लोकतन्त्र विशेष : ल्याउनुछ अब जनताको मुहारमा खुसी

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/Thakur_Gaire_banner.jpg

काठमाडौँ - तत्कालीन राजा ज्ञानेन्द्रबाट शाही घोषणा भएको दिन ‘नेपाल ल क्याम्पस’ मा हाम्रो उपत्यकास्तरीय कार्यकर्ता भेला भइरहेको थियो। भेला चलिरहेकै बेला हामीबीच जुलुस निकाल्ने सल्लाह भयो। भेला सक्नेबित्तिकै जुलुस लिएर हामी रत्नपार्क पुग्यौँ। राजा ज्ञानेन्द्रको निरंकुश शासन क्रमशः बलियो हुँदै थियो।
 
दलहरू पनि जनतामाझ ज्यादै अलोकप्रिय थिए। यस्तो स्थितिमा आन्दोलन त्यो पनि गणतन्त्र प्राप्तिका लागि, निकै कठिन अवस्था थियो। कांग्रेस संवैधानिक राजतन्त्रको पक्षमै थियो। तत्कालीन नेकपा एमाले समेत २०४७ को संविधानलाई आलोचनात्मक समर्थन गरेर एक परिधिमा बस्दै आएको थियो। 

यस कारण पनि औपचारिक रूपमा गणतन्त्रमा जाने भन्ने निर्णय लिने वा जाने भन्ने विषय बनिरहेकै थिएन। तत्कालीन राजा ज्ञानेन्द्रको शासन व्यवस्थासँगै मिलेर जानुपर्छ भन्ने मत थियो। अर्कोतर्फ माओवादी जनयुद्धले ठूलो आकार ग्रहण गरेको थियो। 

आन्दोलनको स्थिति के हुन्छ ? आन्दोलन सफल हुन्छ कि हुँदैन ? दलहरूले नेतृत्व गर्न सक्छन् कि सक्दैनन् भन्ने जस्ता प्रश्न अगाडि थिए। हामीसँग यी सबै प्रश्नको जबाफ दिन सक्छौँ र आन्दोलन सम्पन्न गर्ने सक्छौं भन्ने मनोबल थियो। त्यही मनोबलले नै हामीलाई त्यस्तो तह र परिस्थितिमा उभिन सक्ने बनायो।

मूल नेतृत्व सडकमा आउँदैनथे। त्यतिखेर आन्दोलनमा लाग्ने कुरा कष्टकर थियो। आन्दोलनमा नेतृत्व नआउनुको कारणचाहिँ आन्दोलन कसरी कुनै दिशातर्फ लैजाने भन्ने विषय क्लियर भइसकेको थिएन। निरंकुशताको विरोध गर्नुपर्छ भन्नेमा सबै सहमत थिए।  तर प्रतिगमन आधा सच्चियो, पूर्ण लोकतन्त्र र लोकतन्त्र भन्ने जस्ता गन्जागोलको स्थिति थियो।
 
त्यसैले गर्दा आन्दोलन लामो समयसम्म अलमलको स्थितिमा थियो। हामीले सडकमा गणतन्त्रको नारा लगाउँदा स्पष्टीकरणसमेत दिनुपर्ने स्थिति थियो। त्यो अन्योलपूर्ण स्थितिमा आन्दोलन उठाउने कुरा गाह्रो थियो। तर हामी अखिलको लिडरसिपमा थियौँ। त्यसअघि हामीले सात विद्यार्थी संगठनको संयुक्त आन्दोलन चलाइसकेका थियौँ। त्यसैलाई क्रमशः निरंकुशताविरुद्धमा रूपान्तरण गर्ने एउटा अवसर भयो।
 
प्रहरीसँगको भिडन्त

दर्जनौंपटक पानीको फोहरा र लाठी खायौं। कैयन् पटक हिरासतमा पर्‍यौँ। आन्दोलनलाई क्रमशः बलियो र प्रचारको विषय पनि बनाउनका लागि प्रहरीको दमन कतिपय बेलामा अपेक्षा पनि गर्थ्यौं। कतिपय बेला दमन गर्ने वातावरण पनि बनाउनुपर्थ्यो।
 
