कम्युनिस्टले मुलुकसँग दैनिक अप्रिल फुल मनाउँदैछन् 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/Chandra_Bhandari_6_.jpg

कांग्रेसभित्र थोरै आसलाग्दा नेताको सूचीमा पर्छन् चन्द्र भण्डारी । विद्यार्थी राजनीतिबाट पार्टीमा स्थापित भण्डारी अहिले पार्टीको केन्द्रीय सदस्य छन् । कुनै पनि गुट तथा समूहको बफादार सिपाही हुन नसक्दा पार्टी राजनीतिमा अलि पछि परेका भण्डारीको पार्टीभित्र र बाहिर पनि आफ्नै खालको छवि छ । प्रखर र स्पष्ट वक्ता भण्डारी मुलुक र जनताका पक्षमा बोल्न डराउँदैनन् । राष्ट्र र जनताको पक्षमा अडान लिने क्रममा कहिलेकाहीं भण्डारीले पार्टी लाइनलाई समेत बेवास्ता गर्छन् । अहिलेसम्म लाभको कुनै आकर्षक पद हासिल गर्ने मौका नपाएका भण्डारी बेलाबेलामा आफ्नै पार्टीको नेतृत्वको समेत आलोचना गर्न पछि पर्दैनन् । कांग्रेस नेता भण्डारीसँग विष्णु सुवेदी र मित्र भण्डारीले गरेको संवाद-

सरकारको नीति तथा कार्यक्रमलाई कसरी लिनुभएको छ ? 

नीति र कार्यक्रमले नेपालको समग्र भूबनोट बुझ्न सकेको छैन । देश विकासका लागि एकदुई कुरामा अर्जुन दृष्टि चाहिन्छ, जुन नीति तथा कार्यक्रममा छैन । मैले यो कुरा आलोचनाका लागि मात्र गरेको होइन । नेपालका कुनै पनि विज्ञले नेपालको भौगोलिक अवस्था र सम्भावना बुझ्नै सकेनन् । जसका कारण प्रभावकारी योजना आउन सकेन ।

अहिलेको यो कम्युनिस्ट सरकार हिँड्न खोजेको बाटो कुन हो ? 

यो सरकार लोकतान्त्रिक लिकमा हिँड्नुपथ्र्यो । बाहिर लोकतान्त्रिक जस्तो देखिए पनि यो सरकार विरोधमा रमाएको देखिन्छ । कामभन्दा भाषण बढी रमाउने । संविधानका आधारभूत मूल्यमान्यतालाई उपेक्षा गर्न खाजेको देखिन्छ । सरकारले लोकतन्त्रको मेरुदण्ड प्रेसलाई नियन्त्रणमा राख्ने तथा नागरिक आवाज र विरोधलाई पनि अंकुश लगाउने प्रयासमा गरेको छ । सरकार लोकतान्त्रिक बाटोमा अगाडि बढ्न अप्ठ्यारो मानिरहेको छ । दुनियाँमा एक दिन अप्रिल फुल मनाइन्छ । तर यहाँका कम्युनिस्टहरुले हरेक दिन मुलुकसँग अप्रिल फुल मनाइरहेका छन् र हरेक दिन उनीहरू गाईजात्रा देखाइरहेका छन् ।



सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई कसरी लिनुभएको छ ?

सुखी नेपाली समृद्ध नेपाल बनाउने कुरा आफैंमा राम्रो छ । तर देशमा भ्रष्टाचार बढेको छ । हामीसँग अहिले तीन खर्ब विकास बजेट छ तर त्यसको २० प्रतिशतसमेत खर्च हुन सकेको छैन जसका कारण बजारमा पैसा आउन सकेको छैन । व्यापारघाटा उच्च बिन्दुमा पुगेको छ । वैदेशिक लगानी र सहयता कम हुँदै गएको सूचांकहरुले नै देखाइरहेका छन् । सरकारमा बस्ने मानिस नै भ्रष्टाचारमा संलग्न छन् । जनता र नेताको जीवनशैली एकदमै फरक देखिँदै गएको छ ।

