वैशाख १२ पछि 'प्लेट लक' हुँदा काठमाडौंलाई बढी खतरा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/nepal_plate.jpg

काठमाडौं- वैशाख १२ को भूकम्पपछि लक भएको भूभाग दक्षिणतिर नसर्दा (क्रिप) काठमाडौंको उच्च भूकम्पीय जोखिम यथावत् रहेको पछिल्लो अध्ययनले देखाएको छ ।

काठमाडौं लगायतका विभिन्न सत्रवटा जिल्लामा जमिनको हलचलबारे जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) मा आधारित अध्ययनबाट यस्तो तथ्य निकालिएको हो ।

वैशाख १२ को विनाशकारी भूकम्पपछि फ्रेन्च युनिभर्सिटी सा भ्वाँसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागले विभिन्न सत्र जिल्लामा जिपिएस प्रणालीबाट जमिनको चालबारे अनुसन्धान गरेको थियो । अनुसन्धानमा संलग्न भूगर्भविद् प्राडा. अनन्त गजुरेलले नेपाल समयसँग भने, 'जमिन दक्षिणतिर नसर्दा काठमाडौंलाई बढी खतरा देखिएको छ।'

प्रा डा. गजुरेलका अनुसार वैशाख १२ को ठूलो भूकम्पपछि जमिनको मुभमेन्ट धेरै सक्रिय देखिएको छ । त्यसकै परिणाम काठमाडौंमा आइरहने पराकम्प।

डा. गजुरेलका अनुसार काठमाडौंको दक्षिणमा आएर लक भएको भूभाग जति छिटो बिस्तारै चिप्लिएर (क्रिप) दक्षिणतिर सर्छ, त्यति नै बढी पावर दक्षिणतिरबाट रिलिज हुन्छ अनि काठमाडौंमा जोखिम घट्दै जान्छ। गजुरेलका अनुसार काठमाडौं अडिएको प्लेट उत्तरतिर सर्दै जाँदा दक्षिणतिर शक्ति (इनर्जी) सञ्चय भइरहेको छ ।

जिपिएस अध्ययनलाई हेर्दा काठमाडौं अझै पनि भूकम्पको उच्च जोखिममा छ । 'वैशाख १२ को भूकम्पपछि काठमाडौंको उत्तरतर्फको भूभाग सर्दै काठमाडौंको दक्षिणमा आएर 'लक' भएको छ । उत्तरतर्फ तिरको भाग सरिरहेको छ । तर काठमाडौंको दक्षिणतिरको भूभाग मुभ भएको छैन', गजुरेलले भने,  'उत्तरतिरबाट सर्दै वा धकेलिँदै आएको भूभाग दक्षिण्तिर मुभ नभएर लक हुँदा यहाँ पावर सञ्चय भइरहेको छ। उत्तरतिरको भूभाग दक्षिणतिर सर्दै गर्दा दक्षिणको भूभाग पनि दक्षिणतिर सर्दै जानुपर्छ। त्यो भइरहेको देखिँदैन।'

गजुरेल भन्छन्, 'काठमाडौंको १० देखि १५ किलोमिटर मोटाइको भूभाग बिस्तारै चिप्लिएर (क्रिप) दक्षिणतिर महाभारत हुँदै चुरेपर्वततिर मुभ भएमा सञ्चय भएको इनर्जी छिटो रिलिज हुन्छ तर वैशाख १२ गतेपछि लक भएको भूभाग अहिलेसम्म दक्षिणतिर क्रिप भएको छैन।'

'फिल्ड मेजरमेन्ट' सकिएर जिपिएस डिभाइससहितका सम्पूर्ण डाटा प्रशोधन तथा विश्लेषणका लागि फ्रान्समा पठाइएको थियो । 'डाटालाई व्यवस्थित र विश्वसनीय ढंगबाट प्रशोधन तथा विश्लेषण गर्ने प्रविधि तथा जनशक्ति हामीकहाँ नभएकाले पेरिस पठाइएको हो', गजुरेलले भने, 'अब नेपालभित्रै पनि जिपिएस डाटा प्रशोधन र विश्लेषण गर्ने प्रणाली विकास हुँदैछ । त्यसका लागि तयारी भइरहेको छ ।'

जिपिस प्रणालीबाट काठमाडौं, भक्तपुर, ललितपुर, काभे्र, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, सिन्धुली, रामेछाप, मकवानपुर, बारा, दोलखा, रसुवा, धादिङलगायतका जिल्लामा जमिनको चालबारे अध्ययन गरिएको थियो। गजुरेलका अनुसार जिपिस डिभाइससँगै जोडिएको एन्टेनाले चौबीसै घन्टा जमिनको चालबारे डाटा रिसिभ र रेकर्ड गरेको थियो।  

प्रत्येक तीस सेकेन्डमा यो डिभाइसमा डाटा अपडेट हुन्छ । फ्रेक्सन अफ मिलिमिटरमा जमिनको चाललाई यसले नाप्छ गर्छ । डा. गजुरेलले भने, 'दायाँबायाँ तलमाथि जमिन कसरी हल्लिन्छ र चल्छ भन्ने तथ्य यसबाट संकलन गरिएको छ ।'

जिपिएस अनुसन्धानमा नेपाली टोलीको नेतृत्व त्रिभुवन विश्वविद्यालयका भूगर्भ विभागका प्रा.डा. अनन्त गजुरेलले गरेका थिए भने फ्रेन्च युनिभर्सिटीको तर्फबाट प्रा.फस्वाँ जुहान संलग्न छन् ।

विनाशकारी भूकम्पपछि विभिन्न देशका अनुसन्धानकर्ताले आआफ्नै हिसाबले अध्ययन गरे पनि तीनलाई समन्वय गर्ने प्रभावकारी निकाय नहुँदा केही समस्या गजुरेल बताउँछन् । गजुरेलले भने, 'अध्ययन धेरैतिरबाट भएको छ । तर राष्ट्रिय रुपमा समन्वय गर्ने काम नहुँदा त्यसका नतिजा र निष्कर्ष पनि कहाँ पुगे भन्ने अन्योल जस्तो छ । यसमा सरकार गम्भीर हुनुपर्छ।'

यसैगरी जापानको टोकियो युनिभर्सिटीको भूकम्प अनुसन्धान प्रतिष्ठानसँगको सहकार्यमा पनि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भूगर्भ विभागले भूकम्पीय जोखिबारे अनुसन्धान गरेको छ । दुई महिना लामो अनुसन्धान सकिएर यसबाट संकलित डाटा तथा सूचनालाई प्रशोधन तथा विश्लेषणका लागि टोकियो युनिभर्सिटीमा पठाइएको थियो ।

सेफ्रुबेसीदेखि हेटौंडाको सुपारीटारसम्मको पाँच किलोमिटरको दुरीमा रहेका ३५ इपी सेन्टरमा डिभाइस राखेर भूकम्पको गहिराइ (डेप्थ) बारे अनुसन्धान गरिएको छ । भूकम्प जाँदा जमिनको कुन तहबाट पावर रिजिल हुन्छ भन्ने पत्ता लगाउन यो अध्ययन गरिएको हो । 'यसले काठमाडौं भविष्य र जीवनबारे महत्त्वपूर्ण डाटा दिन्छ', गजुरेलले भने। 




प्रतिक्रिया