२०७५ मा प्रदेश २ लाई फर्केर हेर्दा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/Pradesh.jpg

जनकपुरधाम - २०७४ फागुन ३ गते संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले मुख्यमन्त्री पदको शपथ लिएपछि प्रदेश २ मा प्रादेशिक सरकार कार्यान्वयनमा आयो। जनकपुर चुरोट कारखाना परिसरभित्र भव्य समारोहबीच राउतसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री जितेन्द्र सोनलले भौतिक विकासमन्त्री र फोरमकै विजय यादवले अर्थमन्त्रीका रुपमा शपथ लिए। मधेस आन्दोलनको रापतापपछि कार्यान्वयनमा आएको प्रदेश सरकार एक वर्षको अवधि पार गरिसकेको छ। वर्ष २०७५ मा प्रदेश २ का केही महत्त्वपूर्ण घटना :

११ वैशाख : प्रदेश सरकारको पहिलो बजेट

फागुनमा सरकार गठन भएको दुई महिनापछि प्रदेश सरकारले ११ वैशाखमा पहिलोपटक प्रदेशसभाबाट आफ्नो बजेट प्रस्तुत गर्‍यो। संघीय सरकारले दिएको अनुदानबाट प्रदेश सरकारले तीन महिनाका लागि ल्याएको बजेटको आकार १ अर्ब २ करोड ५ लाख रुपैयाँ थियो। जसमध्ये चालुतर्फ ५६.६४ प्रतिशत र पूँजीगततर्फ ४६.३६ प्रतिशत विनियोजन गरिएको थियो।

२० वैशाख : पहिलोपटक सदन अवरुद्ध

फोरम र राजपा सम्मलित प्रदेश सरकारलाई नेपाल कम्युस्टि पार्टी (नेकपा) ले समर्थन गरेको थियो। सबैभन्दा ठुलो दल नेकपा पनि सरकारलाई समर्थन दिएको भन्दै प्रमुख प्रतिपक्षी दलको मान्यता आफूहरुले पाउनुपर्ने भन्दै नेपाली कांग्रेसले प्रदेशसभाको २४ औं बैठक अवरुद्ध गर्‍यो। कांग्रेसको अवरोधपछि प्रदेशसभाको बैठक पहिलो पटक स्थगित भएको थियो। पछि सभामुखले कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएपछि प्रदेशसभा बैठक सञ्चालनमा आएको थियो।

वैशाख २८ : भारतीय प्रधानमन्त्री मोदीको भ्रमण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणले मुलुकमात्र नभइ विश्वमै चर्चाको विषय बन्यो। जानकी मन्दिर दर्शन गर्न पुगेका मोदीको जनकपुर भ्रमणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा राम्रो स्थान पायो। मोदीलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरु जनकपुर पुगेका थिए। मोदीलाई स्थानीय रंगभूमि मैदानमा लाखौं जनताको सामुत्रे नागरिक अभिनन्दन गरिएको थियो।

जेठ १ : प्रदेशसभामा मुख्यमन्त्रीको आलोचना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणपछि पहिलोपटक बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लालबाबु राउतको चर्को आलोचना भयो। मूलतः नेपाली कांग्रेस र नेकपाका सांसदहरुले भारतीय प्रधानमन्त्री मोदीकै सामुत्रे केन्द्रीय सरकारले गरेको विभेदका कारण प्रदेश २ पछाडि परेको भन्दै अभिव्यक्ति दिएपछि कांग्रेस र नेकपाका सांसदहरुले प्रदेशको समस्या विदेशी अतिथिसमक्ष राखेर मुख्यमन्त्रीले आफ्नो निरीहता प्रदर्शन गरेको भन्दै आलोचना गरेका थिए।

जेठ ३ : प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य

०७४ माघ २१ गतेबाट सुरु भएको प्रदेशसभाको पहिलो अधिवेशन जेठ ३ गते अन्त्य भएको घोषणा गरियो। पहिलो अधिवेशनमै प्रदेशको स्थायी राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव आउने अपेक्षा गरिएपनि प्रदेश सरकार हालसम्म दुवै प्रस्ताव ल्याउन सकेको छैन। पहिलो अधिवेशनका क्रममा प्रदेशसभाको कुल २६ वटा बैठक बसेको थियो।

