बिक्न छाड्यो ‘मार्सी’ र ‘फापर’

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/Chandra.jpg

सुर्खेत - जुम्ला पातारासी ८ का चन्द्रबहादुर बुढाले गत वर्ष खेतबारीमा राम्रै उत्पादन गरे। १३ मुरी मार्सी धान, उस्तै फल्यो मुरली मकै र सिमी पनि। पाखाभरि जौ र फापरको उत्पादन पनि राम्रै थियो। आँगनमै मोटरबाटो पुगेको फाइदा उठाउँदै उनले सोचे यही उत्पादन बजार लिएर बिक्री गर्छु। यही कुरा दसैंमा आफन्त र दाैंतरीसँग सल्लाह गरे। तर अधिकाँश दौंतरीले विदेश जानुपर्ने सल्लाह दिए। केहीले त राम्रो काम भन्दै प्रशंसा पनि गरे।

दसंै तिहार सकियो। सँगैका दाैंतरी विदेशतिर लागे। तर उनको मनले विदेश जान मानेन्। अन्ततः घरको केही उत्पादन बिक्री गर्न सदरमुकासम्म आए। हप्ता दिन सदरमुकाम धाउँदा पनि कमाई त्यति राम्रो भएन। दुई हप्ता सदरमुकाम बसाइपछि उनले एउटा जुत्ति निकाले। गाउँघरको उत्पादन खरिद गर्ने र जिल्लाभन्दा अलि टाढा, सुर्खेत, नेपालगन्ज र काठमाडौंसम्म पुर्‍याएर बिक्री गर्ने।

तर यो काम जिल्लाबाहिर जाँदा एक्लैले सम्भव नहुने देखे। विदेश जाने चक्करमा रहेका शिवराज बोहोरालाई यो कुरा सुनाए। सुरुमा त बोहोराले यो काम सम्भव नहुने भन्दै अस्वीकार गरे। तर लगानी म गर्छु तिमी साथ देऊ भनेपछि बोहोराले पनि यो कुरामा सहमति जनाए। सोहीअनुसार उनी सुर्खेत झरे। व्यापारको माहोल बुझे। जुम्लाबाट सुर्खेतमा ल्याएर मार्सी चामल र सिमी बिक्री गर्ने केही व्यापारीसँग सरसल्लाह मागे। तर सुर्खेतमा पनि सोचेजस्तो व्यापार नहुने देखे। केही दिनको बसाइपछि नेपालगन्जतिर हानिए। जुम्ला–नेपालगन्ज सीधा हवाई उडानले गाउँको उत्पादन त्यहाँ पुर्‍याउन सहज हुने आशा बोकेर नेपालगन्ज लागे। तर नेपालगन्जमा पनि उस्तै पीडा भोगे। कसैले महँगो भने त कसैले यो खाएर के फाइदा हुन्छ र ? भन्ने जस्ता कुराहरु सुनाए। तर पनि हिम्मत हारेनन् उनले।

महिना दिन नेपालगन्जकै धम्बोजी, पिपी र सेतु विक चोकमा जुम्लाको अर्गानिक उत्पादन भन्दै मार्सी चामल, सिमी र फापर बिक्री गर्न थाले। त्यहाँ पनि उनले सोचे जस्तो व्यापार भएन। अन्ततः अन्तिम विकल्पका रूपमा काठमाडौं हानिए। काठमाडौंको वसन्तनगर र माछापोखरीमा जुम्लाको उत्पादन बिक्री गर्न थाले। त्यहाँ राम्रो व्यापार भएपछि बल्ल उनीहरुले लामो शान्तिको सास फेर्न पाए।

कर्णालीको अर्गानिक उत्पादन बिक्रीवितरण गर्दा दुःख पाउने चन्द्र र शिव एक्ला पात्र भने होइनन्। अर्गानिक उत्पादनको व्यापार व्यवसाय गर्ने अधिकांशको पीडा चन्द्र र शिवसँग मिल्दोजुल्दो छ। कारण कर्णालीमा यहाँको अर्गानिक उत्पादनले बजार पाउँदैनन्।

