यस कारण मैले एसपीबाट दिएँ राजीनामा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/february/2019, March/narendra_upreti1.jpg

मैले २४ वर्षे प्रहरी सेवाको जागिरे जीवनबाट राजीनामा दिई बिदा लिएको घटना आमचासोको विषय बन्न पुग्यो । प्रहरी सेवाको आकर्षक पद एसपीमा लामो अवधि र अवसर बाँकी रहँदारहँदै त्याग गर्ने अवस्था कसरी सिर्जना हुन पुग्यो भने विषयमा चासो राख्ने सम्पूर्ण शुभचिन्तकलाई यथार्थ जानकारी गराउनु मेरो कर्तव्य हो ।

सेवा प्रवेशका सपना 

प्रहरी सेवामा मेरो प्रवेश प्रहरी निरीक्षक पदबाट २०५१ साल चैत ५ गते भएको हो । त्यस समयमा अहिलेको जस्तो विविध क्षेत्रमा जागिरको अवसर थिएन । सरकारका विभिन्न अंगमा सेवा गर्ने अवसर पाइन्थ्यो । सरकारका विभिन्न सेवामध्ये अन्यायविरुद्ध लड्ने, न्याय दिलाउने, अपराध रोकथाम गर्ने र नियन्त्रण गर्ने सत्य, सेवा, सुरक्षणम्को मूल मन्त्र बोकेको संगठनमा रहेर काम गर्ने आकर्षणले मलाई डोर्‍यायो । कडा मेहनत र परिश्रमले नेपाल प्रहरी सेवामा प्रवेश पाएँ । सेवा प्रवेशपछिको समग्र रुपमा संगठनका सपना नै मेरा सपना थिए ।

अपराध नियन्त्रण, अनुसन्धान र राज्यको आन्तरिक सुरक्षा कायम राख्ने मूल जिम्मेवारी पूर्ण, निष्ठा, इमानदारी, निष्पक्ष र तटस्थताका साथ सम्पन्न गरी संगठनलाई सहयोग गर्ने मेरा अभीप्सा थिए । त्यसरी नै संगठनले समेत मेरो कर्तव्यपालन, निष्ठा, इमानदारी, व्यवसायिकता र मैले सके गरेको योगदानहरुको सुरक्षा  र मूल्यांकन गर्ला भन्ने भरोसा गर्दै अनवरत रूपमा विभिन्न परिस्थितिमा समेत सक्रिय रहँदै २४ वर्ष संगठन र देशको सेवा गरेँ ।

मैले देखेको खराब सपना 

गत माघ २६ गते शनिबारका दिन सदाझैं नियमित अफिस गएर काम सकी साँझ डेरामा आई करिब १० बजे सुती भुसुक्कै निदाएछु । मैले त्यो रात नराम्रो सपना देखेँ । सपनामा मेरो एक सुन्दर फर्म हाउसको मालिकसँग भेट हुन पुगेछ । मालिक हेर्दा सुन्दर र खाइलाग्दा थिए । फर्म हाउसमा लहलह मकै फलेको थियो । मालिकले मलाई जागिरको अफर गरे, मकैबारीको सुरक्षा गर्ने । राम्रो सेवा, सुविधा, आकर्षक तलब, लत्ताकपडा, युनिफर्म, पि क्याप, जुत्ता, क्याप, काँधभरि फुली दिने लोभ देखाए । मालिकको सर्त थियो, बाँदरहरु लाग्छन्, ड्युटी गरी मकैबारीलाई सुरक्षित गर्ने ।

मालिकको अर्को पनि कडा सर्त थियो । त्यो के भने दिइएका युनिफर्म, फुली, जुत्ता, पि क्याप दुरुस्त लगाई बारीका माझमा बसी हलचल नगरी, कतै नहिँडी पूर्ण सतर्क रुपमा पोजिसनमा बसी ड्युटी गर्नुपर्ने सर्त थियो । मालिक देखावटी रुपमा खाइलाग्दा आकर्षक अनुहारका भएकाले भरोसा गरी सबै सर्त मन्जुर गरी ड्युटीमा बसेँ । 

