किन जागिर छाड्छन् प्रहरी अधिकृत ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/2019, March/Nepal_Police1_1_.jpg

काठमाडौं : ०७४ भदौ २७ गते नेपाल प्रहरीका तत्कालीन एआइजी नवराज सिलवालले पदबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक बढुवामा चलखेल भएको भन्दै असन्तुष्ट सिलवालले संगठनमा विद्रोह गर्दै सात महिना कानुनी लडाइँ गर्नुपर्‍यो । अन्ततः उनी संगठनबाट असहज रुपमा बाहिरिए।

प्रहरी संगठन त्यागेर राजनीतिमा होमिएका सिलवाल हाल नेकपा सांसद तथा राज्य व्यवस्था समितिका सदस्य छन्। जुन समितिले प्रहरी संगठन मात्रै हैन, कुनै काम चित्त नबुझे गृहमन्त्री र सरकारलाई निर्णय फिर्ता गर्न निर्देशन दिन सक्छ।

०७४ फागुन २८ गते नेपाल प्रहरीका अब्बल अफिसर रमेश खरेलले प्रहरी संगठनमा अपमानित भएर काम गर्न नसक्ने भन्दै राजीनामा दिए। १ फागुन २०४५ मा नेपाल प्रहरीमा प्रवेश गरेका खरेल कार्यसम्पादन मूल्यांकनमा कहिल्यै दोस्रो हुनु परेको थिएन। 

नेपाल प्रहरीमा इमानदार, निडर तथा अविचलित खरेलले अन्यायमा परेको गुनासो गर्दै १० महिना पहिल्यै संगठन छोडे । गत माघ २७ गते नेपाल प्रहरीका एसपी नरेन्द्र उप्रेतीले एसएसपी बढुवामा असन्तुष्ट जनाउँदै राजीनामा दिए । स्वाभाविक बढुवा सूचीमा रहेका उप्रेतीलाई जुनियर ब्याचले पछाडि पारे । उप्रेतीले प्रहरी संगठन चरम भ्रष्टाचार र बेथिति रहेको भन्दै संगठन परित्याग गरेका हुन् । 

एसएसपी घनानन्द भट्ट र सुबोध घिमिरेले संगठनमा अन्याय भएको भन्दै पद त्याग गरे । त्यस्तै एसपी गोरखसिंह भण्डारी र सानुकाजी लामिछानेले राजीनामा दिए ।नेपाल प्रहरीका अब्बल, निष्ठावान् र संगठनको कमान्ड सम्हाल्ने हैसियत भएका उच्च अधिकृतले भोग्नुपरेका प्रतिनिधि घटना हुन् यी ।

प्रहरी संगठन राजनीतिको सिकार बन्दै जाँदा अब्बल प्रहरी पाखा लागिरहेका छन् । पछिल्लो समय नेपाल प्रहरी छाड्नेको संख्या बढेको छ । ०७३ को तुलनामा ०७५ को ११ महिनामा नेपाल प्रहरी छाड्नेको संख्या १११.५४ प्रतिशत वृद्धि भएको छ भने गत वर्षको तुलनामा यस वर्षको ११ महिनामा मात्र ३८.९८ प्रतिशत प्रहरीले जागिर छाडेका छन्।

नेपाल प्रहरीमा पछिल्लो समय जागिर छाड्नेको संख्या बढेपछि मुख्यालयले मातहतका निकायलाई राजीनामा दिने प्रहरीलाई निरुत्साहित गर्न आन्तरिक सर्कुलर गरेको थियो । राजनीतिक हस्तक्षेप र सेटिङको चङ्गुलमा फस्दै गएको प्रहरी नेतृत्वको रणनीतिले काम गर्न सकेन र राजीनामा दिने प्रहरीको संख्या पछिल्लो १० महिनामा झन्डै ४० प्रतिशतले वृद्धि भएको छ । 

प्रहरी मुख्यालयले भने पेन्सन पाकेका र सेवा अवधि पूरा हुनै लागेका प्रहरी अधिकारीले राजीनामा दिएको दाबी गरेको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले प्रहरीमा जागिर छाड्नेको संख्या थपघट हुनु स्वाभाविक भएको भन्दै यसले संगठनमा खासै असर नपर्ने बताए ।उनले भने, ‘राजनीतिक सेटिङ वा अन्य कारणले प्रहरीमा जागिर छाड्नेको संख्या बढ्यो भन्नु सत्य होइन । एकदुईजना प्रहरी अधिकृतले त्यस्तो आरोप लगाएर संगठन छोड्नुभयो भन्दैमा सबै त्यही कारण हो भन्नु गलत हो ।’

