काम रोकिए पनि पछि गाउँपालिका र वडा कार्यालय मिलेर मनोमानि ढंगले डोजर चलाएको ओझाले बताए ।
 
साङलादेवि सामुदायिक वनका अध्यक्ष जीतनारायण ओझाले वडा कार्यालयले सडक विस्तारको लागि सामुदायक वनबाट अनुमति नलिकनै डोजर चलाएको बताए । उनले वन क्षेत्रभन्दाबाहिरबाट सडक सडक निर्माण गर्न वडा कार्यालयलाई पटक–पटक आग्रहगर्दा पनि नटेरेको जानकारी दिए । 

वडाध्यक्ष लिलाधर सापकोटाले भने रुख बचाएर नै सडक निर्माण गरेको दाबि गरे । ‘विकास गर्ने क्रममा विनास पनि हुन सक्छ त्यो कुनै ठूलो कुरा भएन’ वडा अध्यक्ष सापकोटाले भने–‘हाम्रो बडीकेदार गाउँपालिका भर कुनैपनि सडकमा इआइए भएका छैनन्, विकास गर्दा विनास हुने कुरा स्वभाविक हो ।’

सडक निर्माणका क्रममा काटिएका कतिपय रुखहरु माटोले पुरिएका छन् भने कतिपय सडक यत्रतत्र छरिएका छन् । सुरुमा बस नै चल्ने गरी सडक निर्माण गर्छौ भन्ने वडा अध्यक्षले अहिले राम्रोसँग मोटरसाईकल समेत चल्न नसक्ने गरी सडक काटेको स्थानीयले गुनासो गरेका छन् । अन्दाधुन्द सडक काटेकाले पानीका मुहान समेत सुक्ने चिन्ता स्थानीयले गरेका छन् । 



खाली चेकमा हस्ताक्षर गराए

उपभोक्ता समितिलाई हस्तक्षेप गरी आफैले सडक निमार्ण गरेका वडा अध्यक्षले समितिको चेकबुक समेत आफैले नियन्त्रणमा लिएको पाईएको छ । सवारी साधन गुड्न नमिल्ले, बिनाप्राबिधिक स्टिमेट, अन्दाधुन्द सडक निर्माण गरेका वडा अध्यक्षले उपभोक्ता समितिबाट चेक बुकसमेत आफैले जफत गरेको खुलेको छ ।

सुनालेकदेखी ओखढुङगासम्मको सडक विस्तारको जिम्मा पाएकी उभोक्ता समितिका अध्यक्ष शुशिलादेवी जैशीले आफुहरुलाई कुनै जिम्मेवारी नदिएको बताईन् । वडा अध्यक्षले रातारात डोजर ल्याएर सडक विस्तारको जिम्मेवारी डोजर मालिक जगत गौतमलाई दिएको उनको भनाई छ । डोजर मालिक गौतम र वडा अध्यक्ष मिलेर कुन रुपमा काम गरे आफुहरुलाई कुनै जानकारी नभएको सुशीलाले बताईन् । 

समितकी कोषाध्यक्ष तुलसीदेवि बुढामगरले आफुहरुलाई नामको मात्रै समिति बनाएको बताईन् । उनले वडाअध्यक्ष र डोजर मालिक मिलेर सबै काम गरेको र खाताबाट पैसा निकाल्न खाली चेकमा हस्ताक्षर गराएर लगेको बताईन् । वडा अध्यक्ष सापकोटाले सुरक्षाका लागि चेकबुक आफूले राखेको दाबी गरेका छन् । 
 




प्रतिक्रिया