भोलिपल्ट मालिकका क्वार्टरमा ठूला पाहुना आएकाले मलाई डुयुटीमा राखी आफू क्वार्टरतिर लागेँ । ड्युटीमा बसेको केही क्षणपछि बारीछेउमा केही बाँदरहरुलाई हेर्दै बसेको देखेँ । मैले एकपटक त बाँदरहरु भगाएँ । एकछिनपछि पुनः साना, मझौला र अजंगका बाँदरहरुको हुल बारीको चारैतर्फबाट आएको देखेँ । बाँदरको बथानले मलाई चारैतर्फबाट बारीका डिलमा बसी जिस्काउन पो थाल्यो । केही आँखा झिम्काउँथे, केही ङिच्च हाँस्थे त केही चिच्याउँथे ।

म एक्लो थिएँ । मैले त मालिकको सर्तबमोजिम कर्तव्य पालन गर्ने भएकाले सकेको सुरक्षा प्रयास गर्दे थिएँ । मालिकका क्वार्टरतिर हेरेँ, क्वार्टर बाँदरहरुले घेरेको देखेँ । सोही समयमा एकाएक बाँदरहरुको हुलले मैमाथि आक्रमण गर्‍यो । मेरा युनिफर्म च्यातियो । फुली र टोपी बाँदरले लग्यो । छिनभरमै लहलह मकै बारी र म स्वयंलाई सखाप पारी बाँदरको बथान हिँड्यो ।
 म बबुराको एक्लो प्रयास बाँदरहरुको हुलको अगाडि के नै लाग्थ्यो र ? बाँदरहरु हिँडेपछि मलाई मालिकको सर्तको याद आयो । दिइएको कडा निर्देशन र सर्तमा दुरुस्त ड्य्टी बसेपछि मकैबारी र तिम्रो पनि सुरक्षा हुन्छ भनेको त सबै सर्वाङ्ग नाङ्गो बनाएर पो बाँदर हिँडे । 

बिहान झिसमिस उज्यालो हुँदै थियो। आफ्नो रुप र मकैबारीको हालत देखेर आफैंलाई लाज लाग्यो, हीनताबोध भयो । भएका सबै घटना मालिकलाई दर्शाउन क्वार्टर गएको त क्वार्टरमा शनिबार २६ गते भेट्न आएका ठूला पाहुनासँग राति अबेरसम्म खानपिन र नाचगानसमेत गरी मस्त निद्रामा रहेछन् । उज्यालो भएपछि बाँदरहरुले बनाएको मेरो सर्वाङ्ग रूप छरछिमेकीले समेत देखे र थाहा पाए । सबै छिमेकी भेला भई जिस्काउन पो थाले । लाजले पानी पानी भएँ, चिटचिट पसिना आयो । त्यति नै बेला मेरो मोबाइलको घन्टी बज्यो, सपनाबाट ब्युँझिएँ । फोनकर्ताले माघ २६ गते मध्यरातमा प्रोमोसन निस्किएको र मेरो नभएको दुःखद खबर सुनाएर सहानुभूति दिए । मलाई अयोग्य ठहर गरिएछ । म राम्ररी ब्युझिएँ ।

प्रमोसनको लिस्ट हेरें, मैले संगठनको नेतृत्व तहबारे समयसमयमा दिइएको ब्रिफिङ सम्झिएँ । नेताकहाँ धाउने, अनावश्यक चलखेल गर्ने, संगठनमा विश्वास नगर्ने, बाह्य दबाब दिनेहरुलाई दण्डित गर्ने, प्रमोसनमा ती व्यक्तिहरु छुट्ने भनी सबैका सामु मुख्यालयमा दिएका भाषण सम्झिएँ । ती त सबै बकवास नाटक पो रहेछन् । मैले देखेको खराब सपनाका मालिकका सर्त र आश्वासनभन्दा फरक थिएनन् । जसरी बाँदरहरुले आक्रमण गर्दा म निरीह भएँ त्यस्तै हालत उच्च नेतृत्वको भएको मलाई आभास भयो।

