मधेशमा ‘मधेश र फोरम’ को विसर्जन

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/April/dharmendra_jha.jpg

संघीय समाजवादीफोरम र नयाँशक्ति पार्टी एकीकरण हुने टुंगो लागेसँगै देशको राजनीतिमा एक नयाँ तरंग थपिएको छ। यो समीकरणपछि देशको अन्य राजनीतिमाथि के कस्तो प्रभाव पर्यो ? त्यसको आँकलन विस्तारै हुँदै गर्ला तर हाललाई तराई मधेशको राजनीतिभने नयाँ ढंगले प्रभावित हुन पुगेको कुरालाई अस्वीकार गर्न सकिँदैन। 

विगत केही महिनादेखि मिल्ने प्रक्रियामा रहेका यी दुई पार्टीको औपचारिक एकीकरणले विगतमा मधेशलाई केन्द्रमा राखी‘मधेश’ र ‘फोरम’जोडेर पार्टी निर्माणको प्रक्रियाले हाललाई विराम पाएको छ भन्दा अस्वाभाविक ठहर्दैन। यसअघि मधेशमा क्रियाशील ६ वटा राजनीतिक दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) निर्माण हुँदापनि मधेश शव्दलाई पार्टीको नामबाट हटाइएको ज्ञातव्य छ।
 
लोकतन्त्रमा राजनीतिक दलहरु बन्ने, एकीकृत हुने र विघटित हुने प्रक्रिया अत्यन्त स्वाभाविक हो। यस आधारमा यी दुई पार्टीबीचको एकीकरणलाई पनि अस्वाभाविक मान्न सकिँदैन। तर, पार्टीहरुबीचको यो एकीरकरणले केही सन्दर्भहरुमा वहस र छलफलको अवस्था भने सिर्जना गरेको छ। यो एकीरकरणपछि अब मधेशमा जेपी गुप्ता नेतृत्वको तराई मधेश राष्ट्रिय अभियान (तमरा अभियान) बाहेक नाममा मधेश जोडिएको कुनै पनि प्रभावशाली र जनाधारयुक्त राजनीतिक संगठन अस्तित्वमा नरहेको स्पष्ट छ। 

यस सन्दर्भले एउटा प्रश्न बडो महत्वपूर्णरुपले उव्जिएको छ। के मधेशको राजनीतिका खेलाडीहरु जो विगतमा मधेशको नाममा राजनीति गरिरहेका थिए, मधेश र फोरम जस्ता मधेशको राजनीतिक अस्तित्वसँग जोडिएका शव्दलाई विसर्जन गरेका हुन् त ? मधेशको भावनासँग खेलवाड गरिएकै हो त ? निश्चयपनि यस प्रश्नको उत्तर तत्काल सम्भव नभएपनि भविष्यले समाधान गर्ने नै छ। एउटा कुरा भने निश्चित छ, माथिकाप्रश्नहरुको आँकलन सही हो भने मधेशका मतदाताले आगामी निर्वाचनका समयमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने नै छन्।
 
कुनै राजनीतिकदलको नाममा मधेश वा फोरम जोडिनु वा यी शव्द हट्नुले राष्ट्रियरुपमा जनचासोका दृष्टिले खासै अर्थ नराख्न सक्छ तर तराई मधेशको भूमीकालागि भने यसले निकै महत्व राख्दछ। विशेष गरी २०६३/६४ पछिका दिनमा तराईमा संघीयताको सुनिश्चितता र नागरिक अधिकार प्राप्तिका नाममा तीनवटा आन्दोलन भएको स्मरणीय छ। यी आन्दोलनसँग जोडिएका यस भूगोलका जनता यिनै शव्दका आधारमा संगठित भएको र आन्दोलित भएको जगजाहेर छ। मधेशको राजनीतिका सन्दर्भमा यी यस्ता शव्द हुन् जसले यस भूगोलका वासिन्दालाई भावनात्मकरुपमा गोलवद्ध गर्यो। 
 
त्यसो त राजनीति शक्तिको स्रोत हो र सबैले राजनीति गर्ने भनेकै शक्ति प्राप्तिका लागि हो। यस दृष्टिले हालको एकीकरणको प्रयासलाई अन्यथा भन्न नमिल्ला। शक्ति प्राप्तिका सन्दर्भमा राजनीतिमा अशोभनीय, अनैतिक र अपवित्र गठवन्धन प्रशस्त हुने गरेका छन्।