जनता बिरामी हुँदा सामान्य औषधि उपचार गर्न नसकेर अकालमा मरिरहेका छन् । नेता भने सामान्य रोग लाग्दा पनि विदेशका महँगा अस्पतालमा उपचार गर्न जान्छन् । नेताहरु हेलिकोप्टर र महँगा गाडी प्रयोग गर्छन् । वडा तहका नेता डोजर किनेर आफैं परियोजना सञ्चालन गरिरहेका छन् । केन्द्रका नेताले बाइडबडी किन्दा भ्रष्टाचार गरेका छन् । बूढीगण्डकी परियोजनामा भ्रष्टाचार भएको छ । यस्तै दूरसञ्चारमा खर्बांै भ्रष्टाचार भएको छ भने सार्वजनिक जग्गा हडप्ने काम तीव्र  छ । यस्तो अवस्थामा सरकारले सुखी नेपाली र समृद्ध नेपाल कसरी बनाउन सक्छ ? 

मुलुक यो अवस्थामा आउनुमा पात्र खराब हुन् कि हामीले ल्याएको व्यवस्था खराब हो ?

हामी युरोप, अमेरिका वा पश्चिमा मुलुकको प्रगति हेर्न सक्छौं । अधिकांश विकसित मुलुक बनाउन सक्षम नेताको भूमिका छ । राष्ट्रको विकासमा नेतृत्वको भूमिका महत्त्वपूर्ण हुन्छ । नेता सक्षम र पारदर्शी भयो भने मुलुक बन्न समय लाग्दैन । तर हाम्रा नेताहरुमा त्यो गुण दखिएन ।

नेता पढेकै हुनुपर्छ भन्ने छैन तर इमानदार हुनैपर्छ।  हरेका पार्टीको नेतृत्व गरेका नेताहरुको सोचाइ फरक भयो । कस्तो भने आफ्नो वरिपरि गरिबी, बेरोजगार र बेतिथि बढाउने अनि त्यस्तो समाजको बीचमा आफूले ठूलो घर बनाउने र त्यसैमा राजनीति गर्ने । दोस्रो कुरा हामीमा जसरी पनि देश लुटेर पैसा कमाउने र विदेशीको गुलामी गरेपछि आफ्नो सरकार बनाउन सकिन्छ भन्ने गलत चिन्तनको विकास हुँदै गएको छ। 

यस्ता कैयन् विकृत मानसिकता र आफ्नो व्यक्तिगत स्वार्थका कारण हाम्रो मुलुक यस्तो दूरवस्थामा पुगेको हो। व्यवस्था आफैंमा खराब हुँदैन तर त्यो व्यवस्थाको नेतृत्व गरेको व्यक्ति खराब भयो भने नेतृत्वले व्यवस्थालाई आफ्नो स्वार्थमा प्रयोग गर्‍यो भने जतिसुकै राम्रो व्यवस्थाले काम गर्न सक्तैन । त्यसैकारण कम्युनिस्टहरु विश्वमा असफल भएका हुन् । नेतृत्व असक्षम र भ्रष्ट भएका कारण देश पछि  परेको हो ।



शीर्ष नेताहरू राष्ट्रिय हित र महत्त्वका मुद्दामा किन खुलेर बोल्न डराउँछन् ? 

हाम्रो दुर्भाग्य ! भौगोलिक रुपमा यति राम्रो देश, यति राम्रा जनता, यति राम्रो संस्कृति यति राम्रो रहनसहन भएको देश । हामीसँग जस्तोसुकै दुःखमा पनि खुसी दिन सक्ने संस्कृति छ । संसारमा यति सुन्दर देश कहीं पनि छैन । तर यस्तो सुन्दर देशका नेताको देश बनाउने सोच र क्षमता देखिएन । नेताहरु आफू सम्पन्न त बन्नुभयो तर देशलाई सम्पन्न बनाउन सक्नु भएन । नेताको सम्पन्नता देश र जनतासँग जोडिनुपथ्र्यो अर्थात् जनतालाई समेत सम्पन्न बनाउन सक्नुपथ्र्याे ।

