धुर्मुस–सुन्तलीलाई खुलापत्र : छाड्नुस् रंगशालाको चक्कर 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/kusam_bhattrai.jpg

धुर्मुसजी, सुन्तलीजी, फागुपूर्णिमाको अग्रिम शुभकामना !

म तपाईंहरूको ‘डाइहार्ट फ्यान’ हुँ। कलाकार सन्तोष पन्त र हरिवंश आचार्यपछि धेरै चरित्रको जीवन्त अभिनय गर्ने नेपाली कलाकार तपाईंहरू नै हो। तपाईंहरूको कलाकौशल, देशभक्ति र मिलनसार स्वभावलाई म सलाम गर्छु। आजसम्म तपाईंहरूसँग मेरो खासै चिनजानसमेत भएको छैन। हो, एक पटक रिपोर्टर्स क्लबको कार्यक्रममा सायद जितु नेपालले सामान्य परिचय गराइदिएको सम्झन्छु, तर त्यसपछि हाम्रो प्रत्यक्ष सम्पर्क हुन पाएन।

अब मुल कुरामा प्रवेश गरौं है ! 
कट्टेल दम्पतीलाई पक्कै हेक्का होला, २०५२ सालदेखि २०६२ सालसम्म यो देशमा माओवादीका नाममा एकथरीले जनताको रगतको होली खेलेका थिए। ती दस वर्षसम्म नेपाली जनताले उत्साहले अबिर र रङको होली खेल्नै पाएनन् । भेरीमा रगत मिसियो, कर्णालीमा रगत मिसियो। नारायणी र कोसीमा रगत मिसियो। सारा देश रक्तरन्जित भयो र यसबीचमा सत्र हजार नेपालीको ज्यान गयो। तैपनि, हामीले सह्यौं, किनकि त्यो बगेको रगतमा हामीले समृद्धिको सपना देखेका थियौं।

२०६२ सालयता दिनहुँ जनताको रगत बग्न रोकिएको छ। तैपनि क्रान्ति र बलिदानका नाममा छिटपुट हिंसात्मक घटना रोकिएका छैनन्। हामी अझै पनि माओवादीको त्यो धङधङीबाट मुक्त हुन सकिरहेका छैनौं। तैपनि बहुसंख्यक नेपालीको चाहना र रोजाइअनुसार नेकपाको दुई तिहाइको सरकार बनेको एक वर्ष बितिसकेको छ। यो सरकारले हामीसँग समृद्धि, सुशासन र स्थिरताको बाचा गरेको छ। यो बाचा पूरा भएन भने फेरि कुनै अतिवादीले भेरीमा रगत बगाउन थाल्नेछ, फेरि रक्तपात मच्चिन सक्नेछ । अब कुनै नेपालीको रगत बग्नुहुन्न, यसका लागि अपरिहार्य छ, देशको समृद्धि।

कट्टेल दम्पतीज्यू ! नेपाल समृद्ध होस् भन्ने चाहना तपाईंहरूको मनमा चौब्बर बढी होला मेरो भन्दा। म त चीन र भारतबाहेक आजसम्म अन्त कतै गएको छैन । तर, तपाईंहरूले आफ्ना हास्यव्यंग्य प्रस्तुतिका क्रममा विश्वका धेरै विकसित मुलुक घुमिसक्नुभएको छ। पक्कै पनि ती देशका सडक, गल्ली, बजार, बिजुली, पानी, दूरसञ्चार, सरसफाइ, परिशुद्ध खाद्य अनि सुरक्षाको उच्चता देखेर तपाईंहरूको मन खिन्न भएकै होला ।