नेपाल प्रहरीका पूर्वएआजी राजेन्द्रबहादुर सिंह नर्भिक अस्पतालको सुरक्षा र म्यानेजमेन्ट हेर्छन्। आइजिपीको रेसमा ओमविक्रम राणाभन्दा पछाडि परेका सिंह मात्र हैन, नेपाल प्रहरीका पूर्व एसएसपी भूपाल भण्डारी प्रचण्डका घरभेटी ठेकेदार शारदा अधिकारीले सञ्चालन गरेको सैलुङ कन्स्ट्रक्सनमा काम गर्छन् ।
यस्तै काठमाडौंका पाँचतारे होटल क्यासिनो, बहुराष्ट्रिय कम्पनी र विदेशी लगानीमा खुलेका शैक्षिक संस्थामा सुरक्षा नेपाल आर्मीका मेजरसम्मले सुरक्षाकर्मीका रुपमा काम गरेका छन् ।

नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘संगठनमा हुने अस्वस्थ प्रतिस्पर्धा र राजनीतिक हस्तक्षेपका कारण प्रहरीको जागिरभन्दा बरु गार्ड बस्नु नै बेस छ । कम्तीमा त्यहाँ कुनै खिचातानी र जालझेल हुँदैन ।’

जागिर छाड्ने सुरक्षाकर्मीको रोजाइ संगठनभन्दा नेपालस्थित बहुराष्ट्रिय कम्पनीमा खाडी मुलुक हुने गरेको छ । उच्च स्रोतका अनुसार नेपाल प्रहरीमा नायव प्रहरी निरीक्षकदेखि सिपाहीसम्मका अधिकांश प्रहरी १६ देखि २० वर्षमा जागिर छोडिहाल्छन् ।

कनिष्ठ प्रहरी अधिकृत, हबल्दार तथा सिपाहीले सेवा अवधि १६ वर्ष पूरा गरेमा पेन्सन पाउने व्यवस्था भएकाले अधिकांशले पेन्सनपट्टा बनाएर जागिर छोड्ने गरेका छन्।नेपाल प्रहरीका एक अधिकारी गुनासो गर्छन्, ‘संगठनमा राजनीतिक हस्तक्षेप र अस्वस्थ प्रतिस्पर्धाका हुँदा चरम निराशा छाएका कारण प्रहरीले जागिर छोड्ने क्रम बढेको छ ।’ तर दुईचार जनाका लागि ३० वर्षे सेवा अवधि राख्ने कि हटाउने भन्‍ने विषयमा ठूलो राजनीति भइरहेको छ।
 
पूर्व डिइआजी हेमन्त मल्लले नेपाल प्रहरीले सेवा अवधि पूरा नहुँदै संगठन छाड्ने अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको बताए । ‘कुनै पनि मानिसले आफू कार्यरत ठाउँमा करियर देखेन भने छोड्नु र अन्य विकल्प खोज्नु स्वाभाविक हो तर संगठनमा नेतृत्व गर्नेले यस्तो अवस्था किन आयो भनेर गम्भीर अध्ययन गर्नुपर्छ ।’ संगठनले यस विषयमा गम्भीर समीक्षा गर्नुपर्ने सुझाव उनको छ । उनले भने, ‘सरुवाबढुवामा पछिल्लो समय जुन राजनीतिक हस्तक्षेप भइरहेको छ त्यसले निष्ठावान् र सक्षमभन्दा पनि शक्ति केन्द्र धाउनेहरुले मौका पाइरहेका छन् । यसले संगठनमा निराशा पैदा गरेको छ ।’
 
नेपाल प्रहरीमा जुनियर अफिसरलाई १८ वर्षमै अवकाश पाउने व्यवस्था अर्को कारण हो । अहिले धेरै क्षेत्रमा अवसर पनि खुल्दै गएका छन् । मल्लले भने, ‘एकजना प्रहरी उत्पादन गर्न राज्यको लाखौं रुपैयाँ खर्च भएको हुन्छ । सक्षम र दक्ष बनेपछि संगठन छाड्नु राज्यका लागि ठूलो नोक्सान भइरहेको छ । त्यसैले यस विषयमा संगठन र सरकारले गम्भीर अध्ययन गरी तत्काल समाधान गर्नुपर्छ ।’



प्रतिक्रिया