पृथ्वीनारायण शाहले अमेरिका बन्नुभन्दा पहिले नेपाल बनाए । अष्ट्रेलियामा नेपाली डाक्टर कुमुद धितालले मरेको मानिसको मुटु प्रत्यारोपण गर्न सफल भए । तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च सगरमाथामा पहिलोचोटि पाइला टेक्न सफल भए । काठमाडौं नयाँबानेश्वरस्थित सिभिल हस्पिटलमा ५ लाखमै बोनम्यारोको ट्रान्सप्लान्ट सुरु गरिएको छ । किड्नी ट्रन्सप्लान्ट गर्ने राम्रा अस्पताल र डाक्टर हामीसँग छन्।
 
लक्ष्मीप्रसाद देवकोटा, बिपी कोइरला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई जस्ता नेता जन्मिएको देशमा पछिल्लो समय नेताको अवस्था सुध्रियो तर जनताको अवस्था झन् झन् तल गइरहेको छ ।

हामीले र हाम्रो नेतृत्वले सिंहदरबारभन्दा दूतावास ठूलो देख्न थाल्यौं । दूतावासका  कर्मचारीलाई ठूलो मान्न थाल्याैं । देशमा खुलमखुला नागरिकता बाँडिरहँदा र सिमाना मिचिँदा हाम्रा नेता संसद्मा एक शब्द बोल्दैनन् । प्रजातान्त्रिक अभ्यास भनेको आफूमा परिवर्तन हो । नेपालमा कहाँ खोज्ने यस्तो परिवर्तन ?

नेपाल त नागरिकता बेच्ने देश भयो । पहाड, खोला, नदीनाला बेच्ने देश भयो । भोलिका पुस्तालाई हामीले के दिने ? सुन, तामा, पित्तल, ग्यास, बहुमूल्य खनिज पदार्थ त्यै पहाडमा हुन्छ । त्यो नै बेच्ने काम भइरहेको छ । हामीमा राष्ट्रियता भन्ने नै भएन । पहिले राष्ट्र सम्पन्न बनाउनुपर्छ भन्ने नै भएन । यस्ता कैयन् विकृतिका कारण देश यो अवस्थामा पुग्यो।

संघीयताविरुद्ध कांग्रेसभित्रै आवाज उठ्न थालेको छ । कांग्रेसले आफ्नो वैचारिक लाइनमा पुनरावलोकन गर्न खाजेको हो ?

संविधान कांग्रेस, माओवादी, एमाले सबै मिलेर बनायौँ । हामी एकै ठाउँमा त आयौँ तर हाम्रो धर्म के हो ? हाम्रो संस्कृति के हो ? पूर्वीय दर्शन के हो ? हाम्रो आधार के हो ? हाम्रो विकासका अन्तरनिहित आधार के हुन् ? भनेर छलफल गरेनौँ । कोही हामी युरोपियनहरुको ह्विस्की खान थाल्यौँ र धर्म भुल्यौँ । कोही भारतीयहरुको सहयोग लिन खोज्यौँ र राष्ट्र भुल्यौँ । कतिपय कुनै एजेन्सीको एजेन्ट बन्यौँ र संस्कृति भुल्यौँ ।

त्यसैले हामीले संविधान बनाउँदा केही कमीकमजोरी गर्‍यौँ । त्यसको गम्भीर समीक्षा हुनुपथ्र्यो तर गरेनौँ । हाम्रो जस्तो अति उत्तम पूर्वीय दर्शन अरु कुनै छैन । हामीले त्यसलाई बुझ्न सकेनौँ । हामीले बनाएका अनावश्यक संरचना बदल्नुपर्छ । हाम्रो धर्मसंस्कृतिले अरुलाई नेतृत्व गर्ने हो, अरुलाई मर्गदर्शन गर्ने हो । जुन दर्शनले अनुशासन, मर्यादा, मानवीय मूल्यमान्यता सिकाउँछ उसैलाई कमजोर बनाएका छौँ । यसको पुनजागरण गर्नु अहिलेको आवश्यकता हो ।