प्रमोसनका अधिकांश अनुहार शक्ति केन्द्र धाउनेहरु नै थिए । त्यसमध्ये एकजना त विगतको चुनावमा मतपत्र सुरक्षा गर्न नसकी देशभर संगठन र सरकारकै बेइज्जत भएको घटनाका मुख्य व्यक्ति थिए । कसैको हितका लागि गरेको उत्कृष्ट काम भन्दै रातारात प्रहरी नियमावली नै संशोधन गराई (नियमावली संशोधन नहँुदा प्रमोसनको प्रक्रियामै नपर्ने कनिष्ठ व्यक्ति) भएको उत्कृष्टमध्ये अति उत्कृष्ट प्रमोसन त नेपाल प्रहरीको इतिहासमै नमुनाका रुपमा भविष्यमा मार्ग दर्शकका लागी संग्रह गरी राख्ने खालको छ । मैले कोही व्यक्तिको विरोध गरेको पनि छैन । मैले विद्यमान भ्रष्ट प्रणाली र प्रवृत्तिको विषय उजागर मात्र गरेको हुँ । 

राजीनामाको कारण

मैले परिस्थिति विश्लेषण गरी अन्तरआत्मालाई पटकपटक सोधें । आफन्त, शुभचिन्तकहरु, अग्रजहरुसँग परामर्श लिएँ । मैले २४ वर्ष राष्ट्र सेवामा बिताएका कठिन र चुनौतीपूर्ण क्षणहरु एकाएक मनमा ताजा बनेर आए । सेवामा रहँदै मेरो नामै लिई संगठन प्रमुखले राम्रो काम गर्ने अधिकृत भनी समग्र उपत्यकाका अधिकृतहरुलाई गरेको ब्रिफिङ सम्झिएँ । सेवामा रहँदा मैले देखेका विभेद, अन्याय, अत्याचार, स्वच्छेचारिता र बेलाबेलामा मौसम हेरी मञ्चन हुने नाटकहरु सम्झिएँ । 

आफ्नो कुर्सी/पद सुरक्षार्थ उच्च तहले छाडिदिएका अडान सम्झिए । विगतमा अन्याय गरिएका थुप्रै अग्रज, निर्दोष अनुहार र सहकर्मीहरु सम्झिएँ । सम्मानित सर्वोच्च अदालतबाट न्यायका लागि भएका फैसला कार्यान्वयन सम्झिएँ । न्यायपश्चात् उच्च अधिकारीहलाई मन्त्रालयमा हाजिर गराई बेइज्जत गरिएको, न्याय माग्न जानेहरूलाई नै जेल हाल्न खोजिएको, तिनका परिवार र छोराछोरीलाई समेत दुव्र्यवहार गरिएको, लुकेर बस्न बाध्य पारिएको जस्ता थुप्रै घटना मनमा ताजा बनेर आए । न्यायको मन्दिरबाट ढिलो गरी पाउने न्याय र न्यायपछि संगठनमा काम गर्ने वातावरण र पीडितको अवस्थाको राम्रो जानकारी र अनुभव हामीले विगतमा गरेकै थियाैं ।

संगठन सुधारका लागि संगठनमा भएका विकृति, विसंगति र अन्यायको जानकारी जनतामा हुनुपर्छ भनी सार्वजनिक गरिदिएँ । मैले राजीनामा दिएपछि सर्वत्र चासो व्यक्त भयो । चासोको कारण मलाई परेको अन्याय मात्र नभएर हाल देखिएका सुरक्षाप्रतिको असन्तुष्टि, कमजोर नेतृत्व संगठनभित्र व्याप्त जालझेल, छलछाम र चाकडी गर्दै पद प्राप्त गर्ने र पदमा टिकिरहने प्रवृत्ति संगठनमा लादिएको नाङ्गो हस्तक्षेप र अन्यायका सिकार बनाइएका सम्पूर्ण राष्ट्रसेवकहरूको सहानुभूति स्वरूप हो जस्तो मलाई लाग्छ । 