आन्दोलन चलिरहेका बेला तनावको क्षण भनेको एउटा कार्यक्रम आयोजना गर्‍यो। तर, सहभागीहरू कम वा थोरै हुने गर्थे। जुन उद्देश्य लिएको हो, त्यसमा सहभागी कम हुनु भनेको तनावकै विषय थियो। सहभागिता वृद्धि कसरी गर्ने भन्ने तनाव थियो। हरेक मानिससँग भेट हुँदा वा ‘वान टु वान’ भेट हुँदा वा लिडरसिपकै तहका व्यक्तिसँगको भेटमा पनि गणतन्त्र कहाँ सम्भव छ र ? राजाले खाइसक्यो भन्ने जस्ता निराशाजनक कुरा निस्कन्थे। एकातिर माओवादी युद्ध अर्कोतर्फ राजाको निरंकुशता समस्या थियो। साथसाथै जनताले पनि दलहरूलाई रुचाएको अवस्था थिएन। 

हिरासतमा घुमेको घुम्यै

भक्तपुरको विद्युत् प्राधिकरणमा एक महिना हिरासतमा परें। बाहिर रहेका साथीहरूले बन्दी प्रत्यक्षीकरणको रिट हाल्नुभएको रहेछ। त्यसपछि खबर आयो कि म अब छुट्दै छु। प्राधिकरणबाट प्रहरीको गाडीमा हालेर भक्तपुर डिएसपी कार्यालयमा लगियो। त्यहाँ कागजको काम हुँदै थियो। मलाई चाहिँ कागजमा रिहा भएको साइन गराउन लगाइएको थियो।

मैले त्यहाँ साइन गर्ने लाग्दा त्यहाँ ८–१० जना सिभिल ड्रेसका साथी थिए। आफूले क्याम्पसमा पढाएका विद्यार्थी रहेछन्। सर नमस्ते भने। मलाई डिएसपी कार्यालयबाट प्रहरीको भ्यानसम्म हिँड्नु परेन। उनीहरूले मलाई बोकेरै भ्यानसम्म लागे। त्यसपछि राति काठमाडौँको विभिन्न गल्ली घुमाउँदै ललितपुर प्रहरी चौकीमा लगियो। त्यहाँ मलाई तीन दिनसम्म राखियो। त्यसपछि फेरि चापागाउँ लगे। त्यहाँ पनि २२–२५ दिन जति पब्लिक सम्पर्कसमेत हुन नसक्ने अवस्थामा राखे।

प्राप्त हुन सकेन आन्दोलनको उद्देश्य

आन्दोलनले गणतन्त्र ल्यायो, परिणाम ल्यायो, संविधान ल्यायो, जनप्रतिनिधि ल्यायो, राजकीय संरचनाबाट राज्यका विभिन्न संरचनामा परिवर्तन ल्यायो। जो व्यक्ति देशको प्रशासनबीच सिटमा थिए, त्यसमा पनि हिजोका आन्दोलनकारी बसे। तर हामीले आन्दोलनका बेला जुन सोच अगाडि सारेका थियौं, त्यो मिल्न सकेन। वास्तवमा आन्दोलनका बेला प्रकट भएको चिन्तन अहिले कार्यान्वयन हुन सकेन।

आज व्यवस्था बदलियो, संरचना बदलियो। हामीले जनताबाट निर्वाचित प्रतिनिधि प्राप्त गर्‍यौँ तर प्रमुख लक्ष्य प्राप्त हुन सकेन। त्यो आन्दोलनमा हामीले निर्माण गरेको सोच अझै पूरा भएन।

लामो समयदेखि चल्दै आएको सामन्ती, निरंकुश र यथास्थितिवादी व्यवस्था अन्त्य भयो। क्रान्तिकारी व्यवस्था, संघीय व्यवस्था, धर्म निरपेक्षता विषय स्थापित भए। हिजोको परम्परागत ब्युरोक्र्याटिक व्यवस्थाबाट परिवर्तन भइहाल्न समय लाग्छ भन्ने जस्ता कुरा एक हदसम्म ठीकै होला। तर, दुईतिहाइ सामर्थ्यले जनातालाई जति नजिकबाट सेवा दिनुपर्ने थियो वा अथवा चुनावका बेलामा जति जनतालाई गरेको प्रतिबद्धता राज्य र सरकारबाट जनताले चुस्त दुरुस्त सेवा प्राप्त गर्नुपर्ने थियो त्यो भने हुन सकेन।

