ज्यान बनाउन निःशुल्क जिमखाना

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/2019, March/gym.jpg

भक्तपुर–सप्तलक्ष्मी लवजु बिहान ४ बजे उठ्छिन् । कमलपोखरीमा एक राउन्ड मार्निङ वाक लगाउँछिन् । त्यसपछि उनी सिधैँ पोखरी नजिकैको गणेश मन्दिरको भजन मण्डलीमा सामेल हुन्छिन्। एकछिन भगवान्को भक्तिमा लिन भएपछि उनलाई ज्यान बनाउने जाँगर चल्छ । अनि उनी लाग्छिन् जिमखानातिर। आधा घण्टा जिम खानामा ज्यान तन्काउँदा उनलाई बेग्लै आनन्द आउँछ। बिहानको यो दैनिकीले सप्तलक्ष्मीलाई दिनभर उर्जा दिन्छ। जिमखानामा भेटिएकी सप्त लक्ष्मी भन्छिन् ‘बिहानको यो दैनिकीले म दिनभर फ्रेश रहन्छु ।’

सुरुसुरुमा लाज लाग्थ्यो, बच्चा, तन्नेर देखि वृद्धवृद्धा सबै देख्दा हामी गृहिणीका लागि होइन कि भन्ने लाग्थ्यो नानीमैयालाई । बिस्तारै बानी पर्दै गयो, स्वास्थ्यका लागि पनि राम्रो भएको कारण आफ्नो स्वास्थको लागि पनि केही समय ब्यतित गर्छिन्, सप्त लक्ष्मी।

भक्तपुर नगरपालिकाका वडामा यतिबेला भिन्नै रौनक देखिन थालेको छ। यहाँका मानिसको व्यस्त दैनिकीमा पनि केही परिवर्तन आएको छ। भक्तपुर १० की कमलविनायक निवासी नानीमैयाको मात्र नभई कमलविनायकका अन्य स्थानीयको बिहानी दैनिकी यस्तै रहेको छ। नजिकै रहेको कमलपोखरी वरिपरि ‘मनिर्ङ वाक’ गर्ने, नजिकै रहेको गणेश मन्दिरको भजन अनि जिमखानामा प्रायको पाइला मोडिन्छ। 

उमेरले ६०–६५ कटेका कृष्ण श्रेष्ठ लौरो टेक्दै आउँछन्, जिमखानाका विभिन्न खेलका उपकरणमा खेल्छन्। खुट्टाको समस्या रहेको कृष्ण श्रेष्ठ सानातिनो व्यायमले गर्दा केही राहत भएको बताए। 
बच्चाका लागि खेल्ने ठाउँ बनाएको जस्तो लागेको थियो । ‘तर हामीजस्ता वृद्धवृद्धाका लागि पनि उपयोगी छ’, कृष्ण श्रेष्ठले भने। नजिकै रहेको ग्लोबल लाइफ स्कुलबाट परीक्षा दिएर आएका केही स्कुले बच्चा पनि परीक्षा सकाएपछि त्यही खेल्दै थिए। त्यही विद्यार्थीमध्येका एक विनुज शाक्य घरमै मोबाइलमा गेम खेलेर बस्ने बानी उनका बुबाआमा विनुजको बानीले आजित भएका थिए। 
उनले भने, ‘यहाँ पनि आमाबुबाले पनि खेल्न जाऔं भन्नुभयो । अहिले त बानी लाग्न थाल्यो ।’ मोबाइल गेमबाट केही समय पनि छुटकारा पाउने अनुभव विनुज आफैंलाई भएको सुनाए।

बिहानीको समयमा व्यायाम गर्नै स्थल भने दिउँसोको समयमा भने कलेज तथा नजिकै स्कुलका बच्चा अलमलिने, खेल्ने ठाउँ भएको छ, यी निःशुल्क जिमखाना। पूर्वखेलाडीसमेत रहेको स्थानीय राजेन्द्रमान श्रेष्ठका अनुसार बढ्दो सहरीकरणले खुला स्थान तथा खेलमैदानको अभाव सिर्जना भएको छ। नगरपलिकाले दिएका यस व्यवस्थाले केही भए पनि राहत दिएको उनले बताए।एकपटकमा १७ जना खेल्न सक्ने उनले बताए। व्यायामका सामान ‘रिक्स फ्री’ भएको दाबी राजेन्द्रमान श्रेष्ठको छ। तर खेल्ने क्रममा समंयमता अपनाउन भने अनुरोध गरेका छन्।

