युद्धमा बाबु गुमाएका युवकको विप्लवलाई खुलापत्र : छाड्नुस् बम पड्काउने बाटो

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/2019, March/biplop.jpg

कमरेड विप्लव,
जनताको सत्ता स्थापित गर्छु भनी तपाईं फेरि हिंसात्मक विद्रोहमा प्रवेश गर्नुभएको छ।चालू राजनीतिक कोर्सले दलाल, भ्रष्ट, कमिसन खोर आदिको पक्षपोषण मात्र गर्ने भएकाले समाजवाद स्थापना गर्न विद्रोहमा जाने तपाईंको निर्णयले नेपाली समाज तरंगित भएको छ। सत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्ने परम्परागत मान्यतालाई आत्मसात गरी गरिने यस्ता विद्रोह जनताका लागि जनता स्वयं आफैंले हतियार उठाउने भन्ने मान्यतामा टेकेर गरिने विद्रोह हो। 

दस वर्षसम्म हिंसात्मक विद्रोह गरेको तपाईं पुराना अनुभवहरूको समेत जगमा यो निर्णयमा पुगिरहँदा यसका सफलता असफलता इतिहासले दिएको शिक्षा, वर्तमानको ठोस स्थिति र भविष्यको सम्भावनाबारे पक्कै केही निष्कर्षसहित विद्रोहमा जान लाग्नुभएको हुनुपर्छ। तसर्थ द्वन्द्वको भुँग्रोमा प्रवेश गर्नुपूर्व हिजो, आज र भोलिको समग्र समीक्षा गर्न म हार्दिक आग्रह गर्दछु।

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा दस वर्षसम्म लडिएको हिंसात्मक विद्रोहले नेपाली समाजमा शासकीय र संरचनागत परिवर्तन अवश्य ल्यायो। लडाकु समायोजन र नयाँ संविधान संविधानसभाले जारी गर्यो जो कमरेडहरूकै माग थियो। देश संघीयतामा गयो। प्रदेश-प्रदेशमा स्थानीय सरकार गठन भए। काठमाडौंको अधिकार गाउँगाउँमा गयो। जातीय, क्षेत्रीय, लैंगिक मतभेद र अन्तर्विरोधहरू कमरेडहरूकै योजनाअनुसार हल हुँदै गए। 

तपाईंले अगाडि सारेको नेतृत्व पुष्पकमल दाहाल र बाबुराम भट्टराई प्रधानमन्त्री पनि हुनुभयो। मन्त्री र सांसदको भो कुरा नगरौं। राजनीतिक लाभका पदमा पछिल्लो १३-१४ वर्ष तपाईंहरूकै साथीसंगी आकर्षण बढ्दो छ जो हिजोसँगै 'जनयुद्ध' मा थिए। झन्डै झन्डै खोजेका सबै चिजहरू सत्ता र शक्तिको वरिपरि प्राप्त भइसक्दा पनि कमरेडहरूको हिंसामोह कतै अब विनाशतर्फको यात्रा पो हो कि भन्ने चिन्ताले घर गरेर मैले कमरेडलाई यो पत्र लेखेको हुँ।

प्रचण्ड नेतृत्वमा माओवादी शान्ति प्रकृयाको मूलधारमा आइसकेपछि हरेक समीकरण र मोर्चाहरूमा कमरेडहरू नै सत्तासीन हुनुहुन्छ। आन्तरिक असन्तुष्टिको व्यवस्थापन गर्न नसक्दा पटकपटक कमरेड किरण, बादल र मातृकालगायत घर छोडेर बाहिरिनुभएको देखिएकै हो। प्रचण्डले आन्दोलनलाई धोका दिएकाले माओवादी पुनर्गठन गर्ने भनी तपाईं कमरेड किरण र बादलसँगै पेरिसडाँडा छाड्नुभएको हो। ठूलो घरमा रहँदा सबैको राम्रो र उचित हेरचाह, स्याहारसुसार हुन सक्दैन र लाखापाखा लाग्छन् भन्ने उदाहरण तपाईंकै पार्टीका कतिपय कमरेडहरूले पार्टी छाडेर देखाइसकेका छन्श्र

