चिरीबाबु : ज्यामीदेखि मेयरसम्मको यात्रा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/chiribabu_maharjan.jpg

चिरीबाबु सानैदेखि चञ्चल थिए। गोरो अनि हँसिलो अनुहारका उनी सबैका प्रिय बाबु थिए। किसान परिवारमा हुर्केका चिरीबाबुको बाल्यकाल त्यति सहज भएन। सानै उमेरमा बुबाको मायाबाट वञ्जित हुनुपर्‍यो। तीन दाजुभाइ र तीन दिदीबहिनीसँगै उनी हुर्किए। जग्गाजमिन प्रशस्त भए पनि खनजोत गर्ने पाका मान्छे थिएनन्। खानलाई अन्न पुग्ने भए पनि अरु घरव्यवहार चलाउन पैसाको अभाव थियो। 

विद्यालयमा मासिक दुई रुपैयाँ ४९ पैसा तिर्नपर्थ्यो। तर त्यही तिर्न पनि सकस हुन्थ्यो। पढ्नमा सानैदेखि तेज र मिहिनेती उनी सधैँ कक्षामा पहिलो हुन्थे। पैसा अभावले कक्षा ६ मा पढाइ छोड्न बाध्य भए। त्यो जीवनकै सबैभन्दा नमिठो क्षण लाग्छ उनलाई। त्यो समयमा पाटन माध्यमिक विद्यालयमा रात्रिकक्षा सञ्चालन हुन्थ्यो। दिउँसोको समयमा ज्यामी काम गर्ने र रातको समयमा पढाइलाई निरन्तरता दिने योजना बनाए।
  
उनका ठूलो भिनाजु ठेकेदारको काम गर्थे र उनीसँगै उनी ज्यामी काममा लाग्न थाले। काम गरेबापत उनले महिनामा एक रुपैयाँ ५० पैसा पाउँथे। दसैं र तिहार बिदामा पनि उनी काममा जान्थे। र कमाएको पैसाले कापीकिताब र विद्यालयको शुल्क तिर्थे।
 
चिरीबाबुको जीवन सिनेमाको कथा जस्तो छ। अनेक आरोहअवरोह पार गर्दै मेयरसम्मको यात्रा तय गरेका चिरीबाबुको आफ्नै पहिचान छ। सरल स्वभाव र शालीन व्यक्तित्वका चिरीबाबुको जीवन  इमानदारी, साहस र संघर्षको अनुपम नमुना हो। सधैं सकारात्मक सोच लिएर अघि बढ्ने र कहिल्यै निरास नहुने चिरीबाबुसँग सहर बनाउने आफ्नैखाले सपना छन्। 

ज्ञानोदय बालवाटिकाका संस्थापक इन्दिरा याकथुम्बासँगको भेटले उनको जीवनमा नयाँ मोड लियो। याक्थुम्बाले महर्जनको सबै पढाइखर्च बेहोर्न तयार भए। त्यसपछि एसएलसीसम्मको उनको यात्रा सहज भयो। 

'ब‌ंक' गरेर बागमतीमा डाइभ

सुरुमा केही सकस भए पनि उनको स्कुले जीवन रमाइलो नै रह्यो। स्कुल पढ्दाका रमाइला क्षणहरु सम्झिँदा अहिले पनि चिरीबाबुलाई आनन्द लाग्छ। उनी भन्छन्, ‘त्यतिबेला के गरियो गरियो।’ 

उनी कक्षा 'ब‌ंक' गरेर बागमतीमा डाइभ हान्न थान्थे। त्यतिबेलाको बागमती सम्झिँदा अहिले चिरीबाबुलाई दिक्क लाग्छ। उनी भन्छन्, ‘हामी कति मजाले पौडी खेल्थ्यौं। क्लास 'ब‌ंक' गरेर डाइभ हान्न जान्थ्यौं। सलल बगेको कञ्चन पानी अनि कयौं प्रकारका माछा रमाएका थिए। त्यस्तो बागमतीलाई हामीले यस्तो बनायौं।’ 

बागमतीलाई जसरी सफा गर्ने उनको एउटा सपना छ। उनी भन्छन्, ‘काठमाडौंबासी सबै मिल्ने हो भने बागमती सफा हुन्छ। यसका लागि एउटा बृहत् अभियान आवश्यक छ।’

 
सामाजिक सेवाबाट राजनीतिमा

राजनीति गर्ने रहर चिरीबाबुको थिएन। तर जनतासँग काम गर्ने र जनताको समस्यामा साथ दिन उनलाई खुब मन पर्थ्यो। सरसफाइ, बाटोघाटो निर्माण सुधार तथा मन्दिर एवं सम्पदाको संरक्षणमा उनको विशेष रुचि हुन्थ्यो। त्यही क्रममा उनी बिस्तारै राजनीतितिर तानिए। 

