गगनको नजरमा लोकतन्‍त्रका १३ वर्ष : हामी कहाँ चुक्यौं ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/gagan_ganatantra_banner.jpg

जनआन्दोलन २०६२ सुरु हुन ३ दिन पहिले अर्थात् ०६२ चैत २० नेपाली कांग्रेससहित ७ दलले आन्दोलनको तयारी गरिरहेका बेला तत्कालीन गृहमन्त्री कमल थापाले जनआन्दोलन निस्तेज पार्न गोलीगठ्ठा मात्र हैन, बख्तरबन्द ट्यांकसमेत सडकमा कुदाउने चेतावनी दिए।

पूर्वराजा ज्ञानेन्द्रले शासन हातमा लिएको र उनका सबैभन्दा विश्वासिला गृहमन्त्री थापाको भनाइबाट सरकार आन्दोलन दबाउन कुन हदसम्म जाँदैछ भन्ने सजिलै अनुमान गर्न सकिन्थ्यो। भोलिपल्ट अर्थात् ०६२ चेत २१ गते पुतलीसडकस्थित रिपोटर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। त्यो पत्रकार सम्मेलनमा तत्कालीन गृहमन्त्री थापालाई मैले चुनौती दिँदै भने, ‘सक्छौ भने मेरो छातीमा ट्यांक कुदाएर देखाऊ गोली ठोक म थाप्न तयार छु।’

गृहमन्त्रीको प्रतिकार गरेको केही मिनेटमै मलाई पक्राउ गर्न ठूलो संख्यामा रहेका प्रहरीले रिपोटर्स क्लब घेरा हालिसकेको रहेछ। प्रहरी पक्राउबाट बच्न भाग्ने प्रयास गरेँ तर भाग्ने ठाउँ थिएन। म कुनै पनि हालतमा  पक्राउ पर्न चाहन्नथेँ। कारण प्रहरी नियन्त्रणमा परेपछि आफू आन्दोलनमा सक्रिय हुन पाउने थिइनँ। बाहिर भाग्ने कुनै ठाउँ नदेखेपछि हामीले एउटा जुक्ति निकाल्यौं। मैले लगाएको कपडा साथीलाई लगाइदिने र साथीको कपडा आफूले लगाएर प्रहरीको आँखा छलेर भाग्ने।

त्यसै गर्‍यौं र मेरो कपडा लगाएका साथीलाई म चढेर आएको मोटरसाइकल पहिला  साथीलाई  पठायौं र प्रहरीले साथीको पिछा गर्न गर्न थाल्यो। प्रहरी त्यहाँबाट निस्केपछि म निस्केर जोगिएँ।

चैत २३ गते जनआन्दोलन सुरु भयो। हामीले लोकतन्त्र मात्र हैन, लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने उद्घोष गरेका थियौं। नेपाल विद्यार्थी संघको महामन्त्री भएपछि मैल पार्टी संगठनभित्र र बाहिर हिंसात्मक आन्दोलनमा रहेको माओवादीलाई रूपान्तरण गरी शान्ति रूपान्तरण गर्नुपर्छ  र राजालाई पूरै निषेध जानुपर्छ भन्ने आवाज उठाए। किनभने नेपालको राजसंस्था लोकतान्त्रिक बन्नै सकेन। नेपालमा राजसंस्था र प्रजातन्त्र एकैसाथ अगाडि बढ्नै सकेन र सक्दैन। घटनाक्रमबाटै पुष्टि भइरहेकै थिए। ममाथि तत्कालीन शाही सरकारले राजद्रोहको मुद्दा  लागायो। त्यसपछि म स्पष्ट भएँ, म तत्कालीन शाही सरकारको निसानामा छु।
 
परिवार, आफन्त र शुभचिन्तकमा चिन्ता बढ्नु स्वाभाविकै थियो। किनभने पञ्चायतकाल र त्यसअगाडि राज्यद्रोहको अभियोगमा धेरैलाई यातना, सर्वस्वहरण र हत्या नै भएका थिए। तर मलाई डर लागेन। बरु लोकतान्त्रिक व्यवस्था ल्याएरै छाड्नुपर्छ भन्ने अठोट बलियो हुँदै गयो।  लोकतन्त्र एक किसिमको नशा हो कि,  विश्वास हो कि के हो थाहा भएन। तर लोकतन्त्र स्थापना गरेरै छाड्ने अठोट झन्झन् बलियो हुँदै गयो।

