अनुराधा भन्छिन्- 'नारी भन्दा पहिले हामी मान्छे बनौं'

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/2019, March/anuradha_koirala.jpg

बुधबार पौनै दुई बजेतिर माइती नेपालको गेटभित्र पस्दा अनुराधा दिदी ग्राउन्डमै थिइन् । माइती नेपाल परिवारसँग उनी भलाकुसारी गर्दै थिइन् । बेलाबेलामा उनी त्यहाँ रहेका बालबालिकालाई जिस्काउँदै मायाले बोलाउँथिन् । उनको बोली र व्यवहार यति साधारण र मायालु थियो कि लाग्थ्यो न उनी माइती नेपालको अध्यक्ष हुन् न त प्रदेश प्रमुख । उनको हाउभाउले माइती नेपालको एउटा सामान्य स्वयंसेवक वा आमाको झल्को दिइरहेको थियो । 

प्रदेश प्रमुख रहेकी अनुराधा फुर्सद निकालेर आफूले जन्माएको र हुर्काएको माइती नेपाल जान्छिन् । त्यहाँ रहेका नानीबाबुसँग रमाउँछिन् । अनुराधा माइती नेपाल छिर्नासाथ कर्मचारीदेखि त्यहाँ रहेका बालबालिका पनि दिज्यू आउनुभो भन्दै दंग हुन्छन् । हामीले त्यही अवसर छोपेर बुधबार पनि उनलाई भेटेका थियौं । मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा कुरा गर्न हामी त्यहाँ पुगेका थियौं । 

महिला हिंसा तथा बालबालिका बेचबिखनविरुद्ध साहसिक अभियान चलाउँदै आएकी अनुराधा प्रतिष्ठित समाजसेवी हुन् । उनी सिएनएन हिरो, पद्मश्रीदेखि लिएर थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएकी छिन् । पच्चीस वर्षअघि आफ्नो साँघुरो डेरामा जन्माएको माइती नेपाल मुलुककै एउटा उदाहरणीय सामाजिक संस्था भएको छ । 



एक दिन दिवस मनाएर केही हुँदैन 

नारी दिवस र महिला अधिकारका विषयमा आम महिलाकर्मीभन्दा अनुराधा कोइरालाको बुझाइ र मान्यता फरक छ । नारी दिवसको प्रसंग निकाल्नासाथ उनले सुरुमै भनिन्, 'नारीभन्दा पहिले हामी मानव जाति हौं । मानव संसारमा आएपछि बल्ल हामीलाई महिला र पुरुष भनी छुट्याउने गरिन्छ । नारीभन्दा पहिले हामी एउटा असल मानव बन्नुपर्छ ।' 

नारी दिवसको औपचारिकता अनुराधालाई खासै मन पर्दैन । उनी भन्छिन्, 'एक दिन धुमधाम मनाएर मात्र नारीले सम्मान र अधिकार पाउने होइन । काम गरेर हरेक दिन मनाउन सकिन्छ । नारी दिवसलाई भड्किलो बनाउनुभन्दा कुनै रचनात्मक अभियान सुरु गर्न सकिन्छ । महिला शिक्षा, स्वास्थ्य तथा पुनस्र्थापनाका लागि केही नयाँ कामको सुरुवात गर्न सकिन्छ । जुलुससभामा मात्रै रमाउनु ठिक होइन । सम्मान, पुरस्कार बाँड्ने दिन भएको छ।' 
 
महिला सृष्टिकर्ता हुन् । आज संसार चल्न सम्भव भएको छ त केवल महिलाका कारण । अनि कसरी हामी पछाडि परेको भन्ने ? पछाडि परेको छ त हाम्रो मनोविज्ञान र आत्मविश्वास ।

महिला आफैं पछाडि परेका हुन्

यसमा अनुराधा दिदीको आफ्नै तर्क र बुझाइ छ । उनी भन्छिन्, 'महिलालाई पिछडिएको भनिन्छ नि । यो धारणा गलत हो । 'वि आर मोर ड्यान मेन' । महिला सृष्टिकर्ता हुन् । आज संसार चल्न सम्भव भएको छ त केवल महिलाका कारण । अनि कसरी हामी पछाडि परेको भन्ने ? पछाडि परेको छ त हाम्रो मनोविज्ञान र आत्मविश्वास ।' 

'महिला भएकै कारण म गर्न सक्दिनँ भन्न हुँदैन भन्ने कमजोर आत्मविश्वास पनि गलत हो । त्यसलाई परिवर्तन गर्नुपर्छ । पछाडि पर्नुको कारण महिला आफैं हो । आमाले दुई सन्तान छोराछोरीमा छोरालाई नै बढी माया गर्छिन्', अनुराधा भन्छिन्,  'नेपाल बन्दमा दूध आएन भने पनि हामीले आज मेरो बाबुले दूध खान पाएन भन्छौं। छोराबाहेक अरू पनि छन् परिवारमा भन्ने हामी आमालाई नै याद आउँदैन । त्यसैले परिवर्तन सधैं आफूबाट नै सुरु गर्नुपर्छ । पुरुषले गर्ने काम महिलाले गर्न सक्दैन भन्ने मानसिकता हटाउनुपर्छ । महिला ढृढ हुनुपर्छ । हरेका क्षेत्रमा आँटिलो बन्नुपर्छ।' 