यस दृष्टिले यी शव्द मधेशका लागि भावनात्मक महत्वका हुन् भन्दा अस्वाभाविक हुँदैन। राजनीतिको रोटी सेक्नेहरुले यिनै शव्दका आधारमा मधेशका जनताको संवेगसँग खेल्ने काम गरे र पटकपटक तिनलाई आन्दोलनमा होमेर आफूहरु सत्ताको नजिक पुगे। पटकपटक भएका आन्दोलनका नाममा मधेशका सयौं व्यक्तिले शहादत प्राप्त गरे। हजारौं व्यक्ति घाइते भए र सयौंको परिवार विग्रियो। यी सबैकार्य भएका थिए, यही दुई शव्दका आधारमा। वास्तवमा यी यस्ता शव्द हुन् जसको मधेशका जनतामाथि ज्यादै प्रभाव थियो। तर पार्टीहरुको एकीकरण र विलयनका नाममा मधेशको परिचयसँग जोडिएका यी शव्द हाल विसर्जनको अवस्थामा पुगेका छन्। फेरि पनि प्रश्न उठ्छ, किन?

यस प्रश्नको उत्तर सहज नहुन सक्छ। तर यस सम्बन्धमा केही आँकलन गर्ने सन्दर्भमा प्रश्न गर्न सकिन्छ, के मधेशको राजनीतिको ठेक्का लिनेहरुको दृष्टिमा अब मधेश र फोरम शव्दको सान्दर्भिकता समाप्त भएको हो ? राष्ट्रिय अस्तित्व कायम गर्ने चाहनामा यी नेताहरुले आफ्नो धरातलीय यथार्थ विर्सैका हुन् ? के यस क्षेत्रको भू-राजनीति नयाँ ढंगले परिभाषित हुन गइरहेको छ ? के देशमा वामपन्थी शक्तिहरु नयाँ रुप र सन्दर्भमा एकीकृत हुने दीर्घ प्रयासमा छन् ?
https://www.nicasiabank.com/

राष्ट्रिय जनता पार्टीलाई एकछिनका लागि अपवाद मान्ने हो भने मधेश केन्द्रित प्रायः जसो पार्टी, जसको नामको अगाडि वा पछाडि मधेश वा फोरम जोडिएको थियो, वामपन्थी पृष्ठभूमी रहेको पार्टीहरुसँग जोडिएको अथवा एकीकृत भएको पाइएको छ। के यो संयोग मात्र हो ? कहाँसम्म भने सिके राउत नेतृत्वको विगतमा मधेशमा ‘स्वराज’का नाममा क्रियाशील दवाव समूह अहिले ‘जनमत‘ पार्टीका नाममा परिवर्तित भएको छ र यसले पनि मधेश र स्वराज शव्दलाई तिलाञ्जलि दिएको छ। राजनीतिको गल्लीमा यो पार्टी पनि सत्ताधारी वामपन्थी समूहसँग नजिकिएको चर्चा छ। केही विश्लेषकहरुका अनुसार आगामी केही महिनामा यो पार्टी पनि सत्ताधारीसँग एकीकृत भए आश्चर्य नमान्नु पर्ने हुन सक्छ। 



अहिले देशमा वामपन्थी एकीकरणको प्रयासले तीव्रता पाएको छ र विश्लेषकहरुका अनुसार यो प्रक्रियालाई कुनै न कुनै रुपमा वाह्य सहयोग पनि प्राप्त छ। यस परिस्थितिमा विगतमा वामपन्थी विचारधारासँग नजिक रहेकालाई एकै ठाउँमा गोलवद्ध गर्ने प्रयास भइरहेको भनेर भन्नेहरुको कमी छैन। अहिले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकीकरण हुने र आगामी भविष्यमा यो एकीकृत पार्टी मूलधारको नेपाल कम्ष्युनिष्ट पार्टीसँग एकीकृत हुने सम्भावना देख्नेहरुको पनि कमी छैन। 

विप्लव नेतृत्वको माओवादीलाई अहिले शक्तिशाली देखाएर राज्यबाट अनावश्यक गतिविधि हुनुका पछाडि पनि यही एकीकरणको रणनीति कारक रहेको भन्नेहरु पनि छन्। यी सबैको विश्लेषण अहिले नै आवश्यक नहुन सक्छ तर आगामी संसदीय निर्वाचनसम्म देशको राजनीतिमा नयाँ समीकरण अस्तित्वमा देखिने सम्भावनालाई भने नकार्न सकिँदैन। 