विगतप्रति असन्तुष्टि जाहेर गर्दै साधु बन्ने लाइनमा डा.बाबुराम भट्टराई पुग्नु र रत्नपार्कको शान्ति वाटिकामा उभिएर प्रचण्डलाई लाल गद्दार घोषणा गरी घनले ब्यालेड बक्स फुटाएका बादल सरकारको गृहमन्त्री बन्ने ठाउँमा आइपुग्नुले तपाईंलाई नयाँ विकल्प खोज्नको लागि संकेत गर्दछ। पुरानै कोर्सले केही थान हत्या, यातना, बेपत्ता अंगभंग, विस्थापित, राष्ट्रिय सम्पत्तिको क्षति र केही थान मन्त्रीसहित तिनीहरूको बेहालबाहेक अरू चिज हात नलाग्ला कि भनी मैले कमरेडलाई यो पत्र लेखेको हुँ।

आजको परिस्थिति भनेको शान्ति प्रकृयाअन्तर्गत तीन काम १) लडाकु समायोजन २) संविधानसभामार्फत नयाँ संविधान निर्माण ३) द्वन्द्वकालका पीडितहरूलाई न्याय, परिपुरण र राहतमध्ये पहिलो र दोस्रो पूरा भइसकेको र तेस्रो र अन्तिम काम बाँकी रहेको अवस्था हो। लडाकु समायोजनको मोडलप्रति स्वयं लडाकुहरूले नै असन्तुष्टि जाहेर गरेका छन्। जसको फाइदा तपाईंलाई नै भएको छ। अर्को संविधानसभामार्फत जारी संविधानजति उत्कृष्ट भनिए तापनि जारी भएकै मितिदेखि यसलाई च्यात्ने र जलाउने काम भएको छ। संविधानमा आफ्ना माग र मुद्दा नसमेटिएको भनी आन्दोलनरतहरूको संख्या अहिले पनि बहुमत छ। 
 
मान्छे मार्नु मानवताविरोधी काम हो। ढिलोछिटो यो काम गर्ने सबै सजायका भागीदार बन्दछन्। तसर्थ द्वन्द्व र हिंसाको बाटो छाडी शान्ति, विकास र देश निर्माणको महाअभियानमा अग्रसर हुनुपर्छ। 

द्वन्द्वकालका पीडितको न्यायको प्रकृया अहिलेसम्म अगाडि बढ्न नसकेको कारण पीडितहरू आफ्ना प्रिय आफन्तहरूको अज्ञात स्थिति, हत्याको चोट, यातना, अंगभंग, बलात्कार आदिको पीडा लिएर सडकमा भौतारिरहेका छन्। तिनीहरूलाई कानुनी र सामाजिक न्याय दुवै आवश्यक छ। देशमा समृद्धिको यत्रो नारा अलापेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि तिनको जीवनमा सकारात्मक प्रभाव नपार्नुले सिंगो सहिद, बेपत्ता, घाइते, अपांग परिवार निराश छन् । तपाईंले यतिखेर हिंसात्मक होइन सकारात्मक कदम चाल्ने अपेक्षा गरेर मैले कमरेडलाई यो पत्र लेख्दै छु। 

५०  लाख मतदाताले मतदान गरेर दुई तिहाइ मत प्राप्त गरी सत्तामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली दिनानुदिन असफलताको ओरालो सूचीमा सूचीकृत भइरहेका छन्। भ्रष्टाचार नियन्त्रणमा असफलता, ३३ किलो सुन प्रकरण, सिन्डिकेट अन्त्य, निर्मला पन्त प्रकरण जहाँको तहीं छन्। राष्ट्रिय गौरवका आयोजनाको प्रगति विवरण निराशाजनक छ। बजेटले लक्षित गरेको पुँजीगत खर्च हुन सकेको छैन। सरकारी संयन्त्रको कार्यशैलीप्रति जनअसन्तुष्टि चुलिँदो छ। 