सुधारिएको पञ्चायतअन्तर्गत २०३८ सालमा पुनः नगर पञ्चायतको चुनाव भयो। परिवर्तित सन्दर्भलाई आत्मसात् गरेर सामाजिक काममा क्रियाशील हुने बाटो उनले रोजे। वडा अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरे उनले। त्यो समयमा उनी सबैभन्दा कान्छो वडा अध्यक्ष थिए। उनी २४ वर्षका जवान युवक थिए, त्यो समयमा उनी निकै लोकप्रिय भए।
 
२०४६ सालको परिवर्तित राजनीतिक परिवेशलाई ख्याल गर्दै उनी पञ्चायत छोडेर कांग्रेसमा प्रवेश गरे। त्यसपछि उनी निरन्तर कांग्रेसमै आबद्ध भएर राजनीतिमा सक्रिय रहे।

तीन पटक वडा अध्यक्षको पद सम्हालेका उनी सबैभन्दा उत्कृष्ट वडा अध्यक्षका रुपमा चिनिन्छ। उनको जनसम्पर्क लोभलाग्दो छ। जनताको काम गर्न पाउँदा उनलाई बेग्लै आनन्द हुन्छ। उनी भन्छन्, ‘मेरो धर्म नै त्यही हो।’

वडा अध्यक्ष हुँदा उनले गरेको त्यही इमानदार कामले अहिले महानगरको मेयरमा जिताउन महत्त्वपूर्ण भूमिका खेलेको छ। जनताले उनलाई दलीय घेराभन्दा पनि माथि राखेर हेर्छन्। त्यही कारण धेरैतिर कांग्रेसले हार्दा पनि ललितपुरमा चिरीबाबुले सानदार रुपमा जिते।

स्मार्ट सिटीको सपना

ललितपुरलाई कलात्मक स्मार्ट सिटी बनाउने चिरीबाबुको आफ्नै सपना छ। अहिले पनि अरु नगरमा भन्दा ललितपुरमा छिटोछरितो सेवा प्रदान गर्ने गरिएको छ। उनी भन्छन्, ‘हामी स्मार्ट शैलीमा सेवासुविधा दिइरहेका छौं। अब यातयात र सूचनाको पहुँचका हिसाबले पनि ललिलपुरलाई स्मार्ट सिटी बनाउन खोज्दैछौं।’ 

हरियाली बचाउन र बढाउन उनले विशेष ध्यान दिएका छन्। भत्किएका र जोखिममा रहेका महत्त्वपूर्ण सम्पदा जोगाउने अभियान उनले थालेका छन्। छिटै विद्युतीय बस पनि सञ्चालनमा ल्याउने तयारीमा छन् उनी। साझा बस पहिलेदेखि नै सञ्चालनमा छ।
 
लामो समय चुनाव नहुँदा र जनप्रतिनिधिविहीन हुँदा हरियाली र सार्वजनिक स्थल, नदी धेरै अतिक्रमण भएको छ। ‘हामी त्यसको संरक्षण र व्यवस्थापनमा जुटेका छौं’, चिरीबाबु भन्छन्।

२२ महिनामा चिरीबाबुका थुप्रै काम

चुनाव जितेको २३ महिनामा उनले थुप्रै काम गरेका छन्। खासगरी सम्पदा क्षेत्रमा सुधार र संरक्षणका लागि उनले विशेष अभियान थालेका छन्। त्यसैगरी पार्क बनाउने र वृक्षरोपणलाई तीव्रता दिएका छन्।
 
सुशासनको क्षेत्रमा चिरीबाबुले सबै अनुभूति गर्ने गरी परिवर्तन ल्याएका छन्। नगरवासीलाई नगरपालिका पुगेर कर तिर्न नपर्ने, आफ्नै वडा कार्यलयबाट नै कर तिर्ने सुविधा छ। अमूर्त संस्कृतिको उत्थानमा उनले जोड दिएका छन्। लोप भएका महत्त्वपूर्ण चाडपर्व र जात्रा फेरि सञ्चालनमा ल्याउने काम उनकै पहलमा भएको छ। जस्तो २४ वर्ष सम्म बन्द भएको पाय (खड्ग) जात्रा पुनः सञ्चालनमा आएको छ।
 
संस्कृतिविद् सत्यमोहन जोशीलाई विशेष सम्मान दिइएको छ। चिरीबाबु भन्छन्, ‘मानिसलाई जिउँदैमा सम्मान गर्नुपर्छ। मरेपछि सम्मान दिने चलनमा परिवर्तन ल्याउन आवश्यक छ।’
  
सत्यमोहन जोशीलाई ललितपुर महानगरपालिकाले सम्मानस्वरुप गाडी, ड्राइभर र यसको आवश्यक सामान, गार्ड र मोबाइल र त्यसमा लाग्ने खर्च उपलव्ध गराएको छ। प्राय हिँडेर नै यात्रा गर्ने शताब्दी पुरुषले खुसीका साथ मेयरको प्रस्ताव स्वीकार गरेका थिए।
 
