घरधन्दा सकेर सेयरमा रमाउँदै महिला

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/share_market_ma_mahila.jpg

काठमाडौं - भवानीलाई सेयर बजारबारे खासै ज्ञान थिएन। समाजशास्त्रमा स्नातक पढ्दै गरेकी उनको विषयगत चासो पनि यता थिएन। जब उनले एउटा सहकारीमा काम थालिन् अनि उनले सेयरको गफ सुन्न थालिन्। एकदिन चियाभेटमा एकजना सेयरलगानीकर्ताले उनलाई भनेका थिए, ‘नशा नशामा सेयरले कब्जा गरिसक्यो, यो बाहेक केही गर्ने जाँगर छैन। वीमिन आर द सुपरट्रेडर।'

यो भनाइले भवानी क्षेत्रीको मनस्थिति नै बदलिदियो। उनलाई पहिले लाग्थ्यो, सेयर भनेको खालि मान्छे अल्झाउने धन्दा मात्रै हो। कमाइधमाइ केही हुँदैन। तर, यो भनाइ सुनेपछि सेयर बजारप्रति उनको चासो र मन एकाएक मोडियो।

झन्डै सात वर्षदेखि सेयर बजारमा क्रियाशिल स्वयम्भूकी भवानी भन्छिन्, 'अब त मेरो पनि नशानशामा सेयर बग्न थाल्यो।' उनको दैनिकीको महत्वपूर्ण हिस्सा बनिदिएको छ, सेयर। घरधन्दा सकेपछि उनलाई बजार जान हतार हुन्छ, ब्रोकरकहाँ पुगेर लाइभ स्क्रिन हेर्दा आनन्द लाग्छ। उनी अनामनगरस्थित इम्पेरियल सेक्युरिटिज ब्रोकर नं ४५ मार्फत कारोबार गर्छिन्। 

भवानीजस्तै धेरै गृहणीहरुको दैनिकी यतिबेला सेयर बजारमा बित्ने गरेको छ। घरधन्दा सकेर दिनभर फुर्सदको समय उनीहरु सेयर कारोबार लाइभ स्क्रिनमा रमाउँछन्। नेप्सेको उतारचढाव हेर्दै उनीहरु आफ्नो कमाइ र नोक्शानीको हिसाबकिताब गर्छन। यसले घरको निजी अर्थतन्त्रप्रति महिलाहरुको सक्रियता र योगदानलाई सकारात्मक रुपमा बढाएको छ। 

छिल्लो समय सेयर बजारमा महिला सहभागिता उत्साहजनक देखिएको छ। हरेक ब्रोकर अफिसमा सेयर कारोबारको लाइभ अपडेटको स्क्रिन हेर्ने ग्राहकहरुको भीडमा महिलाको संख्या क्रमश बाक्लो हुँदैछ। ‘यो सेयर बजारप्रतिको आम आकर्षणको संकेत पनि हो', सेयर बजारका जानकार दीलीप मुननकर्मी भन्छन्। 

२०१३ डिसेम्बरमा सेञ्चुरी बैंकको आइपिओ बाट भवानी सेयर बजारमा प्रवेश गरेकी हुन्। उनी भन्छिन, 'सेयर बजारमा लागेर मलाई राम्रै भएको छ। जति कमाएकी छु त्यसमा म सन्तुष्ट छु।' उनी नयाँ कम्पनीको आईपिओ र एफपिओसँगै राम्रो कम्पनीको दोस्रो बजारबाट सेयर कारोबार गर्छिन्। सेयर बजारमा गिरावट आउँदा किन्ने र बढ्दा बेच्ने उनको सजिलो नियम छ।

अरु गृहिणीहरुलाई पनि सेयरमा लाग्न उनको सुझाव छ। उनी भन्छिन्, 'कारोबार मात्रै होइन। यहाँ लागेपछि देशको आर्थिक अवस्था थाह हुन्छ र व्यक्तिगत अर्थतन्त्रलाई पनि व्यवस्थि गर्न सकिन्छ।' सेयर बजारमा खल्लो लाग्दो विषय भनेकै यसमा महिला सहभागीता अझै न्युन रहेको उनले बताइन्। 'यसको मुख्य कारण सेयर लगानीप्रति महिलाहरुको उत्सुकताको कमी, जोखिमपूर्ण क्षेत्र भन्ने भ्रम र सुरुवातमै ठूलो लगानीको लागी पूँजी जुटाउन पर्छ भन्ने सोच हो।', उनले भनिन्।
 