अहो ! नेपाललाई पनि यस्तै समृद्ध बनाउन पाए कस्तो हुँदो हो भन्ने भाव तपाईंहरूको मनमा पक्कै जागेको होला। मान्छेले गरेमा, चाहेमा र सकेमा आफ्नो सहरलाई दुबई, मलेसिया या सिंँगापुरजस्तो बनाउन सक्दोरहेछ भन्ने देखेर तपाईंहरूको मनमा आफ्नो देशको बेथितिप्रति जुन खिन्नता भाव जागे होला, त्यो भाव मेरो मनमा पक्कै नजागेको हुनसक्छ, किनकि मैले ती मुलुकहरुको वैभव प्रत्यक्ष देख्न पाएको छैन। मलाई त जसोतसो कुलमानजीको कृपाले पाइएको बिजुलीमै आनन्द आइरहेको छ। विषाक्त तरकारी खान पाउँदा नै पेट भरिएको महसुस भइरहेको छ । लोकल ठर्रामै म झुम्न सकिरहेको छु, भलै भोलि कुनै दिन मेरो लिभर किन खराब नहोस्।

हरिवंश आचार्य दाजुले एकपटक सुनाएको घटना सम्झन्छु। अमेरिकामा महजोडीले एउटा सो लिएर जाँदा अमेरिकाकै विश्वप्रख्यात गायक (सम्भवतः माइकल ज्याक्सन) को कन्सर्ट हेर्ने मौका पाउनुभएछ । महजोडीका साथ नेपालकै नाम चलेका एकजना गायक पनि हुनुहुन्थ्यो रे। जब विश्वविख्यात गायक स्टेजमा आए, हजारौं दर्शकले हुटिङ, फूलहरु र तालीको गडगडाहट बर्सााउन थाले। दर्शकको कस्तो क्रेज, कस्तो पागलपन ? त्यो देखेर नेपालका विख्यात गायक ह्वाँह्वाँ रुन थाल्नुभएछ।
‘किन रोएको यसरी ?’, मदन दाइले सोध्नुभएछ।

‘दाइ, त्यो पनि गायक, म पनि गायक । देश धनी भएकाले त्यो विश्वविख्यात भयो, हाम्रो देश गरिब भएकाले मलाई विश्वमा कसैले चिन्दैन’, गायकले भन्नुभयो रे। नेपाली गायकको त्यो रोदन र भनाइमा सत्यता थियो । स्वरकै कुरा गर्ने हो भने माइकल ज्याक्सनको भन्दा धेरै उच्चस्तरको स्वर हाम्रा ती नेपाली गायकको छ । तर, देश विपन्न भएकाले उनको त्यो उत्कृष्ट प्रतिभाले विश्वविख्यात हुन पाएन। हैन त धुर्मुस र सुन्तली ? तपाईंको हास्यकला के चार्ली च्याप्लिन र मिस्टर बिनभन्दा कम छ ? यस्ता सारा कुन्ठाहरुको एउटै ओखती हो हाम्रो समृद्धि।  समृद्धि हाम्रो युगौंदेखिको सपना हो। तर कसरी मुलुकलाई समृद्ध बनाउने ? आउनुस्, एकपटक ठन्डा दिमागले सोचौं। 

नेपालको समृद्धि भनेको के हो ? पहिला यसमै स्पष्ट होऊँ न। नेपालको समृद्धि भनेको नेपाली जनताको समृद्धि हो। जनताको प्रगति हो। सजीव मान्छेको उन्नति हो, निर्जीव ढुंगा र माटोको पक्कै हैन। एउटा मान्छेलाई चाहिन्छ, गास, बास, कपास, शिक्षा, स्वास्थ्य र मनोरञ्जन। कुरा सिम्पल छ। हाम्रो पूर्वीय दर्शनले पनि प्राणीको नैसर्गिक स्वभावका रुपमा आहार, निद्रा, भय र मैथुनलाई औंल्याएको छ। हामी नेपालीको समृद्धि भनेको नेपालीले पेटभरि खान पाउनुपरो, आङ ढाक्ने लुगा लाउन पाउनुपरो, जाडो–गर्मीमा ओत लाग्ने एउटा बास हुनुपरो, हाम्रा छोराछोरीले निःशुल्क पढन पाउनुपरो, रोग लागे निःशुल्क उपचार पाउनुपरो अनि सार्थक मनोरञ्जन पनि गर्न पाउनुपरो । यो केही मुठ्ठीभर नेपालीले हैन, सारा नेपालीले पाउनुपरो। बस, कुरा सिम्पल छ। हाम्रो समृद्धि भनेको यही हो।