शान्तिसुरक्षाको स्थिति बिग्रिदै गइरहेको छ। आर्थिक क्षेत्र र उत्पादनका क्षेत्रहरूको सुचांक निराशाजनक छ। स्वदेशमा रोजगारी सिर्जना हुन नसकेर बिदेसिनेको संख्या उत्तिकै छ। सरकारका हरेक कामकारबाहीमा हामी आशाका किरणहरू खोजीरहेका छौं। फेला पार्न कठिन भइरहेको छ। यस्तो विषम परिस्थितिमा सरकार स्वयमले २०७५।११।२८ गते तपाईंलाई प्रतिबन्ध लगाई देशलाई द्वन्द्वमा धकेल्ने प्रयास गरेको छ। 

एउटा सचेत देशभक्त हुनुको नाताले तपाईंले विगतबाट पाठ सिकी गरिब, किसान, मजदुर, शिक्षक, तल्लो स्तरका निजामती कर्मचारीलगायत निम्न स्तरका जनताको जीवनलाई दाउमा राख्ने र हानी पुर्‍याउने काम गर्नु हुन्न भन्ने मैले अपेक्षा राखेको छु। अबको आन्दोलनको निसानामा माथिल्लो तहका भ्रष्ट राजनीतिज्ञ, खराब सरकारी हाकिम, सरकारी राजस्व छल्ने व्यापारीहरू र जनता मार्न आदेश दिने सुरक्षा प्रमुखहरूमा केन्द्रित गर्नुस् भन्ने सल्लाह दिँदै मैले तपाईंलाई पत्र लेखेको हुँ।

अबको तपाईंको यात्रामा प्रमुख दुस्मन पहिचान गरी आक्रमण गर्ने भन्ने अवश्य हुनेछ। हिजोको जस्तै कांग्रेस र ओली-दाहालको नेकपाका कार्यकर्ताहरू प्रमुख निसानामा पर्न सक्छन् । खराब भए पनि चन्दा दिने बाँच्न सक्छन् र असल तर चन्दा दिन नसक्नेहरू सुराकीको बिल्ला पाउन सक्छन्। विगतमा भएको त्यहीँ छ। भ्रष्ट, दलाल, कमिसन खोर र देश विखण्डनकारीहरू तपाईंको निसानामा हुनुपर्दछ न कि निर्दोशहरू। 

अबको तपाईंको यात्रा जमिन बाँझो राख्नेलाई कारबाही गर्ने, उद्योग बन्द गर्ने, ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने, अत्यावश्यक सेवामा हडताल गर्ने आदिलाई कारबाही गर्ने हुनुपर्दछ। जजसले लिएको जिम्मेवारी पूरा गर्दैनन् तिनीहरूलाई आवश्यक कारबाही गरिनुपर्दछ। युद्धको सामान्य नियम कानुनको परिधिभित्रै रहेर सबै काम गर्न मैले तपाईंलाई यो पत्र लेखेको हुँ।

आज देशका विभिन्न भागमा विभिन्न प्रकारका विभेद र असन्तुष्टिका स्वरहरू चर्को रूपमा सुनिरहेका छन्। खासगरी तराई मधेसमा अलि बढी र अलि फरक ढंगका असन्तुष्टि देखा परेका छन। संघीयताका नाउँमा सुरु भएको मधेस आन्दोलनभित्र सिके राउत जस्तोले स्वतन्त्र मधेस माग्ने आजको ठाउँसम्म आइपुग्नु पक्कै सुखद होइन।