सेयर बजारमा क्रियाशिल बालाजुकी सुनिता अमगाइ गृहणी महिलाका लागि सेयर बजार कमाउने र सिक्ने फोरम भएको बताउछिन्। उनी भन्छिन्, 'यसले आत्मविश्वास बढाउँछ र जीवनलाई व्यवस्थित गराउन थप सहयोग पुर्याउँछ। महिला गहना जोड्ने, महङ्गो लुगा  बेकार खर्च गर्छन्। सावधानीपूर्वक समयमा सेयरमा गरेको लगानी खेर जाँदैन।'
 
सेयर बजार डिम्याट प्रणाली लागु भएपछि महिलाको सहभागिता झन् बढेको छ। पहिले भौतिक कारोबार हुँदा धेरैतिर दौडिनुपर्ने झन्झट थियो, त्यो अहिले हटेपछि सजिलो भएको सेयरमा लागेका महिलाहरु बताउँछन्। 

२००६ अमेरिकाबाट फर्केपछि बिन्दु अर्याल विस्तारै सेयर बजारतिर आकर्षित भइन्। पहिले उनलाई सेयरमा खासै रुचि थिएन। पिएचडीका लागि श्रीमानसँग उनी अमेरिका पुगेकी थिइन्।

बिहान पारिवारिक काम सकेर ११ बजे देखि दिउँसो ३ बजेसम्म उनी ब्रोकरकहाँ हुने गर्छिन्। उनी भन्छिन, 'अहिले भने फुर्सदको समय र घरपरिवार सबैबाट समय मिलाएर ब्रोकरको अफिस पुग्ने गर्छु।' मार्केटबाट आएको आम्दानीले खर्च टर्ने गरेको उनी बताउँछिन्।
 
उनले छोटो र लामो समयको लागि अलगअलग हिसाबले लगानी गर्छिन्। छोटो समयकोलागि केही नाफा खाएर थोरै बेच्ने र लामो समयकोलागि राम्रो कम्पनी छानेर कम्पनीको नाफा र घाटामा जानकारी राखी लगानी गर्ने बताउँछिन्। 

घर परिवार, बच्चा र घरको काम भ्याई कहिलेकाँही ब्रोकर अफिस पुग्छिन्। 'सधैं कुदेर अफिस पुग्नु पर्ने अवस्था छैन्।', उनी भन्छिन, 'जागिरसँग सेयरमा गरिएको लगानीको तुलना गर्न मिल्दैन्। सेयरमा लगानी गर्नु जागीरमा समय बिताउनुभन्दा धेरै राम्रो हो। अरुको करकाप, नमिठो बोली र भनाई सहेर कुनै संस्थामा आवद्ध हुनु सट्टा आफूसँग भएको पैसाको सदुपयोग गर्नु राम्रो हो।' 

कुनै संस्थासँग आवद्ध हुनु भनेको आफ्नो आधि समय संस्थालाई दिनु हो। घर र परिवारलाई चित्त बुझ्दो समय जागिर गरेर दिन सकिन्न भन्ने अर्यालले महसुस गरेको बताउँछिन्। 'अफिस समयमा पुग्न हतार गर्दै समय मिलाउनुपर्ने अवस्थाको अन्त्य भएको छ। घरमै बसेर अनलाइनमा बजारको सबै जानकारी पाउन सकिन्छ', उनी थप्छिन्, 'बैंकमा राखेर ब्याज खानुभन्दा पनि सेयरमा लगानी गर्दा धेरै फाइदा हुन्छ। सेयर बढ्ने र घट्ने क्रम सधै उस्तै हो, जति कुर्न सकियो त्यति नै वढी फाइदा हुन्छ।'

सुमना शाक्य गृहिणी हुन्। जागीर गर्ने ठूलो सपनासँगै धरानबाट उनी काठमाडौं पसेकी थिइन्। 'सुरुमा काम गर्दा त रमाइलो लागेको थियो तर बिस्तारै समय मिलाउन गाह्रो भयो', उनी भन्छिन्। आठ वर्षसम्म जागीर गरेको अनुभव उनीसँग छ। हतारको त्यो समय सम्झिँदा आजको दिन आरामदायक रहेको उनी बताउँछिन्।