अनेकौं दुःख गरेर कर्णालीभन्दा बाहिरी लाँदा भने सहज बिक्री हुन्छ। अहिले चन्द्र र शिवले मार्सी, सिमी, फापर, सिस्नोलगायतका अर्गानिक उत्पादन काठमाडौंमा बिक्री गर्छन्। व्यापार व्यवसाय प्रवद्र्धनका लागि विभिन्न मेला महोत्सवमा समेत प्रचारप्रसार गर्ने उनीहरु बताउँछन्। तर उनीहरुको जस्तो संघर्ष गने आँट सबैसँग हुँदैन।

अर्गानिक उत्पादन स्वास्थ्यका लागि जति लाभदायिक छ त्यतिकै महँगो पनि। कर्णालीका उच्च हिमाली जिल्लाहरुमा फल्ने फापर, सिमी, मार्सी धान, कोदो, दाँते ओखर, मुरली मकै जस्ता रैथाने उत्पादनहरुको जसरी चर्चा हुन्छ त्यसरी बिक्रीवितरण हुँदैन। उसो त सडकसँग सहज पहुँच नहुँदा कर्णालीका उत्पादनहरु बजारसम्म लैजान निकै कठिन हुन्छ। सडक पुगेका जिल्लामा पनि ग्रामीण स्तरसम्म गाडीको पहुँच छैन। जसले गर्दा डोल्पा, हुम्ला र जुम्लाका उत्पादन कर्णालीबाहिर लैजाँदा भाडा नै महँगो पर्न जान्छ।

सहज रूपमा पाउँदैन, पाउँदा पनि बिक्दैन : व्यवसायी

 सुर्खेतका व्यवसायीले भने कर्णालीको अर्गानिक उत्पादन सहज रुपमा नपाइने बताएका छन्। ‘केक बनाउन मुगुबाट कोदो र फापर हप्ता दिन लगाएर झिकाउनुपर्छ’, गंगामाला पाउरोटी उद्योगका सञ्चालक विपिन ठाकुर भन्छन्, ‘टाढाबाट ल्याउँदा महँगो पर्छ ग्राहकले पनि रुचाउँदैनन्।’ मैदाको तुलनामा एकडेढ सय महँगो भएका कारण कोदो र फापरको केक नबिक्ने ठाकुर बताउँछन्।

‘ग्राहकलाई नयाँ स्वाद दिन फापरको मम बनाएर बनाएर बिक्री गर्ने कोसिस गरेँ’, होटल व्यवसायी शिवराज अधिकारी भन्छन्, ‘कहिले कसो पर्यटकले खान्छन् तर बनाएको जति खपत हुँदैन।’ सस्तो खाने बानी परेकै ग्राहकले महँगीको अर्गानिक नखाने बताउँछन्। अर्का होटल व्यवसायी दीपक जैसीले भने सहज आपूर्ति नभएकै कारण अर्गानिक खाना महँगो पर्न गएको बताए। ‘कोदाको रोटी र ढिँडो दिँदा पर्यटक खुसी हुन्छन्’, जैसी भन्छन्, ‘तर भनेको बेला न ढिँडो पाउँछन्, न त कोदो नै।’ मार्सी चामल र सिमीबाहेक अन्य उत्पादन बजारसमेत दुर्लभ मात्रामा पाइने उनी जैसीको भनाइ छ।

मन्त्रीको आग्रह : अर्गानिक कोसेली राखिदिनोस्

कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले भने प्रत्येक होटलका अर्गानिक कोसेली गृह राखिदिन सुर्खेतका होटल व्यवसायीलाई आग्रह गरेकी छन्। होटल व्यवसायीसँगको अन्तरक्रियामा मन्त्री केसीले कर्णालीलाई अर्गानिक प्रदेशको आधार निर्माण गर्ने अभियानमा सहयोग गर्न यस्तो आग्रह गरेकी हुन्।

