आश्रमका आमाको मुख कसले हेर्ने ? (भिडियो)

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/aama1.jpg

भक्तपुरकी सूर्यमाया श्रेष्ठ ११ वर्षअघि निःसहाय सेवा सदन आएकी हुन्। उनलाई उमेर याद छैन। उनी भन्छिन्, ‘९० सालको भूकम्पको तीन वर्षपछि म जन्मेकी हुँ।’  

घरपरिवार र सन्तान बिस्तारै बिरानो हुँदैछन्। अब आश्रम नै उनलाई घर भएको छ। आमाको मुख हेर्ने दिन खास चाडजस्तो लाग्दैन उनलाई। छोराबुहारी आउलान् भन्ने आस पनि छैन र आए हुन्थ्यो भन्ने पनि लाग्दैन।

घरमा राख्न नसकेपछि एक दिन आश्रममा किन मुख हेर्न आउनुपर्‍यो र ? सूर्यमाया प्रश्न गर्छिन्। पहिले छोराले राम्रै हेरचाह गरेको तर पछि बुहारी आएपछि हेला गर्न थालेको नमिठो अनुभव उनी सुनाउँछिन्। सूर्यमाया भन्छिन्, ‘छोराले पहिले ठीकै गर्थ्यो तर बुहारी आएपछि अर्कै भयो। छोरालाई पनि आमाभन्दा वढी आफ्नै श्रीमती प्यारो लागेछ।’

छोराछोरी नभएका आमाबुबा मात्र वृद्धाश्रम जान्छन् भन्ने सुनेका सूर्यमायालाई छोराबुहारीको हेला सहन नसकेर आश्रम आउनुपर्दाको पीडा थामिनसक्नुको थियो। तर अब त्यो सामान्य भइसकेको छ। उनी भन्छिन्, ‘अब त त्यो पीडा भुलेर खुसी हुन सिक्दैछु।’ 

शान्तिनगरको निःसहाय सेवा सदनमा रहेका सूर्यमायाजस्ता थुप्रै आमाको आफ्नै कथा र व्यथा छ। सन्तानले हेपेर वा हेरचाह गर्ने कोही नभएर आश्रममा बसिरहेका आमाहरु मातातीर्थ औंसी आउनेबित्तिकै झस्कन्छन्।



‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात् आफूलाई जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारा हुन्छन् भन्ने नीति वचन छ। आमा जननी, जन्मदाता र कर्मदाता हुन्। नौ महिना कोखमा राखेर जन्माउन यो संसारमा आमाबाहेक अरुले गर्न सम्भव छैन। आफूलाई केही समस्या, आपत र विपत् पर्दा हरेक व्यक्तिको मुखमा आउने पहिलो शब्द नै 'आमा' हो। आमा भन्ने शब्द आफैंमा पवित्र छ। आमाको आशीर्वादले हरेक जित हात पार्न सकिन्छ भन्ने विश्वास छ।

आमाको माया अपरम्पार छ। जसलाई कुनै मूल्य तिरेर बजारमा किन्न पाइँदैन। आमालाई हामी माता, धर्ती, जननी, जन्मभूमि, देवीलगायतका अनेकौं रुपमा पुज्दै आएका छौं। आमाले गर्ने लालनपालन र अर्ती उपदेशलाई शिरमा राखेर यात्रा गर्ने हो भने हेरक व्यक्तिले सफलताको शिखर चुम्न सक्छ। एक बच्चाका लागि उनको आमाबाहेक अरु कोही राम्रो साथी हुन सक्दैन। सम्पूर्ण कुरा एक बालक आफ्नो आमासँग निर्धक्क रुपमा बाँड्न सक्छ र एक आमाले बाहेक अरु कसैले पनि बुझ्न सक्दैन।

आफूलाई जन्म दिने, हुर्काउने र बाटो देखाउने यति पुजनीय आमालाई सन्तानले किन हेला गर्छन् ? घरमा सँगै राख्न नसकेर आश्रममा किन पठाउँछन् ? यस्ता प्रश्नले वृद्धाश्रममा रहेका आमालाई निकै घोच्छ। प्रायः आमाहरुको एउटै गुनासो सुनिन्छ, आश्रमका आमाहरुको मुख कसले हेर्ने ? सन्तान नपुगे पनि विभिन्न सहयोगी संस्था तथा व्यक्तिहरु खानेकुरा तथा उपहार लिएर आश्रम पुग्छन्। 



निःसहाय सेवा सदन आउनुभन्दा अघि सूर्यमाया २० वर्ष एक्लै बसिन्। छोराले धेरै पटक आमासँगै बसौं हिँड्नु भनी लिन आए। तर छोराको गृहस्थी बिग्रिन्छ भन्ने डरले उनी गइनन्। छोराबुहारीलाई घर छाडेर बरु म वृद्धाश्रम बस्छु तर छोरालाई दुःख दिन्नँ भन्ने सोचले उनी आज यो ठाउँमा आएको बताउँछिन्। उनी भन्छिन्, ‘छोरा सानो हुँदा उसले दुःख पाउँछ कि भन्ने चिन्ता लाग्थ्यो तर ठूलो भएपछि आफैंले दुःख पाएँ।’
 