१९ दिने जनआन्दोलनमा प्रहरीको पक्राउबाट बच्न कीर्तिपुर, बनेपा, भक्तपुर, चाबहिल, मैतीदेवी, बालाजु, कलंकीलगायत विभिन्न स्थानमा लुकेर सहभागी भएँ। 

एक महिनासम्म घरमा गइनँ। एकै ठाउँमा बस्दा पक्राउ पर्ने भएकाले दैनिक बास बस्ने ठाउँ परिवर्तन गर्थेँ। म पुगेको र बसेको ठाउँमा सादा पोसाकका प्रहरीले निगरानी गरेको खबर पाउँथेँ। एकै दिनमा दर्जन बढी कार्यक्रममा वक्ता भएर उपस्थित हुन्थ्यौँ । कार्यक्रममा सहभागी हुँदा जुनसुकै बेला पक्राउ पर्न सकिन्थ्यो।  त्यसबाट बच्न हामीले तीनचारवटा घेरा बनाउँथ्यौँ।

घेराका साथीहरुले दिएको सूचनाका आधारमा मात्र अगाडि बढ्थेँ। सबै सभामा म पुग्नै पथ्र्यो भने प्रहरीबाट जोगिएर साँझ बस्ने ठाउँमा पुग्नु पनि थियो। एक ठाउँबाट अर्को ठाउँमा जान मोटरसाइकल प्रयोग गर्थेँ। कार्यक्रम सकिएपछि कतापट्टिबाट भाग्ने ? कसरी जाने भनेर सबै योजना पहिल्यै बनाउँथ्यौँ। 

आन्दोलन किन ?

२०४६ सालको आन्दोलनबाट हाम्रा प्रजातान्त्रिक अधिकार स्थापित भए। ०५९ सालको राजाको कदम र माओवादी विद्रोह दुवैले २०४७ सालको संविधानले दिएका प्रजातान्त्रिक अधिकार कुण्ठित गरेको अवस्था थियो। त्यसविरुद्ध र प्रजातन्त्र स्थापनाका लागि आन्दोलन आरम्भ भएको थियो।  तर आन्दोलन अगाडि बढ्ने क्रममा कसरी विकास भयो भने माओवादी विद्रोहीलाई पनि शान्तिपूर्ण अवतरण गर्नुपर्छ। माओवादी विद्रोहलाई निषेध नगर्ने, रूपान्तरण गर्ने र राजासँग भने संघर्ष गर्ने रणनीतिले बिस्तारै आन्दोलन अघि बढ्यो।

उदार प्रजातान्त्रिक व्यवस्थाका विश्वव्यापी मान्यता छन्। आवधिक निर्वाचन, वाक स्वतन्त्रता, संगठन गर्न पाउने स्वतन्त्रता, हिँडडुल गर्न पाउने स्वतन्त्रता, सम्पत्तिको स्वतन्त्रता यसका स्थापित मान्यता हुन्। त्यसैले हामीले औपचारिक समानता मात्र होइन, वास्तविक समानता, एकात्मक राजतन्त्रबाट संघीय गणतन्त्रतर्फ अगाडि बढ्ने रणनीति बनायौं  र जनआन्दोलन सुरु गर्‍यौं। 
वर्तमान अवस्था 

अहिलेको राजनीतिक अवस्थालाई दुई पक्षबाट मूल्यांकन गर्नुपर्छ। पहिलो, हामीले जे जे कुरालाई सूत्रबद्ध गर्ने भनेका थियौं, राज्य संरचना जस्तो खालको परिकल्पना गरेका थियौं यी कुरामा हामी चुकेनौं। यसरी भनौं न, ७६ वैशाख ११ मा कुरा गरिरहँदा १३ वर्षपछाडि हामीसँग संविधान नभएको  भए ? माओवादी शान्तिपूर्ण आन्दोलन छोडेर युद्धमा फर्केको भए ? नेपाल कुनै जातीय वा धार्मिक युद्धमा फसेको भए ? मधेस विद्रोहलाई सम्बोधन गर्न नसकेको भए ?