संसारभरिका मानिस कुनै न कुनै रुपमा संस्कृत भाषासँगै जोडिएका छन् । अमेरिकी संसद् ओम शान्ति भनेर मात्र सुरु हुन्छ । युरोपमा सबै संस्कृत पढ्न थालिसकेका छन् । तर पूर्वीय दर्शनको उद्गम देशका हामी त्यही संस्कृत जलाउन थाल्यौँ । अरूको धर्मका निम्ति अरू धर्मको बुई चढेर आफ्नै धर्मसंस्कृतिविरुद्ध लाग्यौँ । हामीले यति धेरै संरचना बनायौँ तर ती सबै हामी राजनीति गर्नेहरूका लागि मात्र भए । कैयन् संरचना कर्मचारीका लागि बनायौँ, तर देशका लागि संरचना बनाएनौँ । त्यसैले अब हामीले गरेका यावत् गल्तीलाई समयमै सच्याउँदै अगाडि जानुपर्छ ।



कांग्रेसको भूमिका सडक र संसद् दुवैतिर सशक्त देखिएन । के कांग्रेस सुस्ताएको हो ?

यो गलत हो । कांग्रेसको भूमिका कहिल्यै कमजोर हुन सक्दैन । कांग्रेस सडकमै जानुपर्छ । संसद्मा कुर्सी तोडफोड गर्नुपर्छ भन्ने होइन । हो, हिजो कांग्रेस सत्तामा रहँदा कम्युनिस्टहरु सडकमा तोडफोड गर्थे, रेलिङ भाँच्थे । संसद् अवरोध गर्थे । अरुण–सेती जलविद्युत्बाट विद्युत्समेत निकाल्न नदिने जस्ता प्रवृत्ति कम्युनिस्टहरुको थियो । उनीहरू अहिले हामीबाट पनि त्यस्तै गलत कामको अपेक्षा गरिरहेका छन् । तर कांग्रेस त्यस्तो गलत संस्कार तोड्नुपर्छ भन्ने पक्षमा छ । हामी लोकतन्त्रवादी शक्ति भएकाले सदनलाई निकासको थलो बनाउनुपर्छ ।

हामीले फरक हिसाबले सोच्नुपर्छ । कांग्रेस एउटा ठूलो पाठशाला हो । यो पाठशालाको कारण उद्दण्ड संस्कार बोकेको कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव मदन भण्डारीसमेत जनताको बहुदलीय जनवादमा आउनुभएको हो। उहाँ बहुदलीय जनवादमा आइसकेपछि तपार्इंलाई सबैभन्दा मन पर्ने नेता को हो भन्दा बिपी कोइराला भन्नुभयो । त्यो कांग्रेस पाठशालाकै कारण हो। १७ हजार बढी मान्छे मारेको, सशस्त्र विद्रोह गरेको, उद्दण्ड र लुटपाट गर्ने चरित्र बोकेको माओवादी पनि कांग्रेसकै पाठशालाका कारण संसदीय व्यवस्थामा आएको हो ।

त्यसैले लोकतान्त्रिक व्यवस्था संरक्षणका लागि फरक सोचका साथ अगाडि बढ्नुपर्छ । हरेक समस्या समाधानको थलो संसद् हुनुपर्छ । कांग्रेसका आन्तरिक कमजोरी छन् । नेतृत्वमा स्पष्टता छैन तर जनदबाब र युवाको सक्रियतामा कांग्रसले आफूलाई परिवर्तन गर्दै जान्छ ।
 
कांग्रेसभित्र तपाईं लोकप्रिय र बौद्धिक नेताका रूपका चिनिनुहुन्छ । तर तपाई धेरै निराशावादी र भावनात्मक कुरा गर्नुहुन्छ भन्ने आरोप छ नि ?

