कला संस्कृतिमाथि राजनीतिक हस्तक्षेप : अध्यक्ष थापा

/assets/plugins/bower_components/fileman/Uploads/Images/tirtha_thapa.jpg

नेपाल सांस्कृतिक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो। २०७३ माघ २८ गते कांठमाडौंमा भएको महाधिवेशनबाट संघको अध्यक्षमा सर्वसहमत रुपमा तीर्थ थापा निर्वाचित भएका थिए। अधिवेशन भएको दुई वर्ष बितिसक्दासमेत सांस्कृतिक संघको कार्यसमितिले पूर्णता पाउन सकेको छैन। पूर्णता नपाउनु आन्तरिक राजनीतिक खिचातानी नै प्रमुख कारण हो। संघले पूर्णता पाउन नसक्नुलगायतका विषयमा थापासँग नेपाल समयले गरेको संवाद :

नेपाल सांस्कृतिक संघ केमा व्यस्त छ?

नेपाल सांस्कृतिक संघ मस्त निद्रामा सुतिरहेको छ।

किन?

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी पर्‍यो। जसले जे बोलिदिए पनि भयो। यहाँ निर्देशन पालना गरिदिनुपर्छ। नेपाली कांग्रेस आफैँ ध्वस्त भइरहेको छ। पर्टीभित्र दास र मालिकको व्यवहार हाबी भइरहेको छ। नेताजति सबै मालिक, कार्यकर्ताजति सबै दास भन्ने खालको ब्यवहार पार्टीमा भइरहेको छ। त्यसको मारमा सांस्कृतिक संघ छ। सांस्कृतिक क्षेत्र भनेको यस्तो क्षेत्र हो कि जसले सबै कुुरा परिवर्तन गर्न सक्छ। समाजको विचार परिवर्तन गर्न सक्छ। विकासका लागि मान्छेहरुलाई उत्साहित बनाउन सक्छ। मान्छेलाई विश्वास दिलाउन सक्छ। यस्तो मजबुद पक्षलाई पार्टीले बेवास्ता गरिरहेको छ। नेपाल सांस्कृतिक संघको नयाँ नेतृत्व आएको दुई वर्ष भयो। दुई वर्षसम्म पाँचजनाले संगठन चलाइरहेका छौं। संगठनले पूर्णता पाउन सकेको छैन। नेताहरुका विभिन्न स्वार्थका कारण संघठनले पूर्णता पाउन नसकेको हो।

सांस्कृतिक संघले दुई वर्षसम्म पनि किन पाउन सकेन पूर्णता?

आदेशको प्रतीक्षा हो। लोकतान्त्रिक पार्टीमा आदेशको प्रतीक्षा? यसबाहेक अरु कुनै उपाय छैन। यहाँ नेताको वरिपरि बढी घुम्ने असली कार्यकर्ता ठहरिन्छ। जो फिल्डमा गएर काम गर्छ त्यो कहिले पनि असली कार्यकर्ता बन्न सक्दैन। यसले गर्दा काम गर्न गाह्रो भएको छ। हामीजस्ता काम गर्ने, केही गर्ने योजना भएका मान्छे निराश छौं।

दुई वर्षसम्म पार्टीले पत्याउने खालका केही काम तपाईंहरुले पनि त गर्न सक्नु भएन?

दुई वर्षसम्म काम त भयो। स्थानीय चुनावमा पार्टीलाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरियो। प्रदेश चुनावमा पनि हामीले महत्त्वपूर्ण भूमिका खेल्यौं। त्यसले प्रभाव पनि पा¥यो। त्यो भन्दैमा गर्दा हामीले जसरी प्रभाव पार्न सक्थ्यौं । त्यो प्रभाव हामीले पार्न सकेनौं। सांस्कृतिक क्षेत्रलाई पार्टीको कुनै पनि निकायले विश्वास गरेन। विश्वास नगरेपछि सही रुपमा यो परिचालन हुन सकेन।