हामीले दरबारका मनिसले गर्ने फजुल खर्चबारे धेरै चर्को आवाज उठायौं र भण्डाफोर गर्‍यौँ। तर, आजको स्थितिमा भ्रष्टाचार फजुल खर्चमा कमी भयो भन्न जनताले पाएका छैनन्। सुशासन र पारदर्शिताको महसुस जनताले पाएका छैनन्।
 
जनआन्दोलनमा होमिएका हजारौं साथी अंगभंग भए। कतिपय आज पनि अस्पतालमा उपचारार्थ छन्। आफ्नो शरीरमा लागेका गोलीका छर्रा लिन तयार हुने मान्छेहरूले वर्तमान स्थितिमा आफू आन्दोलनमा हिँडेर देशमा यो व्यवस्था दिन पाइयो भन्ने गर्वको गर्ने मिल्ने ठाउँ भने पाएका छैनन्। व्यवस्था र व्यक्ति मात्र बदलियो तर चिन्तन र सोच बदलिएन। हिजो आन्दोलनमा हामीले गरेको प्रतिबद्धता र वचन कार्यान्वयन भएन।
 
मलाई स्मरण छ कि आन्दोलनका समयमा काठमाडौंको टुँडिखेलमा सात राजनीतिक दलका शीर्ष नेताहरुले सामूहिक रुपमा जनतासँग हात उठाएर भनेका थिए, ‘विगतमा हामी विभिन्न समयमा नेतृत्वमा रहँदा जे जति कमीकमजोरी भए आगामी दिनमा त्यो दोहोर्‍याउने छैनौं। यो आन्दोलन देश र जनताका लागि हो।’ यही प्रतिबद्धतापछि जनताले आन्दोलनमा साथ दिएको स्मरण ताजै छ। तर के आज जनताले हामीलाई स्याबासी दिएको छ र ?

हामीले जनतासँग विकासका लागि बहुमतको सरकार भनी माग गरेका थियौं। मुलुकको परिवर्तन र गणतन्त्रका लागि सडकमा आउन जनतालाई अपिल गर्‍यौँ। 

पार्टीहरुले जनतासँग जे माग र अपेक्षा गरे त्यो सबै जनताले मान्यो। तर जनताले अपेक्षा गरेको पार्टीहरुले पूरा गर्न नसक्ने हो भने फेरि आउने दिनहरुमा जनताबाट कस्तो प्रतिक्रिया आउने भन्ने ठूलो प्रश्न हो।
 
दुई तिहाई बहुमतसहितको कम्युनिस्ट सरकार दोस्रो वर्षको बजेट र नीति कार्यक्रम ल्याउने तयारीमा छ।
 
म चाहन्छु कि आगामी नीति कार्यक्रम र बजेट कार्यक्रम आउँदा नेता र व्यवस्था मात्र बदलिएको हैन, हामीले अपेक्षा गरेको परिवर्तन पनि भयो भन्ने वातावरण सरकार र पार्टीहरुले बनाउनुपर्छ।
 
सरकारको भन्दा पनि महत्त्वपूर्ण जिम्मेवारी वा जबाफदेही त्यो निरंकुशताविरुद्ध आन्दोलनको नेतृत्व गर्ने दल वा राजनीतिक पार्टीहरु मुख्य जिम्मेवार हुन्छन्। 

सरकारको भन्दा वढी म पार्टीहरुको ध्यानाकर्षण गराउन चाहन्छु। यो व्यवस्था र संविधान पार्टीहरुको नेतृत्वमा आएको हो। हामीले गरेका प्रतिबद्धताअनुसार देशमा परिवर्तन ल्याउने कि नल्याउने भन्ने निर्णय र निष्कर्ष अवलम्बन गर्ने पार्टीले हो। त्यस कारण पार्टीलाई योग्य, सदाचारी र क्षमतावान् बनाउनुपर्छ। नेकपा नेतृत्वमा बनेको सरकारले ती काम गर्न अगाडि बढ्नुपर्छ। 

(अनेरास्ववियुका पूर्वअध्यक्ष नेकपा केन्द्रीय सदस्य गैरेसँग सनम र प्रविताले गरेको कुराकानीमा आधारित)
 




प्रतिक्रिया