वा यीमध्ये कुनै पनि एक अप्रिय घटना भएका भए पनि हामी अहिले यो अवस्थामा कुरा गर्न सक्ने थिएनौं। ती सबै कुरा प्राप्त भइसकेकाल कहिलेकाहीँ हामी अवमूल्यन गर्न खोज्छौं। मूल बाटोबाट हामी धेरै तलमाथि छैनौं तर सुधार गर्नुपर्ने कुरा धेरै छन्। 

दोस्रो, हाम्रो शासकीय क्षमता जस्तो हुनुपथ्र्यो र जनतालाई डेलिभरी  दिन अवसर सिर्जना गर्नुपर्ने थियो, त्यो गर्न नसक्दा जनताले कष्टपूर्ण जीवन  भए पनि त्यसलाई अलिअलि सहज बनाउँदै भोलिको जीवन सहज हुन्छ है  भनेर आशाको सञ्चार गर्नुपर्ने थियो। तर त्यसमा हामी चुकेका छौं। जनतालाई कुनै पनि क्षेत्रमा उत्साहित गर्न सकेनौँ । त्यसले गर्दा हामीले प्राप्त गरेका महत्त्वपूर्ण उपलब्धिहरु  समावेशी, संघीयता, लोकतन्त्र भएर के भयो ? राजतन्त्र हटाएर के भयो ? राजतन्त्र राखेको भए के नै बिग्रन्थ्यो ? जस्ता प्रश्न उठ्ने थालेका छन् ।

हामीले जे जे होस् भनेका थियौँ त्यो त भयो। हामीले संरचना निर्माण त गर्‍यौँ याँै तर त्यतिमात्र पर्याप्त छैन।  हामीले निर्माण गरेका प्लेटफर्म प्रयोग गरेर जनताले दैनिक जीवनमा अनुभव गर्न पाउने गरी सुशासन दिन सकियो भने हामीले ल्याएको व्यवस्था सार्थक हुन्छ। हैन भने परिवर्तनमाथि अहिले जुन प्रश्न उठ्न लागेको छ यो शुभसंकेत होइन। 
 
लोकतन्त्रमाथिका चुनौती 

संघीय लोकतान्त्रिक व्यवस्था मान्दिनँ भन्ने क्रियाशील शक्ति पूर्वराजा र विप्लव समूह देखिन थालेका छन्। तर नेपालको लोकतन्त्र त्यति कमजोर छैन। यी समूहले लोकतन्त्र खलबल्याउन सक्छन् जस्तो मलाई लाग्दैन। मलाई सरकारको नेतृत्व गरेको दलका दुईवटा कुराप्रति चिन्ता बढेको छ। 

पहिलो, सरकार अनुदार छ। म त्यसलाई अधिनायकवादी वा सर्वसत्तावादी जस्ता शब्दावली प्रयोग गर्न चाहन्नँ। तर यो एकपछि अर्को अनुदार बन्दै गएको छ। दोस्रो, यो सरकारले जनतालाई कुनै डलिभरी नै गर्न सकेको छैन। कारण अनुदार छ डेलिभरी गर्न सकेको छैन, डेलिभर गर्न सकेको छैन अनुदार बन्दै गइरहेको छ।

डेलिभरी गर्न नसकेपछि जनतामा निरासा बढ्छ। अनुदार सरकारले निरासा सुन्दैन र सच्चिँदैन। प्रधानमन्त्री ओलीको ‘खराबी मभित्र छैन गान्धारी जस्तो पट्टी लगाएकाले तिमीभित्र छ। दृष्टि  दोष तिम्रो हो, सच्चिने म हैन, तिमी हो।  तिमीले आफ्ना आँखा उघार।’ भनेर सार्वजनिक रुपमै बोल्दै आउनुभएको छ। त्यसैले यो सरकार थप अनुदार बन्दै गएको स्पष्ट हुन्छ। त्यसैले सरकार अनुदार लोकतन्त्रतर्फ  उन्मुख भएको छ।
 