जेठ ४ : मुख्यमन्त्री राउतको अमेरिका भ्रमणमा रोक

मधेसी एसोसिएसन इन अमेरिका नामक संस्थाले मे २५ र २६ तारिखका दिन आयोजना गर्ने कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री राउतको त्यसतर्फ जाने कार्यक्रम थियो। तर संघीय सरकारले राउतको अमेरिका भ्रमणलाई स्वीकृति प्रदान नगरेपछि संघीय सरकारको चर्को आलोचना भयो। यहाँसम्म कि प्रदेश २ का प्रमुख न्याधीवक्ता दीपेन्द्र झाले राउतको अमेरिका भ्रमणमा लगाउने संघीय सरकारको निर्णय अपेक्षित नै रहेको प्रतिक्रिया दिए।

जेठ १० : प्रदेश सरकारको सय दिन

जेठ १० अर्थात् प्रदेश सरकारले पूरा गरेको सय दिन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका साथै सरकारलाई समर्थन गरेको नेकपाले समेत सरकारको सय दिन असफल भएको भन्दै चर्को आलोचना गर्‍यो। सरकारको सय दिन भाषणमा मात्र सीमित रहेको भन्दै उनीहरुले यस अवधिमा सरकारले दुईटा विधेयकबाहेक अन्य केही गर्न नसकेको बताएका थिए।

जेठ १३ : नेकपाद्वारा समर्थन फिर्ता

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा प्रदेश २ मा सबैभन्दा ठूलो दल बन्यो। ठूलो दल भएर पनि सरकारलाई समर्थन गरेको कारण उसले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउन सकेको थिएन। सरकारको कामकारबाहीलाई कारण देखाउँदै १३ जेठमा सरकारलाई दिएको समर्थन नेकपाले फिर्ता लियो। नेकपाले समर्थन फिर्ता लिएपनि गणितीय हिसाबले सरकारलाई खासै फरक भने परेन। सरकारको कामकारबाहीबाट असन्तुष्टि जनाउँदै समर्थन फिर्ता लिएको बताएपनि प्रमुख प्रतिपक्षी दलकै मान्यता पाउन नेकपाले यसो गरेको विश्लेषण गरियो।

आफ्नै दलको सांसदलाई झापड

२३ जेठमा प्रदेशसभाको बैठक सकिए लगत्तै नेकपाका सांसदहरु संसदीय दलको कार्यालय पुगे। संसदीय दलको कार्यालयभित्रै तत्कालीन एमालेकी समानुपातिक सांसद मञ्जु यादवले धनुषा १ (क) बाट निर्वाचित सांसद किशोरी साह कमललाई संसदीय दलको कार्यालयभित्रै झापड हानेको खबरले चर्चा पायो।

जेठ २४ : सरकारको नीति तथा कार्यक्रम

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक ग¥यो। प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभामा सम्बोधन गर्दै सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको ‘हर खेत मे पानी, हर हाथ मे काम’ भत्रे श्लोगनले निकै चर्चा हासिल ग¥यो। प्रदेश सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम कतिसम्म सफल रह्यो विश्लेषण हुन अझै बाँकी छ।

जेठ २६ : मोदी भ्रमणको खर्च सार्वजनिक गर्न माग राख्दै सदन अवरुद्ध

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा स्वागत सत्कारमा प्रदेश सरकारले खर्च गरेको विवरण सार्वजनिक गर्न सञ्चारमाध्यमहरुले प्रश्न उठाइरहेको थियो। तर सरकारले खर्च विवरण सार्वजनिक गर्न तयार नभएपछि कांग्रेसले सदननै अवरुद्ध गर्‍यो।

असार १ : प्रदेश सरकारको दोस्रो बजेट

प्रदेश सरकारले १ असारमा दोस्रो पटक आयव्ययको विवरण प्रस्तुत गर्‍यो। संघीय सरकारबाट प्राप्त १६ अर्ब ९ करोड अनुदानसहित आन्तरिक आय स्रोतको अनुमान गर्दै प्रदेश सरकारले २९ अर्ब ७८ करोड ६९ लाखको बजेट प्रस्तुत गर्‍यो। सरकारले ल्याएको नीति तथा कार्यक्रम सफलताका साथ पुरा गर्न आर्थिक वर्षको पहिलो दिनदेखि बजेट कार्यान्वयन गरिने बताइएको थियो।

