समृद्धि सपना : हावाहुरी अनुमान गर्न नसक्ने हाम्रो विज्ञान !

/assets/plugins/bower_components/fileman/Uploads/Anirudra.jpg

बारा पर्सामा हावा हुरीले वितण्डा मच्चाउनुपूर्व नै जानकारी पाउनु त परै, जनधनको क्षति गरेर जाँदासम्म नेपाली मौसमविद्हरूले त्यो के हो, के थियो, कस्तो हुरी हो, कसरी भयो भन्ने जानकारी दिन सकेनन् । जब कि छिमेकमै भारतको विहारमा भने त्यहाँका बासिन्दाले ठूलो हुरी हुन्डरी आउने सूचना पाएर सुरक्षाका उपाय अपनाइसकेका थिए ।
 
अमेरिकाका तटीय क्षेत्रमा सालिन्ने समुद्री तुफान आउँछ, ताण्डव मच्चाएर जान्छ तर त्यस ताण्डवका बावजुद पनि क्षति भने धेरै हुन पाउँदैन । मानिस सुरक्षित स्थानमा सारिन्छन् । पछिल्लो समयमा भारतमै पनि मौसम पूर्वानुमानका क्षेत्रमा भएको प्राविधिक उन्नति र सटिक विश्लेषणका कारण नगण्यप्रायः क्षति हुने गरेको छ । मौसम प्रतिकूल रहुन्जेल अर्को सुरक्षित बासस्थानको प्रबन्ध गरिन्छ । विश्वका कुनै पनि मुलुक प्राकृतिक विपत्तिमुक्त छैनन् किनभने पृथ्वी बनेको नै विपत्ति नै विपत्तिका बीच हो ।
 
विपत्तिबाट बच्ने उपायको खोजीकै क्रममा मानव सभ्यताको विकास भएको हो । पूर्वानुमानका उपकरणहरूको आविष्कार नै विपद्बाट बच्ने प्रयोजनले भएको हो । विज्ञान प्रविधिका क्षेत्रमा उन्नत भइसकेको वर्तमान विश्वमा हावाहुरीजस्ता विपत्तिको सटिक पूर्वानुमान र त्यसबाट हुन सक्ने क्षतिलाई टार्न अथवा न्यूनतम बनाउन नसकिने होइन ।
 
निश्चय नै बारा पर्सामा आइतबार आएकोजस्तो हावाहुरी विगतमा नेपालमा कहिल्यै अनुभव नगरिएको बताइएको भए पनि प्रविधिको सहयोगद्वारा पूर्वानुमान नै गर्न नसकिने भन्ने थिएन । नेपालका सातमध्ये ६ प्रदेशको सीमा भारतसित र  उत्तरमा चीनसँग पनि ६ वटै प्रदेशका सीमा जोडिएका छन् ।

प्रदेश २ भारतसित मात्र र कर्णाली प्रदेश चीनसँग मात्र जोडिएको छ । चीनको दक्षिणी र भारतका उत्तर भेकमा हुने वायुमण्डलीय चापको प्रभाव नेपालमा पर्छ भने नेपालका जुनसुकै क्षेत्रमा हुने जलवायु परिवर्तनले भारतका कि चीनका सिमान्त क्षेत्रलाई छोएकै हुन्छ र कहिलेकाहीं दुवैलाई ।
 
भारत र चीन दुवै देशका मौसम विज्ञान विभागहरू मौसममा आइरहने अथवा आउन सक्ने प्रभावको सटिक अनुमान गर्न समर्थ छन् । यी दुवै देशले उल्लेख्य प्राविधिक प्रगति हासिल गरेका छन् र यी दुवै देश नेपालको भौगोलिक सिमाना जोडिएका हुँदा उस्तै विपद्का सहभागी बन्छन् । हाम्रो प्राविधिक क्षमता अपर्याप्त छ तर छिमेकीसित समन्वय गरेर मौसमी विपत्तिबारे जानकारी लिन सकिन्छ । यसबारे के कस्तो आदानप्रदान आवश्यक छ भन्ने विषय मौसमविद्हरूको सहयोगमा सरकारले तत्परता लिनुपर्छ र पर्दथ्यो ।

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/2019, March/hawa_huri_radar.jpg