भलै सरकारले भविष्यमा स्वतन्त्र मधेसको नारा फेरि लाग्न सक्ने ठाउँ राखी सिके राउतसँग सहमति गरेको छ। एक मधेस प्रदेश र स्वतन्त्र मधेस नेपालको राष्ट्रिय चरित्र सुहाउने विषय होइनन। तसर्थ तपाईंले चाल्ने हरेक कदमले विखण्डनकारीहरूलाई निषेध र राष्ट्रभक्तिको भावनाको जागृति गरोस् भन्ने मेरो चाहना छ। तपाईंको अभियानले त्यस्ता संवेदनशील विषयमा द्वन्द्व बढाउने र हिंसा फैलाउने काम नगरोस भनेर नै मैले यो पत्र लेखेको हुँ।
 
नेपाललाई हरहिसाबले प्रभाव पार्ने अर्को पक्ष भनेको अन्तर्राष्ट्रिय शक्तिहरू खासगरी मित्र राष्ट्रहरू, संयुक्त राष्ट्र संघ, दातृ निकायहरू आदि हुन्। यी सबैका आआफ्नै स्वार्थ छन्। तर साझा रूपमा यिनीहरू हिंसा र द्वन्द्वविरोधी हुन्। यिनको भूमिकाले कहिलेकाही हिंसा र द्वन्द्व बढ्न पनि सक्छ तर त्यसमा प्रमुख भूमिका घरेलु शक्तिहरूको नै हुन्छ। हामीले हिजो द्वन्द्व कालको तितो अनुभव संगालिसकेका छौं। द्वन्द्वको बहानामा को कसरी नेपाल पसे र आजसम्म कस्तो भूमिका निर्वाह गरिरहेका छन् तपाईं स्वयं जानकार हुनुहुन्छ। 

द्वन्द्वमा सामेल पक्षहरूलाई भिसा नदिने, दिए अन्तर्राष्ट्रिय क्षेत्राधिकार लागू गरी नियन्त्रणमा लिने, आतंककारी घोषित हुने आदि कर्महरू स्वयं तपाईंले भोग्नु भएकै छ। द्वन्द्व व्यवस्थापनमा अहिलेको अन्तर्राष्ट्रिय चासो तपाईंले बुझ्नुभएकै छ।तसर्थ अन्तर्राष्ट्रिय साथ सहयोगको परिवेश र परिस्थिति विद्रोहका लागि उपयुक्त छैन भन्ने यहाँलाई जानकारी नै होला भनी यो पत्रमार्फत अवगत गराउन चाहन्छु।

अन्तमा देश चाहेर नचाहेर द्वन्द्वमा धकेलिएको मैले महसुस गरेको छु। यस्तो बेला सर्वसाधारणको जिउधनको सुरक्षा, राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्नु सबैको दायित्व हो। द्वन्द्वले शान्ति, विकास र समृद्धिको सपनालाई मार्छ। भएकै संरचनालाई समृद्ध बनाउँदै खुला लोकतान्त्रिक विधिबाट प्रतिस्पर्धा गरी राष्ट्र निर्माणमा सबै पक्ष अग्रसर हुनुपर्दछ। जसका लागि वार्ता र संवादको ढोका सधैं खुल्ला राखिनुपदर्छ। 

सरकारका तर्फबाट पनि अनावश्यक बल प्रयोग गरिनु हुँदैन। अर्को कुमार लामा बन्न अरू कुनै सुरक्षा निकायका व्यक्तिहरू तयार हुन हुँदैन। मान्छे मार्नु मानवताविरोधी काम हो। ढिलोछिटो यो काम गर्ने सबै सजायका भागीदार बन्दछन्। तसर्थ द्वन्द्व र हिंसाको बाटो छाडी शान्ति, विकास र देश निर्माणको महाअभियानमा अग्रसर हुन म यो पत्रमार्फत कामरेड विप्लवलाई खुला अपिल गर्दछु।

उही तपाईंको भलो चिताउने 
फडिन्द्र लुइँटेल, महासचिव, द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल




प्रतिक्रिया