खेलको रूपमा ससाना बच्चादेखि हाडजोर्नीका बिरामीका लागि पनि उपयुक्त छ। सामाजिक घुलमेल र भेटघाट अर्को पाटो बनेको छ। बिहान केही नगर्नेहरू पनि गएर जिउ तन्काउन सक्छन्। सानै कदम भए पनि यसले दैनिक जीवनमा भने ठूलो परिर्वतन ल्याएको छ। जिमखानामा हात, पाखुराका लागि, कम्मर दुखेका लागि, खुट्टा दुखेको, पेटको घटाउने र सामान्य खेलकुदका उपकरण छन्। पहिले ल्याएका उपकरणहरूमा थप एक ‘रनिङ्ग मेसिन’ पनि थपिने भएको छ। भक्तपुर नगरपालिकाले प्रत्येक वडामा निःशुल्क रूपमा जिमखाना स्थापना गरिदिएको पछि नानीमैया, कृष्ण श्रेष्ठ र विनुज शाक्य जस्तै भक्तपुरका नगरवासीहरूको दैनिकीमा केही परिवर्तन भएको छ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिका अनुसार युवा तथा ज्येष्ठ नागरिकका लागि लक्षित गर्दै यस निःशुल्क शारीरिक व्यायम स्थानहरू सञ्चालन गरिएको जानकारी दिए। यसका साथै हाल नसर्ने रोग, हाडजोर्नीका दुखाइ, नसासम्बन्धी रोगहरू बढ्दो क्रममा रहेको छ। शारीरिक श्रमको कामीले निम्त्याएका रोग निर्मूलका लागि पनि यस प्रकारको निःशुल्क जिमखाना सञ्चालनमा ल्याएको मेयर प्रजापितले प्रस्ट्याए। मेयर प्रजापतिका अनुसार सुरुमा जडान गर्नेका लागि १ लाख ८४ हजार खर्च भएको जानकारी दिए। तर, हालमा विदेशी डलरमा वृद्धि भएको कारण बाँकी वडामा करिब २ लाखसम्म लाग्न सक्ने अनुमान मेयर प्रजापतिले बताए।

हालसम्म ५ वटा वडामा निःशुल्क जिमखाना सञ्चालन भएको छ। यस्तै अन्य ५ वटा वडामा साम्रगी आइसकेको छ। वडा नम्बर २, ३, ४, ५ र १ निमार्णधीन छन्। कमलपोखरी (वडा नं १०), महाकालीस्थान (वडा नम्बर ६), माहेश्वरी (वडा नम्बर ८), दूधपाटी, भाजुपोखरी (वडा नम्बर ७) र च्यामासिंह (वडा नम्बर ९)।

कसरी आयो निःशुल्क व्यायामको विचार ?

स्वास्थ्यको क्षेत्रमा केही नवीन कार्यको गर्नका लागि भक्तपुर नगरपालिकामा छलफल पनि चलिरहेको थियो। करिब साढे सात महिनाअघि सुरु भएको यो अभियान मेयर प्रजापति विदेश भ्रमणमा रहेका क्रममा त्यहाँ देखिएको यस प्रकारको व्यवस्थापछि आइडिया आएको बताए। निःशुल्क व्यायाम स्थानको व्यवस्थापछि व्यायामका उपकरण खोज्नु आवश्यक थियो। नगरपालिकाका चिनजानमा रहेको खेलाडीसँगको सम्पर्कमा, कटुन्जेमा त्यस्ता उपकरण रहेको जानकारीपछि मेयरसहित अवलोकनका लागि गए। सामान्य व्यायामका उपकरणहरूको केही सेट नगरपालिकालाई पनि व्यवस्था गरिदिन अनुरोध गरे। बन्दरगाह हुदै आउनु पर्ने ती उपकरणहरूका लागि ४३ दिनको समय लाग्ने थियो। तर, सामान ३० दिनमै आयो। ‘हामीले औपचारिक कार्यक्रम गरी व्यायमका उपकरणहरू वडाअध्यक्षहरूलाई हस्तान्तरण गर्‍यौँ’, मेयर प्रजापतिले बताए।



अहिले भक्तपुर नगरपालिकाका वडा–वडामा पाइने यी निःशुल्क व्यायमका स्थानहरूले  नगरवासीमा व्यायामका लागि चेतना र खुसी छाएको छ। दैनिक आउने नकारात्मक समाचारहरूबाट केही भिन्न भई भक्तपुर नगरपालिकाको यो कदमले भक्तपुर नगरवासी सकारात्मक देखिएका छन्।

तस्बिर सौजन्य : सरोज लवजु




प्रतिक्रिया