पृथ्वीको निर्माण नै विभिन्न खाले प्राकृतिक उथलपुथलका चल्ले भएको हो र मानवको उत्पत्ति भए यता यसले विभिन्न प्राकृतिक विपद् सहँदै, सामना गर्दै सभ्यताको विकास गरेको तथा आज आएर यो प्राणी कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) आर्जन गर्नसक्ने र यसको उपयोगद्वारा विकासक्रमलाई एउट नयाँ ‘न्यारेटिभ’ दिने अवस्थामा आइपुगेको छ । अहिले त यान्त्रिक मात्र नभएर कृत्रिम जैविक बौद्धिकताका माध्यमबाट मानवतुल्य नै सोच विचार, अझ उन्नत सिर्जन गर्न सक्ने र चामत्कारिक ढंगले निमेषभरमा समाधान दिने उपकरणहरूको विकास भइरहेको छ ।

आज विश्वमा चौथो औद्योगिक क्रान्ति प्रारम्भ भएको छ । चौथो अर्थात् कृत्रिम बौद्धिकताको । यसलाई मानव प्रज्ञानका समानान्तर विकास गर्ने, यसका सबै तन्तुहरू खोल्ने र कम जोखिमपूर्ण अर्थात् मानवीय कमजोरीबाट हुने क्षतिबाट समेत जोगाउने दिशामा खोज भइरहेका छन् ।
हामीले प्रयोग गर्ने मोबाइल फोनदेखि उन्नत इलेक्ट्रोनिक उपकरणहरू पनि एक हिसाबले कृत्रिम बौद्धिकतायुक्त नै हुन् । तपाईंको स्मार्ट फोनमा कम्तीमा सयौं सम्पर्क नम्बर होलान्, कतिपय सूचनाहरू सञ्चित होलान्, पक्कै छन्, जो कुनै बेला आफैं सम्झनामा राख्नुपथ्र्यो अथवा कपीमा लेखेर राख्नुपथ्र्यो । अनेकानेक सूचना, फोटो, भिडियो आदि–इत्यादि । गुगल मानचित्र हेर्नुहोस्, मार्गदर्शक नचाहिने भएको छ । यस्ता एपहरू छन्, जसले तपाईं कति पाइला हिँड्नुभयो, गणना गरिदिन्छ ।
 
प्रविधिका एकपछि अर्को पुस्ता आइरहेका छन् र यता नेपालतिरचाहिँ यी उपलब्धिबाट अधिकतम लाभ लिनु सट्टा, धेरै अर्थमा उपभोक्ता बन्न र चमत्कृत हुनुमै सीमित छौं ।

तपाईंलाई रक्तचापको समस्या भए, मधुमेह भए स्मार्ट फोनमै सफ्टवेयर छ, जाँचिदिन्छ । अहिले तपाईं यो आलेख आफ्नै हाते अथवा काखे यन्त्रमा पढ्दै हुनुहुन्छ र यो यसरी हुनु सबै सामान्यजस्तै लाग्छ तर यो सबै कमाल हो प्रविधिको जो आजभन्दा २०–२५ वर्ष पूर्व कल्पनाबाहिर थियो, पहुँचबाहिर थियो ।  प्रविधिका एकपछि अर्को पुस्ता आइरहेका छन् र यता नेपालतिरचाहिँ यी उपलब्धिबाट अधिकतम लाभ लिनु सट्टा, धेरै अर्थमा उपभोक्ता बन्न र चमत्कृत हुनुमै सीमित छौं ।
 
ल्यापटप किनेर मन्त्रिपरिषद्लाई पेपरलेस बनाएको समाचार केही महिनापूर्व पढियो तर आधुनिक प्रविधिमैत्री मन्त्रिपरिषद् कति चुस्तदुरुस्त भयो, विश्व विकासक्रमसँग कतिको अद्यावधिक छन् मन्त्रीहरू र आपूर्तिमा तत्परता आयो कि देखाउने भाँडोमात्र भए ल्यापटपहरू ? कागजमा बुँदा टिप्दै गरिने मन्त्रिपरिषद् बैठकभन्दा अहिलेका बैठकहरूमा बस्ने मन्त्रीहरूको क्षमता र स्तर बढेको कुनै उदाहरणीय प्रसंग फेला परेको छैन, कसैलाई फेला परेको भए जानकारीमा आएको छैन । 