म कति लोकप्रिय छु,  छैन त्यो फरक कुरा हो । म निराशावादी र भावनात्मक दुवै छैन । मसँग निराशा पनि आउँदैन किनभने मानिसको आयु छोटो छ । तर यो समुद्रमा ठूलो ज्ञानको भण्डार छ । त्यसैले नेपाललाई सबैले ज्ञान लिन सक्ने ठाउँ बनाउन सक्नुपर्छ । हामीले समाजलाई धेरै विकृत बनायौँ, त्यसो गर्नु हुँदैन । यो ज्ञानको थलोलाई संरक्षण गर्नुपर्छ भन्ने कुरा गर्दा निराशा भन्न मिल्दैन । नेतृत्वले देश समृद्ध बनाउन सक्तैन भन्दा भावनात्मक भन्न मिल्दैन ।

मुलुकलाई सही लिकमा ल्याउन गर्नुपर्ने पाँच मुख्य काम के के हुन सक्छन् ?

- नेपालको भूबनोटका आधारमा नेपालको विकासको नीति कार्यक्रम बनाउनुपर्छ । त्यसका लागि एकीकृत बस्तीको विकास गर्नुपर्दछ । सडकको छिटोछरितो विकासका लागि सुरुङमार्ग अगाडि बढाउनुपर्दछ । यस प्रकारको विकास योजनाले छरिएर बसेको बस्तीलाई एक ठाउँमा ल्याउँछ । बजारको विकास गर्दछ जसले गर्दा कृषि क्षेत्र अगाडि बढ्छ । 

-  नेपाललाइ पर्यटनको आधारमा विकास गर्न सकिन्छ । पशुपति, जानकी, लुम्बिनी र मुक्तिनाथलाई ठूलो सडक मार्गले जोडिदिने हो भने विश्वका सबै थरी मानिस नेपाल आउँछन् ।

-  कानुन पालनामा कडाइ (कानुन सबैलाई समान होस् ।) संवैधानिक निकायमा बस्ने देखि नेतासम्मको सम्पत्ति जनताले हेर्न पाउने गराउनुपर्दछ। भ्रष्टाचारमुक्त समाज आदर्शवादी नेतृत्व ।

-  नेपाललाई शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्दछ । औपचारिक शिक्षा, अनौपचारिक शिक्षा र प्राविधिक शिक्षामा संस्कृत भाषासहितको पूर्वीय दर्शनको पढाइ सँगै लैजाने हो भने नेपाल विश्वमा फरक रूपले विकसित हुन सक्छ । नेपाल तपोभूमि पनि हो । वैज्ञानिक साहित्यकार, इतिहासकार, ऋषिमुनि, गीतकार, संगीतकार, आदर्शवादी नेता बन्ने देश नै नेपाल हो । सोहीअनुसार स्वास्थ्यमा पनि जेनेरिक मेडिसिनको विकास गरेर सर्वसुलभ बनाउन सकिन्छ ।

-  नेपालको जलस्रोतलाई जनतासँग जोड्नुपर्दछ । बिजुली आयोजना जनताको लगानीमा बनाउन प्राथमिकता दिनुपर्छ । जनताको लगानीको जिम्मा सरकारले लिनुपर्दछ । नेता इमानदार र भरपर्दा हुने हो भने नेपाल र नेपाली गरिब हुँदैनन्।

तपाई सधैं अब युवाले नेतृत्व गर्नुपर्छ भन्नुहुन्छ ? युवालाई तपाईले दिने सन्देश के हो ?

युवाहरु पहिला देशभक्त हुनुपर्दछ । युवाहरुले आफ्नो पहिचान र सम्पन्नता देशको  पहिचान र सम्पन्नतासँग जोड्नुपर्दछ । देशलाई अप्ठ्यारो पर्दा नबोल्ने युवा हुँदैन ।




प्रतिक्रिया