गुराँसको राजधानी हिडेका ३ सय पर्यटकलाई प्रशासनको निषेध

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/camp_guras_dada.jpg

इटहरी- संखुवासभा, तेह्रथुम र  ताप्लेजुङको सिमानामा रहेको तिनजुरे, मिल्के र जलजले (टिएमजे) हिडेका ३ सय विदेशी पर्यटकलाई प्रशासनले निषेध गरेको छ। 

टिएमजेको चौकी क्षेत्रमा शुक्रबारबाट सुरु हुने भनि तय गरिएको अन्तर्राष्ट्रिय सांकेतिक उत्सवमा साहभागी पर्यटकहरुलाई शुक्रबार कार्यक्रम स्थल पुग्न लाग्दा बसन्तपुर बजारबाट रोक लगाइएको हो । टिएमजे जाने गेट वे मै रहेको तेह्रथुमको  इलाका प्रहरी कार्यालय बसन्तपुरका सहायक प्रहरी निरीक्षक देबराज काफ्लेले माथिको आदेश आएकोले पर्यटकलाई फर्काइएको बताए।

फर्काइएका पर्यटकहरु धनकुटाका विभिन्न होटल, रिसोर्टमा बसिरहेका छन। होटल र रिसोर्टमा नअटेकाहरु टेन्ट टागेर खुल्ला चौरमा बसिरहेका छन। काठमाडौको शक्तिपिक म्युजिक फेस्टिभल प्रालिले आयोजना गर्न लागेको  'ट्रान्स  पार्टी'मा ७२ देशका डिजेहरु सहितका ३०० विदेशी पर्यटकहरु आएका थिए। 

१५० घरमा होम स्टे बुक गरेको र जनही २ हजारको दरले ५ दिनको ब्यवस्थाको तयारी भएको आयोजक संस्था शक्तिपिकका अध्यक्ष स्वास केसीले बताए। केसीका अनुसार अहिलेसम्म २५ लाख भन्दा धेरै खर्च भइसकेको छ। गत बर्ष पनि यस्तो कार्यक्रम आयोजना भएको तर यो बर्ष विभिन्न बाहाना बनाएर रोकेको केसिले धनकुटाका पत्रकारहरुलाई बताएका छन ।

जनप्रतिनिधिको साथ, प्रशासनको असहयोग

शुक्रबारबाट हुने ट्रान्स पार्टीमा जनप्रतिनिधिको सहयोग र  प्रशासनको असहयोग देखिएको छ। 

कार्यक्रम  आयोजना हुने संखुवासभामा पर्ने मादी नगरपालिकाका जनप्रतिनिधि विदेशी पर्यटकलाई स्वागत गर्न फुलमाला लिएर बसेका थिए  ९ नम्बरका वडा अध्यक्ष पासाङ शेर्पा मेयर  विदुर लिङथेप सहितका जनप्रतिनिधि बसन्तपुरको टुटे देउरालीमा बसेका थिए। तर, उनीहरुको स्वागत पाउनु अगाडि नै संखुवासभा प्रशासनको कारण आउन पाएनन् । पर्यटकलाई प्रहरीले गाडीबाट ओर्लन दिएनन् । बाटैबाट फर्काइदिए। 

यता, संखुवासभाका सिडियो गणेश अधिकारीले भने ट्रान्स पार्टीका नाममा लागुऔषध प्रयोगदेखि यौनजन्य गतिविधिहरु हुने भन्दै रोक लाएको पत्रकारहरुलाई  बताएका छन ।
 
प्रदेश १ का चर्चित  पर्यटन व्यवसायी बासुदेब बरालले भने लागुऔषध प्रयोग भएको र यौनजन्य गतिविधि भएको प्रष्ट प्रामाणको आधारमा रोकेको भए सामान्य हुने तर हचुवामा रोक्नु गलत भएको बताए। उनले भने, 'देशका पर्यटकहरु लाखौं खर्चमा प्रदेश १ आएका छन। यो कुरामा स्वागत गर्न छाडेर अनुमानको भरमा प्रतिबन्‍ध लगाउनु गलत हो।' नेपालले सन २०२० मा २० लाख पर्यटक ल्याउने गरि तय गरेको नेपाल भ्रमण वर्षलाई राज्यका यस्ता कदमले नकारात्मक ब्रान्डिङ हुने बरालले बताए।




प्रतिक्रिया