जो गुराँसको राजधानीमा पर्यटक ल्याउँदा जेल बस्नुपर्‍यो... 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/2019, March/guransko_rajdhani.jpg

इटहरी - सुवास केसीले गरेको काम भनेको साढे तीन सय विदेशी पर्यटक गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले (टिएमजे) मा ल्याएको हो। उनकै अगुवाइमा गत चैत २२ देखि ७ दिनसम्म सांगीतिक कार्यक्रम तय भयो।

संखुवासभाको चौकी क्षेत्रमा रहेको निजी जग्गामा स्थानीय सरकार मादी नगरपालिकासँग अनुमति लिएरै कार्यक्रम गर्न लागिएको थियो। नगरपालिकाले पनि नगरकार्यपालिका बैठकबाट अनुमति दिएको हो। जब पर्यटकहरु आए, उनीहरू बीच बाटैबाट फर्काइए। त्यसको भोलिपल्ट पर्यटक व्यवस्थापनको धपेडीमा रहेका आयोजक शक्तिपिक म्युजिक फेस्टिबल प्रालिका सञ्चालक सुवास केसी पक्राउ परे। उनलाई ६ दिन थुनामा राखियो।

प्रशासनको ज्यादती
 
टिएमजेको चौकीमा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम सफल बनाउन मादी नगपालिकाका मेयर विदुर लिङ्थेप, वडा ९ का अध्यक्ष पासाङ शेर्पालगायतका जनप्रतिनिधिसमेत सक्रिय थिए। कम मात्रै युरोप, अमेरिकी पर्यटक आउने टिएमलेमा एकैपटक साढे तीन सय आउन लागेकोमा उनीहरु उत्साहित थिए। स्थानीयका १५० घरमा होमस्टे बुक गरिएको थियो। टुटे देउरालीमा २२ गते आउँदै गरेका तीन सय बढी पर्यटकलाई स्वागत गर्न बसेका थिए जनप्रतिनिधि र स्थानीय बासिन्दा। ११ बजे आएका पर्यटकहरुलाई प्रशासनले टुटेबाटै फर्कायो। विरोधमा स्थानीयले केही घन्टा चक्काजाम गरे। जनप्रतिनिधिहरुले संखुवासभा प्रशासनको विरोध गरे। प्रशासनले सुनेन। उल्टै आयोजक शक्तिपिकका अध्यक्ष केसीलाई पक्राउ गर्‍यो।
 
२२ गतेको कार्यक्रम प्रशासनले निषेध गरेपछि अलपत्र पर्यटकको व्यवस्थापनमा खटिएका बेला हिलेबाट २३ गते पक्राउ परे केसी। आफूलाई २४ गते बिहान खाँदबारी पुर्‍याएको केसीले बताए। उनलाई खाँदबारीमा पुग्नुअगाडि चैनपुर क्षेत्रबाट हतकडी लगाइएको थियो।
 
यही चैत २९ गते साधारण तारिखमा छुटेका केसीलाई पक्राउ गर्नुको कारण लागूऔषध अनुसन्धान भएको संखुवासभाका सिडिओ गणेशबहादुर अधिकारीले बताएका थिए। केसीले भने लागूऔषध नभएर आफूलाई प्रहरीलाई हातपात मुद्दामा ६ दिन थुनामा राखेका बताए। थुनामा राख्दा लुगा र खानेकुरा लिएर आएका आफन्तलाई समेत भेट्न नदिएको केसीले बताए। उनले भने, ‘मैले ज्यादै ठूलो अपराध गरेजस्तो गरेर थुनियो।’

अदालतले कार्यक्रम गर्न आदेश दिए पनि भएन कार्यक्रम
 
पूर्वनिर्धारित कार्यक्रम गर्न प्रशासनले ज्यादती गरेकोमा केसी र धनकुटाका मानबहादुर खड्काले उच्च अदालतको इजलास धनकुटामा रिट हाले। रिटपछि अदालतले कार्यक्रम गर्न आदेश दियो। तर कार्यक्रम भने हुन सकेन।
 