बुहारीसँग बस्दा आफूले नोकर बनेर काम गर्दा पनि नबोलेको सम्झना उनको मनमा अझै ताजा छ। जति काम गर्दा पनि बुहारीले जस नदिएको उनी बताउँछिन्। छिमेकीले उनका छोरालाई धेरै सम्झाए तर बुहारीको अगाडि बोली नै फुटेन। उनका छोरा प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन निःसहाय सदन पुग्छन्। उनले भनिन्, ‘ दसैंमा टीका थाप्न मात्र आउँछ।’ तर पनि उनलाई छोराको माया उत्ति नै लाग्छ। बुहारी कहिले पनि छोरी बन्न सकिनन् भन्ने गुनासो उनको मनमा छ।

अम्बिका प्याकुरेल ७२ वर्षकी भइन्। उनको स्थायी घर काभ्रे हो। संसारमा उनका आफ्ना कोही छैन। श्रीमानको मृत्युपछि उनले धेरै समय माइती र भाडाको कोठामा बिताइन्। माइतीमा पनि आमाबुबाको मृत्युपछि दाजुभाइको कमाइमा पालिने वातावरण नै भएन। अनि आफन्तको सहयोगमा निःसहाय सेवा सदन आइन्।
 
हरेक महिलाका लागि विवाहपछिको मिठो पल भनेको सन्तान प्राप्ति हो। तर उनका ६ वटै सन्तानको सानैमा मृत्यु भयो। यसपछि उनका श्रीमानले दोस्रो विवाह गरे। 
सन्तान बिछोडकै कारण उनको दिमागको अवस्था ठिक छैन। उनी आफूले धेरै दुःख भोगेको बताउँछिन्। उनका लागि मातातीर्थ औंसी कहिल्यै महत्त्वपूर्ण पर्व नै लागेन्। आमाको निधनपछि औंसी भन्ने कुनै शब्द उनको जीवनमा छैन। उनका माइती परिवार भने विवाह वा कुनै ठूलो भोजमा लिन आउँछन्।

कान्छी दुवाल निःसहाय सेवा सदनकी अर्की आमा हुन्। उनी ६० वर्षकी भइन्। उनको खुट्टामा घाउ छ। राम्ररी हिँड्न सक्दिनन्। घाउ घरमै लडेर लागेको उनी बताउँछिन्। अविवाहित उनको कोही छैन। उनले जीवनको धेरै अवधि अर्काको घरमा काम गरेर बिताइन्। उमेरका हिसाबले उनले पहिले जस्तो काम गर्न सकिनन्। यसै कारणले पनि ८ महिनाअगाडि मालिकले खुसी हुनु भन्दै उनलाई वृद्धाश्रममा छोडे। 



विष्णुमती देवी भण्डारी ८६ वर्षकी भइन्। उनी निःसहाय सेवा सदनको आश्रयमा आएको १५ वर्ष भयो। उनी भन्छिन्, ‘१३ वर्षको उमेरमा विवाह भयो।’ उनी जीवनमा धेरै दुःख भोगेको बताउँछिन्। विवाह गरेको तीन वर्ष नबित्दै श्रीमानको मृत्यु भयो। पति वियोगमा उनी धेरै समय एक्लो बसिन्। यति सानै उमेरमा विधवाको दुःख सहेकी उनले दोस्रो विवाह गर्न चाहिनन्। उनका भाइका छोराछोरी भने कहिलेकाहीं भेट्न आउँछन्। उनका अनुसार मातातीर्थका दिन आमा भनेर आउने धेरै दाता छन्। उनीहरु नै उनका लागि छोराछोरी हुन्। 

राधा खड्का ७० वर्षकी भइन्। उनी निःसहाय सदनमा बस्न थालेको १४ वर्ष भयो। उनी एक्ली छिन्। छोराछोरी कोही छैनन्। उनका अनुसार नरभन्दा परमात्मा भगवान् हुन्। उनले मातातीर्थ औंसी मनाएकी छैनन्। उनी सानै हुँदा आमाको निधन भयो। आमा हुँदा पनि यो दिन मनाएको कुनै पनि पल उनलाई याद छैन। तर अहिले आमा भनेर निःसहाय सेवा सदनमा धेरै दाता आउँछन्। उनी यसैमा खुसी छिन्। 

सदनका प्रशासकीय अधिकृत प्रेमप्रसाद उप्रेतीका अनुसार मातातीर्थ औंसीका दिन सञ्चालक समितिले विभिन्न कार्यक्रम गर्दै आएको छ। नेपाली दाताहरु आउने, खुसी साटासाट गर्ने, जसलाई जे मनपर्छ त्यही खाना दिने र केक काट्ने गर्छन्। 





प्रतिक्रिया