जहाँसम्म मधेशको राजनीतिको सन्दर्भ छ, उपेन्द्र र बाबुरामको पार्टीबीचको एकीकरणपछि नयाँ ढंगले ध्रुवीकृत हुने कुरा पक्का छ। यतिमात्र होइन एकीकृत पार्टीमा हिजोका ‘मधेशी जनअधिकार फोरम’सँग नजिक रहेकाहरुमा असन्तुष्टि बढ्न सक्ने आँकलन पनि गरिएको छ। उपेन्दको नेतृत्वमा विगतमा लोकतन्त्रवादी छवी र पृष्ठभूमीका नेता र कार्यकर्ताहरु पनि मधेश कल्याणका नाममा एकीकृत भएका हुन्, यो स्पष्ट छ। तर पछिल्लो समयमा उपेन्दसँग लोकतन्त्रवादीहरु क्रमशः टाढिँदै गएको र ‘कोर’ मधेशीहरु पनि पाखा लाग्दै वा लगाइँदै गएको अनुभव गरिएको छ।

पार्टी एकीकरणको घोषणाका सन्दर्भमा सोमवार जारी ‘पार्टी नेतृत्व’को नामावलीमा उपेन्द्र यादव पक्षीय नेताहरुको न्यून संलग्नताले पनि यही कुराको पुष्टि गर्दछ। यसो हो भने एकपटक पुनःप्रश्न उठ्छ, मधेश मुद्दाको उठानको दावी गर्नेहरुले अब भविष्यमा मधेश र मधेश मुद्दाको सन्दर्भमा कस्तो धारणा तय गर्छन् ? मधेशको अधिकार प्राप्तिका नाममा शहादत प्रदान गरेकाहरु प्रतिको अपनत्व र स्वामित्व ग्रहणको सन्दर्भ कसरी परिभाषित हुन्छ ?

त्यसो त राजनीति शक्तिको स्रोत हो र सबैले राजनीति गर्ने भनेकै शक्ति प्राप्तिका लागि हो। यस दृष्टिले हालको एकीकरणको प्रयासलाई अन्यथा भन्न नमिल्ला। शक्ति प्राप्तिका सन्दर्भमा राजनीतिमा अशोभनीय, अनैतिक र अपवित्र गठवन्धन प्रशस्त हुने गरेका छन्। भारतमा हाल जारी निर्वाचनका सन्दर्भमा विगतका तीव्र प्रतिस्पर्धीहरु मुलायम र अखिलेश सिंहको समाजवादी पार्टी र मायावतीको वहुजन समाजवादी पार्टीको मिलनलाई पछिल्लो उदाहरण मान्न सकिन्छ। तर विगतमा दुई पार्टीबीचको प्रतिस्पर्धाका नाममा जनताले वेहोरेको दुख, कष्ट र पीडाका सम्बन्धमा बनाइने धारणाले भने ठूलो अर्थ राख्दछ।

यहाँ पनि विगतमा बाबुराम भट्टराई तात्कालीन नेकपा माओवादीमा संलग्न रहेकै समयमा लहान र गौरमा तत्कालीन माओवादी र फोरमकाबीचमा भएको भिडन्तलाई उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ। यी दुवै घटनामा थुप्रैले ज्यान गुमाएको इतिहास साक्षी छ। वास्तवमा यी दुई यस्ता महत्वपूर्ण घटना हुन्, जसका आधारमा तत्कालीन फोरमले मधेशमा जनसंगठनको विस्तार गर्न सम्भव भएको हो। यी दुवै घटनापछि नै वास्तविक अर्थमा मधेशीहरु राज्यसत्ताको तीव्र विरोधमा मैदानमा उत्रेका हुन। 

हिजो संविधान निर्माणका सन्दर्भमा बाबुराम भट्टराई नेतृत्वकै संवैधानिक समितिले मधेशलाई अधिकार दिन आनाकानी गरेको र प्रतिवेदन निर्माणपछि असमर्थताका नाममा राजीनामा दिएर मधेश यात्रामा जाँदा मधेशवासीले तिरस्कार गरेको कुरा यति छिटै कसरी विस्मृतिमा जान सक्छ र ? हिजो भिडन्तमा होमिने भिन्न स्वार्थबाट निर्देशित दुई प्रतिस्पर्धी शक्ति आज एकाकार हुन पुगेका छन्। यसले निश्चय पनि मधेशी जनताको भावनाको अवमूल्यन हुन पुगेको यथार्थलाई अस्वीकार गर्न मिल्दैन।

प्रतिक्रिया