मन्त्री केसीले सुर्खेतका कर्णालीको मार्सी चामल, कोदो, फापर, टिम्मुर, सातु, जडिबुटीको चियालगायतका अर्गानिक उत्पादन खुवाउनसमेत आग्रह गरेकी छिन्। उत्पादित वस्तुलाई सहजरुपमा पाउने वातावरण बनाउन लागिपरेको जानकारी दिँदै मन्त्री केसीले सुर्खेतका सबै होटलले अर्गानिक उत्पादनको स्टोर कक्ष नै बनाएर राख्न सुझाव दिएकी हुन्। प्रदेश सरकारले अर्गानिक उत्पादन गर्न कृषकलाई अनुदान दिएको छ।

उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम शाहीले पनि कच्चा पदार्थको सहज आपूर्ति भए आफूहरु अर्गानिक स्वाद चखाउन तयार रहेको बताए। ‘हामी अर्गानिक खाना अनिवार्य गर्न तयार छौँ’, अध्यक्ष शाहीले भने, ‘अर्गानिकको खानुका फाइदा र सहज आपूर्तिको हुने वातावरण तयार हुनुपर्‍यो।’

महोत्सवदेखि सहकारीसम्म अर्गानिकको लहर

कर्णालीलाई अर्गानिक प्रदेश बनाउने अभियान थालेको प्रदेश सरकारले मेला महोत्सवदेखि सहकारीसम्ममा अर्गानिकको लहर चलाएको छ। स्थानीय उत्पादनको बजारीकरण र प्रचारप्रसारका लागि भन्दै अर्गानिक महोत्सवसमेत चलाएको छ। महोत्सवमा अर्गानिक उत्पादन राखिएका छन्। यस्तै अर्गानिक उत्पादन गर्ने कृषि सहकारीहरुलाई सरकारले एक लाखदेखि एक करोडसम्मको अनुदान दिँदै आएको छ। बाख्रा पालन, स्याउ उत्पादन, आलु र टिमुर खेतीलगायतका रैथाने खेती गर्ने सहकारीहरुलाई अनुदान दिएको छ।

कर्णाली प्रदेशमा विषादीयुक्त खाद्यान्न भित्रिन नदिन सरकारले प्रयोगशालासमेत निर्माण गरिरहेको छ। प्रदेशका मुख्य नाका सुर्खेतको हर्रे र सल्यानको कालीमाटीमा प्रयोगशाला निर्माण गर्ने योजना सरकारले अघि सारेको छ। यस्तै मन्त्रालयले किसानलाई प्रोत्साहन हुने गरी एक जिल्ला दुई कृषि पकेट क्षेत्र, एक जिल्ला एक प्रशोधन केन्द्र, निर्वाचन क्षेत्रीय हाइटेक नर्सरी, एक जिल्ला एक सहकारी नमुना गाउँ कार्यक्रम, प्रत्येक जिल्लामा हाटबजार कार्यक्रम लगायतका कार्यक्रम अघि सारेको छ।

अर्गानिक उत्पादनमा जोड दिन कृषि, सहकारी र किसानलाई विभिन्न पुरस्कारका कार्यक्रम पनि अघि सारेको छ। अर्गानिक उत्पादन गर्ने किसानलाई मुख्यमन्त्री उत्कृष्ट पुरस्कार, पालिकास्तरीय पुरस्कार, जिल्ला र प्रदेशस्तरीय पुरस्कारर कृषि नायक/नायिक पुरस्कारसमेत घोषणा गरेको छ। प्रदेशका ७९ स्थानीय तहमा एक/एक जना महिला र पुरुष किसान गरी १ सय ५८ जना पुरस्कृत हुनेछन्।




प्रतिक्रिया