मैले हाम्रा प्राथमिक आवश्यकताहरु यहाँ जुन औंल्याएँ, त्यसको प्राप्ति कसरी सम्भव छ त ? आज हामीले बहस गर्नुपर्ने यही प्रश्नमा हो । हाम्रो समृद्धिको मोडल कस्तो हुनुपर्छ ? भन्ने नै आजको ज्वलन्त प्रश्न हो ।

सरकारमा बसेका मानिस यतिबेला जलस्रोत, पर्यटन र भौतिक पूर्वाधारको विकासमा जोड दिइरहेका छन् । हो, यहींनेर हामीले बिलकुल गलत गरिरहेका छौं । जलस्रोतको विकास हुनुपर्छ, तर राज्यको मुख्य प्राथमिकता यो हुनु हुँदैन । यसबाट गुणात्मक समृद्धि सम्भव छैन । किनकि हामीले हजार मेगावाटको विद्युत् योजना बनाए पनि हाम्रो बिजुली कसैले किनिदिनेवाला छैन । अबको बीस वर्षसम्म विश्वमा सौर्य शक्तिको विकास भइसक्नेछ, नदीमा टर्वाइन चलाएरै बिजुली आपूर्ति गर्नुपर्ने युगको अन्त्य हुँदैछ।

तर हाम्रा शासकहरु पचास वर्ष लामो जलविद्युत् योजनाका लागि हाम्रा प्राकृतिक सम्पदाहरुको विनाश गरेर ठूला ड्याम बनाउने सपना देखाइरहेका छन् । हामीलाई आगामी पन्ध्र वर्षका लागि करिब दुई हजार मेगावाट बिजुली भए पुग्छ र त्यसका लागि हाम्रा नदीहरुमा दुई अढाइ मेगावाटका चार पाँच वटा लघु विद्युत् योजना बनाए पुग्छ । त्यसका लागि देश विदेशमा रहेका नेपालीले नै लगानी गर्न सक्छन् । धुर्मुसजी ! बरु पाँच सात वटा साना जलविद्युत् आयोजनाका लागि पैसा जुटाऔं र आगामी पन्ध्र वर्षसम्मका लागि हामीलाई चाहिने बिजुली आपूर्ति गरौं । पन्ध्र वर्षपछि यो विश्वको प्रविधिले के कस्तो फड्को मार्छ, त्यसपछि सोचौंला। तर हाम्रा नेताहरुको दाउ अर्कै छ । ठूला आयोजनाहरुमा ठूलै कमिसन प्राप्त गरिने भएकाले नेताहरुको जोड ठूलै आयोजनातर्फ छ, जुन हाम्रो प्राथमिकता हैन । बिजुली बेचेर देशमा पैसाको खोलो बगाउने सपना वाइयात र फजुल हो ।

पर्यटन पनि हाम्रो गुणात्मक विकासको आधार हैन । यो सेवामूलक क्षेत्र हो । यो प्रसंगमा म लेखक एवं वैज्ञानिक समाजबादी चिन्तक आहुती (विश्वभक्त दुलाल) को भनाइ बारम्बार सम्झन्छु । उहाँ भन्नुहुन्छ, ‘पर्यटनको विकासबाट पनि समृद्धि सम्भव छैन । उदाहरणका लागि एउटा पाँचतारे होटल खुल्यो भने दुई सयजना नेपालीले रोजगारी पाउलान् । तर उनीहरुले कमाएको पैसा त फेरि पनि विदेशमै जाने हो । नेपालमा हाम्रो आफ्नो केही चिज उत्पादन नभएपछि र सबै विदेशबाटै आयात गरेको चिज उपभोग गर्नुपरेपछि कोरिया गएर चार वर्षमा एक करोड कमाएर फर्के पनि त्यो सबै पैसा फेरि विदेशतिरै जाने न हो।’

नेपालमा पुँजी कसरी बाँकी रह्यो त ? आहुती दाजुका यी पंक्तिले संकेत गरेको के हो भने, हामी समृद्धिको गुणात्मक फड्को त्यसबेलामात्र मार्न सक्छौं, जब हामी आफूलाई चाहिने चिज स्वदेशमै उत्पादन गर्न सक्छौं ।

