यसरी हुन्छ मुसाको सिकार

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/2019, March/mouse_story.jpg

धनगढी - आज मोर खेटुवामे मुसुवा मारे जाईकपरी (आज मेरो खेतमा मुसा मार्न जानुपर्ने हो) धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीका छेदुराम चौधरी गाउँका सबैको घरघरमा पुगेर निम्तो दिए।

उनको निम्तो स्वीकार्दै गाउँका प्रायःको घरबाट एकएक सदस्य फरुवा, लाठी, भाँडाकुँडा बोकेर खेततिर हिँडे। छेदुलालले एकाबिहानै गएर मुसा मार्न खेतमा पानीको व्यवस्था गरिसकेका थिए।

गाउँले सबै खेतमा पुगिसकेपछि नजिकै रहेको पम्पसेटबाट पानी निकाल्दै पाइपबाट खेतमा पुर्‍याए। हातमा फरुवा, लाठीसहित बोकेका सिकारी मुसाको सिकार गर्न तम्तयार भए। भर्खरै गहुँ काटेको खेतमा जताततै मुसाले दुलो पारेको थियो। जताजता मुसाको दुलो छ, त्यतैत्यतै पानी डोर्‍याउन थालियो। बेलुकीको खानामा मुसाको सिकार खान पाइने भयो भनेर सिकारीको मुहारमा खुसी छाएको थियो। मान्छेको होहल्ला सुनेपछि मुसा जमिनबाट बाहिर निस्किँदैन भनेर सबै सिकारी चुपचाप थिए। केही बोल्नै परे पनि बिस्तारै बोल्थे।

दुलोमा लुकेर बसेका मुसा जब पानी भित्र छिर्‍यो अनि निसासिँदै बाहिर निस्किन थाले। हातहातमा लाठी बोकेका सिकारी जसले मुसा देख्यो उसले प्याट्ट हानेर मारिहाल्थे। अधिकांश गहुँ बाली मुसाले खाएर नष्ट पारेको उक्त खेतमा छिनभरमै प्लास्टिकको बाल्टिन भरिने गरी मुसाको सिकार भयो।

पुरुषभन्दा महिला सिकारीको संख्या धेरै थियो। '१० कठ्ठा जमिनमा मुसाले गहुँ खाएर जम्मा १५ कट्टा मात्र गहुँ भयो', छेदुलाल भन्दै थिए, 'गहुँमा भएको नोक्सानको पूर्ति मुसाको सिकार खाएर हुने भयो।' त्यो खेतबाट करिब १२/१४ किलोग्राम जति मुसाको सिकार भयो। खेतमा रहेका सबै मुसाको सिकार गरेर टोली बेलुकी घर फर्कियो।

https://www.nicasiabank.com/
गहुँ बाली र धान बाली भित्र्याएपछि थारू समुदायमा मुसाको सिकार सुरु हुन्छ। अन्न बालीमा मुसाबाट क्षति पनि कम गर्न मुसाको सिकार गरिँदै आएको जितराम चौधरीले बताए। पानीको सुविधा भएका ठाउँमा दुलोमा पानी हालेर मुसाको सिकार गरिए पनि अधिकांश खेतमा भने मुसाको दुलो खनेरै सिकार हुने गरेको छ। बाहिर एउटै मुख भए पनि भित्र अनेक दुला हुन्छन्। 

‘कम्तीमा १०/१२ वटा शाखा दुलो खन्न निकै सकस हुन्छ’, कैलाली नारायणपुरका मोहन चौधरीले भने। सबै दुला पन्छाउँदै मुसा नभेटेसम्म खनिराख्नुपर्छ। दुलो खन्न सुरु गरेको चाल मुसाले पहिल्यै पाएर सबैभन्दा लामो दुलोमा लुकिसकेको हुन्छ। एउटाबाट अर्को दुलो खन्दै अन्तिम दुलोमा नपुग्दासम्म मुसा मार्न सकिँदैन। सिकारी समूहका अनुसार एउटा दुलो खनेर मुसा निकाल्न कम्तीमा २ देखि ३ घन्टा लाग्छ। एउटा दुलोमा मुसाको पूरै परिवार भेटिने सम्भावना हुन्छ। एउटा दुलोमा एउटा माउ र बाउ मुसोसहित ५/६ वटा बच्चा मुसा भेटिन्छन्।

मुसाको मासु मानव स्वास्थ्यका लागि कति स्वस्थ छ, त्यसको वैज्ञानिक कारण खुलिसकेको छैन। तर पनि थारू समुदायमा मुसाको मासुले विभिन्न प्रकारका शारीरिक रोग निको हुने विश्वास छ। कुपोषण अर्थात् ‘सुकेनास’ र अन्धोपनसमेत निको हुने मान्यता छ। तर मुसामा हुने एक प्रकारको किर्ना नमर्‍यो भने त्यसले विभिन्न रोग लाग्ने गरेको मोहनले सुनाए।

तीन थरी परिकार

थारूहरू मुसाको मासुको तीन थरी परिकार बनाउँछन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का राजकुमार चौधरीका अनुसार मुसाको मासुबाट चटनी, पकुवा (ग्रेबी) र मिख्री (भुटन) बनाएर खाने चलन छ। कसैले सुकुटी बनाएर पनि राख्छन्। थारू समुदायले मुख्य गरी ६ प्रकारका मुसाको मासु खाने गर्छन्। उनीहरूकै भाषामा दिलखोदुवा (खेतमा पाइने), खुरकुट्टी (खेत र जंगलमा पाइने), छपरे (हिलो र नालीमा पाइने), ढुकरी (खेत र घरमा पाइने) उजखरिया (जंगलको रूखमा पाइने), पछरिया (जंगलको खर घाँसमा मात्र पाइने)।

प्रतिक्रिया