यसले हामीलाई दुर्घटनातर्फ लैजान सक्छ। तर यो द्रुत गतिमा गएको छैन। सरकारको चाहना र नियतचाहिँ अनुदार नै देखिन्छ। तर आमनागरिक, सञ्चारमाध्यम र नागरिक समुदायले त्यसको प्रतिरोध गरिरहेका छन्।
 
त्यसको कडा प्रतिरोध त कांग्रेसले गर्नुपर्ने थियो। किनकि कांग्रेस प्रमुख प्रतिपक्षी दल हो। उसले अन्य लोकतान्त्रिक समूहलाई साथ लिनुपथ्र्यो। हामी त्यस्तो भूमिका निर्वाह गर्न विफल भएका छाैँ । आंशिक रुपमा कांग्रेसको र सशक्त रूपमा जनताको प्रतिरोधका कारण सरकार अलोकतान्त्रिक बाटोमा अगाडि बढ्न भने सकेको छैन। तर सरकारको नियत ठिक नभएकाले कुनै पनि बेला दुर्घटनातर्फ जान सक्छ।

अहिले लोकतन्त्र तलमाथि हुन खोज्दा कसैकसैलाई लाग्न सक्छ राजालाई  स्पेस दिएको भए पनि त के नै हुन्थ्यो र ? तर नेपालको राजसंस्थाको त्यस्तो चरित्र नै छैन। यसले खुला लोकतन्त्र स्वीकार गर्दै–गर्दैन।
 
नेपाली कांग्रेसभित्र पनि कमजोरीहरू छन्। एकातर्फ सांगठनिक संरचना तयार भएको छैन भने अर्कोतर्फ परम्परावादी सोचाइले पार्टीलाई गतिशील हुनबाट रोकेको छ। आन्तरिक व्यवस्थापनको पाटोमा थुप्रै अलमल छन्।  कांग्रेसमा लामो समयदेखि यो समस्या छ। त्यसलाई चिर्ने प्रयास नै भएको छैन। अर्को समस्या, राज्यको नयाँ संरचनाअनुसार ७५३ वटा स्थानीय तह, सातवटा प्रदेश, एउटा संघ छ। कांग्रेसको संरचना सातै प्रदेशमा अझै पुगेकै छैन। गाउँपालिका र वडामा कांग्रेसको संरचना नै छैन। ती संरचना निर्माण नगरीकन हामी जागरण अभियान भनिरहेका छौं। संरचना नभएको अवस्थामा यो अभियान कसले चलाउँछ ?
 
हामीले जनतालाई ठूलो संघर्षबाट नयाँ व्यवस्था ल्यायौँ। यो व्यवस्था ठिक छ। सरकारले मात्र काम गर्न नसकेको हो। तपाईंहरु निरास नहुनुस् अब यो व्यवस्था बाहिर हैन यसैबाट हरेक समस्या समाधान हुन्छ। दायाँबायाँ नसोच्नुस् सम्म भन्न सकेका छैनौँ। यो व्यवस्थाको विकल्प सोच्ने होइन, व्यवस्थाभित्र विकल्प सोच्ने हो भन्ने कुरा राम्रोसँग भन्न सकिरहेका छैनौं। सरकारले डेलिभरी गर्न नसक्दा जनतामा छटपटाहट देखिएको छ।

सरकारले शासकीय क्षमता राखेन, कामै गर्न सकेन भन्ने महसुस जनतालाई भइरहेको छ। यस्तो अवस्थामा जनताले नेपाली कांग्रेसतर्फ हेर्छ। कांग्रेस जन्मसिद्ध शासकीय क्षमता राख्दछ। हामीसँग शासकीय क्षमता भनेको खानदानी हो। हामीसँग बिपी हुनुहुन्थ्यो। शुवर्णशमशेर हुनुहुन्थ्यो। त्यसले पनि हामीसँग शासकीय क्षमतामा कुनै कमी छैन भन्ने भ्रम छ। यही भ्रमले जतालाई थप निराशा बनाइरहेको छ। 

(नेपाल समयका लागि मित्र भण्डारीले कांग्रेस नेता गगन थापासँग गरेको कुराकानीमा आधारित)



  




प्रतिक्रिया