सिडिओ हीरादेवीको अनुभूति- 'आइमाई नि सिडिओ हुन्छन् !'

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/Hiradevi_Poudel.jpg

इटहरी- भोजपुरमा २०७५ चैत १० गतेबाट सिडियो भएर आएकी हिरादेवी पौडेलले आफ्नो १ वर्षे कार्यकाल पुरा गरेकी छिन् । यस अगाडि रसुवाको सिडियो समेत भएकी पौडेललको बिहीबारबाट गृह मन्त्रालय औपचारिक कार्यकाल सुरु गरेकी छिन् । 

मन्त्रालय सरुवा भएसँगै जिल्ला हेर्ने संघीय सरकारको शक्तिशाली प्रमुखबाट मन्त्रालयमा जाँदै छिन् पौडेल । जिल्ला नेतृत्वबाट मन्त्रालयमा पुगे पनि सिडिओ महिला हुनुका केही रोचक र  घोचक अनुभव छन् पौडेलका ।

'हाकिम महिला' हुन्छन् भन्ने पत्याएनन् सेवाग्राहीले

२०५२ सालबाट २०६२ सम्म नायव सुब्बा भएर काम गरिन् पौडेलले । काठमाडौँमा कार्यक्षेत्र भएकी उनी फाँट  प्रमुख त  बनिन् । कार्यालय प्रमुख वा जिल्ला प्रमुख भने भएकी थिइन् । २०६३ मा अधिकृतमा नाम निकालेर उनी जिल्ला निर्वाचन अधिकृत भएर मुस्ताङ पुगिन् । मुस्ताङमा २०६४ सालमा पहिलो संविधानसभा चुनाव गराउने निर्वाचन अधिकृत पौडेल नै थिइन् ।

निर्वाचन अधिकृतको पद जसरी नौलो थियो । अनुभव पनि नयाँ बन्यो पौडेललाई । उनलाई हाकिम भनेर पत्याएनन् सेवाग्राहीले । 'मुस्ताङमा हुँदा धेरैले हाकिम कता हुनुन्छ भनेर कार्यालयमा सोध्थे र कर्मचारीले मेरो कोठा देखाउँथे', पौडेल सम्झन्छिन्, 'तर मलाई देखेर उनीहरू फर्कन्थे र भन्थे हाकिम हुनुहुन्न, त्यहाँ त एउटी आइमाई मात्रै छिन् ।'

मुस्ताङमा यसअगाडि महिला जिल्ला निर्वाचन अधिकृत भएर नपुगेकाले धेरैले आफूलाई हाकिम भनेर नपत्याएको पौडेल बताउँछिन् ।

सिडिओ हुँदा झनै पत्याएनन् 

२०६८ सालदेखि २०७१ सालसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपाली दूतावासको श्रम सहचारी भएकी थिइन् पौडेल ।  २०७१ सालमा उनी बढुवा भएर उपसचिव बनिन् । उपसचिव भएपछि सिडिओ भएर रसुवाको कमान्ड समाल्न पुगेकी पौडेलसँग जिल्ला निर्वाचन अधिकृत हुँदाको भन्दा सिडिओ हुँदाको नरमाइलो अनुभव छ ।

कुरा २०७३ सालताकाको हो । उत्तरी छिमेकी चीनसँगको सीमा नाकाको अध्ययन गर्न पौडेल नेतृत्वको टोली केरुङ पुगेको थियो । केरुङमा दुई देशका पदाधिकारीबीच बैठकपछि नेपालतर्फ आएको थियो टोली ।

जिल्लाका सुरक्षा निकायमा प्रमुखहरूलाई लिएर नाकामा पुगेकी पौडेल प्रहरी भ्यानमा थिइन् । जिल्लाका डिएसपीलगायतका प्रहरी अधिकारी सीमानाका अवलोकन गरिरहेका थिए । यसैबीचमा आफू बसेको पछाडिका केही युवाले गरेको वार्तालाप पौडेलले सुनिन् ।

'ऊ त्यो गाडीमा हुने कोहो भनेर एउटाले सोध्यो', त्यो दिनको कुरा सम्झँदै पौडेलले भनिन्, 'अर्कोले सिडिओ हो भन्यो तर बाँकीले आइमाई कसरी सिडियो हुन्छ भने ।'

सिडिओ हुँदा पुरुषलाई असहज, महिलालाई सहज

हिमाली जिल्ला रसुवा र मध्यपहाडी जिल्ला भोजपुरमा सिडिओ भएकी पौडेलसँग महिला भएकैले आफूले पुरुष र महिलाबाट भिन्नभिन्न अनुभव बोकेको बताउँछिन् । पुरुषले सिडिओ भएर महिला आएपछि सहजता महसुस नगरेको पौडेलको अनुभव छ ।

'कतिपय मलाई सीधा भन्नुपर्ने कुराहरू पुरुष साथीहरूले सहायक सिडिओ साबमार्फत मसँग ल्याउने गर्नुभएको छ', पौडेल भन्छिन्, 'महिलाहरूले भने सहज महसुस गर्नुहुन्छ ।'

सिडिओको कार्यकक्षमा महिला देख्दा महिलाहरू आउने, आफ्ना कुराहरू राख्ने र सहज भएको बताउने पौडेलको अनुभव छ ।

पुरुषभन्दा राम्रो काम गर्ने बाध्यता

सिडिओ पुरुषभन्दा सिडिओ महिलालाई राम्रो काम गर्नुपर्ने सामाजिक र पेसागत बाध्यता भएको पौडेलको अनुभव छ । 'पुरुषहरूले सामान्य काम मात्रै गर्दा कुनै प्रश्न आउँदैन', पौडेल भन्छिन्, 'सिडिओ महिलाले भने सामान्य कार्यकाल मात्रै चलाउँदा महिला भएकाले चलाउन नसकेको भन्ने कुरा गरिन्छ ।'

महिलाले गर्न सक्दैनन् भन्ने सामाजिक मनोविज्ञान चिर्न पनि औसतभन्दा राम्रो काम गर्नुपर्ने बाध्यता हुने पौडेल बताउँछिन् ।

'नुनतेल अडकलेका' महिला हातले भ्रष्टाचार गर्दैनन्

निजामती प्रशासनमा महिलाका प्रवेश पछिल्लो समयमा बढे पनि धेरै संख्या भने छैन । निजामतीमा प्रवेश गरेकाहरूले भ्रष्टाचारमा परेकामा रंगेहात समातेका धेरै अख्तियारका अपरेसनहरू बेलाबखत आउँछन् । 'महिलाको नुनतेल अडकलेका र भोलिलाई कति आलु चाहिन्छ भन्ने जान्ने हातले कार्यालयमा अनियमितता गर्दैनन्', पौडेल भन्छिन्, 'महिलाले परिवारबाटै व्यवस्थापन सिकेर आएका हुन्छन् ।'

श्रम मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालय मातहतमा काम गरेको अनुभव बोकेकी पौडेलले महिलाले भ्रष्टाचार नगर्ने भएकाले नै आफूसँग गलत प्रस्ताव नआउने बताउँछिन् । भन्छिन्, 'नराम्रो कुरामा महिलालाई लाउन सकिँदैन भन्ने भएरै म सिडिओ हुँदा गलत कुराका लागि कहिल्यै अप्रोज आएन ।'


 



प्रतिक्रिया