राजधानीमा पुष्प मेला: पहिलाे दिन १६ लाखकाे काराेबार

/assets/plugins/bower_components/fileman/Uploads/flora_expo.jpg

काठमाडौं- राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि २२ औं फ्लोरा एक्सपो शुरु भएको छ। प्रदेश नम्बर-३ अन्तर्गतको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि ज्ञान केन्द्र ललितपुरको सहकार्यमा  फ्लोरिकल्चर एसोशिएसन नेपाल (फ्यान)ले एक्स्पोको योजना गरेको हो।

एसोशिएसनको कार्यक्रम संयोजक जंगबहादुर तामाङले शुरुवात दिनमै अवलोकनकर्ता र ग्राहकहरु उत्साहित देखिएको बताए। ‘कारोबार त्यति नभएपनि एक्स्पोमा व्यवसायी, ग्राहक र अवलोकनकर्ताको उत्साह देखिएको छ,’ उनले भने ‘पहिलो दिन करिब १६ लाख रूपैयाँको कारोबार तथा १३ हजार जनाले एक्स्पोको अवलोकन गरेका छन्।’

एक्स्पोको उदघाट्न संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका राज्यमन्त्री रामकुमारी चौधरीले गरेकी छिन्। एक्सपोको उदघाट्न गर्दै राज्यमन्त्री चौधरीले स्वदेशी पुष्प खेती र व्यवसायले हजारौं सर्वसाधारणलाई रोजगारीको अवसर प्रदान गरेको बताइन्। साथै उनले धेरै हदसम्म गरिबी निबारणमा पनि उल्लेखनीय भूमिका खेलेको बताइन्।

‘अब पुष्प क्षेत्रले केही बिशेष अवसरमा आयात हुने पुष्पको दर पूर्ण रुपमा विस्थापित गरेर निर्यात गर्नुपर्छ,’ उनले भनिन् ‘यसका लागि राज्यले सकेसम्मको सहयोग उपलब्ध गराउन तयार छ।’ पुष्प उत्पादन गरेर बिक्री गर्नुका साथै पुष्पको औधोगिकीकरण गरी वैकल्पिक उत्पादन रंग, मेकअपका सामग्री  तथा आयुर्वेदमा आधारित औषधी लगायतको रुपमा व्यवसायीकरण गर्नुपर्ने आवश्यकता औल्याइन्।

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डा. युवकध्वज जिसीले पुष्प क्षेत्रलाई अहिले प्रादेशिक सरकारअन्तर्गत राखिएको जानकारी दिए। मुलुक संघीय प्रणालीमा गएपछि कृषिका विभिन्न क्षेत्रमा अहिले उत्पादन बृद्धिका लागि सुक्षम रुपमा काम गर्न लागिएको उनले बताए। ‘मुलुकमा नेपालबाट निर्यात हुने पुष्पमा लाग्ने विभिन्न प्रकारका करसूचीबाट हटाउन अर्थ मन्त्रालयलाई सिफारिश गरेका छौं,’ उनले भने ‘मौलिक जातको नेपाली पुष्पको जगेर्ना गर्नु जरुरी छ। साथै पुष्पमा मुलुकलाई आत्मनिर्भर बनाउन टिस्सु कल्चर र आधुनिक प्रविधिलाई परिचालन गर्नुपर्दछ।’

उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालमा वार्षिक दुई सय करोड रुपैयाँको पुष्पको कारोबार हुने गरेको जानकारी गराए। उनकाअनसार भ्यालेन्टाइन डे, तिहार र जाडो याममा हुने पुष्पको आयात दरलाई विस्थापन गर्न जग्गा, प्रविधि, बीउ र भण्डारणको अभाव रहेको बताए। ‘खेर गइरहेको र बाँझो अवस्थामा रहेका २५ सयदेखि ३५ सय उचाईको जग्गा सहुलियत दरमा भाडामा राज्यले उपलब्ध गराउन सके यो क्षेत्रले वार्षिक १० अर्बभन्दा बढी मूल्यको कारोबार गर्न सक्दछ,’ उनले भने ‘पुष्प व्यवसायी तथा किसानलाई कम्तिमा १० हजार रोपनी जग्गा उपलब्ध गराउनुपर्ने देखिन्छ।’

फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले कृषिजन्य बस्तुको प्रदर्शनी गर्न प्रदर्शनी गृहको चर्को अभाव रहेको समस्या राखे।

तीन दिने एक्स्पो अबधिमा करिब ५० हजार अवलोकनकर्ताद्वारा अवलोकन गर्ने तथा ६० लाख रुपैयाँ बराबरको व्यवसायीक कारोबार हुने अयोजकले अपेक्षा गरेको छ। गत बर्ष भएको ४ दिने २१ औं फ्लोरा एक्स्पोमा ६५ हजार अवलोकन कर्ताहरुले मेला अवलोकन भएको तथा ७५ लाखको व्यवसायीक कारोबार भएको थियो। एसाेशिएसनले २०५१ सालबाट नै पुष्प प्रदर्शनी तथा व्यापार मेला सञ्चालन गर्दै आइरहेको जनाएको छ।

एक्सपोको अवसरमा फ्यानले कृषि क्षेत्रसँग सम्बन्धित पुष्प तथा पुष्पजन्य व्यवसायबारेमा छापा सञ्चार माध्यमबाट समाचार सम्प्रेषण गरी उल्लेखनीय योगदान पुर्याएको भन्दै अन्नपूर्ण पोष्टका पत्रकार राजेश बर्मालाई समेत सम्मान पत्र प्रदान गरेको छ।

वार्षिक सवा दुई अर्बको कारोबार

नेपाली पुष्प व्यवसाय आब २०७३/७४ सम्ममा ४३ जिल्लामा लगभग ६९७ पुष्प व्यवसाय बिस्तार भइसकेको थियो। करिव १५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको र ४३ हजार ५ सयभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराइ रहेको एसोशिएसनको भनाइ छ। आव ०७४/७५ सम्म आइपुग्दा दुई अर्व २५ करोड २४ लाख रुपैयाँ बढीको कारोबार हुने गरेको छ।

त्यस्तै आव ०७४/७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ भने  दुई करोड ३७ लाख  रुपैयाँ बराबरको निर्यात भएको छ। समग्रमा पुष्प व्यवसाय बार्षिक १० देखि १५ प्रतिशत बार्षिक बृद्धि भइरहेको छ।




प्रतिक्रिया