महिलाको अवस्थामा ठूलै परिवर्तन

अनुराधाको अवलोकनमा महिलाको अवस्थामा पहिलेभन्दा धेरै परिवर्तन आएको छ । उनी भन्छिन्, 'शिक्षा, स्वास्थ्य, अधिकार, पहुँच र अवसर सबै दृष्टिकोणले महिला अगाडि आएका छन् । कतिपय क्षेत्रमा महिलाले पुरुषलाई पछाडि पारेका छन् । गृह मामिलादेखि लिएर राष्ट्र  नीति निर्णय गर्ने तहमा महिलाको सहभागिता बढ्दो छ। यो सकारात्मक संकेत हो ।' 

नेपालको जनसंख्याको आधाभन्दा बढी झन्डै ५१ प्रतिशत महिला भएका कारण पनि पुरुषभन्दा अझै बढी गर्न सक्छौं भन्ने धारणाको विकास गर्नुपर्ने सुझाव उनको छ । अनुराधाको भनाइ छ, राज्यबाट सेवासुविधा ५१ प्रतिशत बढी पाउनुपर्ने हो । तर महिला जति छ त्यसैमा सन्तुष्ट छन् । नागरिकताका हकमा पनि बुबाको नाम राख्नैपर्छ भन्ने छैन । आमाका नामबाट पनि सजिलै नागरिकता लिन सकिन्छ । यी परिवर्तन भनेको महिलाले लडेको लडाइँको प्रतिफल हो । 



शिक्षाले आफैं हटाउँछ लैंगिक विभेद

लैंगिक विभेदबारे पनि अनुराधाको बुझाइ अलि फरक छ । कुनै आन्दोलन वा अभियान चलाएर मात्र लैंगिक विभेद हट्ने होइन । हाम्रो परम्परा, जीवनशैली, मनोविज्ञान र सांस्कृतिक परिवेशसँग निकै गहिरोसँग जोडिएको विषय हो यो । यसलाई हटाउन शिक्षाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । 

अनुराधाको भनाइ छ, शिक्षालाई जति हामी व्यापक बनाउन सक्छौं, लैंगिक विभेद त्यति नै कमजोर हुँदै जान्छ र हट्छ पनि । उनी भन्छिन्, 'धेरै गाउँका महिलाहरु नारी दिवसबारे थाहा छैन। विद्यालय त छ गाउँमा तर छोरी तथा महिलाहरुले उचित शिक्षा लिन पाएका छैनन् । ती विद्यालयमा राज्यले निःशुल्क र अनिवार्य शिक्षा अभियान चलाउनुपर्छ । छोरीलाई विद्यालय पठाएन भने हरेक आमाबुबालाई एक रुपैयाँ जरिबानाको नियम लागू गर्नुपर्छ । यसले पुरै समाजलाई तरंगित गर्छ।'

कोइरालाका अनुसार लैंगिक विभेद हटाउन पछिल्ला दिनमा केही सकारात्मक अभियान चलाइएको छ । प्रदेश नं २ मा बेटी पढाउ र बेटी बचाउ भन्ने आन्दोलन सुरु भएको छ । यसैगरी ३ नं प्रदेशमा पनि अनिवार्य र उच्च शिक्षा प्रदान गर्न मुख्य मन्त्रीले नै विशेष पहल गर्नुभएको छ । उनी भन्छिन्, 'अरुतिर यो अभियान चलाउनुपर्छ ।' 



नीति तथा कानुनमा भन्दा सोचमै खोट 

अनुराधाको बुझाइ नीति र कानुनमा भन्दा सोचमै बढी खोट छ । उनी भन्छिन्, 'हामीसँग भएका नीति र कानुन त्यति कमजोर र पर्याप्त छैनन् । तर तिनलाई कार्यान्वयन गर्ने जाँगर देखिँदैन र संयन्त्र प्रभावकारी भएनन् । अनि सोच बदलिएन भने नीति र कानुन जति राम्रो बनाए पनि केही हुँदैन ।'

अनुराधाका अनुसार सोचमै पहिले हामीले परिवर्तन गर्नुपर्छ । छोरीलाई चिनी र नुन जस्तो तत्त्वका रुपमा व्यवहार गर्ने संस्कार बन्द गर्नुपर्ने उनको सुझाव छ। उनी भन्छिन्, 'महिला पनि नुन र चिनीजस्तै पग्लिने र कमजोर हुन्छन् भन्ने गलत मानसिकता हटाउनुपर्छ ।

'समाजमा विकृति, विसंगति र हिंसा बढ्दै जान्छ अनि छोरीलाई कराँते, कम्फु सिकाउनुपर्छ भन्ने सोच राख्छौं । सानैदेखि छोरा र छोरीलाई समान व्यवहारले हुर्काएको भए समाजलाई हेर्ने धारणा गलत हुने थिएन्', अनुराधा भन्छिन्, जन्मदेखि नै छोरी र छोरालाई गर्ने व्यवहार र हेर्ने सोच बराबरी हुनुपर्‍यो ।' 
 




प्रतिक्रिया