जस्तै, साबुनकै कुरा गरौं । साबुन कारखाना नेपालमै उत्पादन हुन्छ । ओखती साबुन दामी छ, म यही साबुनले नुहाउँछु । एकपटक लाइफ ब्वायले नुहाएको एलर्जी भो, ओखतीले नुहाएको एलर्जी भएन । हामी अरु दुईचार वटा साबुन कारखाना उत्पादन गर्न उद्यमीलाई प्रेरित गरौं र गुणस्तरीय साबुन उत्पादन गरौं । विदेशबाट साबुन आयातमा पूर्ण प्रतिबन्ध लगाऔं । यस्ता चिज (बुरुस, मन्जन, क्रिम, पाउडर आदि) धेरै छन्, जुन हामी हाम्रै साधन र स्रोतबाट उत्पादन गर्न सक्छौं।

आत्मनिर्भर कसरी हुन सकिन्छ भन्नेबारे बुद्धिजीवी युवराज संग्रौलाले एउटा सानो तर, उत्तम उपाय दिनुभएको छ, उहाँले भन्नुभएको छ, ‘हामीले हरेक दिन राँगा, भँैसी, खसी, बोका र कुखुरा किन विदेशबाट ल्याउने ? तराईका घाँसे मैदान, चुरेभाबर र त्योभन्दा माथिको क्षेत्र घाँसैघाँसले भरिएको छ । ती क्षेत्रमा पशुपालन गर्न सकिन्छ र हामीलाई चाहिने मासु स्वदेशमै उत्पादन गर्न सकिन्छ।’

वरिष्ठ उद्यमी किशोर प्रधानजीसँग भेट भएको थियो । उहाँले ‘कन्ट्याक्ट फार्मिङ’ को बडा गज्जब कुरा सुनाउनुभयो, जुन मलाई उचित लाग्यो । यो कस्तो कृषि प्रणाली हो भने सरकारले तराईका कृषियोग्य जमिनको बृहत् प्लटको योजना बनाउँछ । आमनागरिकका ससाना टुक्रा जमिन जोडेर सरकारले सयौं हेक्टरको एउटा कृषि फार्म तयार गर्छ । जग्गाधनीहरुले त्यसबापत पाउनुपर्ने लाभ पाउनेछन्।

यसरी एकीकृत भएको जमिनमा के उत्पादन हुनसक्छ भनेर अनुसन्धान गर्न सरकारले कृषि विज्ञहरुलाई खटाउँछ । उनीहरुले बाली, माटो र सम्भावनाको अध्ययन गरेर त्यो जमिनमा तरकारी खेतीको योजना बनाउँछ र निजी क्षेत्रलाई उत्पादनका लागि आह्वान गर्छ । निजी क्षेत्रले सरकारसँग सम्झौता गर्छ, उत्पादनबाट कसले केकति लाभ पाउने तय गरीन्छ । निजी क्षेत्रलाई सरकारले भौतिक पूर्वाधारमा सहयोग गर्छ र विशाल फाँटमा कृषि उत्पादन हुन्छ । यो सम्भव भयो भने इजरायल या साइप्रसका खेतमा काउली टिप्ने हाम्रा चेलीहरुलाई स्वदेशमै फर्काउन सकिँदैन ?
धुर्मुसजी ! लौ न कन्ट्याक्ट फार्मिङको बहस चलाऔं । एकपटक किशोर प्रधानजीलाई गएर भेटनुस् न है।

अर्का लेखक एवं चिन्तक सौरभले मंगलबार मात्र एपिवान टिभीमा टीकाराम यात्रीजीसँगको अन्तर्वार्तामा नेपालको समृद्धिका लागि तत्काल चाल्नुपर्ने न्यूनतम तीनवटा सल्लाह प्रस्तुत गर्नुभएको रहेछ, ‘पहिलो, आफूलाई चाहिने कृषि र खाद्य स्वदेशमै उत्पादन गर्ने ।