भदौ २ : प्रधानमन्त्री ओलीको प्रदेशसभामा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले भाद्र २ गते प्रदेशसभामा सम्बोधन गरेका थिए। मोदी भ्रमणपछि उनको यो दोस्रो जनकपुर भ्रमण थियो। प्रदेशसभामा सम्बोधनका क्रममा ओलीले मलेठ घटनाको चर्चा गर्दै आफूहरु कार्यक्रम सकाएर राजमार्ग पुगिसकेपछि घटना भएको बताए। पछि प्रधानमन्त्री ओलीले मलेठ घटनाबारे प्रदेशसभामा झुटो बोलेको भन्दै चर्को आलोचना भयो। यसैगरी केही दिनभित्रै नागरिकता समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरेपनि नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा अझै विचाराधीन अवस्थामा छ।

भदौ ३० : जनकपुर–पटना बस सेवा सञ्चालन

धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले जनकपुर र विहारको पटनाबीच औपचारिक रुपमा बस सेवा सञ्चालन भयो। विहारका मुख्यमन्त्री नितिश कुमारले २७ भदौमा पटनाबाट हरियो झन्डा देखाएर बसको शुभारम्भ गरेपनि जनकपुरबाट मुख्यमन्त्री लालबाबु राउतले ३० भाद्रमा बस सेवाको औपचारिक सुरुवात गरे। अहिले दुई देशबीच दैनिक चारवटा बस सञ्चालनमा रहेको छ।

असोज ३ : संविधानविरुद्ध प्रदर्शन

३ असोजलाई संविधान दिवसका रुपमा मनाउने संघीय सरकारले निर्णय गरे पनि त्यतिबेला सरकारलाई समर्थन गरेको राजपाले भने त्यस दिन कालो दिवसको रुपमा मनायो। यद्यपि मधेस केन्द्रित अर्को दल संघीय समाजवादी फोरम भने मौन बस्यो।

असोज २१ : सिके राउत पक्राउ

३ असोजमा संविधानविरुद्ध र्‍याली निकालेका तत्कालीन स्वतन्त्र मधेस गठनबन्धनका संयोजक सिके राउतलाई प्रहरीले रौतहटको गौरबाट पक्राउ गर्‍यो। असोजमा पक्राउ परेका राउत गत फागुनमा रिहा भए। सर्वोच्चको आदेशपछि रिहा भएको दोस्रो दिन २४ फागुनमा सरकार र राउतबीच ११ बुँदे सहमति भयो। यसलगत्तै चैत ३ र ४ गते लहानमा बसेको बैठकबाट स्वतन्त्र मधेसको एजेन्डा बिसाउँदै राउतले जनमत पार्टीको स्थापना गरे।

प्रहरी ऐन पारित

संघीय सरकारले प्रहरी भर्नासम्बन्धी ऐन ल्याउन बाँकी रहेकै बेला २७ असोजमा प्रदेश सरकारले प्रहरी ऐन प्रदेशसभामा ल्यायो। प्रमुख प्रतिपक्षी नेकपाले विरोध गरे पनि कांग्रेसले भने विधेयक पारित गराउन सरकारलाई सहयोग गर्‍यो। विधेयक पारित भएसँगै फागुनबाट आफ्नै प्रहरी भर्ना गर्ने उद्घोष गरेको प्रदेश सरकारले हालसम्म भर्ना प्रक्रिया सुरु गर्न सकेको छैन। प्रदेश प्रहरी ऐनले संघीय सरकार र प्रदेश सरकारबीच थप तिक्तता बढायो।

करार कर्मचारी भर्नासम्बन्धी विधेयक पारित

प्रदेश प्रहरीसम्बन्धी विधेयक पारित भएको केही दिनपछि सरकारले प्रदेशसभामा पेस गरेको करार कर्मचारीसम्बन्धी विधेयक पनि पारित भयो। यस विधेयकमा समेत नेकपा विरोधमा उत्रियो भने कांग्रेसको समर्थन रह्यो।