प्रशासनले बाटैमा अलपत्र पारेको, हप्ता दिन बढी समय लम्ब्याएको र आयोजकलाई नियतबस थुनेकाले कार्यक्रम भाँडिएको केसीले बताए। ‘सामान्य सुरक्षाको प्रश्न र केही दिन तलमाथि हुनेबित्तिकै विदेशी अडिँदैनन्’, केसीले नेपाल समयसँग भने, ‘त्यही भएर अदालतले आदेश दिए पनि विदेशीहरु सरकारले दुःख दिएको गुनासो गर्दै फर्के।’
 
आफूले नेतृत्व गरेको कार्यक्रमलाई प्रसाशनले भाँडेपछि ७८ लाख आर्थिक र अत्यन्तै धेरै मानसिक र पारिवारिक क्षति भएको केसीले बताए। उनले भने, ‘म मात्रै हैन तीन सय बढी विदेशीले पनि अब कहिल्यै नेपाल नफर्किने भन्दै दुःखी भएर घर गए।’ यसरी फर्किएका ८० देशका तीन सय बढी पर्यटकले नेपालको खराब सन्देश विदेशमा लगेको केसीले बताए। उनले भने, ‘कुनै आधार र प्रमाणबिना गरिएको धरपकडले गर्दा अब नेपालमा आउने अन्य पर्यटकलाई पनि यो कार्यक्रम पीडितले नजान भन्नेछन्। यसले हाम्रो पर्यटनमा ठूलो घाटा हुनेछ।’

७८ लाख घाटा, ६ दिन थुनामा

विदेशी पर्यटक ल्याएर टिएमजेमा कार्यक्रम गर्न आएको केसीको कम्पनीले १८  गते नै प्राविधिक बोलाएर स्टेज र साउन्ड व्यवस्थानमा सक्रिय थियो। २० गते काठमाडौंबाट ४ वटा ठूला बस, २ वटा माइक्रो र अन्य निजी गाडी रिजर्भ गरिए। २१ गते पर्यटकहरु हिलेका कान्जिरोबा र होटल होराइजन जस्ता महँगा होटलमा बसेका थिए।
 
२२ गते टुटेबाट अलपत्र पारिएका पर्यटक यिनै होटलमा बसे। २३ गते मुख्य आयोजक केसी पक्राउ परेपछि पर्यटकको बिचल्ली भयो। उनीहरु आफ्नो तरिकाले काठमाडौं हुँदै स्वदेश फर्के। योग, प्रणायाम, कुन्डलिनी जागरण र अन्य थेरापीसहितको सांगीतिक कार्यक्रमलाई ‘ट्रान्स पार्टी’ भन्दै प्रशासनले यौनजन्य काम हुने र लागूऔषध प्रयोग हुने भन्दै रोक्यो।

लागूऔषध ल्याएको भए जाँच गरी कारबाही गर्न र खुला रूपमा यौनजन्य काम गरे निगरानी गर्न आयोजक र जनप्रतिनिधिले भने पनि प्रशासनले नमानेको मादीका मेयर लिङ्थेपले बताए। उनले भने, ‘प्रशासनको पुरातनपन्थी सोच, पर्यटनविरोधी मानसिकता र ज्यादतीले यो सबै भएको हो।’

कार्यक्रम गर्न खोज्दा ६ दिन थुनिएका केसीले आफूलाई थुन्ने, पर्यटकलाई अलपत्र पार्ने र झुटा मुद्दा लाउने प्रशासनको काम पीडादायी भएको बताए। आफूलाई मिडियामा भन्दा लागूऔषध अनुसन्धानका लागि पक्राउ गरिएको भनिएको तर मुद्दा भने प्रहरीलाई हातपात गरेको केसीले बताए। आयोजक, पर्यटक, स्थानीय र जनप्रतिनिधि सबैविरुद्धमा प्रशासनले गरेको ज्यादतीले आफूलाई आर्थिक र टिएमजेलाई पर्यटकीय घाटा भएको केसीले बताए। ‘मलाई ७८ लाख घाटा भएको छ’, केसीले भने, ‘टिएमजेमा आएका तीन सय बढी विदेशी अब आउने छैनन् र यसले पर्यटनमा झनै धेरै घाटा भएको छ।’




प्रतिक्रिया