दोस्रो, वैदेशिक ऋण र अनुदान बन्द गर्ने र तेस्रो हो, नेपाल–भारत खुला सीमा बन्द गर्ने।’ धुर्मुसजी ! सौरभ दाइले कति राम्रो कुरा अघि सार्नुभएको छ हगि । अबको बहसको विषय यो पो हो त । तपाईंहरूले  चितवनमा अन्तर्राष्ट्रिय रंगशाला बनाउन खोज्दै हुनुहुन्छ नि, त्यही चितवनका किसानले गोलभेडा र काउलीले मूल्य पाइरहेका छैनन् र बारीमा डोजर लगाउनुपरेको छ । उता चितवनका सडकमा भारतबाट टनका टन तरकारी बोकेर आएका ट्रक गुडिरहेका छन् । प्राकृतिक रुपमा यति मलिलो, यति उर्वर र भरिपूर्ण भूमिमा के हामीले आफूले खाने तरकारी आफंैले उत्पादन नगर्ने ? जग्गाको प्लटिङ रोकेर वैज्ञानिक कृषि प्रणाली अपनाउने हो भने नेपालको तराईमा उत्पादन हुने अन्न हामी नेपालीले खाएर बचेर निर्यातसमेत गर्न सकिन्छ।

मैले भन्न खोजेको के हो भने, हामी हाम्रा आवश्यकतामा आत्मनिर्भर हुनुपर्छ । हामीकहाँ नहुने र विदेशबाट ल्याउनैपर्ने चिजहरु पो मगाउने हो त ? अतः उत्पादन बढाउनु नै हाम्रो समृद्धिको मुख्य आधार हो। उत्पादन बढाउने कसरी ? यसको एउटै जबाफ छ, सरकारले पर्यटन, जलस्रोत या भौतिक पूर्वाधारमा हैन, पहिला उत्पादनमै जोड दिनुप¥यो । देशलाई आत्मनिर्भर बनाएपछि बल्ल अन्य आयामलाई प्राथमिकता दिने हो । उत्पादन बढाउनका लागि हामीसँग भएका स्रोतहरुको पहिचान गरौं । जस्तै, नेपालको पूर्वी भेग चिया खेतीका लागि उर्वर छ । तर हाम्रा कतिपय चियाबगानमा विदेशीको हैकम छ । हामीले नेपाली चियाको ब्रान्ड कायम गरौं र चियामा वैदेशिक घुसपैठ र निर्भरता हटाऔं।

गोल्डस्टार, शिखर सुज आदि जुत्ता नै सस्ता, बलिया र भरपर्दा छन् भने बिदेशबाट तत्काल जुत्ता आयातमा प्रतिबन्ध लगाऔं । माओवादी साथीहरुलाई पनि भन्छु, जनयुद्ध लड्दा गोल्डस्टार जुत्ता लगाउन हुने, अहिले चाहिँ कनभर्स, रिबोक अनि नाइक ढल्काउनुपर्ने ? अहिले सहरमा हिँड्दा गोल्डस्टार लगाउन लाज लाग्छ भने राष्ट्रियताको कुरा नगरौं हो, कमरेडहरु । बालकृष्ण श्रेष्ठ दाइको ‘हामा आइरन एन्ड इन्डस्ट्रिज’ ले विश्वकै उत्कृष्ट छड उत्पादन गर्दो रहेछ । यस्ता अन्य आइरन इन्डस्ट्रिजलाई बढावा दिऔं र विदेशबाट छडको आयात बन्द गरौं । सिमेन्टको आयात पनि बन्द गरौं, यसमा हामी आफैं सक्षम छौं।

कपडाको कुरै नगरौं, अल्लोदेखि सिस्नोसम्मका कपडा उत्पादन थालौं न। घाँसबाटै एक से एक कपडा उत्पादन हुँदोरहेछ ।  सरकारले नै अल्लोको कोट उत्पादनमा जोड देओस् र कम्तीमा दुई हजार मूल्यमा कोट पाइने व्यवस्था मिलाओस् त, सारा जनता अल्लोकै कोट लगाउन थाल्नेछन् । यसको एउटा लहर सिर्जना हुनेछ । पोसाकमा यस्तो आन्दोलन चलाउन सकिन्छ । भारतमा महात्मा गान्धीले स्वदेशी उत्पादनलाई बढावा दिन चर्खा आन्दोलन, खादी आन्दोलन चलाउनुभएको थियो ।

