क्यानाडामा 'जगिङ' गर्न निस्केकी सेडेला अमेरिकामा समातिइन् 

Roman_Sedela.jpg

वासिङ्टन- १९ वर्षीया रोमन सेडेलालाई लागेको थियो, उनी क्यानाडामै ‘जगिङ’ गर्दैछिन् । तर, एकाएक अमेरिकी प्रहरीको फन्दामा परेपछि उनी झल्याँस्स भइन्। उनी त अमेरिका पो प्रवेश गरिसकेकी रहिछन्। 

कुरा त्यतिमै सकिएन। उनलाई दुई साता कैद गरियो, आप्रवासी हिरासतमा । फ्रान्सेली नागरिक उनी आमालाई भेट्न क्यानाडाको ब्रिटिस कोलम्बिया पुगेकी थिइन्। 

२१ मे साँझपख अमेरिका र क्यानाडा सीमाको समुद्री इलाकामा उनी जगिङमा निस्किइन्। तर, झुक्किएर अमेरिकी भूमिमा पुगिन् । प्रहरीले समातेर उनलाई सीमा क्षेत्रबाट दुई सय २० किलोमिटर टाढा टकोमा नर्थवेस्टस्थित आप्रवासीहरूलाई राख्ने हिरासतमा थुन्यो। 

सेडेलाका अनुसार उनले सीमा क्षेत्रमा कुनै साइन बोर्ड देखिनन्। ‘म केही भित्र मात्र गएकी थिएँ र फर्किंदा समुद्रको लहरको फोटो पनि खिचें। त्यसबीचमा प्रहरीले मलाई अवैध रूपमा वासिङ्टनको ब्लेन इलाकामा प्रवेश गरेको आरोपमा समात्यो,’ क्यानाडा फर्किएपछि उनले सञ्चारकर्मीहरूसँग भनिन्। 

सेडेलाको अनुमान थियो, जानीबुझी सीमा पार नगरेका कारण उनलाई चेतावनी वा जरिवाना मात्र गराएर फर्काइन्छ । तर, सामान्य गल्तीमा उनले जेल सजायँ नै भोग्नुपर्‍यो। 

क्यानाडाको सञ्चारमाध्यम सीबीसीका अनुसार सेडेलालाई गहना उतार्न लगाई शरीरको तलासी पनि लिएको थियो, अमेरिकी प्रहरीले। र, त्यस्तो कोठामा कैद गरियो, जहाँ सय मानिस र कुकुरहरूलाई पनि राखिएको थियो। 

थुनिएको कोठामा अफ्रिकी मुललगायत देशका नागरिक थिए। उनीहरू पनि सेडेलाजस्तै सीमा पार गरेको आरोपमा पक्राउ परेका थिए। 

सेडेलाले आमा क्रिस्टियन फर्नेसँग फोन सम्पर्क गर्न पाइन्। उनको पासपोर्ट र वर्क पर्मिट लिएर आमा बन्दीगृहमा पुगिन्। तर, अमेरिकी अधिकारी क्यानाडाको अध्यागमन अधिकारीको मन्जुरीबिना उनलाई फर्काउन तयार भएनन्। 

अन्त्यमा दुवै देशको मन्जुरीमा १५ दिनपछि सेडेलालाई क्यानाडा फर्काइयो। तर, घटनाबारे सीमास्थित दुवै देशका अधिकारीहरूले केही बोल्न चाहेनन्। 

अमेरिकाको सीमा सुरक्षा प्रवक्ताका अनुसार कुनै व्यक्ति आधिकारिकबाहेक अन्य बाटो प्रयोग गरी प्रवेश गर्न पाउँदैनन्। कसैले अन्य बाटो प्रयोग गरेको भेटिए अमेरिकी कानुनको उल्लंघन गरेको मानिन्छ र जेल सजायँ हुन्छ। -बीबीसी
 



प्रतिक्रिया