पहिलो पटक सार्वजनिक भएको 'ब्ल्याक होल' के हो ? 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/black_hole.jpg

काठमाडौं - ब्ल्याक होलको फोटो पहिलो पटक सार्वजनिक गरिएको छ। पृथ्वीभन्दा ५ करोड ५० लाख प्रकाश वर्ष टाढा रहेको एम–८७ तारापुञ्ज (ग्यालेक्सी) मा रहेको ब्ल्याक होलको पहिलो तस्बिर वैज्ञानिकहरुले बुधबार सार्वजनिक गरेका हुन्। 

त्यो ब्ल्याक होल भने हाम्रो आकाशगंगा (ग्यालेक्सी) को होइन। खगोलशास्त्रीहरुले ‘मेसियर ८७’ नामक आकाशगंगामा रहेको ब्ल्याक होलको फोटो खिचेका हुन्। हाम्रो आकाशगंगाको नाम मिल्किवे हो। 

खगोलशास्त्रीहरुले ब्ल्याक होल ४० अर्ब फराकिलो र पृथ्वी भन्दा ३० लाख गुणा ठूलो तथा सूर्य भन्दा ६ अर्ब ५० करोड गुणा ठूलो रहेको बताएका छन्। यो ब्रहमाण्डको अहिलेसम्मकै सबैभन्दा गह्रौ र ठूलो ब्ल्याक होल हो। उनीहरुले यसलाई राक्षस (मनस्टर) भनेका छन्। 

पृथ्वीका विभिन्न ठाउँमा राखिएका आठवटा शक्तिशाली टेलिस्कोपको माध्यमबाट ब्ल्याक होलको फोटो खिचिएको हो। 

के हो ब्ल्याक होल ?

ब्ल्याक होलहरु ब्रह्माण्डमा रहेका यस्ता स्थानहरु हुन् जहाँबाट केही चिज पनि फर्किन सक्दैन। अत्यन्त धेरै गुरुत्वाकर्षण शक्ति हुने भएकाले यिनको नजिक पुगेका हरेक चिज यहाँबाट फर्किन नसक्ने वैज्ञानिकहरुले बताएका छन्। यसले सिंगो एउटा सौर्यमण्डल नै आफूतिर तानिदिन सक्ने क्षमता राख्छ।

खगोलशास्त्री एवं २१औँ शताब्दीका प्रसिद्ध वैज्ञानिक स्टेफ हाकिङ्ग्सले ब्ल्याक होल सम्बन्धि धेरै अनुसन्धान गरेका थिए। उनले आफ्नो जीवन नै यसमै समर्पित गरेका थिए। उनले ब्ल्याक होलबाट रेडिएसनहरु निस्कने कुरा पनि उल्लेख गरेका थिए। जसलाई ‘हकिंग्स रेडिएसन’को नाम दिएका थिए।

सन् १७८० को दशकमा नै ब्ल्याक होलको अस्तित्वबारे चर्चा हुन थालेको थियो। पछि बिसौं शताब्दीको सुरुमा वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले आफ्नो चर्चित सिद्धान्त ‘सापेक्षतावादको सामान्य सिद्धान्त’ मा यसको अस्तित्व रहेको सैद्धान्तिक रुपमा पुष्टि गरे। यद्यपि सन् १९६० को दशकसम्म भने यसको नाम ब्ल्याक होल भइसकेको थिएन। 

यसमा वैज्ञानिकहरुले एक पछि अर्को गरी अनुसन्धान गर्दै गए। ब्ल्याक होलबारे अनुसन्धान गर्ने वैज्ञानिकको अग्रपंक्तिमा रोजर पेनरोज र हकिङ आउँछन्। 




प्रतिक्रिया