के हामीले ढाकाका कपडाको सर्ट, पाइन्ट, कोट, कट्टु, पछयौरा, कुर्ता सरुवाललाई बुटिक र फेसन सोबाट आमसर्वसाधारणको पहुँचमा ल्याउन सक्दैनौं र ? माग्ने बुढा (केदार घिमिरेजी) र खतिवडा नारदजीले यस्तै पोसाक लगाएको मैले देखेको छु । आउनुस्, सस्तो, राम्रो, बलियो र भरपर्दो हाम्रै आफ्नो मौलिक पोसाकको विकास गरौं र ती पोसाक स्वदेशमै उत्पादन गरौं । फोस्रो आडम्बर देखाउन विदेशबाट महँगा साडी, लेहंगा, कुर्ता सुरुवाल अनि शृंगार प्रसाधन आयात नगर्दा के हाम्रा चेलीहरु वस्त्रहीन हुन्छन् र ?

अहिलेको नेकपा सरकारले रेल, पानीजहाज र फास्ट ट्र्याकको सपना बाँडेको छ। यस्ता भौतिक पूर्वाधारको निर्माणमै सरकारको बढी ध्यान केन्द्रित छ । तर, यी कुनै पनि कुराले समृद्धि ल्याउने चाहिँ हैन । विहारमा सय वर्षपहिले नै रेल कुदिसकेको थियो।

अंग्रेजहरुले गर्मीकालीन केन्द्र कायम गर्न भारतका सिमलालगायतका क्षेत्रमा दर्जनांै सुरुङ खनेर रेल पु¥याइदिएका थिए । के रेल आउँदैमा विहारमा विकास आयो ? अहिले पनि विहारका लाखौं जनता भोकमरी, अभाव, अशिक्षा, बेराजगारी, बाढी, सर्पदंश, अपराधको सिकार छन्। नीतिशकुमार आएर हल्का सुधार गरेको धेरै भएको छैन । त्यसैले रेलको डिब्बामा समृद्धिको पोको आउँछ भन्नु अर्को वाइयात र जनतालाई मूर्ख बनाउने कुरा हो, सुन्तली।

अब बुझौं, रेलको राजनीति। अहिलेकै अवस्थामा चीनबाट नेपालमा रेल आयो भने के हुन्छ ? यो रेलबाट चिनियाँ व्यापारी र नेपाली केही मुठ्ठीभर व्यापारीको स्वार्थ पूरा हुन्छ । तर, गरिब नेपाली के त्यो रेलमा टिकट काटेर चढ्न सक्छन् ? सानो उदाहरण, काठमाडौंमा मल्टिप्लेक्स हलहरु बने । टिकट मूल्य चार सय । भित्र गएर कफी खाँदा डेढ सय, मकै खाँदा त्यस्तै । दिनमा सय रुपैयाँ कमाउने गरिब नेपालीले के त्यो हलमा गएर धुर्मुसेको फिल्म हेर्न सक्छ ?

अर्को उदाहरण, चाइनाले कलंकी र कोटेश्वरसम्म चक्रपथको आकार बढाइदियो। शासकहरुले अहो ! के के न विकास भयो भनेर डंका पिटे । म हरेक दिन प्रायः मर्निङवाकका क्रममा कोटेश्वर पुगिरहन्छु । बाटो साँघुरो हुँदा छेउमा सानो नाङ्ले पसल थाप्ने एकजना दाजु अहिले बाटो फराकिलो हुँदा पनि किनारमै नाङ्लो पसल थापेर बसिरहेको देख्छु।

बाटो फराकिलो भएर के मात्र भयो भने भने सहरका केही गाडी भएका धनाढ्यहरुका लागि ट्राफिक जामको टेन्सन हट्यो, तर नाङ्लो पसले दाजुजस्ता आम निम्न वर्गका नागरिकको जीवनमा त्यो सडकले तात्त्विक भिन्नता ल्याएन । भोलि काठमाडौं र हेटांैडा जोड्ने फास्ट ट्र्याकबाट पनि भारत, नेपाल र चीनका दलाल पुँजीपतिहरुको एकाधिर पुँजीको साम्राज्य कायम गर्ने ठूला ट्यांकर र कन्टेरहरु ओहोरदोहोर गर्नेछन् । तर त्यो सडकले हाम्रो जंगल विनाश गर्नुबाहेक आमनेपालीको जीवनमा परिवर्तन ल्याउने छैन।

