सिटौलाले भत्काइदिए देउवा-पौडेल सहमति

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/congress-copy_1.jpg

काठमाडौं - कांग्रेस कार्य सम्पादन समिति गठनमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच ६०/४० प्रतिशत भागबन्डा गर्ने सहमति अर्का नेता कृष्णप्रसाद सिटौलाले भत्काइदिएका छन्।

शुक्रबार सभापति देउवा र नेता पौडेलबीच कार्य सम्पादन समिति गठनमा ६०–४० को सहमति भएको थियो। उक्त सहमति असन्तुष्ट सिटौलाले रातारात भत्काइदिएपछि कार्य सम्पादन समिति गठन अन्योलमा परेको छ। यस्तै केन्द्रीय समिति बैठक अनिश्चितकालका स्थगित भएको छ।

कार्य सम्पादन समितिमा सिटौला पक्षले हिस्सा नपाएपछि शनिबारका लागि डाकिएको केन्द्रीय समिति बैठक बस्न सकेन। कांग्रेसमा विगत लामो समयदेखि संस्थापन र असन्तुष्ट समूहको भिन्नाभिन्नै गुट छ। १३ औं महाधिवेशनपछि छुट्टै गुटको नेतृत्व गर्दै आएका सिटौलाले कार्य सम्पादन समितिमा हिस्सा नपाएपछि आफ्नो अस्तित्व नै संकटमा पार्न लागेको भन्दै असन्तुष्ट भएका छन्।

गत शुक्रबार राति देउवा निवास बूढानीलकण्ठमा भएको अनौपचारिक छलफलमा कार्य सम्पादन समिति गठन गर्दा देउवाले ६० प्रतिशत र वरिष्ठ नेता पौडेलले ४० प्रतिशत सदस्य लिने सहमति भएको थियो। सभापति देउवा सिटौला पक्षलाई पौडेलले पाएको ४० प्रतिशतबाटै कार्य सम्पादन समितिमा प्रतिनिधित्व गराउने पक्षमा रहेपछि सिटौला असन्तुष्ट भएका थिए।

नेता पौडेलले पनि सिटौला पूर्ण रुपमा आफ्नो पक्षमा नरहेकाले उनलाई भाग दिन नसक्ने बताएका थिए। सिटौला पक्षलाई ६० प्रतिशतबाटै कार्य सम्पादन समितिमा हिस्सा दिनुपर्ने माग पौडेलले देउवासामु गरेका थिए।

शुक्रबार देउवा निवासमा भएको अनौपचारिक छलफलमा सिटौलाले आफू अपमानित भएको भन्दै बाहिरिएका थिए।

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले सबै नेता उपत्यकाबाहिर रहेको र समयमै बैठकमा उपस्थित हुन नसकेकाले बैठक स्थगित गरिएको बताए। ‘भागबन्डा विवाद भन्ने कुरा जसरी बाहिर आएको छ  त्यो सत्य होइन, सहमति जुटेको छ अब बस्ने केन्द्रीय समितिले कार्यसम्पादन समिति गठन गर्ने निर्णय गर्छ।’

कार्य सम्पादन समिति २८ सदस्यीय हुने व्यवस्था कांग्रेस विधानमा छ। ६ जना पदाधिकारी स्वतः पदेन सदस्य रहनेछन्। उपसभापति गच्छदारलाई पनि समेट्नु पर्ने भएकाले २३ जनामा पौडेलले ११ जना र सभापतिसँग १२ जना हुने सहमति भएको थियो।

यसरी गठन हुन्छ कार्य सम्पान समिति

कांग्रेस केन्द्रीय समितिपछिको शक्तिशाली मानिने कार्य सम्पादन समितिमा ६ जना पदाधिकारी (सभापति, उपसभापति, महामन्त्री दुई, सहमहामन्त्री र कोषाध्यक्ष रहने विधानमा उल्लेख छ। कांग्रेसमा विलय भएका लोकतान्त्रिक फोरमका विजय गच्छेदारलाई उपसभापति नियुक्त गरिएसँगै पदाधिकारीको संख्या ७ पुगेको छ। तर कांग्रेस विधानले गच्छेदारलाई उपसभापति चिन्दैन। अन्तरिम अवस्था भन्दै संस्थापन पक्षले उनलाई उपसभापतिमा मनोनयन गरेको थियो।

कांग्रेस संसदीय दलका नेतासमेत कार्यसम्पादन समितिको सदस्य रहने व्यवस्था छ। दलका नेता र सभापति फरकफरक रहेको अवस्थामा मात्र कार्य सम्पादन समिति २९ जनाको हुन्छ। तर सभापति र संसदीय दलको एउटै भए पनि गच्छेदारलाई समेट्नपर्ने भएकाले २८ जना रहनुपर्ने कार्यसम्पादन समिति २९ सदस्यीय बनेको हो।

कार्य सम्पादन समितिमा केन्द्रीय समितिको वरिष्ठताका आधारमा सदस्य रहने परम्परा छ। सभापति देउवा, उपसभापतिद्वय विमलेन्द्र निधि र गच्छेदार, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री प्रकाशशरण महत स्वतः पदेन सदस्य रहनेछन्।

त्यस्तै वरिष्ठताका आधारमा केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, कुलबहादुर गुरुङ, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खडका, मिनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्र बढु स्वतः कार्यसम्पादन समितिमा रहनेछन्। वरिष्ठतम्  केन्द्रीय सदस्य कुलबहादुर गुरुङ र नरहरि आचार्य अस्वस्थ भएका कारण उनको स्थानमा केन्द्रीय सदस्य एनपी साउद, उमाकान्त चौधरी वा महालक्ष्मी उपाध्याय डिनालाई कार्यसम्पादन समितिमा ल्याउने विषयमा छलफल भइरहेको छ।




प्रतिक्रिया