सुरुमा सेवा विकास बैंकको सेयर किन्दा नै ५३ हजार नाफा र यसमै सन्तुष्ट हुँदै लगानी सुरु गर्न थालेको बताउँछिन्। 'भुकम्प पछिको समयमा धेरै घाटा भयो तर पछि बिस्तारै वढे अनुसार लगानी फेरी सुरु गरेको हो। त्यो समयमा सेयर मार्केट पुरै रातो नै थियो।', उनले भनिन्। तीन वर्ष अगाडि मात्र उनी सेयर बजारसँग जोडिएकी हुन्।
 
मामासँग अनलाइन सेयर बजार सिकेकी उनले भनिन्, 'निजी जागिर भन्दा सेयर बजारमा लगानी राम्रो हुन्छ भन्न नै मिल्दैन्। सेयर बजारमा हुने नाफाको पछाडी सबै भाग्ने हो भने डाक्टर, व्यापारी, इन्जिनियर नै हुने थिएनन्।' सेयर बजारमा नयाँ हुनेहरु सुरुमा दुविधामा पर्ने र हराउने तथा सेयर बजारमा लगानीमा फस्ने र घाटा हुने सम्भावना पनि धेरै रहेको उनले बताइन्।

उनी भन्छिन, 'बजारमा घटबढको काम भइरहन्छ, तर यसलाई जुवा भन्न मिल्दैन्। सेयर बजारमा आफ्नो दिमाग लगाउन सकियो भने फाइदा नै फाइदा छ। दिमाग, आशा र साहस सेयर बजारमा जरुरी छ। नेपालमा मात्र नभइ अमेरिकामा पनि सेयर बजारले भुकम्प ल्याएको समाचार सुनेको नै छौं।' 

महिलालाई अगाडि बढ्न जुनसुकै क्षेत्रमा पनि गाह्रो र चुनौतीपूर्ण हुनेगर्छ। महिला भएर कुनै पनि व्यवसाय सम्हाल्नु भनेकै चुनौती हो। घर परिवार र काम गर्नुदेखि लिएर व्यवसायको सबै काम मिलाउनु अरु सामान्य काम भन्दा पनि ठूलो चुनौती हो।
 
स्टक मार्केटमा महिलाको सहभागिता बढ्नुको प्रमुख कारण एक बित्तीय साक्षरता हो। देशभरका महिलालाई सेयर मार्केटको महत्व, सम्भावना र बित्तीय पहुँच सम्बन्धि जनचेतना फैलाउने हो र स्टक मार्केटमा सक्रिय भएका महिलाहरुको ज्ञान र अनुभवसहित चेतनामुलक कार्यक्रम गर्ने भने बजार बिस्तार प्रभावकारी हुने र महिला लगानीकर्ता अझै वढ्ने सम्भावना छ।

सेयर मार्केटमा महिला लगानीकर्ताको उपस्थिती धेरै बढ्ने देखिन्छ। ती मध्ये कोही अध्ययन वा सेयरको तालिम लिएर लगानी गर्छन भने केही पुराना सेयर बजार प्रवृत्ति हेरेर लगानी गर्छन्।

कोही पढेर सिक्छन भने कोही परेर
 
महिला सहभागिताले सेयर बजारको माहोल नै बदलिएको छ। यसले सेयर बजारप्रति सकारात्मक धारणा विकास गर्न सहयोग पुगेको विज्ञहरु बताउँछन्।

अनामनगर, इम्पेरियल सेक्युरिटिजका डाइरेक्टर तथा वित्तिय परामर्शदाता भूमि प्रसाद पाठकका अनुसार सेयर बजारमा महिलाको आकर्षण बढ्नुको प्रमुख कारण स्वरोजगारको पेशा हो। सेयर बजारले महिलाहरुलाई आत्मनिर्भर हुन सिकाउने र उनीहरुको पनि आत्मविश्वास बढाउने उनी बताउँछन्।

पाठक भन्छन्, 'सुन खरिद तथा बैंकमा पैसा जम्मा गर्नुभन्दा धेरै मुनाफा सेयर बजार लगानीमा पाउन सकिन्छ भन्ने कुरा महिलाहरुले राम्रोसँग बुझेका छन्। उहाँहरुमा बेग्लै खालको सुझबुझ र आत्मविश्वास देखिन्छ।'
 
सेयर बजारमा नयाँ पुस्ताभन्दा पनि विशेषगरी गृहिणी अझै रमाएको देखिन्छ। कतिपय महिलाहरु भने लगानीको अवसर खोज्दै आउने गर्छन्। श्रीमान वा बुबाको सहायतामा लगानीको क्षेत्रमा नाफा लिने सोचेर ब्रोकर अफिस आउने महिलाहरु पनि उत्तिकै छन्।




प्रतिक्रिया