विकासको हाम्रो मोडल यस्तो होस्, जसले आमजनताका समस्यालाई सम्बोधन गरोस् । राज्यले सर्वप्रथम उत्पादनमै नब्बे प्रतिशत ध्याउन देओस् । पुँजीको विकासका लागि अहिलेको विश्व पुँजीवादी मोडलको लकिरको फकिर पनि हुने हैन।

नेपालको आफ्नै विशिष्ट मोडल, जहाँ प्राकृतिको पनि विनाश नहोस् र जनता आफैं उत्पादनमा सरिक भएर आफ्ना आवश्यकता पूरा गर्न सकून् । उत्पादक र क्रेताबीच अतिरिक्त पुँजी हसुर्ने दलालहरुको अन्त्य होस् । किसानले उत्पादन गरेको अन्न निश्चित नाफाका साथ सुपथ मूल्यमा उपभोक्ताले पाऊन् । बीचका दलालहरु यो कारोबारमा छिर्न नपाऊन् । बस, माक्र्स, लेनिनले भनेको पनि यही हो र बिपी कोइरालाले भनेको पनि यही हो, पुष्पलालले भनेको यही हो । यसबारे मैले धेरै भनिरहनु पनि जरुरी छैन।

यो नालायक सरकार एकातिर खेत बाँझो राख्नेहरुसँग जरिबाना लिने कुरा गर्छ, अर्कोतिर आफैं हजारौं नेपालीलाई जापान पठाउने सम्झौता गर्छ । सरकार आफैं म्यान पावरको दलालजस्तो भएको छ । अनि त्यो खेतमा गएर कसले काम गर्ने ? हामीले उत्पादन बढाउन थाल्ने हो र स्वदेशमै कलकारखाना खुल्ने हो भने बिदेसिएका नेपाली धमाधम स्वदेश फर्कनेछन् । सरकारले त नेपालीलाई स्वदेश फर्काउने नीति पो ल्याउने हो त । कसलाई चाहना हुन्छ र साइँलीलाई छाडेर बिदेसिन ? कसलाई चाहना हुन्छ र उतै मरेर कफिन बक्समा फर्कन ?

अतः धुर्मुस र सुन्तलीजी ! मेरो हार्दिक अनुरोध छ, तपाईंहरूजस्ता लोकप्रिय कलाकार चन्दा मागेर रंगशाला बनाउने चक्करमा नलाग्नुस् । बिचरा ! विदेशमा बस्ने ती नेपालीले चर्को कर पनि तिर्ने, रेमिट्यान्स पनि पठाउने अनि अब चन्दा पनि दिनुपर्ने ? यो त उनीहरुमाथि हदैसम्मको अन्याय हुन्छ।

आउनुस् बरु, देशलाई आत्मनिर्भरतातर्फ लैजान उत्पादन बढाउने अभियानमा जुटौं। उत्पादन वृद्धिको यो अभियानमा तपाईंहरू ब्रान्ड एम्बेसडर बन्नुस्। सरकारवालाहरुलाई भन्नुस् कि आजको हाम्रो प्राथमिकता रंगशाला हैन, स्वदेशमै उत्पादित चामल, दाल, आलु, प्याज, लत्ताकपडा र तकारी हो। आजको हाम्रो प्राथमिकता सबै नेपालीका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य हो। आउनुुस्, हाम्रो प्राथमिकतामै नपर्ने विकासे मोडलको विरोध गरौं र समृद्धिको सही मोडलका लागि राष्ट्रिय बहस प्रारम्भ गरौं। सबैलाई समृद्धिको सही मोडलका लागि झकझक्याऔं। है त! 

धन्याद ! उही तपाईंहरूको ‘डाइहार्ट फ्यान’ कुसुम कुसुम।




प्रतिक्रिया