म सेवा प्रवेश गरेपछि तत्कालीन माओवादी समस्या, विभिन्न सानाठूला आन्दोलन, पटकपटकका चुनाव मधेस आन्दोलन गम्भीर र संगठित अपराध र त्यसको गम्भीर अनुसन्धानजस्ता अनेकौं जोखिम भएको अवस्थामा समेत विचलित नभएको मेरो स्वाभिमानी सेवा, जालझेल अन्याय चाकडीचाप्लुसी, पर्दा पछाडिको सेटिङ, रुचाइएका निकटहरु मौसम हेरी रंग बदल्नेहरु र गणेशभक्ति जस्ता चलनचल्तीका गुणहरु ग्रहण गर्न नसक्ने वा स्वंय सामेल हुन नसकी अन्यायमा पर्ने र अन्याय सहँदै संगठनमा हीनताबोध गरी बस्नु भन्दा स्वतन्त्र भई समाजसेवामै लाग्ने अठोट गर्दै दुःखका साथ भारी मन लिएर प्रहरी सेवाबाट राजीनामा दिएर पदत्याग गर्ने निर्णय गरेँ । 

अन्त्यमा, म सेवामा रहँदा ५ प्रकारका प्रहरी कर्मचारी देखेँ । क्षमतावान् अर्थात् आफ्नै ल्याकतले खाने, दोस्रो गुलामी गरेरै जागिर खाने र आफ्नो स्वार्थ पूरा गर्ने, तेस्रो अरुलाई मारेर वा अन्यायमा पारेर खाने, चौथो अरूलाई लडाएर वा जुधाएर खाने र पाँचौं अर्थात् भाग्यले दिएको खाने । प्रहरी संगठनमा गुलामी गरेर खाने अरुलाई मारेर खाने, लडाएर खानेहरुको बिगबिगी भएको र सोही संस्कार बोकेकाहरू नै संगठनमा पुरस्कृत हुने देखिएकाले क्षमतावान र व्यवसायिकतामा अब्बल संगठनमा बेलाबेलामा पिसिएका र उच्च तहले बहाना बनाई ढाकछोप गर्दै गर्दा रहे भएका र खाली हुने पदमा मभन्दा क्षमतावान्, योग्य, असल, नैतिकवान्, सदाचारी र व्यावसायिक प्रहरी कर्मचारीहरुको बढुवा र पदस्थापन गरिदिएमा म धन्य हुने थिएँ । मैले भन्नेपर्छ, मोलमोलैया गरी पद बेच्ने गलत तत्त्व बजारभरि छन् । होटल लजमा बडिगार्डसहित बास बनाएर बसेका छन् ।

खाली पदहरूको मोलतोल हुँदै होला, लोभीपापीहरु योग्य भन्दै तिनका वरिपरि धाउँदै होलान् । राम्रालाई पछि पार्दै हाम्रा, निकटका र रुचाइएकाहरू गणेशभक्ति गाउँदै अघि सर्दै होलान् । म निवेदन गर्छु, यसलाई अबका दिनमा सरकार र प्रहरी संगठनले अवश्य नै ध्यान दिनेछ । मैले जुन परिवेश र संस्कारका कारण दुःखी हुँदै सेवाबाट अलग हुने निर्णय गर्नुपर्‍यो त्यस्तो अवस्था अरुका लागि नआओस् । नेपाल प्रहरी मेरो प्यारो संगठन हो र यो संगठन अन्यायी, अत्याचारी र लोभीपापीहरुको थलो नबनोस् । 




प्रतिक्रिया