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी वैशाख ३० मा सय वर्ष पुग्दैछन्। सो अवसरमा सम्पूर्ण कार्यक्रम सञ्चालन र जन्मदिनको उत्सव खर्च ललितपुर महानगरले गर्नेछ। सत्यमोहन जोशीको इच्छाअनुसार ललितपुर महानगरको प्राङ्गणमा राष्ट्रिय विभूति अरनिकोको सालिक स्थापना गरिएको हो।
 
चिरीबाबुकै पहलमा ललितपुर कला सहरका रुपमा सूचीकृत ललितपुर वर्ल्ड क्राफ्ट काउन्सिलअन्तर्गत विश्वको ३५ औं क्राफ्ट सिटी घोषणा भएको छ। सहरमा सडक निर्माण तथा विस्तारलाई गुणस्तरयुक्त बनाउन उनले प्राविधिक परीक्षण सुरु गरेका छन्।

 
लाइफ स्टाइल

चिरीबाबु पहिले खुब फिल्म हेर्न मन पराउँथे। अशोक हलमा प्रायः उनी जान्थे। उनको मनपर्ने नायक राजेश खन्ना हुन् भने मनपर्ने नायिका माला सिन्हा, बैजन्ती माला हुन्। स्कुलमा कक्षा 'ब‌ंक' हानेर पनि फिल्म सुटिङ हेर्न गोदाबरीसम्म पुगेका ती क्षण सम्झिँदा उनलाई अहिले पनि रमाइलो लाग्छ।
 
सामाजिक सञ्जालमा उनी खासै सक्रिय छैनन्। सामाजिक सञ्जाल अपडेट हुने राम्रो माध्यम हो। तर उनी प्रायः व्यस्त हुने कारणले गर्दा श्रीमतीले फेसबुक हेर्ने र महत्त्वपूर्ण कार्यक्रमहरु टिपोट गरेर उनलाई बताउने गर्छिन्।
 
मनपर्ने खानेकुरा

खानेकुरामा ठ्याक्कै यो नै मनपर्छ भन्ने छैन। सबै मनपर्छ र जे पनि खान मन पराउँछन्। तर पछिल्लो समय स्वास्थ्य गडवड भएका कारण खानपानमा विशेष ध्यान दिने गर्छन्। युरिक एसिडले सताएका कारण खानपानमा थोरै रोक लगाएका छन्। खानेकुरा सबै मनपर्छ तर नेवारी परिकार थलथले मासु उनलाई विशेष मनपर्छ। 

सुटिङ हेर्न जाँदा दुई लठ्ठी
 
२६,२७ सालतिरको कुरा हो। ‘जोनी मेरा नाम’ भन्ने फिल्मको सुटिङ हेर्न गएका थिए। सुटिङ हिजो पनि भएको थियो भन्ने सूचना पाएका उनीसँगै साथीहरु 'ब‌ंक' हानेर हिँडेर गोदावरी पुगे। गोदावरी सबै डुलेर हेरे तर त्यहाँ कुनै सुटिङ थिएन। सुटिङ अघिल्लो दिननै सकिएको रहेछ। अनि फेरि हिँडेर नै घर फर्के। १३ किमि हिँडेर गए फेरि १३ किमि हिँडेर नै फर्के।
 
भोलिपल्ट विद्यालय जाँदा क्लास टिचरको सजाय पाए। सरले उनलाई दुई लठ्ठी हाने, जुन महर्जनको जीवनको पहिलो र अन्तिम लठ्ठी बन्यो। 

मेयर बनेपछिको अचम्मको घटना

महानगर कार्यालयमा दाङकी एक महिला उनलाई भेट्न आइपुगिन्। महिलाले उनको धेरै तारिफ गरिन्। ती महिला राणा परिवारकी थिइन्। तर उनले आफू दाङ पुग्न पैसा नभएर समस्या परेको बताइन्। यो सुनेपछि उनले आफ्नो खल्तीमा भएको १६ सय रुपैयाँ महिलाको हातमा थमाइदिए। तर उनले सबै लिन अप्ठेरो मानिन्। पछि महर्जनले सम्झाए र खुसी भएर उनी त्यहाँबाट फर्किन्।
 
दुई महिनापछि फेरि ती महिला महानगर आइपुगिन्। र फेरि पैसा माग्न थालिन्। तर यो पालि उनले ती महिलालाई सहयोग गर्न नसक्ने बताए र गाली गरेर फर्काइदिए।
 
मेयरको काम सजिलो भने छैन। जनताको दुःख सुख दुवैको जिम्मेवारी लिनुपर्छ। तर पनि तनावमुक्त रहनुका पछाडि जनसम्पर्कले महत्त्वपूर्ण भूमिका खेलेको छ। जनसम्पर्क र सकारात्मक सोच नै उनको शक्ति हो। सकारात्मक सोच राख्ने हो भने कहिले पनि तनावमा बस्नु पर्दैन।
 
आफूलाई भेट्न आएका कुनै पनि व्यक्तिलाई उनी खुसी पारेर पठाउने गर्छन्। व्यक्ति जति नकारात्मक भएपनि आफूमा सकारात्मक सोच र विचार हुन जरुरी छ। 




प्रतिक्रिया