उत्तर प्रदेशका मुख्यमन्त्री योगीको जनकपुर भ्रमण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमण गरेको ८ महिनापछि २७ मंसिरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर पुगे। राम जानकी विवाहपञ्चमीको अवसर पारेर जनकपुर पुगेका उनी रंगभूमि मैदानमा आयोजना गरिएको स्वयम्भर कार्यक्रममा सहभागी भएका थिए। योगी जनकपुरमा झन्डै चार घन्टा बसेका थिए।

राजेन्द्र महतोको पुतला दहन

पार्टी एकीकरणपश्चात अचानक महन्थ ठाकुरलाई संयोजकबाट हटाउँदै आफू संयोजक बनेपछि राजपा कार्यकर्ताबाटै राजेन्द्र महतोको चर्को विरोध भयो। राजपा कार्यकर्ताहरुले जनकपुरमा महतोको पुतलासमेत जलाए।

श्रम स्वीकृति कार्यालयको स्थापना

यसअघि वैदेशिक कामदारहरुलाई काठमाण्डौं पुगेर श्रम स्वीकृति लिनुपर्ने बाध्यता अन्त्य गर्दै प्रदेशबाटै पूनः श्रमस्वीकृति दिनेगरि १५ पौषमा जनकपुरमा प्रदेशस्तरीय श्रम कार्यालयको स्थापना भयो। अहिले वैदेशिक कामदारहरु यहाँबाट पूनःश्रमस्वीकृतिको सुविधा पाएका छन्। यद्यपि कार्यालयमा विचौलियाका हालीमुहाली रहेको आरोप लाग्दै आइरहेको छ।

पूर्वमन्त्री संजय साहलाई आजिवन कारावास

पाँच जनाको ज्यान जानेगरी जनकपुरको रामानन्द चोक बम विस्फोट घटनाका प्रमुख योजनाकार भनिएका पूर्वराज्यमन्त्री संजय साहलाई जिल्ला अदालत धनुषाले आजिवन कारावासको सजाय सुनायो। घटनाको झण्डै सात वर्षपछि सुनवाइ भएको बम काण्डमा साहसहित सात जनालाई अदालतले आजिवन कारावासको सजाय सुनायो। बम काण्ड तथा जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानिया हत्याकाण्डमा साहलाई आरोपी छन्।

एसईई प्रश्नपत्र ‘आउट’

२०७५ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको दुई दिनपछि प्रदेश २ मा परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको घटनाले मुलुकभर चर्चा पायो। १४ चैतमा विज्ञान विषयको परीक्षा सम्पत्र भइसकेपछि परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको कुरा पुष्टि भयो र परीक्षा रद्द भयो। यसैगरी १५ चैतमा सामाजिक विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगिसकेका विद्यार्थी प्रश्नपत्र बाहिरिएकै कारण परीक्षा स्थगित भएपछि फर्कनुपरेको थियो। परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले दुई दिनसम्म प्रदर्शन गरे। प्रदेशलाई बदनाम गराउन संघीय सरकारले यस्तो षड्यन्त्र गरेको प्रदेश सरकारले आरोप लगाए पनि प्रश्नपत्रको सुरक्षार्थ खटेका प्रहरीकै संलग्नतामा प्रश्नपत्र बाहिरिएको अनुसन्धानमा खटेका सीआइबी टोलीले पत्ता लगायो।

हावाहुरीबाट २८ को मृत्यु

१७ चैत साँझ अचानक आएको हावाहुरीको वितण्डाबाट बारा र पर्सामा जनधनको ठूलो क्षति हुन पुग्यो। भीषण हावाहुरीका कारण बारामा २७ र पर्सामा १ जनाको ज्यान गयो। यसैगरी उक्त हावाहुरीबाट पाँच सयभन्दा बढी घाइते भए भने हजारौं घर क्षति भएको छ। हावाहुरीका कारण विस्थापित भएकाहरु अझै टेन्टभित्र जीवनयापन गरिरहेका छन्।




प्रतिक्रिया