प्रविधि भित्रिनुपर्छ तर त्यसबाट कार्यक्षमता वृद्धि भएको देखिनु र लोक त्यसबाट लाभान्वित हुनुपर्छ । प्रविधि देखाउनलाई होइन, त्यसको अधिकतम उपयोग गर्दै लाभ लिनलाई हो । साथै, प्राविधिक उपकरणहरू सञ्चयका लागि होइनन्, प्रयोगकै लागि हुन् किनभने यो वर्ष जुन पुस्ताको संस्करण विद्यमान छ, यो पुस्ता रहँदैन । अर्को वर्ष प्रविधिको अर्कै पुस्ता आउँछ । दुई वर्ष पुरानो कम्प्युटर, आजका सफ्टवेयर ग्रहण गर्न नसक्ने हुन्छ । २०–२५ वर्ष पहिला एमबी नै ठूलो मानिन्थ्यो, अचेल जे पनि जीबीभन्दा तल त न हाते यन्त्र छ न काखे, न त टेबल । 

धेरैका हातमा अचेल बँधुवा घडी देखिँदैन । मोबाइलमै अटो टाइमिङ छ, तापक्रम र मौसममा साधारण बदलीसमेत यही उपकरणमा उपलब्ध हुन्छ । यसर्थ प्रश्न त उठ्छ नै यस यन्त्र सज्जित युगमा आइतबार बारा पर्सामा आएको हावाहुरीको पूर्वानुमान गर्नबाट मौसमविज्ञान विभाग कसरी चुक्यो ? विभागले सेटिलाइट सेवा लिइरहेकै होला । त्यस्तै पक्कै उम्दा मौसमविज्ञहरू पनि होलान् नै र पेपरलेस, पूरै कम्प्युटराइज्ड मन्त्रिपरिषद् भएका देशमा यन्त्रहरूको अभाव पक्कै नहोला । 

यो जिज्ञासालाई किमार्थ अन्यथा नलिइयोस् । किनभने मौसमविज्ञान विभाग किन र कसरी चुक्यो यसको सटिक जानकारी हुँदा नै भावी विपद्मा के कस्ता सतर्ककता अपनाउनुपर्ने रहेछ भन्ने ज्ञान प्राप्त हुन्छ । त्रुटि त्यो चाहे मानवीय कारणले भएको अथवा यन्त्रका कारण अथवा तथ्यपरक विश्लेषण हुन नसकेका कारण, त्रुटिको कारण थाहा नपाई सच्चिइँदैन । त्रुटि पुनः दोहोरिन्छ, दोहोरिन सक्छ । 

साथै अबको विश्वमा प्राविधिक उच्चता हासिल गर्न केवल उपकरण पर्याप्त हुँदैन, अनुसन्धानउन्मुख हुनैपर्छ । अन्यत्रबाट प्राप्त उपकरण र ती उपकरण सञ्चालन गर्न जान्दैमा पनि पुग्नेवाला छैन । यो कुरा केवल मौसमविज्ञानको क्षेत्रमा होइन, जीवनका यावत् क्षेत्रमा विश्वव्यापी रुपमै प्रविधिकै बोलवाला चल्ने भएको हुँदा, प्रविधि अनुसन्धानका क्षेत्रमा पछि परिरहियो भने किनेर रेल कुदाए पनि, पानीजहाज ल्याए पनि तिनको मर्मतसम्भार गर्न सकिने छैन ।
 
पहिलो औद्योगिक क्रान्ति अर्थात् वाष्प चालित यन्त्र युग नेपालले अत्तोपत्तो नै नपाई गुज्रियो, दोस्रो औद्योगिक क्रान्तिको पूर्वाधार विद्युत् थियो तर बीसौं शताब्दी र एक्काइसौंका करिब डेढ दशकसम्म बिना विद्युत् जडान र जडान भएपछि पनि लोडसेडिङमा बितायौं र तेस्रो कम्प्युटरका कारण आएको क्रान्तिमा पनि हामी साझेदार हुन सकेनौं, भएनौं । 

आज विश्व चौथो औद्योगिक क्रान्ति अर्थात् कृत्रिम बौद्धिकताको चरणमा प्रवेश गरेको छ । यसमा हामी कहाँ हुन्छौं ? कसरी हामीले श्रेष्ठता हासिल गर्ने ? कि हामी मौसमको पूर्वानुमानसमेत गर्न नसक्ने तर ल्यापटप प्रदर्शन गर्दै पेपरलेस मन्त्रिपरिषद्का गफमै सीमित रहन्छौं ? समृद्धि भौतिक साधन संसाधनका साथै बौद्धिक पनि हो । विश्वमा आइरहेको नवोन्मेषमा साझेदारी हो ।




प्रतिक्रिया