अस्पतालको बेडमा सहयोग र सहारा खोज्दै जनकराज

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/2019, March/JANAK_RAJ.jpg

सुर्खेत - सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालको इन्डोर वार्डको बेड नं. १२। प्लास्टर गरिएको दाहिने खुट्टा समाएर एकोहोरो टोलाइरहेका भेटिए अछामका १४ वर्षीय जनकराज जैसी। दुवै हातमा स्लाइन चढाउँदा लगाइएको ब्यान्डेज प्रस्ट देखिन्छ।

खुट्टामा ठूलै घाउ भएपछि उपचारका लागि सुर्खेत आएका उनी फागुन ३ गतेदेखि यही बेडमा टोलाइरहेका छन्। अस्पतालको बिरानो ठाउँ साथमा आमा न बुवा। हुन त बाआमा भए पो आउनु ! ‘बुवा माओवादी द्वन्द्वमा मारिनुभएको हो’, निराश स्वरमा उनले सनाए, ‘आमा पनि छाउगोठमा बित्नुभयो। म घरको जेठो छोरो हुँ।’

उनी घरको पर्खालबाट लड्दा खुट्टामा घाउ भएको हो। तर उपचार अभावमा खुट्टा सुकेपछि हाल छिमेकीले सुर्खेत ल्याएका छन्। तुर्माखाँद गाउँपालिका वडा नं. ५ अछामका जनकराज उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा अहिले आर्थिक सहयोगको खोजीमा छन्।

छिमेकी रामप्रसाद जैसीले उनलाई उपचारका लागि सुर्खेत ल्याएका छन्। उनीसँग औषधि उपचार र घर फर्कने भाडा छैन। ‘अस्पतालले खुट्टाको अप्रेसन निःशुल्क गरिदियो तर बाहिरबाट किन्नुपर्ने औषधि ल्याउन पैसा छैन’, कुरुवा रामप्रसादले भने, ‘घरबाट ल्याएको ६ हजार सकियो, अब अस्पतालमा कसरी बस्ने ?’

तीन महिना पहिले घरनजिकको पर्खालबाट खसेका जनकराजको दायाँ खुट्टा सुकेको छ। सुरुमा सानो घाउ भएको र घरमै जडिबुटीको उपचार गर्दा उनको घाउ बढ्दै गएपछि खुट्टा सुन्निएको रामप्रसादले बताए। उपचार गर्ने रकम नहुँदा घरमै जडिबुटीको घरायसी उपचार गरिएको थियो।

जनकराज अहिले कालिकेश्वरी मावि अछाममै कक्षा १० मा अध्ययनरत छन्। बिरामी भएपछि उनको पढाइ पनि पूरा हुन पाएको छैन। जनकराजका भाइ ७ कक्षामा पढ्छन्। २०६३ साल असार १० गते अछामको विनायकमा भएको सशस्त्र द्वन्द्वमा बाबु महारुप जैसीलाई गुमाएका थिए। तत्कालीन माओवादीले उनलाई भरियाका रुपमा त्यहाँ लगेको छिमेकी रामप्रसाद बताउँछन्।

बुवा गुमाएको ५ वर्षपछि अर्थात् २०६८ भदौ २२ गते जनकराजले आमा हंसदेवी जैसीलाई छाउगोठमा गुमाए। बाबुआमा दुवैको मृत्यु भएपछि टुहुरो बनेका जनकराजसँग अहिले भाइको पालनपोषण र घरव्यवहारको जिम्मेवारी छ।




प्रतिक्रिया