एउटा पशुपति शर्माको गीतले सरकार हल्लाइदियो। सांगीतिक क्षेत्र कति महत्त्वपूर्ण रै’छ? पार्टीले यो कुरालाई बुझ्नुपर्छ कि पर्दैन? एउटा लेखले परिवर्तन गर्न सक्छ। बीपीले लेखेका लेखबाट मान्छेहरु परिवर्तन भएका हुन् कि होइनन्? जेल जाँदैमा, लाठी खाँदैमा, ढुंगा हान्दैमा राजनीतिक परिवर्तन भएको हो र? परिवर्तन त संकृति र संस्कारले गराएको हो नि। विचार परिवर्तन गर्न सक्ने शक्ति कलामा हुन्छ। परिवर्तनका लागि गीत, संगीत, कला, साहित्यको पनि महत्त्वपूर्ण भूमिका छ। यो कुरा बुझ्न नसक्नु पार्टीको ठूलो कमजोरी हो । यसलाई बुझाउन हामीले पनि नसकेको होला। हामी पनि चाकडीमा तल्लीन भएर सत्य कुरालाई भन्न नसकेर अलमलिएका हाँैला। तर, नेता दूरदर्शी हुन सक्नुपथ्र्यो। यसलाई पनि सम्हाल्न सक्नुपथ्र्यो।

चाकडीले कलासंगीत कसरी माथि उठ्न सक्ला?

कल्चर भनेको गीत, संगीत, नाच्ने, गाउने मात्रै होइन। संकृति भनेको देशको भेषभूषा हो। परम्परा हो। रीतिरिवाज हो, धर्म हो, साहित्य हो, कविता हो, चित्रकला हो, मूर्तिकला हो, संगसँगै संगीत हो, नाटक हो, सबै हो। तर संगीतले समाजमा ब्याप्त कुरालाई सहज रुपमा बुझाउन सक्छ। आजभोलि पढ्ने कुरामा गाह्रो हो। पत्रिका पढ्ने र सुन्न कुरामा फरक छ नि। सुन्ने कुराले पढ्ने कुराभन्दा प्रभावकारिता प्रस्तुत गर्न सक्छ। मैले पत्रिका पढ्दा आधा घन्टा लगाएर पढ्नुपर्‍यो। एउटा गीतले पाँच मिनेटमा सबै भाव बताइदिन्छ। एउटा सिनेमामार्फत अढाई घन्टामा सारा जीवन प्रस्तुत गर्न सकिन्छ। त्यसैले भिडियो र अडियो धेरै प्रभावकारी हो। यो माध्यमलाई जसले अंगीकार गर्छ, जसले विश्वास गर्छ। त्यहाँ परिवर्तन हुन्छ। विकास हुन्छ। जहाँ यसको महत्त्व नै थाहा हुँदैन। त्यहाँ विकास पनि हुँदैन।

तपाईंले नेतारुलाई बुझाउन नसकेकै कारण पनि यो स्थिति आएको हुनसक्ने बताउनुभयो। तपाईंहरुलाई कुन कुरा बुझाउन सकेनौं जस्तो लागेको छ?

नेता भिजनसहितको हुनपर्‍यो। त्यो भिजनभित्र सबै पक्ष अटाउन सक्नुपर्‍यो। मैले त डेमोक्रेसीका लागि जीवन यसैमा बिताएको हुँ। यसैमा लड्ने हो। यसबाट धेरै आशा पनि छैन।

जिम्मेवारी पाएका साथीहरुले किन कार्यसमितिलाई पूर्णता दिन नसकेका होलान्?

चुनाव गराउनु पर्दैनथ्यो सांस्कृतिक संघको? चुनाव गराउँदा क्लियर मान्छे आउँथ्यो। जो कमजोर छ उसलाई अर्को संस्था खोलिदिन पर्‍यो। यति चुनाव गर्‍यो भने अर्को संस्था खुल्छ भनेर चुनाव नै हुन दिएन। रोकिनुको कारण ममाथि चाकडी गरेन भन्ने आरोप लागेको छ। म किन चाकडी गर्न जाने? कसैले केही कुरा सुनाएकै भरमा नेता त्यसकै पछि लाग्छ भने हामीले पनि त्यसैको पछि लागिराख्नुपर्छ भन्ने छैन। नेतामा मूल्याङ्कन गर्न सक्ने क्षमता हुनुपर्‍यो नि।

यो त पार्टीको कुरा भयो? विभिन्न प्रतिष्ठानहरुमा पनि त तपाईं डेमोक्रेट स्रष्टाहरुको उपस्थिति कमजोर देखिएको छ नि? यसमा त तपाईंहरुकै कमजोरी छ नि हैन?

पार्टीकै नेताहरुले यस्तो उपेक्षा गरिरहेको सन्दर्भमा हाम्रो भन्ने ठाउँ कहाँ छ? हामी सांसद हुन पाएका छैनौं। हामी कांग्रेस केन्द्रीय समितिमा छैनौं। गुनासो गर्ने त सञ्चारमाध्य नै हो । त्यस कारणले पनि हामीले आफ्नो कुरा राख्नै सकेनौं। प्रज्ञा प्रतिष्ठानलगायतका राज्यले ब्यवस्था गरेका ठाउँमा तपाईंहरुको उपस्थिति किन भएन भन्ने तयार्इंको जुन जिज्ञासा छ,  त्यसमा के छ भने अहिले तेस्रो पटक नियुक्ति भयो यस्ता संस्थामा। पहिलोपटक गिरिजावाबु हुनुहुन्थ्यो । उहाँले मलाई ‘तिमीले हेर है। तीन प्रतिष्ठान गठन हुँदैछ। ती प्रतिष्ठानमा कोको मान्छे उपयुक्त हुन्छन्’ भन्नुभएको थियो। पहिलोपटक नियुक्त हुँदा केही ब्यालेन्स बनाउने कोसिस गर्‍यौँ। दोस्रो पटक सुशील दाइ नै प्रधानमन्त्री हुनुहुन्थ्यो। मैले त्यहाँ इन्ट्रिनै पाइनँ। कांग्रेसको यस्तो मान्छे ल्याइयो कि जो न डेमोक्रेसीको कुरा सुन्ने चाहन्थ्यो न कामै गर्न सक्थ्यो । त्यो भन्दा विडम्बना के हुन सक्छ। दोस्रो प्राज्ञिक नियुक्तिमा तहसनहस बनाइदियो। अहिले त दुई तिहाइको सरकार छ। यस्तो अवस्थामा टेर्छ हामीलाई? प्रतिनिधित्व नभएको समूहलाई कसैले पनि साथ दिँदैन।

यस्तो अवस्थामा आफ्नो पार्टी नेतृत्वलाई के भन्न चाहनु हुन्छ?

नेतृत्व दूरदर्शी छैन। यो त सांस्कृतिक क्षेत्रको अपमान हो। सांस्कृतिक क्षेत्रको अपमान गरिसकेपछि पार्टीलाई पनि घाटा हुन्छ। हामीहरुलाई स्थान दिएको भए, समेटेको भए, पहिचान दिएको भए, यसलाई स्थान दिएको भए नेपाली कांग्रेसको अवस्था निकै माथि उठ्नेमा दुई मत छैन। कुनै नेताले संघलाई भन्नुको साटो एक ब्यक्तिलाई मेरो गीत बनाइदे न भन्यो। कम्युनिस्ट नै भए पनि उसलाई मतलब भएन। अधिकांश नेपाली कांग्रेसका नेताहरुले विपक्षी दलका कलाकारलाई काम दिएका छन्।

तपाईंको कार्यसमितिलाई पूर्णता गर्न नसकेरै दुई वर्ष बित्यो । यहाँहरुका केही योजना पनि थिए होलान् हैन?

हो हाम्रा केही महत्त्वपूर्ण योजना थिए। सातै प्रदेशमा जाने। सांगीतिक जागरण ल्याउने। जनतालाई नेपाली कांग्रेसले भनेका कार्यक्रमबारे गीतसंगीतका माध्यमबाट जानकारी दिने। कांग्रेसको योजना यो हो। अहिले कम्युनिस्ट सरकारका थुप्रै गलत कदम छन्। हामी सांगीतिक माध्यमबाट भन्डाफोर गर्न चाहन्थ्यौं। हामी पार्टीको आवाज बन्न चाहन्थ्यौँ। तर हामीलाई अवसर नै दिइँदैन।

यस्तो अवस्थामा के भन्न चाहनुहुन्छ?

म त ६० वर्ष पुगिसकेको छु। दया माया दिएर एउटा सांसद बनाइदेलान्। अब त्यसको कुनै अर्थ छैन। सांस्कृतिक क्षेत्रको सबै ठाउँबाट सम्मान हुनुपर्‍यो। यो क्षेत्रमा सुरक्षा हुनुपर्‍यो र यो क्षेत्रको पहिचान हुनुपर्‍यो। सबै ठाउँमा यसको प्रतिनिधित्व हुनुपर्‍यो। सांस्कृतिक सघंले डेमोक्रेसीको बारेमा बोल्न सक्ने वातावरण होस्।



प्रतिक्रिया